नेपाल न्युज डट कममा प्रकाशित ब्लगबाट
युद्ध आरम्भ भएको एक महिना भइसकेको छ।
इजरायलको राजधानी जेरुसलेम। फूलहरू फुल्ने वसन्तको रंगीन मौसम छ। आकाशमा युद्धका बादल हरदम मडारिइरहेका छन्। बेलाबेला आकाश चिच्याउँदै त्रासदीको ध्वनि ओकलिरहेको हुन्छ। भनिरहेको छ– तिम्रो इलाकामा रकेट खस्दै छ, तुरुन्त सुरक्षित स्थानमा जाऊ।
एउटै र स्पष्ट सन्देश दिने– साइरनको आवाज।
साइरन बज्नुपूर्व पनि केही समयमा रकेट आउने वाला छ भन्ने बेहोराको प्रारम्भिक जनाउ आउँछ। पुँ गरेर साइरनको ध्वनि जब कानमा गुन्जन्छ‚ अब ९० सेकेन्डभित्र हामीले आफूलाई सुरक्षित स्थानमा अनिवार्य लुकाउनुपर्छ।
साइरनको आवाज कता कता मलामी जाँदा बजाइने शंखको विरही रोदन जस्तो लाग्छ मलाई। एकोहोरो, अप्रिय र कर्कश।
क्षितिजमा घाम डुबेर तारा नउदाइसकेको आकाश रातो हुन्छ। कहिलेकाहीँ डुब्दै गरेको घामले बादलमा रातो चहकिलो घेरा बनाउँदा आगोको लप्का जस्तै देखिन्छ। आकाशमा आगो लागे जस्तो अनौठो दृश्य। सानो छँदा म आमालाई आकाशतिर देखाउँदै सोध्थेँ– आमा! यो के भएको होला है?
आमा भन्नुहुन्थ्यो– यसलाई स्वर्ग डढेको भनिन्छ कान्छा।
आकाशको क्यानभासमा बादलका अनेकौँ आकृति बनेका हुन्थे। पशुपक्षी, मानिस, हात्ती घोडा, घर र बोटबिरुवाहरू। स्वर्ग डढेका बेला बादलका ती आकार पनि आगोमा जलेका जस्ता देखिन्थे।
शान्तिको नीलो रङमा युद्धका राता रङ त्यसरी नै पोखिइरहेछन्। विस्फोटको चर्को आवाज आउनुपूर्व आकाशमा रकेटका धर्काहरू कोरिन्छन्, आगाका गोला बर्सन्छन् र बिजुली चम्किए जसरी झिलिकझिलिक छाउँछन् उज्याला र रक्तिम लालिमाहरू…।
पेशाख : दासत्वबाट मुक्तिको उत्सव
इजरायलमा बुधबारदेखि सबैभन्दा ठूलो चाड पेशाख सुरु भएको छ। अंग्रेजीमा पासओभर भनिने यो चाडले यहुदीको मुक्तिको कथा भन्छ। पेशाखको मौका छोपेर अलि धेरै आक्रमण हुनेछन्– सहरमा भयमिश्रित आशंका फैलिएको छ। यो स्थिति हरेक दिन हरेक पल व्याप्त छ।
इतिहासका विविध कालखण्डमा यहुदीहरू आफ्नो थातथलोबाट परदेसिएर संसारभर पुगेका थिए। आज प्रवासलाई जनाउने अंग्रजी शब्द ‘डायस्पोरा’ भनेको वास्तवमा निर्वासित यहुदीहरूको समूहलाई बाइबलमा दिइएको शब्द हो। ती कुनैबेला मिश्र भनिने देशमा बँधुवा मजदुरका थिए। उनीहरूले मिश्रका सडकहरू बनाए, नहर‚ पुल‚ भवन र पिरामिडहरूको निर्माण गरे, पसिना बगाए। तर, तिनीहरूविरुद्ध थिचोमिचो र अत्याचार चली नै रह्यो। तिनका सन्तान खोसिए। कोही जन्मनेबित्तिकै मारिए। तिनको भाग्यमा कोर्राका डामहरू मात्र लेखिए।
स्वरूपहरू मात्र बदलिएका हुन् यहुदीहरूको दासत्वको त्यस कहानीमा। आजको युगमा खाडीमा पसिना पोख्ने लाखौँ युवाको नियति लगभग उस्तै हो। तर, अदृश्य छन् साङ्लाहरू, कुनै अदृश्य परिस्थिति र विवशताको डोरीमा ती जेलिएका छन्, चुपचाप बाँधिएका छन्।
