कृष्णपक्ष थापा [KanxeY]
कृष्णपक्ष थापा [KanxeY]

यो एक आदिवासी जनजातिको पीडादायी कथा हो।

ती अल्पसङ्ख्यक आदिवासी, जसको थाँतथलो पटक-पटक खोसियो। जसलाई थाहै छैन, आफ्नो देश कुन हो र कुन होइन? जो वर्षौंदेखि राष्ट्रियताको गहिरो घाउ बोकेर बाँचिरहेछन्। ती अल्पसङ्ख्यक आदिवासी समूह जो इमानदार र परिश्रमी माटोका मालिकहरू हुन्।

इजरायलमा उनीहरूको अर्को परिचय थपिएको छ, ती बहादुर वफादार सैनिक पनि हुन्।

आज म तपाईँहरूलाई एक यस्ता सरल र इमानदार स्वभावका आदिवासी जनजातिको कथा सुनाउँछु, जसको रक्षाका लागि इजरायलले अर्को देशसँग युद्ध नै लड्यो।

हमास आतङ्ककारीले २०२३ को अक्टोबर ७ मा इजरायलमाथि गरेको नृशंस नरसंहारपछि मध्यपूर्वमा सल्किएको युद्धको आगोका बारेमा हामी सबैलाई थाहा छ। त्यसपछि विकसित घटनाक्रम पछ्याउँदै आजसम्म आइपुग्दा वरपरका धेरै देशहरू, साउदी अरब, यमनका हुथी विद्रोही, लेबनानका हिजबोल्लाह, इराक तथा इरानबाट समेत इजरायलले प्रत्यक्ष आक्रमण खेप्नुपर्‍यो।

गाजामा भएको मानवीय क्षतिका तस्बिरहरू देखाउँदै सारा विश्वले इजरायलमाथि औँला उठाइरहेका थिए भने युद्धलाई लिएर संयुक्त राष्ट्र सङ्घ र शान्तिप्रेमी विश्व समुदायका अनेक प्रश्नहरूको सामना गरिरहेको थियो इजरायल।

यसैबीच १६ जुलाई २०२५ मा इजरायलले सिरियाको दमास्कसमा हवाइ हमला गर्‍यो। यति धेरै युद्ध लडिरहेको इजरायलले फेरि किन एकाएक सिरियामा पनि हमला गर्न पुग्यो त? हो यो युद्धको कथा प्यालेस्टाइनसँग जोडिएको कथाभन्दा भिन्न छ। यो त यिनै इजरायल र सिरियाको सिमानामा चेपिएका आदिवासी जनजातिहरूको समूहसँग प्रत्यक्ष जोडिएको युद्धको कथा हो।

सिमानाले चिरिएको घाउ

एक दिन हामी इजरायलको उत्तरी भेग घुम्न निस्किएका थियौं।
यदाकदा हिजबोल्लाहले प्रहार गरेका रकेटहरूको निशानामा पर्ने इजरायल र लेबनानको सिमानामा रहेको निकै सानो गाउँ मतातबाट लेबनानका सहरहरू निकै नजिक र प्रस्ट देखिन्थे। त्यसबेला कुनै युद्ध थिएन, सीमानाहरू शान्त थिए। असाध्य मौनता छाएको थियो, कतै कतै बारुदले खाएका, रकेट र बमले उडाएका निर्जन घरहरू चुपचाप खण्डहरको स्वरूप बनेर उभिएका थिए।

गोलान क्षेत्र युद्ध पर्यटनको (वार टुरिजम)को निकै ईर्ष्यालाग्दो उदाहरण पनि हो, हाम्रा पथ प्रदर्शक दाजु गोलानको उकालोमा गाडीको रफ्तारसँगै बियरको चुस्की लगाउँथे अनि टुटे फुटेको अङ्ग्रेजीमा युद्धका बयान गर्थे।

