शरद ऋतुको शीतलता छाएको मौसम थियो ।

सफा धरती, धूलो मैलो र बादलहरू सप्पै हटेको खुल्ला आकाश तर पर पर क्षितिजमाथि फैलिएको इजरायली आकाशको यो नीलो क्यानभासमा घरीघरी मडारिइरहेका छन् हमास र हिजबोल्लाका रकेटका राता धर्काहरू .. र कोरिएका छन् विस्फोटपछि निस्कने बारुदका धुवाँका अमूर्त चित्रहरू ।

घरीघरी गाजाबाट प्रक्षेपण गरिएका रकेटहरूले मोबाइलको ‘रेड अलर्ट’ एप्समा जनाउ दिइरहेका हुन्छन् । जसले पलपल बताइरहन्छ कि इजरायलमा कहाँ कहाँ रकेट आक्रमण भयो विशेष गरी गाजासँग सिमाना जोडिएका दक्षिणी सहरहरू र लेबनानसँग सीमा जोडिएका उत्तरी क्षेत्रको नक्सा खतराको रातो चिन्हले राताम्य भएर ढाकिएको छ ।

रकेटहरूको सङ्ख्या अनगिन्ती देखिन्छ । गाजाबाट इजरायलमा यसरी असिना बर्सिए जसरी ह्वारह्वारती रकेट प्रहार भइरहेको छ भने प्रत्याक्रमणमा इजरायलले गाजातर्फ कुन हविगत बनाएको होला ? प्यालेस्टिनीको नियतिमा परेको यो बज्रपातको कल्पनाले पनि मलाई दुखी बनाउँछ ।

कहिलेकाहीँ सोच्छु यदि क्षेप्यास्त्र प्रतिरोध प्रणालीको विकास नहुँदो हो त इजरायलको हालत के हुन्थ्यो होला ? म कल्पना गर्न पनि सक्दिन । मान्छेभित्र किन यतिविध्न घृणाको विष भरिएको छ ? एक अर्काको अस्तित्व पटक्कै स्वीकार गर्न नसक्ने हामी कस्तो युगमा बाँचिरहेका छौ ?

भीड हराएको चकित सहर !

सधैँ जस्तै शान्त देखिने जेरुसेलमका यी गल्ली र भुलभुलैयाहरूमा अनौठोसँग भय र त्रासले डेरा जमाएको छ । युद्धको नमिठो बतासहरू बगिरहे जस्ता लाग्छन् । मानिसहरू विना कारण घरबाट निस्कन डराएका छन् । सहरमा सैनिकहरूको उपस्थिति बढेको छ ।

इजरायल प्यालेस्टाइन युद्ध सुरु भइसकेको थियो । हमास अधीनस्थ गाजामा इजरायली आक्रमणको तीव्रता एकातिर थियो भने उत्तरतर्फ सिरिया र लेबनानबाट दैनिक सयौँको सङ्ख्यामा हिजबोल्ला लडाकुहरूद्वारा इजरायलमाथि रकेट प्रहार भइरहेका थिए ।

यसबिचमा सिमाना वरपरका जनसङ्ख्याको ठुलो समूह तेल अभिभ र जेरुसेलमतिर विस्थापित भएका थिए । या भनौँ रकेट हमलाको त्रासले अनुमानित दुई लाखभन्दा धेरै जनसङ्ख्या बाच्ने अभिलाषामा आन्तरिक स्थानान्तरण भइसकेको थियो । सिमानाका आफन्तहरूलाई सुरक्षित स्थानमा रहेका आफन्तले शरण दिएका थिए ।

कति तीव्र भिन्नता । केही दिनअघि मात्र कुनाकाप्चाबाट छुट्टी मनाइरहेका स्थानीय र पर्यटकहरूको विशाल, जीवित भीड बग्ने यो सहर आज शान्त छ । मैले कोरोना कालका भएका लकडाउनका बन्द दिनहरू सम्झिएँ ।

कार्यालय, रेस्टुराँ र पसलहरू धेरै जसो त बन्द नै छन । खुलेकामा पनि तर मानिसहरूको उपस्थिति अत्यन्त पातलो छ । किङ जर्ज र याफो स्ट्रिटको मध्य भागमा रहेको याफो ट्रेन स्टेसन नजिक एउटा बुढो मानिस गितार बजाएर ‘जेरुसेलम सेल जहाव’को मीठो धुन सुनाइरहेको थियो ।

म जहिले पनि जब किङ जर्ज स्ट्रिटको यो बाटो हिँड्छु परैबाट उसको गितारको मिठो धुनमा तानिन्छु । “हातिक्वा र “जेरुसेलायम सेल जहाव” उसले सधैँ बजाउने प्रिय धुनहरू हुन ।आज पनि उ सधैँ जसरी जेरुसेलायम सेल जहावको मिठो धुनमा गितार बजाइरहेको थियो । आऊ युद्धको भय र त्रास एकै छिन भुलेर बाँचौँ – शायद त्यो बुढो गितार वादक यस्तै केही भनिरहेको छ ।

Share.

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com