वर्षौंदेखि अनेकखाले रकेट युद्धको साक्षी भएकाले यति भन्न सकिन्छ कि मानसिक त्रास र व्यग्रताबाहेक समाचारमा देखिए जस्तो खतरा भने वास्तविकतामा हुँदैन। सुरक्षा नियमको अनिवार्य पालना गरियो भने मानवीय क्षति हुने सम्भावना न्यून रहन्छ।
दासहरूको छोरा जन्मिए हत्या गर्ने मिश्रका सम्राट् फिरऔनको आदेश थियो। यही आदेशका कारण सन्तानलाई बचाउन एक यहुदी दम्पतीले बालकलाई टोकरीमा राखेर नाइल नदीमा फ्याँकिदिए। राजकुमारीले भेटिन् र उनलाई दरबारमै हुर्काइन्। पछि तिनी मोसे कहलिए जसले यहुदीहरूलाई दासत्वबाट मुक्त गराए र स्वदेश फर्काए। पासओभरको सार यही हो।
चाडपर्वमा अलि धेरै आक्रमण हुने विगतका अनुभव छन्। नभन्दै पेशाख सुरु भएको दिन बुधबारदेखि इरानले युद्ध सुरु भएयता अहिलेसम्मकै ठूलो आक्रमण गर्यो। एकैसाथ करिब १० वटा ब्यालेस्टिक मिसाइल तेल अबिबमा प्रहार गरिए जसमध्ये केही मिसाइलमा क्लस्टर वारहेड प्रयोग गरिएको थियो। यद्यपि, सुरक्षाका नियमको पूर्ण पालनाका कारण मानवीय क्षति हुन पाएन।

एक साथीले फेसबुकमा स्टेटस लेख्नुभयो– यतिका वर्ष इजरायल बसियो, तर आज जस्तो डर कहिल्यै लागेको थिएन। कोही भनिरहेका थिए– बंकरमा कुदाउँदा कुदाउँदै इरानले म्याराथन धावक नै बनाउने भयो। पक्कै पनि युद्ध अझै चर्किएको र खतरा बढेको संकेत थियो। युद्धविरामका संकेत र सम्भावना पनि कतै देखिएको थिएन।
वर्षौंदेखि अनेकखाले रकेट युद्धको साक्षी भएकाले यति भन्न सकिन्छ कि मानसिक त्रास र व्यग्रताबाहेक समाचारमा देखिए जस्तो खतरा भने वास्तविकतामा हुँदैन। सुरक्षा नियमको अनिवार्य पालना गरियो भने मानवीय क्षति हुने सम्भावना न्यून रहन्छ। इजरायली मिडियाले बारम्बार सचेत गरिरहेको हुन्छ– ‘खतराको घण्टी बजेपछि आफूलाई अनिवार्य सुरक्षित स्थानमा पुर्याऔँ र बचाऔँ। भौतिक संरचनाको विनाश हुँदा पुनर्निर्माण गर्न सकिन्छ। मानवीय क्षति भने अपूरणीय हुन्छ।’
सम्भावित आक्रमणको प्रतिरक्षाका लागि इजरायलमा सुरक्षासंयन्त्र अत्यन्त चुस्त र तारिफयोग्य छन्। पहिलो त धेरैजस्तो रकेट आकाशमै छेकिन्छन्। अधिकांश घर तथा सार्वजनिक भवनमा सुरक्षित स्थान (बंकर) बनाइएका छन्। भाग्न नसक्ने स्थितिका मानिसहरू विशेषगरी बिरामीका लागि अस्पतालका बेडहरू नै अन्डरग्राउन्डमा सारिएका छन्। भूमिगत पार्किङहरूमै अस्थायी अस्पतालहरू निर्माण गरिएका छन्। दशकअघि नेपालमा भूकम्प जाँदा इजरायली सैनिकहरूले निर्माण गरेको फिल्ड हस्पिटलको उदाहरण हेर्दा नै थाहा हुन्छ– इजरायली स्वास्थ्यकर्मी आपत्कालीन उपचारका लागि कति छिटो तयारी गरेर काम थाल्न सक्छन्। शल्यक्रियादेखि डेलिभरीसम्मका हरेक जटिल उपचार भूमिगत स्थानमा सञ्चालन गरिएका छन्।
किन रोकिएन युद्ध?