इजरायलको उत्तरी क्षेत्रस्थित मनराको चुचुरोमा पुगेपछि जिससका पदचाप बोकेको गलिल क्षेत्र, हुला उपत्यका, माउन्ट हर्मोन र गोलान हाइटको सुन्दर दृश्यहरूमात्र होइन, इजरायलको छिमेकी देश सिरियालाई पनि सजिलै नियाल्न सकिन्थ्यो।

इजरायलले सिरियासँगको युद्धमा गोलान हाइट कब्जा गरेको रहेछ। युद्धमा जितेपछि जमिन र माटो मात्र होइन, त्यो माटोमा त्यहाँ वर्षौंदेखि आबाद रहेका मानिसहरू पनि इजरायलका भए। आधिकारिक रूपमा उनीहरू इजरायलको सीमाभित्र परे पनि उनीहरूको मन सिरियाली थियो, ती आफूलाई सिरियाली ठान्थे।

यिनै द्रुजहरूको गाउँ मज्दाल शाममा हामी पुग्दा हामीले निकै आत्मीय सत्कार पायौं। मूलतः सिरियन र अरबिक स्वादका रेस्टुरेन्टहरू थिए। खानाभन्दा पनि पस्कने तरिका अनौठो थियो, एकदमै ठुलो साइज ठ्याक्कै नाङ्लो आकारको किस्तीमा ससाना खानेकुराका दर्जनौं प्लेटहरू राखेर टेबल भरी खानेकुरा पस्कने चलन हुँदोरहेछ।

अरबिक स्वादका खुमुस, टमाटरका अचारहरू, रोटीहरू , मोमोजस्ता तारेका कुब्बेहरु, विशेषगरी सिरियन स्टाइलमा चाउचाउ मिसाएर पकाएको भात जुन भुटेको कुरकुरे ओखरसँग पस्किइयो। दक्षिण भारततिर माघे सङ्क्रान्ति ज्वाइँलाई खुवाउने विन्दु भोजनमको शैलीमा द्रुजहरुले टेबल भरी खानेकुरा राखेर हाम्रो सत्कार गरे।

कस्तो विरोधाभास सिरियाली नेताका पोस्टर/चित्रहरू द्रुजका गाउँ गल्लीका पर्खालहरूमा अझै देख्न सकिन्थ्यो ।

हामी पुग्दा त्यहाँ केही गैर फौजकृत इलाकाहरू देखिए। अविताल भोल्कानिक पार्कको डाँडाबाट नियाल्दा तल समथर इलाकामा हामीले लश्करै केही सेता घरहरू देख्यौँ ती युएनका भवनहरू थिए, ती सेता भवनहरू जसले हरदम शान्तिको सन्देश फैलाइरहेका थिए।

जसको निरीक्षणमा थिए संयुक्त राष्ट्र सङ्घका निःशस्त्र पर्यवेक्षक सैनिकहरू। इजरायलतर्फको बफर जोनमा कार्यरत पर्यवेक्षक शान्ति सैनिकहरूले हतियार बोक्न पाउँदैन थिए। शायद त्यसैले उनीहरू कहिलेकाहीँ तिबेरियामा रहेका नेपालीहरूको अपार्टतिर पनि आउँथे। बिदा मिलाएर तेलअभिवतिर पनि घुम्न निस्कन्थे। तर, लेबनानतर्फ रहेका शान्ति सेनालाई भने इजरायल प्रवेश गर्ने अनुमति थिएन।

संयुक्त राष्ट्रसङ्घको मिसनमा रहनुभएका तिनै नेपाली दाजुहरूले मलाई द्रुज र बेडुइनहरुको बारेमा बताउनुभएको थियो। एक सैनिक र पथप्रदर्शकले सुनाउने युद्धका कथाहरू भिन्न भिन्नै हुन्छन्।

