पृष्ठभुमिमा एउटा समाचार लेख्छु र त्यसपछि गज़ल शुरु गर्छु
११ भदौ– टीकापुर नगरपालिका–६ शंकरपुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्, सीता बर्मा । भाग्दै एक जना बर्दीधारी उनको दक्षिणतिरको ढोकाबाट भित्र छिरे । उनी बाहिरबाट ढोका तानेर लगाइदिँदै थिइन् । ती प्रहरीले भित्रबाट चुकुल लगाउन भ्याएकै थिएनन् । हात हातमा भाला, लट्ठी, चक्कु बोकेकाको हुल दपेट्दै आइपुग्यो । भित्र लुको मान्छेलाई तानेर पिट्दै उनीहरुले बाहिर आँगनमा निकाले । ती प्रहरी उनीहरुसँग जीवनको भिख मागिरहेका थिए । सीताले सहन सकिनन् । क्रुर ढंगले हानिरहको देखेर उनले हात जोडेर बिन्ति गरिन्,‘यसरी नमार्नुस, छाडिदिनुस् ।’ तर उनीहरुले छाडेनन् । लखेटी– लखेटी घरेलु हतियार प्रहार गरेर ती प्रहरीको ज्यान लिए । तिनै व्यक्ति थिए नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने । ‘जीवनको भिख मागिरेका व्यक्तिलाई छाडिदिनुस, नमार्नुस भनेर बिन्ति गर्यौं’ सीताले त्यस दिनको दृश्य सम्झँदै सुनाइन्, ‘मानेनन्, उल्टै हामीलाई धम्की दिए ।
———————
अँध्यारोमा डुब्यो देश, विहान कस्तो हुन्छ ?
भेटिएन उज्यालोको निशान कस्तो हुन्छ?
लेख्छौँ भन्यौ अग्रगामी, विकास मिलिजुली
यौटा हाँस्ने अर्को रुने, विधान कस्तो हुन्छ ?
जब विकास गाडीबाट साइकलतिर सर्छ
सोधिनेछन भोली पक्कै, विमान कस्तो हुन्छ ?
जंगल र ओढारमा बस्छन अझै कति
थाहा छैन ओछ्यान कस्तो सिरान कस्तो हुन्छ ?
दालचामल, फलफूल र सब्जी किनी खाने
कुटो हैन भाला बोक्ने किसान कस्तो हुन्छ ?
जो छातिमा रोपिएर, ज्युँदै जल्दै ढले
भो नसोध खेत कस्तो, चिहान कस्तो हुन्छ ?