मध्यपूर्वको इतिहासमा युद्धका धेरै रक्ताम्मे कथा लेखिएका छन्। इतिहास पढ्दा यस्तै लाग्थ्यो, तर रणसंग्राममै उभिएर हेर्दा कथा जस्तो लाग्दो रहेनछ। यहाँ जे भइरहेको छ यो कथा होइन, यो त जलिरहेको वर्तमान हो। विश्व राजनीति र शक्ति सन्तुलनको यस खेलमा कसरी केही देशले कोरेका घृणा र अहंकारले सारा संसारको चुलो र अर्थतन्त्रलाई प्रभावित पार्छ भन्ने कुराको साक्षी हामी बनिरहेका छौँ।
इस्फाहानको आकाशमा बारुदको गन्ध
युद्धको महिनादिन नाघिसक्यो। इरान टसको मस भएको छैन। इरानविरुद्धको अमेरिका र इजरायली सैन्य गठबन्धनले आफ्नो दबाबलाई अझ सघन बनाएका छन्। अब यो सीमाको लडाइँमा मात्र सीमित रहेन, यो त क्षय गराउने र थकाउने विध्वंसकारी युद्धमा परिणत भएको छ। इरानको पूर्वाधार तहसनहस बनाउने रणनीतिअनुरूप इस्फाहान क्षेत्रका आकाश बुधबार पुन: एक पटक ‘बंकर बुस्टर’ बमका गर्जनले थर्किए।
इरानले पनि जारी द्वन्द्वका क्रममा मुख्यत: हर्मुज नाका ठप्प पारेको छ। साउदी अरबका इन्धन पूर्वाधार, हाइफा आयल रिफाइनरीलगायत इजरायलभित्रका संवेदनशील क्षेत्र, साथै लेबनान, इराक र सिरियामा सक्रिय प्रोक्सी समूहहरूमार्फत आक्रमण गर्दा ठूलो आर्थिक क्षति पुर्याएको देखिन्छ। साथै, लालसागरमा हुथी आक्रमणकारीद्वारा जहाजलक्षित गतिविधिले अन्तर्राष्ट्रिय व्यापार र तेल आपूर्तिमा नकारात्मक प्रभाव पारेको छ।
इजरायलले इरानविरुद्ध अति क्रुद्ध र सटीक आक्रमण गरिरहेको छ। इस्फाहानको बदर सैन्य हवाई अड्डा र त्यहाँको गोला-बारुद डिपोमा भएका शक्तिशाली विस्फोटहरूले केवल भौतिक संरचना मात्र ढालेनन्, त्यसले सिर्जना गरेका माध्यमिक विस्फोटहरूले सारा क्षेत्रको आकाश नै रातो बनाइदिएका थिए। विद्युत् आपूर्ति नहुँदा राजधानी तेहरानका कतिपय क्षेत्र अन्धकारमा डुबेका छन्। रेड क्रिसेन्टका स्वयंसेवकहरू भग्नावशेषमा जीवन खोजिरहेका दृश्यहरू समाचारमा देख्न सकिन्छ। जेरुसलेम र वासिङ्टन एकै स्वरमा भनिरहेका छन् कि उनीहरूले इरानको हतियार उत्पादन र हवाई प्रतिरक्षा प्रणालीलाई निकै कमजोर बनाइसकेका छन्। तर, इरानको एकपछि अर्को सशक्त प्रतिरोध र युद्धविराममा असहमतिले यी दाबी र सत्यता निकै धमिलो बनाइरहेका छन्।
नीलो समुद्रमा तेल र आगो
इरानले केवल रक्षात्मक खेल खेलिरहेको छैन, उसले ‘असिमेट्रिक’ अर्थात् असमान युद्धको रणनीति अपनाउँदै अमेरिका र उसका सहयोगीहरूलाई आर्थिक रूपमा निकै महँगो साबित गरिदिएको छ। दुबईनजिकै कुवेतको झन्डा बोकेको एउटा तेल ट्यांकरमा भएको आक्रमण यसको ज्वलन्त उदाहरण हो। जब त्यो ट्यांकरमा आगो लाग्यो र तेल समुद्रमा फैलियो, त्यसपछि नीलो समुद्रमा दनदन आगो बल्न थाल्यो। त्यसले केवल जलचरलाई मात्र होइन, विश्वको ऊर्जा आपूर्तिलाई नै चुनौती दियो।
