bloggerमिठो सपनाले
चटक्कै छाडेको
रित्तो रित्तो विपना जस्तो
या उदास उदास रातजस्तो
एउटा विरही मन
घोरिएर अक्षरपाटिमा*
तर लेख्न खोजिरहेछ
केही घामका कथाहरु ।

समयका दुर्गम वगरहरुमा
छाप्दै पाइलाका डोबहरु कतै
वा छाडदै यात्राका अनुभूतिहरु,
कम्प्युटरको भित्तै भित्ता ….
घाम डुबेपछिको साँझ जस्तो
एउटा यात्री मन
तर अनवरत हिडिरहेछ
कहिले नटुंगिने बाटैबाटो ।

कसैले नदेखे जस्तो
वा देखेर नपढे जस्तो
वा पढेर नबुझे जस्तो
शिशाकलमले कालोपाटीमा धमिलो धमिलो
उ केर्दैछ अस्पष्ट केही -समाजको गीत भन्दै
अगम्य गामको अनौठो लोक भाका जस्तो
तर उसलाई लाग्छ -उसका गीतहरु
सबैले गाउनेछन -पालै पालो
र सुनिनेछ्न सुदुर गाउँ सम्म
इन्टरनेटको जालै जालो …..

भोगाईका आँसु र हासोहरु
पिडा र खुसिहरु
र घुम्तीका रमाइला बयानहरु …
उ पोखिने कुनै सिमा छैन,
उ लेखिने कुनै बिषय छैन ।

वेशिर्षकका उसका अमुर्त कला बुझ्न
तिमी उसंगै दुख्नु पर्छ -कुचीहरुको घातै घात
र उप्काउनु पर्छ पुराना पुराना पत्रहरु
अदृश्य ढुंगाका काप कापमा जो चेपिएका छन
क्यानभासहरुको खातै खात ।

नियतिमा ड्याम्मै “कालो” लेखिएको
फुटेको अभागी निधार बोकेर
बेथिति हाँसी रहेको – समाज र सभ्यताको चित्र
सबै भन्दा धेरै पटक कोरेको छ उसले
अनकन्टार जंगलका पातहरुमा ..

गहिरो गहिरो
इनार भित्र कराउनु
वा पर पर सम्म सुनिनु ती आवाजहरु
तर के अर्थ अवोध्य गुन्जनहरुको?
वा चौबाटोमै चर्को स्वरमा बर्बराउनु
र कसैले नसुने झैं हुनु उसका पाँडे गालीहरु …

यद्यपि
आक्रोशले च्याँठ्ठिएझैं
एउटा सद्दे पागलमन
शव्दहरुको ढोल पिट्दै,
विरोध र खबरदारी लगाउदै हिड्छ
अराजक समय विरुद्ध
मान्छेहरुको जंगलै जंगल ….

ए को हो त्यो ?
काखे* अगाडी झुली रहेको
आफ्नै धुनमा मस्त मस्त ….।

शाव्दार्थ:
अक्षरपाटी -किबोर्ड
काखे -ल्यापटप

😉

Share.

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com