सुनसान छ चौतारो, पँधेरो र गाउँसम्म जाने गोरेटो । लाहुरे छोरा फर्कने प्रतिक्षामा छ त्यो झुपडी त्यो आँगन र बाआमाका रसिला आँखाहरु … तर छोराहरु कतै हराएका छन । किन हराएका छन ?

ती रुखा ताता बालुवामा उँट र भेडाका गोठाला भएका छन, ती रुखा मरुभूमि भएका छन। ती उदास मन भएका व्यस्त शहर भएका छन । ती बाँडिएका छन कतै जुलुस भएर कतै आन्दोलन भएर । ती कतै पसिना बनेर पोखिएका छन या कतै भएका छन राता बाकसका उपहारहरु …

यद्यपी प्रिय छोराहरु ! सधै-सधैं छ र रहिरहनेछ – तिम्रो प्रतीक्षा ।

——————————–

शहरमा छोराहरु हराउनुको कारण छ
नयाँ मान्छे देख्दा गाउँ, डराउनुको कारण छ

भो नसोध किन देशमा, घटदैछन युवाहरु ?
अरबमा उँट भेडा चराउनुको कारण छ

पक्कै केही कारण छ, हाम्रो देश नबन्नुमा
सधैँ बिरोध भाँडभैलो गराउनुको कारण छ

संविधान बनेकोमा खुसी छैन कोही कोही
देश भाँड्न मतियार अह्राउनुको कारण छ

फर्किएनन चुनावपछि सर्वाहारा भन्नेहरु
तिनले पनि दर्बारै मन पराउनुको कारण छ

शहरमा उसको महल त्यसै छैन उभिएको
भ्रष्ट तस्कर मिलि पैँचो भराउनुको कारण छ

भक्ते, माने, वीरबहादुर हरु ज्युँदै मरेका छन
गल्ली गल्ली बहुलाकाजी, कराउनुको कारण छ

कृष्णपक्ष
धादिङ, हाल इजरायल

Share.

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com