धेरै दिन भो, झटारो प्रहार नभएको । देशमा शायद गणतंत्र नामक सुशासन लागू भै सर्वत्र अमनचयन कायम भएकोले यस्तो हुन गएको पो हो की भन्ने भ्रम नहोस, कुन्नी के को काम पनि छैन फुर्सद पनि भने झै दामी काले आजकल सारो बीजी भएकोले यो स्तम्भ ओझेल परेको मात्र हो ।
प्रतिभाको एक सांस्कृतिक कार्यक्रममा वाचित व्यंग समाचारको झल्झली सम्झना भै रहेछ मलाई, समाचारमा माइला दाई, उनको घरबार र खाजतंत्रको खेदो खनिएको थियो भने गन्गन्तन्त्रको बयान । यो सान्दर्भिक पनि थियो, नेपाली हरुले गणतंत्र को ऐतिहासिक उपलब्धी जो गरेका थिए । यसबेला गणतंत्र धेरैलाइ धेरै मानेमा गतिलो झटारो साबित भएको छ । हुन त अहिले यसो उसो भनेर टिका टिप्पणी गर्नु पटक्कै उचित होइन तर राजनीति कर्मीहरु यही विषयलाइ प्रयोग गरेर पुरनै खाले सताको खेल खेल्न उद्द्यत छन ।
कोही फलानो लाइ सत्ता फलामको च्यूरा बनैदिएको छू भन्दै हिडछन, कोही आतंकको भरमा देश चलाउन पाउदैनस भन्दैछन, जनताका छोराछोरीहरुलाई क्रान्तिमा होमेर माथी पुगेका सत्ताधारीहरु पनि अघिकाहरुकै तालमा हिडेर उधोगति तर्फ लाग्ने शंका धेरै को मनमा छ भने अधिकांश सीधा सादा अनुहार भने खोई के खोई के को स्थितिमा अल्मालिएका छन ।
हत्या हिंसाको दलदलबाट बल्ल अलिकति छुटकारा पाएका नेपाली जनताले गणतंत्र प्राप्तिको खुसी र उमंग राम्ररी मनाइसकेका पनि छैनन, उता फेरी नेपाली जनताको हार हुने भयले एकथरि आत्तिन थालिसकेको अवस्था छ, यस्तो किन ?
हुलका हुल असंतोषहरु बिद्रोह, भएका छन,- मधेश भएका छन, पहाड़ भएका छन -हिमाल भएका छन -किरात भएका छन,-बाहुन भएका छन । तर नेपाली मात्र हुन चाही हामी किन नखोजेको? भन्ने प्रश्नले दामी काले लाइ रिंगाएको धेरै दिन भै सक्यो ।
बादरको हातमा नारिवल भन्ने उखान हाम्रा बाजे बराजूले बेलैमा रचेर ठुलै गुन लगाएका हुन । प्वाट्टै फुटाएर त्यसको स्वाद चाखन नजाने पछि नरिवल भकुन्दोको रुपमा प्रयुक्त हुनु लाइ दामी कालेले अस्वाभाविक मानेको चाहि छैन ।
राजनीतिका खेलाडीहरु भकुन्डोलाइ आफ्नो पक्षमा पार्न सधै तल्लीन छन । नेपाली जनताको अभिलाषामा ठेस लागोस, या कुठाराघात होस तिनलाई के को चासो? सबै समान हुन्छौं भन्थे, सबै सुखी हुन्छौं भन्थे, सबै एकै हुन्छौं भन्थे, के के हुन्छौं के के, भन्थे, होला नि त, भन्दै एक्थरि चाहि “भन्ने दिन र सुन्ने दिन” पर्खदै अधुरा सपनाहरुमा बाचिरहेका छन, अधिकांश भोकानंगा निमुखा नेपालीहरु यही आशावादी बर्गमा परेका छन ।
आहा सपनाहरु कति सस्ता हुन्छन, सबै कुरा महँगीदै गएको नेपाली जनताको थाप्लोमा गणतंत्र पछिको सुखद विकासको मीठा मीठा सपनाहरु भर्भरि पलाएका छन, बन्दूकको नाल र रगतको आहालबाट कहिलै मुक्ति नपाएका नेपालीहरुका ती सपनाहरू पुरा गर्न समयले कति बिलम्ब गर्ने होरू त्यसको अनुमान भने कालेको सघुरो दिमागको परिधि भन्दा बाहिरको कुरा हो । यद्यपि त्यसका लागि गणतंत्रमा पनि फेरी फेरी शक्तिकै मात्र होड़बाज़ी गरिनु हुन्न भन्ने यसको ठम्म्याई हो ।
यो झटारो पढेर काले लाइ गणतंत्र बिरोधी मंडलेको रुपमा हेर्दै हुनु हुन्छ भने तपाई सरासर ग़लत हुनुहुन्छ । यसको प्रतिपक्षको वकालत गर्ने त परको कुरा त्यों हरकत गर्ने को कलमै भाचियोस समेत भन्न चाहन्छ काले । तर आधुनिक खोया बिर्केमा लठठीएर कालो धनको पोको पार्दै रातारात क्यासिनो डिस्को धाउनेहरु र आचार बिचार सबै भ्रष्ट भएका सरकारी धुकुटी रित्त्याउन पल्केकाहरु बाहेक, गरीबीको मारमा पिल्सिएका अधिकांस नेपालीहरु गणतंत्र भित्र सुनौलो भविष्य साचेर बाचेका छन, जून जोगी आए पनि कनै चिरेका भन्दै तिनले पुर्पुरो हात लगाएको हेर्नु नपरोस, गृहयुद्धमा भाग्याजोग्य चिटठा जस्तै गरि जोगिएर बाचेका, वा खेतीबारीको काम छोडेर क्रांति को गीत गाउन हिडेका कालेका दौतरीहरु यत्ता न उत्ता मुलाबारी भित्ताको कित्तामा नपरून ।कालेको चाहना यत्ति मात्र हो ।
खरानी भएका भौतिक संरचानाका खंडहरहरु उस्तै छन । अझै बाकी रहेका युद्धका अवशेषहरु,
ग्रिनेडका टुक्राहरु , गोलीका खोकाहरू, एम्बुसका धरापहरु सबै सबै, सधै सधैका लागि सफा गरेर, बारूद र रगतले कोरेका कलंकहरु मेटेर, स्वच्छ न्यायिक समाजको निर्माण गर्न अबको राजनीती लाग्नु पर्छ । ध्वस्त भएका घर र कार्यालय भवनहरु, सांस्कृतिक संपदाहरुको पुनर्निर्माण गर्न, गृहयुद्ध र अस्थिरताले ओरालो लागेको अर्थतंत्र उकास्न, बिकास निर्माणको बाटोमा अबको राजनीति निर्दिष्ट हुनु पर्छ ।
हामीले हजारौं शहिद्हरू बलिदान गरेर, बेहिसाब अभाव, अन्योल र अशांतिको कालो लामो रात सहेर हासिल गरेको गणतंत्र, खालि गन्थन कै भारी गन्गन्तन्त्र नबनोस, सबैले मनन गरौं ।