शरद ऋतुको शीतलता छाएको मौसम थियो ।

सफा धरती, धूलो मैलो र बादलहरू सप्पै हटेको खुल्ला आकाश तर पर पर क्षितिजमाथि फैलिएको इजरायली आकाशको यो नीलो क्यानभासमा घरीघरी मडारिइरहेका छन् हमास र हिजबोल्लाका रकेटका राता धर्काहरू .. र कोरिएका छन् विस्फोटपछि निस्कने बारुदका धुवाँका अमूर्त चित्रहरू ।

घरीघरी गाजाबाट प्रक्षेपण गरिएका रकेटहरूले मोबाइलको ‘रेड अलर्ट’ एप्समा जनाउ दिइरहेका हुन्छन् । जसले पलपल बताइरहन्छ कि इजरायलमा कहाँ कहाँ रकेट आक्रमण भयो विशेष गरी गाजासँग सिमाना जोडिएका दक्षिणी सहरहरू र लेबनानसँग सीमा जोडिएका उत्तरी क्षेत्रको नक्सा खतराको रातो चिन्हले राताम्य भएर ढाकिएको छ ।

रकेटहरूको सङ्ख्या अनगिन्ती देखिन्छ । गाजाबाट इजरायलमा यसरी असिना बर्सिए जसरी ह्वारह्वारती रकेट प्रहार भइरहेको छ भने प्रत्याक्रमणमा इजरायलले गाजातर्फ कुन हविगत बनाएको होला ? प्यालेस्टिनीको नियतिमा परेको यो बज्रपातको कल्पनाले पनि मलाई दुखी बनाउँछ ।

कहिलेकाहीँ सोच्छु यदि क्षेप्यास्त्र प्रतिरोध प्रणालीको विकास नहुँदो हो त इजरायलको हालत के हुन्थ्यो होला ? म कल्पना गर्न पनि सक्दिन । मान्छेभित्र किन यतिविध्न घृणाको विष भरिएको छ ? एक अर्काको अस्तित्व पटक्कै स्वीकार गर्न नसक्ने हामी कस्तो युगमा बाँचिरहेका छौ ?

भीड हराएको चकित सहर !

सधैँ जस्तै शान्त देखिने जेरुसेलमका यी गल्ली र भुलभुलैयाहरूमा अनौठोसँग भय र त्रासले डेरा जमाएको छ । युद्धको नमिठो बतासहरू बगिरहे जस्ता लाग्छन् । मानिसहरू विना कारण घरबाट निस्कन डराएका छन् । सहरमा सैनिकहरूको उपस्थिति बढेको छ ।

इजरायल प्यालेस्टाइन युद्ध सुरु भइसकेको थियो । हमास अधीनस्थ गाजामा इजरायली आक्रमणको तीव्रता एकातिर थियो भने उत्तरतर्फ सिरिया र लेबनानबाट दैनिक सयौँको सङ्ख्यामा हिजबोल्ला लडाकुहरूद्वारा इजरायलमाथि रकेट प्रहार भइरहेका थिए ।

यसबिचमा सिमाना वरपरका जनसङ्ख्याको ठुलो समूह तेल अभिभ र जेरुसेलमतिर विस्थापित भएका थिए । या भनौँ रकेट हमलाको त्रासले अनुमानित दुई लाखभन्दा धेरै जनसङ्ख्या बाच्ने अभिलाषामा आन्तरिक स्थानान्तरण भइसकेको थियो । सिमानाका आफन्तहरूलाई सुरक्षित स्थानमा रहेका आफन्तले शरण दिएका थिए ।

कति तीव्र भिन्नता । केही दिनअघि मात्र कुनाकाप्चाबाट छुट्टी मनाइरहेका स्थानीय र पर्यटकहरूको विशाल, जीवित भीड बग्ने यो सहर आज शान्त छ । मैले कोरोना कालका भएका लकडाउनका बन्द दिनहरू सम्झिएँ ।

कार्यालय, रेस्टुराँ र पसलहरू प्राय खुलै छन् । तर मानिसहरूको उपस्थिति अत्यन्त पातलो छ । किङ जर्ज र याफो स्ट्रिटको मध्य भागमा रहेको याफो ट्रेन स्टेसन नजिक एउटा बुढो मानिस गितार बजाएर ‘जेरुसेलम सेल जहाव’को मीठो धुन सुनाइरहेको थियो ।

