कृष्णपक्ष थापा [KanxeY]
कृष्णपक्ष थापा [KanxeY]

शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, … तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।
म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।
नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

साभार केहि दिन अगाडिको फेसबुक नोट

Share.

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com