हर्मुजको जलसन्धि, जहाँबाट संसारको ठूलो हिस्सा तेल व्यापार हुन्छ, आज त्यो नाका ९० प्रतिशतभन्दा बढी ठप्प छ। इरानले अब त्यहाँ ‘टोल’ (महसुल) उठाउने र इजरायली र अमेरिकी पक्षधर जहाजहरूलाई प्रतिबन्ध लगाउने नयाँ नियम ल्याएर यस संकटलाई अस्थायीबाट स्थायी बनाउने दाउ खेल्दै छ। भर्खर इस्लामिक रिभोलुसनरी गार्ड क्रप्स (आईआरजीसी)ले इस्फाहानको आकाशमा अमेरिकी ‘रिपर ड्रोन’ (एमक्यू-९) खसालेको दाबी पनि गरेको छ।
प्रतिरोधको अक्ष र छद्म युद्धको राप
यस युद्धको राप इरान र इजरायलको सीमामा मात्र सीमित छैन। उत्तरतर्फ लेबनानमा इजरायली सेनाले लिटानी नदीसम्म ‘बफर जोन’ बनाउन जमिन र आकाश दुवैबाट आक्रमण गरिरहेको छ। त्यहाँ हिजबुल्लाहको प्रतिकार उत्तिकै कडा छ। एन्टिट्यांक मिसाइल र ड्रोन प्रयोग गर्दै हिजबुल्लाहले इजरायली सेनालाई अगाडि बढ्न फलामको चिउरा चपाउनुसरह बनाइदिएको छ।
स्मरण रहोस्, मध्यपूर्वका विभिन्न देशमा रहेका हतियारधारी समूहहरू जस्तै लेबनानमा हिजबुल्लाह, यमन र साउदी अरबका केही हिस्सा र लालसागरमा कब्जा जमाएर बसेको हुथी लडाकु समूह वा इराक र सिरियामा रहेका थुप्रै सिया लडाकुहरू… ती निकै शक्तिशाली सशस्त्र समूह हुन्। जसले ती मुलुकका सरकारलाई नै निकम्मा बनाएर आतंकवादी गतिविधि सञ्चालन गरिरहेका छन्।
मध्यपूर्वको युद्ध केलाउँदा यहाँ रहेका कट्टरपन्थी इस्लामिक लडाकु समूहहरू र प्रतिरोधको अक्ष (एक्सिस अफ रेसिस्टेन्स) बारे नबुझी हुँदैन। यिनले इरानी स्वार्थअनुसार कार्यसम्पादन गर्छन्। जसलाई बेलाबखत इरानी प्रोक्सी पनि भनिन्छ। जसको उद्देश्य मध्यपूर्वमा इस्लामिक प्रभुत्व कायम राख्नु र इजरायललाई मध्यपूर्वबाट लखेट्नु रहेको छ।
यी यति शक्तिशाली छन् कि यिनीहरूले धार्मिक गृहयुद्ध मच्चाएर समानान्तर सरकार नै चलाएका हुन्छन्। यमनमा रहेका हुथी विद्रोही र लेबनानको हिजबुल्लाह समूह यसका ज्वलन्त उदाहरण हुन्। इस्लामिक रिभोस्लुनरी गार्ड क्रप्स (आईआरजीसी)द्वारा सञ्चालित यी समूहलाई इरानले सबै अत्याधुनिक हतियार उपलब्ध गराएको हुन्छ। दुई हजार किलोमिटर पर रहेको यमनबाट इजरायलसम्म ११ मिनेटमै प्रहार गर्ने ध्वनि तरंगभन्दा तीव्र गतिका हाइपर सोनिक ब्यालेस्टिक मिसाइलहरू छन्। लाखौँ डलर पर्ने यस्ता अत्याधुनिक हतियार यस्ता समूहहरूसँग कहाँबाट आयो? निःसन्देह, उत्तर हो– इरान।
कुनै दिन इरानले आणविक हतियार उत्पादन गर्यो र ती हतियारहरू लगामविनाका यस्ता उग्र आतंकवादी समूहको हातमा पुग्यो भने मध्यपूर्वमा इजरायल र अमेरिकी उपस्थितिको कुन दुर्दशा होला? यही सम्भावित त्रास र असुरक्षाको भय नै मध्यपूर्वी युद्धको मूल जरा र कारण हो। हतियार उत्पादनको दिशामा इरानलाई कुनै पनि हालतमा रोक्नैपर्ने दबाब इजरायल र अमेरिकासामु छ।
