एउटा गज़ल लेख्दैछु मान्छेको नाउँमा ……।

manchhe

“लामो समय विस्थापित जीवन बिताएर उनी गाउ फिरे,
१२ बजे राति उनलाई घरबाट अपहरण गरियो,
उनको शव घरनजिकैको जंगलमा कुटी कुटी मारेको अवस्थामा भेटियो…”

मान्छेको मन कति संवेदनाहीन हुदै गैरहेको छ?

पछिल्लो पटक २ वटा घटना घट्यो, प्रधानमन्त्रीले एक्लै जबर्जस्ती सैन्यप्रमुख हटाए, उता अनौठो शक्ति धारण गरेर राष्ट्रपतिले फर्काए।
शान्ति प्रतिको आफ्नो प्रतिबद्धताबाट कदापि विचलित नहुने बताउदै प्रधानमन्त्रीले राजीनामा दिए लगत्तै उनका कार्यकर्ताहरूले राष्ट्रपतिको कदमको समर्थन गर्नेलाई कालो मोसो लगाई जिल्ला जिल्लाबाट निकाल्ने वक्तव्य निकाले । सुरक्षाकै लागि मुख थुनेर बस्नु पर्ने यो कस्तो आतंक? कस्तो लोकतन्त्र ?

तराइको कुरै नगरुँ, शान्ति प्रकृया स्थापित भैसकेपछि पनि निरन्तर हिँसा रोकिएन यो क्षेत्रमा । मधेशी समुदायमा धेरैको ज्यान अनाहकमा गएको छ । पहिले जनयुद्धमा लागेर छाडेकाहरू वा त्यसको मारमा परेर बदलाले अभिप्रेरित भएकाहरू त्यसकै सिको गरेर विभिन्न खाले शशस्त्र समुह गठन गरेर छोटो बाटोको राजनीती गर्न अग्रसर भए, अनि जन्मियो छपक्कै बन्दुक बोक्ने राजनीतिक समुहहरू । जीउधनको नाश वा व्यक्तिहत्या, जसका हिड्ने बाटाहरू हुन, तरिकाहरू हुन, प्रकृति फरक देखिदै छ, तर मान्छेको जिउ दाउमा पर्न छोडेको छैन । राजनीतिक रुपमा आफ्नो प्रभाव बलियो देखाउनकै लागि विभिन्न बहानामा जघन्य हत्याहरू भएका छन । जनयुद्ध कालदेखि नै शुरु भएको वदला र प्रतिशोधको भावनाले क्षति पुर्याउने वा हत्या गर्ने परम्परा बस्दैछ -राजनीतिको आडमा । मान्छेको जिउ सतरंजको प्युसा जति पनि ठानिदैन, कति सस्तो मान्छेको जीवन हँ?

किन बनायो मान्छेले राजनीति र शासन व्यवस्था ? आफू र आफ्नो घर छिमेक सुरक्षित हुन, न्यायपूर्ण समाज स्थापित गर्न हैन र? तर त्यो बहानामा मान्छे अँझ असुरक्षित हुदै गैरहेको छ।

हो मान्छेसँग सबै प्रकारका गुण दोष र स्वभावहरू हुन्छन् । केही जाती केही नजाती, केही माया, केही घृणा, केही लोभ केही दानशीलता, केही रिस केही डर, जस्तो अरु सबै प्राणीमा हुन्छ। अभाव,आवश्यकता र परिस्थिति अनुरूप तिनको मात्रा धेरथोर भएको हुन सक्छ । कतिपय ज्यानै जाने सजाय दिईएका शिक्षक सेना, पुलिस, कृषक, व्यापारी, वेरोजगार, वा विद्यार्थी सबैलाई विभिन्न कारणको दोषी देखाइए पनि ती हाम्रो समाजका आम निरीह प्राणी मात्र हुन र उनीहरूको कथित अपराध वा भूल केवल समाज समय र परिस्थितिसंगको सापेक्षिकता मात्र हो । त्यसका लागि निम्त्याइएको प्राणहरणभन्दा ठुलो आतंक र बर्बरता अरु के हुन सक्छ? मानव “हत्या”, दोषीले गरेको भनिएको अपराधको तुलनामा सैयौं गुना ठुलो अक्ष्यम्य अपराध हो, आफूलाई न्यायपूर्ण समाज बनाउछु भन्दै रगत पिउन पल्केका हत्याराहरूले त्यो बुझुन ।

cannibal

न्याय र जनमुक्ति भन्दै आफ्नै भाइहरूको ज्यान ताक्न पल्किएकाहरू सग्लो मान्छेलाई घरबाटै थुतेर लान्छन र अनुसंधान भन्दै शिविर भित्रै कुटी कुटी मार्छन । त्यति भएर पनि दण्डकारी आफ्नो गल्तीलाई स्वीकार्नुको सट्टा आफूमाथि गम्भीर षडयंत्र भएको भन्दै विपक्षीलाई आरोप लगाउने वा नयाँ नेपाल निर्माणको लागि केही छिटपुट दुर्घटना सहनु पर्ने जस्ता दम्भी अभिव्यक्ति दिदै हिडछन । मान्छेको रगतसँग खेल्नुमा अलिकति पनि संवेदना नभएको राजनीति किन हावी हुदैछ बुद्धको देशमा?