समयसँगै घाउहरू पुरिँदै जान्छन् , बदलिँदै जान्छन् र मेटिँदै जान्छन् घातका कथाहरू। समय प्रवाहले हरेक कुरालाई बदल्दै जान्छ। पछिल्ला केही वर्षदेखि यो तस्बिर बिस्तारै बदलिँदै गएको छ। इजरायलको नागरिकताका लागि अनुरोध गर्ने द्रुजहरूको सङ्ख्यामा कीर्तिमानी वृद्धि देखिएको छ।

द्रुजहरू वास्तवमा इजरायलको उत्तरी क्षेत्र गोलानका स्थायी बासिन्दा हुन्। त्यसो त इजरायलका मरुभूमिहरूमै छाप्रो बनाएर बस्ने बेडुइनलगायत अरु पनि आदिवासी समूह नभएका होइनन्। तर, तीभन्दा भिन्न सभ्यताको अङ्कुरण पलाउँदै गरेका द्रुजहरू इमानदार, साहस र वफादारीको प्रतीक थिए।

क्षितिजमा एकातिर लेबनान र अर्कोतिर सिरिया मुस्काइरहेको थियो। धेरै वर्ष पहिले (आधा शताब्दी अघि) इजरायलले छ दिने युद्धमा जितेर सिरियाको गोलान हाइटस आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसै बखत सिरिया र इजरायल दुई देशहरूको सिमानामा चेपिएर यी आदिवासी जनजातिको राष्ट्रियता घाइते भएको थियो, च्यातिएको थियो ।

इजरायली कि सिरियाली? मेरो देश कुन हो?

असी प्रतिशत द्रुजहरूले आजसम्म पनि इजरायली नागरिकता लिएका छैनन्। गाउँका गल्लीहरूमा र द्रुजका घरहरूमा आज पनि गर्वका साथ सिरियाली झन्डाहरू फहराइरहेको देख्न सकिन्छ।

हुन त जसले जित्यो उसैको हुन्छ त्यो माटो, उसले नै कोर्छ सिमाना, उसैको हुन्छ देश। त्यो समुदायका अधिकांश बस्तीहरूमा अहिले इजरायली सेटलमेन्ट भइसकेको छ। निकै थोरै सङ्ख्यामा मात्र पूर्ण रूपमा द्रुजका बस्तीहरू बाँकी छन् ।

मेचीपारिका नेपालीहरू मनले, भाषा र संस्कृतिले नेपाली भएजस्तै दशकौँदेखि गोलानका माटोका मूलवासी द्रुजहरूले पनि उनीहरूको सिरियाली पहिचानलाई अटुट निष्ठाका साथ जोगाइराखेका छन्।

गोलान हाइट्सका द्रुज समुदाय यस्तै एक मार्मिक गाथाका जीवन्त पात्र हुन्। सिक्स-डे वारमा इजरायलले यो भूभाग कब्जा गरेपछि र सिरियाली गृहयुद्ध सुरु भएपछि, उनीहरू इजरायल र सिरियाबिचको एउटा अनौठो दोसाँधमा उभिएका छन्। उनीहरूको राष्ट्रियताको घाउ गहिरो छ र मनभित्रको प्रश्न अझै अनुत्तरित: ‘हाम्रो देश कुन हो?’

उनीहरूको जीवनशैली सिरियाली रहनसहनमा आधारित छ र सिरियासँगको व्यापारिक सम्बन्ध तथा सिमानापारिका परिवारसँगको सम्बन्धले उनीहरूको सिरियाप्रतिको अटुट निष्ठालाई प्रमाणित गर्छ।

इजरायली नियन्त्रणको विरोधमा गरिएका नियमित प्रदर्शनहरू र बेलाबखत गोलान हाइट्समा लागु इजरायली कानुनको विरोधमा हुने हडताल र प्रदर्शनहरूले उनीहरूको समर्पणलाई स्पष्ट पारेको छ। कतिपयको मनमा अझै पनि गोलान कुनै दिन सिरियामा फर्कने आशा अझै जीवित छ।