म जहिले पनि जब किङ जर्ज स्ट्रिटको यो बाटो हिँड्छु परैबाट उसको गितारको मिठो धुनमा तानिन्छु । “हातिक्वा र “जेरुसेलायम सेल जहाव” उसले सधैँ बजाउने प्रिय धुनहरू हुन ।आज पनि उ सधैँ जसरी जेरुसेलायम सेल जहावको मिठो धुनमा गितार बजाइरहेको थियो । आऊ युद्धको भय र त्रास एकै छिन भुलेर बाँचौँ – शायद त्यो बुढो गितार वादक यस्तै केही भनिरहेको छ ।

जेरुसेलम अस्पतालमा नेपाली विद्यार्थी

जेरुसेलम सारे चेदेक अस्पतालमा हमास आक्रमणमा परी घाइते नेपाली विद्यार्थीलाई ल्याएको छ भन्ने खबर पाएँ । ती दाङका प्रवीण डाँगी थिए ।

गत हप्ता हमासको आक्रमणमा परी ग्रिनेड लागेपछि जीवन मरणको दोसाँधमा आर्तनाद गरिरहेका नेपाली विद्यार्थीहरूले आफन्त र परिवारसम्म पुगोस् भनेर बनाएको भिडियो सन्देश हेरेको थिएँ । यसै क्रममा एक जना कलिला भाइ भन्दै थिए – म मरिहालेँ भने आमाको हेरचाह गर्दिनु है । बङ्करको अँध्यारोमा घाइते अवस्थामा उनले पोखेको पीडाले कति मर्माहत बनायो भनिसाध्य छैन ।

सुदूर पश्चिम विश्व विद्यालयबाट कृषि विज्ञान सङ्काय अन्तर्गत ४९ जना विद्यार्थीहरू लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल आएको एक महिना पनि नबित्दै हमास अतिवादी समूहको निशानामा परेको र एक नेपाली विद्यार्थी विपिन जोशीको अझैसम्म अत्तोपत्तो नभएको खबरले अर्को परदेशीको मन कति भक्कानियो कति छिया छिया भयो, त्यसको कुनै हिसाब छैन ।

बेला बेला घरबाट फोन आउँछ – इजरायलको समाचारहरू एकदम नराम्रो सुनिरहेका छौँ । ठुलै युद्ध छ भन्छन् । अब भयो लडाई भएको ठाउँमा नबस । छिटो मिलाएर घर आइज कान्छा ।

म सम्झाउँछु – बुबा त्यस्तो केही छैन । चिन्ता नलिनु , हामी एकदम सुरक्षित ठाउँमा छौँ । सिमाना नाघेर स्थल मार्गबाट यहाँसम्म आइपुग्ने सम्भावना नै छैन, आकाशबाट आउने रकेटहरू आकाशमै रोक्ने प्रविधिहरू छन् ।

आफन्त साथीभाइहरुले पनि बारम्बार फोन गरेर सोधिरहेका छन् – कस्तो छ स्थिति ? हल्का नसम्झनु है , सुरक्षा निकायले उद्घोष गरेका नियमहरू पालना गर्नु, सुरक्षित रहनु ।

मेलमिलाप समूह जेरुसेलम

इजरायलको जेरुसेलममा कार्यरत नेपालीहरूको फेसबुक मेसेन्जरमा एउटा समूह छ – मेलमिलाप समूह जेरुसेलम । जहाँ जेरुसेलममा कार्यरत नेपालीहरू चाडपर्व मनाउन, भेटघाट गर्न, सरसहयोग जुटाउन तथा सुख दुखका विभिन्न विषयमा सन्देशहरू आदानप्रदान गर्छन् ।

इजरायलको जेरुसेलमा रहेका र अस्पताल नजिकै कार्यरत नेपाली साथीभाइहरू समय मिलाएर अपरेसनका लागि ल्याइएका नेपाली घाइते विद्यार्थीलाई भेट्न गएको जानकारी मेसेन्जरमा आइरहेको थियो ।

अर्थोपेडिक विभागको अपरेसन थिएटर बाहिर इन्फरमेसन स्क्रिन डिस्प्लेमा दसौँ लहरमा प्रवीण डाँगीको नाम थियो , लेखिएको थियो ३५ नम्बर कोठामा उनको अपरेसन भइरहेको छ । हिब्रुमा नामको छोटकरी पे. डालेथ. – कोठा नं ३५ ।

अपराह्न २ बजेतिर बाहिरै कुरेर बसेका एक साथीले अस्पतालको प्रतीक्षालय कक्षबाहिरको तस्बिर टाँस्दै लेखे – पाँच घण्टा भइसक्यो अपरेसन अझै सकिएको छैन, हामी प्रतीक्षामा छौँ ।

