कृष्णपक्ष थापा [KanxeY]
कृष्णपक्ष थापा [KanxeY]

परदेशमा दुख्यो मन दुखाएर रोएँ
परेलीमै सबै आँसु लुकाएर रोएँ

मधुर स्वरमा शिव परियार गज़ल गाइरहेका छन्, यही बेला इन्टरनेटका भित्ताहरुमा कोरिया जानको लागि आवेदन दिनेहरुको लामो लश्कर सहित समाचार छापिएको हुन्छ । पोहोर बर्ष जस्तै यसपाली विदेश जान चाहने त्यो भिडको आकार अझ बढी थपिएको छ । घरदेशबाट परदेश लाग्ने यो यात्रा किन बढि नै रहेको हो ? एकछिन सोचमग्न हुन्छु, सपनाहरुको यो ओइरो कहिले थामिने हो ?

परदेश हुदै लेखिएको उद्धृत गज़लकी लेखिका उमा सुवेदी स्वयम इजरायलबाट पांच बर्षे लामो वसाई सकेर भर्खर स्वदेश फर्किसक्नु भएको छ । केही दिन पछि उहाँको फेसबुक स्टाटसमा लेखिएको देख्छु –

परदेशबाट सोध्यैा तिम्ले घरदेशको के चाल छ
खै कसरी वयान गरूँ जताततै वेहाल छ ….

हो, यी यसरी युवाहरुमा बढ्दै गएको विदेशमोह र समाचारमा छापिने यस्ता तस्विरहरुले देशको बिग्रदो स्थितिलाई नै प्रतिबिम्बित गरिरहेका हुन्छन । रोजगारी छैन, हरेक क्षेत्रमा अवसर र सम्भावनाहरु कम छन, राजनीतिक अवस्था सधै तनावपूर्ण छ । विजुली छैन, पानी छैन, इन्धन छैन .. समस्या र अभावै अभावको यो पहाडबाट उम्कने सजिलो बाटो बनेको छ विदेशको यात्रा ।

सजिलो कहाँ छ र?

के विदेश सोचेजस्तो सजिलो छ त ? विगत केही बर्ष देखि इजरायलमा छु । एकछिन फर्किएर विगतमा छोडेर आएका दिनहरु हेर्दा र विदेश बिताएका समयहरु केलाउदा मन गह्रुङ्गो भएर रुन आउछ, शिव परियारले गाएको त्यो गज़ल जस्तै । अध्ययन, रोजगार या अन्य विभिन्न वहानामा परदेश हिडेका सबै सुखी कहाँ होलान र ? मलाइ लाग्छ केहीलाइ छाडेर अधिकांशको मन शायद त्यसरी नै रुन्छ, जसमा परदेश लाग्नु अघि उसले साँचेका अधुरा सपना र आकाङ्क्षाहरु पनि मिसिएका हुन्छन ।

वैदेशिक रोजगार थोरैलाई सजिलो होला तर अधिकांशलाई फलामको च्युरा जत्तिकै कठिन छ । विदेश जान सोच्दै गरेका युवाले पनि यो तथ्यलाई केही हदसम्म पक्कै बुझेका छन, यद्यपि स्थिति विवश बनेको छ । आफ्नै देशमा सिप र श्रमको उपयोग गर्ने पर्याप्त सम्भावना भए किन कोही श्रम सिप विनिमय गर्न विदेशिन्थ्यो ?

विहान देखि सर्भिसमा हुन्छु, कसैले मेरो समय किनेजस्तो लाग्छ । यी फराकिला सडकहरु, घुम्न जाने पार्क, खाने ठाउँ, प्राथना गर्ने मन्दिर (स्थानीय भाषामा बेट केनेसेट) या यी रेस्टुराँहरु … कुनै पनि मेरा रोजाइका स्थानहरु हैनन् । आउदा जाँदा मजस्तै असंख्य अनुहारहरु भेटिन्छन – काममा इन्जोय गर्नु पर्छ यार खुब रमाइलो पो हुन्छ त, उनीहरुको तर्क यस्तै हुन्छ । तर त्यही धारो पधेरो, वरपिपलको चौतारी र घर सम्झेर कहिलेकाही दुखि हुने मनलाई कसले पो छेक्न सक्छ र ?

फेरी एकपटक घरदेशकै कुरा गरौँ ।

राजनीति घृणित खेल हो भन्दै यसको गन्ध पटक्कै नरुचाउने जो कोही पनि तर आज यसबाट यति प्रभावित भएको छ कि उ त्यतिकै मौन बस्न सकिरहेको छैन । नयाँ नेपाल बनाउदै गरेको सरकार र राजनेताहरुले कुर्सी तान्ने खेल खेल्नु बाहेक अरु कुनै खास काम गर्न सकेका छैनन् । संविधान निर्माण हुने कुनै अत्तो पत्तो छैन । उल्टो सभाषदहरु समेत भ्रष्ट हुदै गएका समाचार दिनप्रतिदिन आउन थालेका छन ।

यस्तो बेला, बिरोध र दवाव दिन युवाहरुको एक जमात सामाजिक संजाल फेसबुकबाट ओर्लेर सडकमा स्वस्फुर्त उत्रेको छ । सबैले एउटै नाराका काला पर्चाहरू छातीमा टासेका छन् जसमा लेखिएको छ –
भत्ता पुरा लियौ अब संविधान देउ

के थाहा यी मध्ये कतिले विदेश पढ्न जाने फर्म भरी सकेका छन कि ? या कति केही बर्ष बाहिर बसेरै फर्केका पो हुन् कि ? आज जस्तो भएपनि कामना गर्छु, भोली कोही भौतारिदै बाहिरिन नपरोस, यिनीहरु सबैले आफ्नो भविष्य अब नेपालमै सुरक्षित गर्न सकुन ।

image:mysansar & purbelitimes

Share.

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com