समयसँगै घाउहरू पुरिँदै जान्छन् , बदलिँदै जान्छन् र मेटिँदै जान्छन् घातका कथाहरू। समय प्रवाहले हरेक कुरालाई बदल्दै जान्छ। पछिल्ला केही वर्षदेखि यो तस्बिर बिस्तारै बदलिँदै गएको छ। इजरायलको नागरिकताका लागि अनुरोध गर्ने द्रुजहरूको सङ्ख्यामा कीर्तिमानी वृद्धि देखिएको छ।

गोलान क्षेत्रमा मात्रै २९ हजार द्रुजहरु रहेका छन्। एक दशक अघिसम्म इजरायली नागरिकता लिने द्रुजहरु नगण्य रूपमा रहेकोमा अहिले लगभग ६००० को सङ्ख्यामा द्रुजहरूले इजरायलको नागरिकता लिइसकेका छन्।

यो परिवर्तनको सबैभन्दा रोचक र मार्मिक पाटो के हो भने, यी निवेदनहरू प्रायः गोप्य रूपमा पेस गरिएका हुन्छन्। कहिलेकाहीँ त परिवारका सदस्यहरूलाई समेत थाहा हुँदैन। नागरिकता लिनेहरू र इजरायलसँग निकट सम्बन्ध भएकाहरू पनि यस विषयमा खुल्न चाहँदैनन्, किनकि उनीहरूलाई समुदायबाट दबाबमा पर्ने डर हुन्छ।

सिरियाली राज्यको पतन र गृहयुद्धले गोलानका द्रुजहरूलाई इजरायली वृत्तमा एकीकृत हुन बाध्य पारेको छ। सिरियामा अध्ययन गर्न जान नसक्नु र कृषि उत्पादनको बजारीकरण बन्द हुनु जस्ता कारणहरूले उनीहरूको व्यावहारिक कठिनाइ बढाएको छ। ‘हामी इजरायलबाहेक अरू केही जान्दैनौं’। कतिपय युवाहरूले सिरियाली शासनको ड्रुज समुदायप्रतिको वफादारीमाथि नै प्रश्न उठाउन थालेका छन्, किनकि उनीहरूका लागि सिरिया एउटा अपरिचित भूमि हो, जहाँ उनीहरूले कहिल्यै पाइला टेकेका छैनन्।

व्यावहारिकता यो आँधीमा पनि, अझै ठूलो सङ्ख्याका द्रुजहरूले इजरायली नागरिकता स्वीकार गर्न मानेका छैनन्। उनीहरू आफूलाई सिरियाली मान्छन् र इजरायली नागरिकता लिनुलाई आफ्नो राष्ट्रियताको त्याग ठान्छन्। नागरिकता नलिनेहरूको अर्को ठुलो कारण भनेको समुदायबाट बहिष्कारको डर हो। सिरियामा रहेका आफन्तहरूलाई सिरियाली शासनबाट हानि पुग्ने चिन्ता र गोलान फेरि सिरियामा फर्किएमा सजाय पाउने डरले पनि धेरैलाई पछाडि हट्न बाध्य पार्छ।

राष्ट्रियता दुखेपछि सीमाहरू भत्किए

यो समुदायका करिब डेढ लाख जनसंख्या इजरायल तर्फ र करिब १० लाखको सङ्ख्यामा सिरिया तर्फ बसोबास गर्छन्। यसैबीच सिरियामा बसर अल असदको पतनसँगै उदाएका नयाँ शासक अल साराले आफ्नो समुदायमाथि चरम अन्याय गरेको र भेदभाव गरेको / विश्वास नगरेको र अर्को आदिवासी समुदायसँग मिलेर आफ्ना दाजुभाइको नरसंहार गराएको आरोप इजरायलका द्रुजहरूले लगाए।