बेरुतका सडकमा भत्किएका भवन र मानिसहरूको अनुहारमा रहेको त्रासले भन्छ– यस युद्धले मानवतालाई कति तल गिराउँदै छ। इराकी सशस्त्र समूहहरूले अमेरिकी अड्डाहरूमा रकेट प्रहार गरिरहेका छन् भने सिरियाको भूमि पनि यस द्वन्द्वको अर्को अखडा बनेको छ।
कूटनीतिमा सदाबहार ‘अप्रिल फूल’
नेपथ्यको कूटनीतिक खेल पनि उत्तिकै जटिल देखियो। घरी पाँचदिने युद्धविराम भन्ने घरी स्थलसैन्य आक्रमणको तयारी। अमेरिकाले वार्ताको ढोका खुला रहेको भन्दै १७ बुँदे प्रस्ताव पनि अघि सारेको छ। तर, सँगसँगै इरानका ऊर्जा पूर्वाधारहरूमा भीषण आक्रमण गर्ने धम्की पनि दिइरहेको छ। इरानले भने आफ्नो सार्वभौमिकता र सुरक्षाको ग्यारेन्टी नभएसम्म अमेरिकी सर्त मान्न अस्वीकार गरिरहेको छ। यहाँ हरेक दिन ‘अप्रिल फुल’ चलिरहेको छ, आआफ्नो स्वार्थअनुसार झुट बोलिन्छ। झुक्याइन्छ। मूर्ख र धूर्त राजनीतिज्ञहरूले ‘विश्वास’ लाई संसारबाट लखेटिसकेका छन्।
यहीबीच बेइजिङमा पाकिस्तान र चीनका विदेशमन्त्रीबीच संवाद भएको छ। उनीहरूले शान्ति स्थापनाका लागि पाँचबुँदे घोषणा गरेका छन्। चीनले यस प्रक्रियामा आफ्नो समर्थन जनाएको छ, तर कुनै ठोस सुरक्षा ग्यारेन्टी दिएको छैन। इरानले पनि सम्बन्ध सुधार्ने प्रयास गर्दै आफ्ना छिमेकीलाई शान्त राख्न खोजिरहेको जस्तो पनि देखिन्छ।
जब हामी इतिहासका घटनाक्रम नियाल्छौँ, हामी पाउँछौँ कि युद्धले कहिल्यै समाधान दिँदैन। एकातिर भग्नावशेष र अर्कातिर दम्भ मात्र बाँकी रहन्छ।
यो युद्ध केवल हतियार र प्रविधिको प्रदर्शन होइन, लाखौँ मानिसको भविष्यसँगको खेलबाड पनि हो। बहराइनमा भइरहेको प्रदर्शन र त्यहाँको दमनले देखाउँछ कि खाडी मुलुकहरू भित्रभित्रै कति अस्थिर छन्।
ऐतिहासिक रूपमा हेर्दा मध्यपूर्वको यो क्षेत्र सधैँ शक्तिराष्ट्रहरूको क्रीडास्थल बनेको छ। जब हामी इतिहासका घटनाक्रम नियाल्छौँ, हामी पाउँछौँ कि युद्धले कहिल्यै समाधान दिँदैन। एकातिर भग्नावशेष र अर्कातिर दम्भ मात्र बाँकी रहन्छ। इस्फाहानको आकाशमा उडेका ड्रोनहरू हुन् वा हर्मुजको जलडमरुममा रोकिएका जहाजहरू, यिनले संकेत गरिरहेका छन् कि यदि समयमै कूटनीतिक समाधान निस्किएन भने यस युद्धले पूरै विश्वलाई थकाउनेछ। पराजित हुनेछ मानवता। मानवीय मूल्यको उपहास गर्दै मान्छेको रगत पिउने अभिलाषा बोकेर अनिश्चितकालसम्म मध्यपूर्वका आकाशमा हजारौँ रकेट सलबलाइरहनेछन्।
हालको यो प्रविधिमैत्री बंकर बुस्टर, फाइटर प्लेन, रकेट र ड्रोन-आधारित युद्धले विगतका युद्धभन्दा बढी विनाशकारी रूप लिने देखिन्छ। त्यसैले तत्काल यो विराम हुन जरुरी छ। तर, पहल पो कसले गर्ने? दीर्घकालीन युद्धविरोधी नीति, स्वतन्त्र अनुसन्धान र दबाब दिन सक्ने गरी संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरू कहिले बलिया हुने हुन्? प्रश्न अनुत्तरित छन्। उत्तरहरू अनिश्चित…।


















