उठाउनीमा

कृष्णपक्षको छरछिमेकमा हल्काफुल्का खासखुस चलिरहेकै छ, नयाँ नयाँ जोगी बढी खरानी धस्छ भनेझैं कसैले केही नौलो हल्ला खल्ला गर्ने बित्तिकै चियाउदै साखुल्ले भएर हतार हतार प्रतिक्रिया दिने जागर भने अलि सुस्ताएको हो कि भा’ छ अहिले चाहि मलाई ।

टासो नटासेको त धेरै पो भैसकेछ त !
व्यस्त भनु भने त्यति व्यस्त पनि हैन, तैपनि घडीको सुइभन्दा छिटो छिटो दिनहरू घुमेझैँ लाग्न थालेका छन ।

धाइबाको मंगलम क्याफेमा जे पापी र रामलखनको कुरा चल्दै थियो !
“रामलखन खै तेरो घरको ढोका?”
यो टासो र त्यसभित्रको मर्म पढेपछि मलाई केही लेखुँ लेखुँ लाग्यो ।

१ लघुकथा

हो त, ढोकै नभा घरमा जो पनि पस्छ, जे पायो त्यही गर्छ, चोटा कोठा डुल्छ र घर भाड्ने अनेकौं प्रपन्च/जालझेल रच्छ, र मौका पाउना साथ सप्पै घर भत्काउँछ ।

ऐना हेर्छु, अहो कति मिलेको अनुहार रामलखनसँग मेरो? त्यो रामलखन जसको घरको ढोकै छैन, आफू’सँग अनुवाद हुदै गएझैं लाग्छ । हतार हतार चोटा उक्लन्छु, लौ~~ छानो पनि छैन, भित्ता भकारी केही छैन, चारैतिर ह्वाङ्ग ।

दौडदै आगनसम्म पुग्छु,
डिलैबाट देखियो पल्ला घरे छिमेकी खेतका आलीहरू ताछ्दै थियो ।

मभित्रको रामलखन…. कठै!
एउटा रामलखन थचक्क भुइमा बस्छ,
एउटा रामलखन चिच्याउन खोज्छ ” गुहार गुहार ”
एउटा रामलखन उध्याउन खोज्छ “भुत्ते खुकुरी” …..।

फेरि देख्छु – डाडु पन्यु बोकेका आफ्नै घरका एक जुलुस भान्सेहरू तिनै छिमेकीसँग साँथगाँठ गर्दै थिए ।

२ गजल

नौटंकी छ मझेरीमा, रातारात “हिट्’ छ कोही
आफ्नै खेल हेरी हेरी आफै ताली पिट्छ कोही

भ्वांङ परेका झ्याल ढोका, ह्वाङ्गै देख्छु पाखो भित्ता
बाझै छन खेतबारी, जुवा तास फिट्छ कोही

भकारी छ रित्तो रित्तो, चुहिदो छ छानु घरको
“नयाँ नेपाल् बनाउँदैछु” भन्दै झ्याली पिट्छ कोही

रामलखन तिम्रो घरमा, केको गाइजात्रा सधैं
“घरको बाघ बनको स्याल” भाइसँग भीड्छ कोही

कोपर्दैछ अलिअलि भत्काउदैछ साँध सीमा
“यता खाँउकि, उता खाँउ” घुम्दै दाह्रा किट्छ कोही

टुङ्ग्याउनीमा

“उत्तरमा हिमालको लश्कर
लहरै मुस्काइरहेका छन चादी जस्ता
र फुलेका छन आगनभारी -जात जातका फूलहरू
दक्षिण तराइ लहलह सुन फल्ने गैरीखेत,

बार -पर्खाल -लिपपोत गरे
सबै मिलि भकारी भरे,
यो घर रामलखनको
कति सुन्दर हुन्थ्यो होला ”

एउटा त्यान्द्र्यांग तुन्द्रुंग
आशाजस्तो त्यान्द्रोमा मन अल्झन्छ
त्यही त हो जसले मान्छेलाई बचाउदो रैछ
जस्तो रामलखनको सधैं नेपाली भएर जिउने जिजीविषालाइ…।
जो मतिर फर्केर सोधिरहेछ

त्यो आशाको त्यान्द्रो र घरको माया
तिमीसँग छ कि छैन ?

Share.

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com