राष्ट्रियताको दुबिधाको बीचमा पनि, रगतको नाता र जातीय एकताको बलियो धागोले ड्रुज समुदायलाई एकै ठाउँमा बाँध्यो। इजरायली-द्रुजहरू र सिरियाली-द्रुजहरूले आफूलाई एउटै समुदायको रूपमा हेर्छन् । हालै सिरियाको सुइदा सहरमा भएको हृदय विदारक नरसंहारले यो भावनात्मक बन्धनलाई बलियो बनायो।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शराले द्रुजहरूलाई समाप्त पार्न खोजेको आरोप छ। सिरियाली सरकारी सेनाले स्थानीय बेडुआइन जनजातिहरूसँग मिलेर द्रुज लडाकुहरू र नागरिकहरूमाथि क्रूर आक्रमण गर्दा ३०० भन्दा बढी द्रुजहरूको ज्यान गएको थियो।

यस विभत्स घटनाको प्रतिक्रिया स्वरूप, इजरायल र सिरियाको सिमानामा “हाम्रा दाजुभाइलाई सिरियामा कत्लेआम गरिँदै छ हामीलाई जान देऊ” भन्दै इजरायली ड्रुजहरूले सिमानामा प्रदर्शन गरे भने कतिपयले जबर्जस्ति भत्काएरै पार गरे। द्रूजले सिमानाका काँडेतारहरु भत्काउदै गरेको दृश्य निकै भावुक थियो । उनीहरूले सिरियामा आफ्नो जातीय सफाया हुन लागेको भन्दै इजरायल सरकारसँग हारगुहार लगाए।

राष्ट्रियताका प्रश्न र अन्योलताका बाबजुद पनि केही द्रुजहरुले इजरायली सेनामा वफादारी पूर्वक सेवा गरेका छन्। तिनको त्यही गुन तिर्न र सो समूहलाई इजरायल तिम्रो साथमा छ भन्ने विश्वास दिलाउन पनि इजरायलले तमाम युद्धहरू हुँदाहुँदै द्रुजको रक्षाको लागि सिरियामा हमला गर्‍यो र सिरियाली सैनिकलाई द्रुजसँग वार्ता गर्न बाध्य बनायो।

इजरायली द्रुज कार्यकर्ताहरूले सिमाना पार गरी आफ्ना दाजुभाइको रक्षा गर्न सिरिया आएको बताए। धेरैले सिमाना पार गर्नु गैर कानुनी भएको स्वीकार गरे पनि, आफ्ना दाजुभाइहरूको आम संहार भएको हेरेर बस्न नसक्ने भन्दै यो कदम चालेको बताए। यो कार्यले द्रुजहरूको गहिरो भावनात्मक सम्बन्ध र आफ्नो समुदायप्रतिको अटल वफादारीलाई दर्साउँछ।

गोलान हाइट्सका द्रुज आदिवासीहरूको यो कथा केवल भूभागको स्वामित्वको होइन, यो पहिचानको हो, राष्ट्रियताको हो, र जीवन सहज बनाउन अपनाउनुपर्ने कटु यथार्थको हो। उनीहरूको हृदयमा सिरियाको माया र इजरायलमा बाँच्नुपर्ने बाध्यताका बिचमा राष्ट्रियताको एउटा निरन्तर पीडा छ। यस पीडाको अन्त्य कहिले होला, वा यो पुस्ता दर पुस्ता सर्दै जाने नियति हो, समयले नै बताउँला।

साँच्चिकै आफ्नो देश कुन हो भनेर थाहा नभएका र पटक पटक सिमानामा बगेका रगत र युद्धहरुमा आफ्नो राष्ट्रियता हराएका/खोसिएका र देश दुखेका यी आदिवासीहरूको मौन चीत्कारले हरेक संवेदनशील हृदयलाई झस्काइरहन्छ।

कृष्णपक्ष थापा
जेरुसलेम इजरायल
अन्नपूर्ण पोष्टमा पढन यहाँ क्लिक गर्नु होला

 

Share.

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com