दिनदिनै मान्छेका अथाह जुलुसहरु उर्लिरहेका हुन्छन शहरका छातीभरि । भिडहरू बाँची रहेको यही सडकबाट कोही हराउनु, बेखबर हुनु – अहँ पटक्कै अस्वाभाविक लाग्दैन । …उ देखियो र फेरी हरायो ।
उसले कहिले देखि लेख्न थालेको हो इन्टरनेटका भित्ताहरुमा ? तिथिमिति पटक्कै हेक्का छैन । उ सपना बोकेर हिड्थ्यो, किसिम किसिमका सपनाहरु । कवि साहित्यकारहरु त्यसै भन्दैनन् , सपनाहरु सुन्दर हुन्छन । उसका सपनाहरु साच्चै सुन्दर थिए । तर ती सपनाहरुलाई विपनामा अनुवाद गर्ने यत्न, यात्रा वा बाटोहरु भने सरल नहुँदा रहेछन ।
वाल्यकालदेखि अनगिन्ती सपनाहरु थिए उसका । ठूला ठूला किताबहरु लेख्ने, फिल्म बनाउने, प्रसिद्ध पेंटिंगहरुको सिर्जना गर्ने, गाउँ गाउँ पुगेर सेवा गर्ने ……. । तर समयले उसलाई परदेशको श्रम शिविरमा उभ्याइदियो । आजपनि हरेक विहान विनिमय भएका उसका दैनिकीहरु प्रारम्भ गर्नु अघि छातीका दराजभित्र कैद ती सुन्दर सपनाहरु एकपटक नियाल्छ र सुस्केराको लामो सास तान्छ उ ।
समय बगिरहेको छ,
दिनहरु गुज्रिरहेका छन ।
कहिलेकाही जब राति धेरैबेर निन्द्रा पर्दैन , त्यतिबेला मात्र म उसलाई भेट्छु । हो त्यतिबेला मात्र व्यग्रताका ती पलहरुमा एकै छिनको लागि र उ पुन हराउछ ब्युझेंपछिको सपना जस्तै कतै अज्ञात शहरमा ।
प्रिय मित्र !
उसलाई कतै भेट्नु भयो भने रोक्नु र भनिदिनु –
“कृष्णपक्ष अब यसरी नहराउ ।”
image- travelpod.com