कृष्णपक्ष थापा [KanxeY]
whatsapp
कृष्णपक्ष थापा [KanxeY]

तिम्रो शहरमा अचेल

फेसबुक
ट्वीटर
पिण्ट्रेस्ट
लिंक्डइन

म बसेको प्रवासमा विभिन्न खाले नेपाली कार्यक्रमहरु भै रहन्छन, सामाजिक, सांस्कृतिक तथा राजनीतिक । विदेशमा रहेका नेपालीहरुमा यसरी सामाजिक चेतनाको विकास हुनु, बिभिन्न संघ संस्था हरुको स्थापना हुनु वा कार्यक्रम गरिनु आफैंमा सकारात्मक हो।

हुन त यस्ता आक्कल झुक्कल गरिने सुस्ते कार्यक्रमका के कुरा? नाचघर (डिस्को) र मदिरालयमा हरेक साँझ हुने मस्ती र धुम अनि चर्काचर्कीले हाम्रो “खास” परिचय गराएकै छ ।

यसपाला ढिलै भए पनि भानुभक्तलाई सम्झने सानु कार्यक्रम राखियो, कार्यक्रमभरि टिकट काटेर हेरिने सांस्कृतिक साँझ र पोइसो तिरेर नाचिने डिस्कोको “भरिभराउ” सम्झना आइह्यो ।

अनि कार्यक्रम मै एउटा कविता कोरियो ।

bhanu

तिम्रो शहरमा अचेल

निधारभरि पसिना
आगो जस्तै बलेको सुर्य
मध्यदिनको यो प्रचण्ड गर्मी

शान्तिको -एउटा प्यासो वटुवा
एक अन्जुली पानी पिउने
कुवा खोजिरहेछ – तिम्रो देशमा ।
मानौं बालुवा जस्तै उसको छातीमा
युगौंयुगको प्यास अल्झिएको छ।

रम्घा जस्तै कैयौं गाउँहरु थिए
जहाँ रहरलाग्दा सपना बोकेका घांसीहरु हिड्थे
उकाली ओराली गर्ने थकित यात्रुलाई
पाटी र चौतारा बनाउदै …
कुवा खनाउदै …

खै त आज ?
किन अतृप्त यतिसारा प्यासहरु?
किन सुकेका जरुवाका मुहानहरु?

भानु के तिमीलाई थाहा छ?
अचेल हसिया भिर्ने घासीहरु घास बेच्दैनन,
यौवनको वल, रगत र पसिना बेच्न मुग्लान पस्छ्न
या बन्दुक भिरेर जंगल ।

ती फर्कदैनन गाउमा
र खनाउदैनन कुवाहरु,
जहाँ चिसो पानीको मूल बोकेका
आँत हरहर हुने घाँसे कुवाहरु
सुकिसकेका छन
खडेरीको खेत धाँजा फाटे झैं ।

शव्दहरु काव्यमा बुनिएर
सुरिलो भाकामा गुन्जने
कुनै साहित्यिक डबली छैन अचेल,
भानु तिमीलाई म कहाँ बोलाउँ?

तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको,

नत्र किन हुन्थे यति थोरै तिमीलाई सम्झनेहरु,
किन हुन्थ्यो तिम्रो जन्म जयन्ती साँझ
यतिसारो सुनसान ??

यी हेरत,
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?

Leave A Reply

Share :

Twitter
Telegram
WhatsApp

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com