प्रवीण डाँगी । दाङको दंगिशरण गाउँपालिका वडा नम्बर -३ हेकुलीका प्रवीण डाँगीलाई हमासको आक्रमणमा खुट्टामा गोली लागेको थियो । आक्रमण भएको दक्षिणी क्षेत्रबाट सुरुमा वीर सेवा पुर्‍याइएका घाइतेहरूलाई क्रमशः तेल अभिव र जेरुसेलमका सुरक्षित र सुविधा सम्पन्न अस्पतालहरूमा पुर्‍याइएको थियो । यसै क्रममा प्रवीण डाँगी जेरुसेलमको सारे चेदेक अस्पताल ल्याइएका थिए ।

सुदूर पश्चिम विश्व विद्यालय कृषि विज्ञान संकायका विएस्सी एजीका विद्यार्थी उनी ११ महिने इन्टर्नशीपका लागि लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत एक महिना अघि मात्र इजरायल आएका थिए ।

आफ्नै आँखा अगाडी आफ्ना साथीहरू ढल्दा कस्तो भयो होला ? त्यो पीडादायी क्षणको त कल्पना पनि गर्न सकिन्न । उनको अपरेसन सफल भयो । उनले एउटा भिडियो सन्देशमार्फत आफन्त र घरपरिवारका सदस्यलाई आफ्नो अपरेसन राम्रो भएको र अस्पतालमा स्वास्थ्यकर्मी निगरानीमा रहेको जानकारी दिए ।

नेपालीहरू समय मिलाएर पालैपालो भेट्न गइरहेको सन्देश जेरुसेलमको मेसेन्जर ग्रुपमा आइरहेको थियो । परदेशको ठाउँ सेवा नै धर्म हो भनेर नेपाली साथीहरूले आफ्नो व्यस्ततामा पनि अलिकति समय मिलाएर कुर्न गइरहेको देख्दा धेरै खुसी लाग्यो ।

परदेशको बाध्यता र व्यस्तताका बाबजुद गाह्रो साह्रो परेको बेला दिल खोलेर एक अर्कालाई सहयोग गर्न नेपालीहरू मनका साह्रै धनी छन् । नेपाली दाजुभाइ दिदीबहिनीहरूको यस्तो आत्मीयता र उत्साहपूर्ण सहयोगको भावनाको कदर गर्नै पर्छ ।

कोही समय मिलाएर भेट्न गइरहेका थिए, कसैले खाना बनाएर पनि लगिरहेका थिए , जहाँबाट जसले जसरी सक्छ त्यसरी नै मदत गरिरहेका थिए । मेरो छुट्टी थिएन , तथापि विभिन्न माध्यममा सक्दो समाचार अद्यावधिक गर्ने यत्न गरेँ ।

फेसबुक समूहमा साथीहरू घाइते भाइको स्वास्थ्यमा सुधार भइरहेको , उनको हेरचाहमा इजरायल सरकारबाट राम्रो सुविधा प्राप्त भएकोले आत्तिनु नपर्ने कुराहरू लेखिरहेका छन् । कोही अर्थोको डाक्टरले ४०% आफ्नो काम सकेर अब २०% बाँकी रहेको र ४०% फिजियो थेरापीको काम भएको भन्दैछन भने कोही विभिन्न तरिकाले बिरामीको मनोबल बढाउने कुरा गरिरहेका छन् ।

एक जनाले लेख्नुभयो – “ म यहाँ भाइसँगै छु । अघि परराष्ट्र मन्त्रालयको एसिया हेर्ने मान्छे आएको थियो एसिया हेर्ने । मैले भाइको परिवारको सदस्य एक जना भए पनि ल्याइदिनु भनेर कुरा राखेको छु । एन आर एन एका प्रतिनिधि पनि आएका थिए । “

अर्को मेसेज – भाइलाई भेट्न आउनेले खानेकुरा केही लिएर आउनु पर्दैन है । हामीलाई थाहै हुँदैन, आखिरमा यी चीज बीज सबै फ्याँक्नुपर्छ । भाइले राम्रो खाने भएपछि चाहिँ ल्याउनु पर्छ ।

– अब भाइलाई फिजियोथेरापी गराएर बलियो बनाउनु पर्छ ।

कसैले लेखिरहेका थिए – म यति समयदेखि यति समयसम्म हुन्छु , त्यसपछि तपाई आउनु होला । समय हेरेर छुट्टी मिलाएर भेट्न जानेहरू पनि थिए ।