सभ्य मानव समाजले स्वीकार्ने त कुरै छाडौं मानसिक सन्तुलन गुमेका, विक्षिप्त भएकाहरूको मस्तिष्कले पनि सोच्न नसक्ने सुन्दै आँग जिरिंग हुने दण्ड सजायको आविष्कार गरेका छन हाम्रा न्यामूर्तिहरूले ।

के राजनीतिको रुप नरभक्षीको जस्तो हुनु पर्छ ?

छातीभित्र काँडा रोपिएजस्तै पीडादायी कथाहरू लुकाएर हामी नयाँ नेपालका धुमिल छाया सजाइरहेका छौं । राजनीतिकर्मीहरू त्यही सपनाको दुहाइ दिएर हाम्रै जिउ ज्यान प्रयोग गरिरहेछन । विकास परिवर्तन वा सुधारको स्वाभाविक लालसा लिएका आम नागरिक यो अजीव वस्तीमा किन यसरी राजनीतिक षड्यन्त्रको शिकार भै रहेछन ?

अहिले साँच्चै लाग्न थालेको छ, आफ्नो विवेक र चेतनाले पृथक प्रस्तुत हुनेहरू, असहमति जनाउनेहरूको बाँच्ने अधिकार खोसिएको छ । हिटलरको दम्भरुपी नयाँ राजनीतिक आयतन भित्र किन झन खुम्चिदैछ्न स्वतन्त्र विचार र आवाजहरू? किन झन कष्टप्रद बन्दैछन आम सर्वसाधारण नागरिकका दिनचर्याहरू र अप्राप्य हुदैछन मजदुरका सामलहरू ?

संघियताको नाउँमा मधेश फाँटका फूलहरू छुट्टिन खोज्दैछन हिमाल र पहाडहरूसँग र रगतको राजनीति हावी हुदैछ त्यो प्रदेशमा ।
अहिले हामी सबैले बुझिसक्यौं हाम्रो संवेदना र आकांक्षाका सिढीहरू चढ्ने आखिर त्यही जंगबहादुर रहेछ, जो रगत लत्पतिएका हातहरू पखाल्छ र भन्छ हामीले बुद्धको देशबाट नयाँ संदेश दियौं।

कति निरीह बनेर सपनाहरूमा पुरिदै सत्ताको कित्ताफाँट गर्नेहरूको नाउँमा शहिद हुनु ? के अब यसको हिसाब राख्ने बेला भएन ? के अब आफ्नो स्वाभिमान खोज्ने बेला भएन? अब बलियो नीति नियम र मापदण्ड कोर्नै पर्छ समयले, – जिउज्यानसँग खेल्नेहरू बिरुद्ध . -आम जिन्दगी हराएको पत्तै नहुने आदिम बर्बर र रहस्यमयी समाज बिरुद्ध । र चिन्नु पर्छ हामीले शाकाहारीको ढोंग गर्ने नौटंकी ब्वासा र हुँडारहरूको अवतार । विचार र मत, अभिव्यक्ति र स्वतन्त्रताको महत्व सर्वोच्च र बलियो रहने न्यायपूर्ण समाजको अब हामीले रचना गर्नु पर्छ । दण्डहिनता र हिंसा बिरुद्ध विरोध लेख्ने समयरेखा अब हामीले कोर्नु पर्छ र हैसियत राख्नु पर्छ हिंश्रक राजनीतिसँग प्रश्न सोध्ने “तलाई थाहा छ जीवनको मूल्य कति हो?”

आँखा चिम्ली मुख थुन्न विवश हुन्छ मान्छे
विष्फोटनको जमिन झैं निरस हुन्छ मान्छे

थाहै हुन्न के को नाउमा, कतिखेर शहिद हुन्छ?
रुवावासी चल्छ तहस नहस हुन्छ मान्छे

हरेक पल असुरक्षित यतापनि उतापनि
संघारमै पोखिएको कलश हुन्छ मान्छे

हार्नेहरू पहिरिन्छ्न विजेताको ताज यहाँ
ढेडुको राज हो यो,”औजस” हुन्छ मान्छे

हिडदाहिडदै ढल्छ मान्छे, आँगनबाटै हराउँछ
बजारको भीडमा सस्तो बहस हुन्छ मान्छे ।।

सन्दर्भ :
वसन्त ब्लग्स
गफगाफ

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.