कृष्णपक्ष थापा [KanxeY]
कृष्णपक्ष थापा [KanxeY]

basantiइजरायलमा जाडो अझै घटेको छैन । आजकल अलि फुर्सद त्यति छैन, फेरी बिजी भएको छु, व्यस्तताको सेरोफेरो सधै उस्तै हुने रहेछ, जति मिलाए पनि नहुने । फेसबुक होस् या ब्लग कतै पनि अपडेटेड भइएको छैन ।

कता हरायौ हँ ? इनबक्समा कतै कतै प्रश्नका हरफहरु झुन्डिएका छन । कहिलेकाही कतै पनि केही नगरी त्यतिकै चुपचाप बिन्दास बसे के फरक पर्ला र ? फेरी अलि अलि सन्चो पनि त छैन ।धेरै दिन पछि दौतरीका नेपालियन भेटिए गुगल च्याटमा । कृष्णपक्षको लेखाइ पातलिदै गएको उनको गुनासो थियो, र यो सही थियो । साहित्यिक कथा, कविता र थोत्रा मोत्रा गन्थन बाहेक म के लेख्छु र नेपालियन जी ? अनि आजकल यस्तो सिर्जना(?) पढेर बस्ने फुर्सद पो कसलाई होला र ? गफ मोडियो, ‘हो त नपत्याए हेर्नुस न कसरी ओझेल परे किशुनजीका अगाडी नेपाली भाषा साहित्यका अमुल्य निधि – डायमण्ड शमशेर राणा । नेपाली भाषा साहित्यका लागि उनले छाडेर गएका अमुल्य सम्पत्ति र उनको योगदान के नेपाली मिडियाको चर्चाका लागि अपुग थियो त ? पक्कै थिएन । तर सत्य यो पनि हो कि मिडियाले त्यो पस्कन्छ वा पस्कनु पर्छ, जुन पाठक वा दर्शकले ज्यादा रुचाउछ, त्यो उसको व्यवसायिक धर्म पनि हो ।
तर यस्तो राजनीतिको मसला मात्र मन पराउने पारखी किन भयौं त हामी ? कता कता छाती भित्र दुखेझैं प्रश्न उभियो ।

फेस्बुक र त्विटर तिर केही मित्रहरुको स्टाटस पढेपछि मलाइ नि यस्तै लाग्यो, श्रष्टाको अवसानपछि पोखिने लोकाचारका झुठा आँसुहरुमा पनि कन्जुस्याइ हुदो रहेछ, भएको देखियो । त्यसो त नेता किशुनजीका महत्ता र सम्मानप्रति कसैको असहमति छैन तर उनका अनगिन्ति समाचार तस्वीर र प्रत्यक्ष प्रसारण समेत गरेर पलपलका खबर प्रकाशन/ प्रसारण भैरहंदा कतिपय वेव साइटले अहिले सम्म मुख पृष्ठमा नै साहित्यकार राणा केवल बिरामी भएको देखि यता उनको देहावसानको खबर अपडेट नै गर्न भ्याएका छैनन् ।

फेसबुकमा मित्र अशोक पार्थिव ले लेखेका छन –
  • डायमण्ड शमसेरको मृत्युमा हामी साहित्य प्रेमीले मनमनै तोप पड्काएर बिदाई गर्यौं । जसलाई राज्यले सम्झिनुँ उचित ठानेन भने किसुनजीको मृत्युमा चाही पशुपतिको जंगल थर्किने गरी नेपाली सेनाले तोप पड्काएर बिदाई गर्यौ । धन्य होस् नेताहरूको बुद्दिलाई जसले यो देश तिनीहरूको मात्र ठानेका छन् । तर यो पनि नबिर्सिनु कि साहित्य, भाषा, संस्कृति ति मूला नेताहरू भन्दा पनि माथीको चिज हो जुन शताव्दियौं सम्म जिवित रहनेछ ।

उनको स्टाटस पढेपछि भित्र एउटा साहित्य अनुरागी बाँचिरहेको कृष्णपक्ष पनि प्राभावित भयो ।

म राजधानीमा भर्खर आउँदाका दिनहरु थिए, डायमण्ड समसेरका कृतिहरु अनिता,सेतो बाघ र वसन्ती पढ्दाका ती मिठा क्षणहरु आजपनि सम्झिरहेको छु । उनका कृतिहरु पढ्दा इतिहासको कुनै कालखण्डको सजीव चित्र दृश्यावलोकन गरेझैं या जीवनका वास्तविक घटना पढ़ेझैँ अनुभूत गर्थें म। नेपाली साहित्य आकाशका महान साहित्यकार डायमण्ड समसेर आज हामीमाझ हुनु हुन्न, सदा सदाका लागि विदा भइसक्नु भएको छ, यद्यपि उनका ती अनमोल कृतिहरु हाम्रो साहित्यको भण्डारमा युगौंयुग बाँची रहनेछन, सधै सधै भरी ।

वसन्तीको यो मिठो प्रेमिल गीत संगै, उनको आत्माको चीर शान्तिको कामना व्यक्त गर्दछु ।

Share.

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com