विभिन्न किसिमका गुण अवगुणहरू आफ्नै ठाउँमा होलान् तर परदेशको बाध्यता र व्यस्तताका बाबजुद गाह्रो साह्रो परेको बेला दिल खोलेर एक अर्कालाई सहयोग गर्ने नेपालीहरू मनका साह्रै धनी छन् । नेपाली दाजुभाइ दिदीबहिनीहरूको यस्तो आत्मीयता र उत्साहपूर्ण सहयोगको भावनाको कदर गर्नै पर्छ । परदेशको विरानो ठाउँमा त झन् यस्तो भावनाको धेरै ठुलो महत्त्व हुन्छ ।

जेरुसेलममा रहेका नेपाली साथीहरूको अपनत्व र सहकार्यको कडी भने “जेरुसेलम मेलमिलाप समूह” थियो ।

अर्थोपेडिक डिपार्टमेन्ट सातौं तल्ला

बुधबार अक्टोबर २८ । नौरथाको चौथो दिन । शैलपुत्री, व्रम्हाचारिणी र चन्द्रघन्टापछि आज कुष्मान्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ । स्रृष्टिको अस्तित्व नभएको बेला चारैतिर अन्धकार व्याप्त थियो । सोही बेला कुस्मान्डा देवी मुस्काउदा व्रम्हान्डको श्रृष्टि भयो भन्ने किंवदन्ति छ ।

इजरायली धार्मिक बाजेको संगतको फल , म पूरै आस्तिक भएको छु । थालमा जमरा उमारेको देखेर मेरो इम्प्लोयर छक्क पर्छन यो केका लागि ? जसरी तिम्रो चाडपर्वमा अनेक विधिहरु हुन्छन त्यस्तै हाम्रो पनि विजया दशमी नामक महान चाड आउदैछ त्यसबेला टीका र जमरा लगाइन्छ । उनी बुझ्दैनन ।

इजरायलमा युद्ध छिटै रोकियोस र सत्यको विजय होस । घाइते भएका नेपाली भाइहरुको र युद्धमा होमिएका समस्त सैनिकहरुको आरोग्य र सफलताको कामना गर्छु ।

नेपालमा दशैको रौनक पुरै छाइसकेको थियो । तर परदेशमा के दशैं के तिहार ? त्यसमाथि इजरायलमा भने युद्धको पीडाले यो रौनक रंग उडेको वतासजस्तै फिका भएको थियो ।

दशैंका नयाँ लुगा कपडा लगाएर रंगी विरंगी चंगा उडाउदै पिङ खेल्न हिड्ने रहरलाग्दो वालापन र किशोरवय भर्खरै पार गरेका १० जना कलिला निर्दोष विद्यार्थीलाई हामीले यही भूमिमा गुमाएका थियौं । त्यही मृत्युको कहालीलाग्दो पन्जाबाट फुत्किएर आएका भाइ प्रविन डांगीलाई जेरुसेलम अस्पतालमा भेट्न गएँ ।

सारे चेदेक अस्पतालको सातौं तल्लास्थित आइपिडिमा रहेको अर्थोपेडिक भिभागको ७१२९ नम्बरमा ती भाई थिए । मैले रिसेप्सनमा सोधखोज गरेँ र भेट्न आएको भनेर भने ।

गोली लागेको नेपाली विद्यार्थी हो ? भन्दै रिसेप्सनमा रहेकी एकजना नर्सले प्रवीणको कोठासम्म पुर्याइदिइन । प्रविन बेडमा थिए । हामी पुग्ने बित्तिकै उनी मुस्काए । नेपाली दाजु दिदीहरु भेट्न आउदा र कुरा गर्न पाउँदा मन हल्का हुन्छ , खुसी लाग्छ – उनले भने ।

उनको खुट्टामा अपरेसन गरिएको गहिरो घाउ थियो । घँडामुनीको भाग वरीपरी स्टीलका ठूला ठूला एक्सटर्नल फिक्सेटर राखिएका थिए । कम्मर नजिकै जोडिएको सर्जिकल ड्रेन अझै हटाइएको थिएन । भ्याकुम वक्समा रक्तमिश्रित तरल पदार्थ देख्न सकिन्थ्यो ।

तर अवस्थामा धेरै सुधार भइसकेको थियो । भाइको मुहार उज्यालो थियो । मृत्युलाई जितेर बाँचेको योद्धा जस्तै जिजिविषाको चहकिलो आभा अनुहारमा देखिन्थ्यो ।

