एक छलांग
रगतको रातो छाल
आँखै अगाडि छल्किएर बग्छ
स्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरि
रकेटका घातहरू दुख्दै जान्छन

अनि तिम्रो देशको धर्म
तिम्रो देशको समाचार
तिम्रो देशको साहित्य
तिम्रो छातीभरि भातृत्व माथि बिरोध सल्काउछ ।
र तिम्रो आँखा भरी भरी आगोका कोपिलाहरू उमार्छ
र तिम्रो देश इजरायल आगो जस्तै रापिदै जान्छ ।

बिस्फोटनसँग तर्सिएर
फेरि अर्को जागीर खोज्दै भौतारिएकी हाम्री माइली नाना,
गाजा र पश्चिम किनारमा
रगत को हिसाब किताब गर्नु लम्किएका
तिम्रा सैनिक जत्था र ट्यान्कका लश्करहरू हेरिरहेकी छिन ।

बी टू भीषा र अनिश्चिताका गहिरा चोटहरूमा
उनी इराकको आतंकमा मारिएका भाइहरू सम्झिन्छिन,
हाम्रै अनीता तामांग र कुवैतकी डोमा शेर्पालाई सम्झिन्छिन,
हाम्रो नियतिले यस्ता कथाहरू लेख्न
कहिले छोड्छ हँ ?

परदेशी हुनुको पीडामा
प्रवास यसबेला हाम्रो स्वीकारोक्ति बनेको छ ।
अरबका खाडी र मलायाका जंगलहरूमा मात्र होइन
भूगोल्का रेखा रेखाहरू छिचोल्दै,
हामी अभाव र आवश्यकता बिरुद्धका संघर्षहरू रचिरहेका छौं ।
वर्षों देखि समयको अस्वीकृत इतिहासमा
बहादुर लाहुरेवा परदेशीको विवशताका कथाहरू लेखिराहेका छौं ।

जब विदेशको बिरानो पन,
हाम्रा चेतनाहरूमा,
समझानाका चोटहरू बनेर बिझाउने गर्छ ।
विकासको आतंकले त्रस्त नगरहरूबाट
युगौं देखि सदियौं देखि,
घरको समझाना बिझेका हामी सीमाहीन प्रवासीहरू
सम्बेदनाहीन मान्छेहरूको व्यस्त भीड़बाट
अपनत्व र आत्मीयता खोजिराहेका हुन्छौं ।
राष्ट्र र राष्ट्रियता खोजिरहेका हुन्छौं ।

तिम्रो मृतसागरमा
हामी मृत्युका सुशुप्त इतिहास र कथा ब्यथा
खोतल्न आएका होइनौं ।
न त यी बगरहरूमा लुकेका
प्यालेस्ताइनका प्यासहरू अनुभव गर्न नै ।

कति हामी
जहि तहि मान्छे दुखेको घाइते परिवेशको बयान गरौं ?
कति युद्ध बारूद र सैनिकका कथाहरू सुनाऊं ?

आऊ प्रवासको आँगनबाट आजैदेखि
देश नभएको भावनाको कुरा गरौं

आऊ कुरा गरौँ रहरहरूको
अभाव, भोक र तिर्खाहरूको
हामीले जोहो गरेका अन्न र वस्त्रहरूको
र हाम्रा नानीहरूको,
जो पुस्तक च्यापेर विद्यालय जादैछन

आऊ बिर्सौं हामीले पोखेका पसिनाका वहावहरू
र एकैछिन मुस्काउँ सपनाहरूसँग ।

Share.

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com