कृष्णपक्ष थापा [KanxeY]
whatsapp
कृष्णपक्ष थापा [KanxeY]

पचास लाख मूल्य पर्ने बलिदानका कुरा

फेसबुक
ट्वीटर
पिण्ट्रेस्ट
लिंक्डइन

मधेश आन्दोलनको यो र यस्तै यस्तै समाचारहरुको पृष्ठभुमिमा छ यो गज़ल

मधेस आन्दोलनमा लागेर ज्यान गुमाउनेलाई ५० लाख रुपैयाँ दिने मधेसवादी नेताहरुको घोषणालाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

राजनीतिक विश्लेषक मुमाराम खनालले ट्वीट गरेका छन्- ‘ए प्रीय मधेसी मोर्चा ! मरेकालाई ५० लाख दिनुभन्दा जिउँदोलाई ५० हजार देऊ । मधेस सुन्दर हुन्छ ।’

नविन गिरीले मधेसी मोर्चाको निर्णयप्रति व्यग्यं गर्दै भनेका छन्- ‘मधेस आन्दोलनमा जाऔं, सम्पत्ति कमाऔं । आन्दोलनमा सहिद हुनुस् ५० लाख उपहार पाउनुस् ।’

त्यसैगरी शिव न्यौपानेले ट्वीट गर्दै भनेका छन्- ‘इराकमा काम गर्नुभन्दा मधेसतिर आन्दोलन गर्न जानुपर्लाजस्तो छ, परिवारले ५० लाख पाउँछन् कि ।’

पत्रकार मिलन तिमिल्सना लेख्छन्- ‘सोझा जनताको ज्यानको मूल्य तोक्नेहरु राजनीतिबाट सन्यास लिएर घरमै बसुन्, बरु सरकारले वृद्धभत्तासरह मासिक भत्ता दिएर पालोस् ।’

मधेसी मोर्चाको बुधबारको बैठकले मधेस आन्दोलनमा मृत्यु हुने सहीद परिवारलाई प्रादेशिक सरकार बनेपछि ५० लाख रुपैयाँ दिने घोषणा गरेपछि यो निर्णय सोसियल मिडियामा ‘भाइरल’ बनेको हो ।

मधेसवादी मोर्चाको निर्णयमा शहीद एवं घाइतेका परिवारलाई निशुल्क शिक्षा दिइने र जागिरसमेत दिइने प्याकेज घोषणा गरिएको छ । मोर्चाको यो निर्णयले मानिसहरुलाई मर्न अभिप्रेरित गरेको प्रतिक्रिया सामाजिक सञ्जालहरुमा आएका छन् । केहीले चाँहि जनतालाई मर्न उक्साउने नेताहरु आफैं मर्न जाओ भन्दै निर्मम गालीसमेत गरेका छन् ।

———–
सुन्छु अचेल चोकचोकमा संविधानका कुरा
पचास लाख मूल्य पर्ने बलिदानका कुरा

पराईसँग आगो मागी देश जलायो जस्ले
उही गर्छ राष्ट्रीयता र स्वाभिमानका कुरा

विदेशबाट ‘हाइ ड्याड !’ भन्दै उसले गर्यो
जाति, भाषा, संस्कृति र पहिचानका कुरा

या जोडिन्छौँ अझ बलियो, या लुटिन्छ गवाँर
चलेको छ आन्दोलन र अभियानका कुरा

सत्य जिब्रो काटिएझैँ मौन बसेको छ
सुनिदैछ धूर्त फटाहा, बेइमानका कुरा ।

कृष्णपक्ष

Leave A Reply

Share :

Twitter
Telegram
WhatsApp

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com