कृष्णपक्ष थापा [KanxeY]
whatsapp
कृष्णपक्ष थापा [KanxeY]

जुनेली झैं वदनमा भरेर उज्यालो

फेसबुक
ट्वीटर
पिण्ट्रेस्ट
लिंक्डइन

फूलहरुको यौवन र वसन्तको वैंश छाएको छ शहरमा । मौसम सफा छ, विहान र साँझपख अत्तर महकिएको पराग बोकेर हावा बग्न थालेको छ । तर मेरा दिनहरु भने अति व्यस्त बिते । यस हप्ता इजरायलमा यहुदी धर्मावलम्बीहरुको सबै भन्दा ठुलो चाड पेशाख परेको थियो । मेरो इम्प्लोयर अति धार्मिक र परम्परावादी भएकोले यो समय अत्यन्त व्यस्त रहनु पर्यो । सामान्यत शुक्रबार र शनिबार त सधै नै व्यस्त हुने दिन नै हो । यी व्यस्तताहरूका बीचमा परेको नेपाली नया बर्षको स्वागत पनि गर्न पाएकै छैन । साथीहरुसंग शुभकामनाको दुइ शव्द समेत राम्ररी बाड्न नभ्याएको अवस्था रह्यो । मैले अघिल्लो समय वाचा गरेको थिए, अब हरेक हप्ता नया नया रचना लिएर आउछु । सिर्जना र अर्थोपार्जनका कार्यहरु उस्तै कर्म होइन रहेछन। अरुका लागि समय महत्वपूर्ण हो तर सिर्जनाका लागि समय र मन दुवै चाहिन्छ । मन प्रेमिल भएको क्षण संगालेर आज एउटा शृंगारिक गज़ल लिएर आएको छु ।

जुनेली झैं वदनमा भरेर उज्यालो 
 मुस्काउदै आयौ तिमी छरेर उज्यालो 

 मन छोउँ आँखा चिम्ली, खेलुँ यो रातमा 
 तनको किताब पढुँ बन्द गरेर उज्यालो 

 जगमगायो देह तिम्रो, कन्चन शरीर 
 मानौं आकाशबाट आयो झरेर उज्यालो 

 लुकी लुकी चियाउन प्रभात आएछ 
 कति छिटो पुर्वतिर सरेर उज्यालो 

 अबेर भो भन्दै जब पाइला बढायौ 
 कृष्णपक्ष भयो मन, मरेर उज्यालो ।। 

जाँदाजादै धेरै बर्ष अगाडी बनाएको यो नया बर्षको यो भिडियोको साथमा सबैलाइ नया बर्षको हार्दिक मंगलमय शुभकामना । नया बर्षमा पुरा होउन अधुरा लक्ष्यहरु …. ।

Leave A Reply

Share :

Twitter
Telegram
WhatsApp

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com