कालो काल बनेर आएको हमासको मृत्युको पन्जाबाट फर्किएका थिए उनी । अर्को भाषामा दोस्रो जीवन पाएका थिए । उनले त्यसदिनको मुख्य मुख्य घटना फेरि एकपटक सुनाए । कहाली लाग्ने आतंकको कथा सुनेर एकछिन त हामी भावुक पनि भयौ तर त्यो दुस्वप्नबाट सकुशल बाहिर आएका उनको मुहारमा पोखिएको मधुरो चमक देखेर फेरि हामी खुसी पनि त्यतिकै भयौं ।

तस्विरमा देखेको थिएँ, उनी पातला थिए । खानेकुरा केही नल्याउन आग्रह गरिएकाले केही मिडियम साइजका लुगाहरु शपिङ गरेको थिएँ । उपहार लिन पनि उनले इन्कार गरिरहे । आफ्नै भाई छोरा जस्तै सम्झेर सानो खुसी थप्न चाहेको बताएँ । अहिले त बिरामी छु, निको भएपछि तपाइको जतिकै बडी बनाउछु , अनि सुहाउँछ त्यसपछि लगाऔँला – उनले ठट्टा पनि गर्न भ्याए । उनी निकै फरासिला र मिजासिला थिए ।

छेउमा वास्तुशास्त्री डा. आदा गान्साच बसिरहेकी थिइन । नेपाली वास्तुकला र संस्कृति विषयमा विद्यावारिधि गरेकी आदाको नेपालसँगको नाता धेरै पुरानो रहेछ । स्वयंसेवी र परोपकारी कार्यका सिलसिलामा नेपालमा धेरै बर्ष सेवा गरेकी उनी नेपाली भाषा राम्रोसँग बोल्थिइन ।

नेपालीमा “आधा” भनेको Half हुन्छ नि , हो मेरो नाम सम्झनुपरेमा त्यही Half = आधा भनेर सम्झदा सजिलो हुन्छ ।
उनले यसरी फरर नेपाली बोल्दा हामी दङ्ग पर्यौं ।

ग्रुपमा एकजना साथीले सन्देश लेखेका थिए – हाइफाबाट भेट्न आउनु भएको रहेछ, घाइते भाइलाई कति धेरै माया गर्ने रहेछ । नेपालका परराष्ट्रमन्त्रीले फोन गरेर पठाएको भन्दै हुनुहुन्थ्यो ।

साच्चै प्रवीनको सेवामा एउटा विदेशी त्यति टाढा हाइफादेखि जेरुसेलमसम्म आएर खटिएको देख्दा भाव विभोर नहुने कुरै थिएन ।

उनी भन्दै थिइन – नेपाल मेरो दोस्रो घर हो र नेपाली मेरो आफ्नैजस्तो प्रिय लाग्छन । निर्दोष नेपाली विद्यार्थीहरु यसरी मेरो देशमा आएर ज्यान गुमाउन वा घाइते हुन परेकोमा मलाई असाध्य दुख लाग्यो ।

उनी विगत चार दशकदेखि नेपाली नेपाल र नेपालीका लागि परोपकारी र स्वयंसेवीको रुपमा कार्यहरु पनि गर्दै आएकी रहिछन । उनले नेपालमा विताएका गाउँ र शहरका मानिसहरुसँग अझैपनि सम्पर्कमा रहिछिन ।

फर्कने बेला उनले सुटुक्क केही भनिन । प्रवीनलाई सरप्राइज दिने कुरा भएकोले अंग्रेजी र नेपालीमा बोल्दा उनले बुझ्लान भनेर हिब्रु भाषा बोलेको जस्तो लाग्यो ।

बोउ नासे आफ्ताआ .. ( ल हामी सरप्राइज दिउँ )
एजे आफ्ताआ ? ( कस्तो खालको सरप्राइज ? ) मैले सोधेँ ।
निस्खोत एत हा एज वे दशैं ( दशैंमा खसी काटौं ) ।

आउदै गरेको दशैमा मृ्त्युको मुखबाट फर्किएका भाइहरुको मनोबल बढाउन र खुसी मनाउन दशैमा खसी ढालेर सरप्राइज दिने कुरा रहेछ । डा गान्साच नेपालको धर्म संस्कृति र परम्परा सबै राम्रो सँग परिचित रहिछिन भन्नेमा कुनै शंका भएन ।

प्यारो भाइलाई छिटो निको होस भन्ने कामना गर्दै विदाइको हात हल्लाएँ । घर फर्कँदा साँझ परिसकेको थियो ।

 

Share.

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com