कृष्णपक्ष थापा [KanxeY]
कृष्णपक्ष थापा [KanxeY]

नेपालको अन्नपूर्ण हिमाल क्षेत्रमा ९४ भन्दा बढी इजरायली पदयात्रीहरूले हालसालै रोमाञ्चक पदयात्रा अनुभव गरे । यो ट्रेकिङ रोमाञ्चक हुनाको अर्को मुख्य कारण ३४ जना यस्ता इजरायली पदयात्रीहरू थिए जो युद्धमा घाइते भई बाँचेर फर्किएका सैनिकहरू थिए । इजरायल विगत एक वर्ष देखि प्यालेस्टाइनका हमास, लेबनानका हिज्बोल्लाह तथा यमनका हुथी जस्ता उग्र वादी तत्त्वसँग युद्ध लडिरहेको छ ।

यी इजरायली डिफेन्स फोर्स (IDF) का पूर्वसैनिक पदयात्रीहरू धेरैजसो गाजामा लडाइँको क्रममा घाइते भएका थिए । उनीहरू उपचार पुनः स्थापना प्रक्रिया पछि विभिन्न शारीरिक अपाङ्गता सहित जीवन बिताउन बाध्य बनेका थिए ।

यो टोलीमा १२ जना अति अशक्त ( आफै हिँड्न नसक्ने दोस्रो व्यक्तिको सहारामा व्हिल चेयरमा हिँड्नु पर्ने अवस्थाका) थिए भने र २२ जना हात खुट्टा गुमाएका र अन्य विभिन्न शारीरिक अपाङ्गता भएकाहरू थिए। उनीहरूलाई नेपाली पथप्रदर्शक र भरियाहरूले साथ दिएका थिए। यो साहसिक यात्रा सेप्टेम्बरको दोस्रो हप्ता सुरु भएर २६ सेप्टेम्बरमा सफलतापूर्वक सम्पन्न भएको हो। यात्राका क्रममा उनीहरूले मनाङमा दुई रात बिताएर, स्थानीय संस्कृति र खानाको अनुभव गर्ने अवसर पाए।

पदयात्रीहरूले ५,४१६ मिटर उचाइको थोरङ्ग ला पास पार गरेपछि खुसी मनाए। यो अन्नपूर्ण सर्किटको ट्रेकिङमा सबैभन्दा चुनौतीपूर्ण पासमध्ये एक हो, जसलाई पार गरेर उनीहरू मुक्तिनाथमा पुगेर आफ्नो यात्रा समाप्त गरे। मनाङबाट सुरु भएको उनीहरूको ट्रेकिङ याक खर्क, थोरङ ला फेदी, रङ्गला हाई क्याम्प हुँदै थोरङ्गला पास गरेर मुक्तिनाथ झरेपछि सकिएको थियो । इजरायली दूतावासको वक्तव्यअनुसार, पदयात्रीहरूले यो यात्रा पूरा गर्न पाउँदा उत्साहित र गर्व महसुस गरेका थिए।

टोलीको काठमाडौँ आगमनमा इजरायली राजदूत हनान गोदर र नेपाल पर्यटन बोर्डका प्रतिनिधि लक्ष्मण गौतमले स्वागत गरेका थिए ।

समूहले अन्नपूर्णको मनोरम प्राकृतिक दृश्य, चुनौतीपूर्ण भूभाग, र नेपाली संस्कृतिको नजिकबाट अनुभव गर्दै प्रेरणादायी सन्देश दिएर आफ्नो पदयात्रा सफलतापूर्वक सम्पन्न गरेको छ।

युद्धमा घाइते सैनिकहरू

इजरायल-हमास युद्धको पृष्ठभूमिमा, जसले हजारौँ IDF सैनिकहरूलाई शारीरिक र मानसिक रूपमा घाइते बनाएको छ, यस कारण पनि यो अन्नपूर्ण पदयात्रा अझ गहिरो स्मरणीय बनेको हो । इजरायली रक्षा मन्त्रालयले ७ अक्टोबर २०२३ यता करिब दश हजार भन्दा धेरै सैनिकहरू घाइते भएको तथ्याङ्क देखाएको छ ; जसमा ७०% जति आरक्षित सैनिकहरू हुन् भने ३०% अनिवार्य सेवामा रहेका वा करियर अफिसरहरू हुन्। घाइते भएकाहरूमध्ये अधिकांश ३० वर्ष मुनिका छन्। रक्षा मन्त्रालयका अनुसार, २०२४ को अन्त्यसम्म यो सङ्ख्या १४,००० सम्म पुग्न सक्छ।

यस वर्षको नेपाल यात्रा एरेज फाउन्डेशनद्वारा आयोजित आठौँ वार्षिक पदयात्रा हो, जसको स्थापना शिमोन परिएन्तेले गरेका थिए। यो अहिलेसम्मको सबैभन्दा ठुलो यात्रा हो, जहाँ ९४ जना सहभागी थिए । केही समय अगाडी नै यात्रा सुरु गरेका ३४ जना सँग ६ जना नेपाली गाइड, ३ जना डाक्टर, एक जना थेरापिस्ट, र धेरैजसो परिवारका सदस्य वा साथीहरू सामेल थिए।

एरेज फाउन्डेसन सन् १९९९ मा परिएन्तेले स्थापना गरेका हुन् । यो सन् १९९९ मा लेबनानमा हिज्बुल्लाहद्वारा बिछ्याइएको बम विस्फोटनमा ब्रिगेडियर जनरल एरेज गेरस्टाइन सहित तीन सैनिकहरूको मृत्यु भएपछि उनको स्मरणार्थ स्थापना भएको हो। एरेज फाउन्डेसन मार्फत अनुभवी पर्वतारोही परिएन्ते र उनको टोली IDF पूर्वसैनिकहरू, एथ्लेटहरू, र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई सशक्त पुनः स्थापनाको प्रक्रियामा मद्दत गर्न समर्पित छन्।

परिएन्तेले अन्नपूर्ण यात्राको योजना आठ वर्षअघि देखि सोचेका थिए, जब उनीहरूको संस्थाले शारीरिक रूपमा अपाङ्गता भएका साहसीहरूलाई मद्दत गर्न पहाड चढ्ने उपकरण प्राप्त गरेको थियो। “आजकल सैनिकहरू सेनाबाट मुक्त भएपछि यात्रा र ट्रेकिङ जान्छन्, तर युद्धमा घाइते भई बाँचेका र शारीरिक रूपमा अपाङ्गता भएका पूर्वसैनिकहरू, जसले पनि त्यस्तै अनुभव गर्न चाहन्छन्, उनीहरूका लागि के त ?” परिएन्तेले भने। प्रत्येक वर्ष, नेपालको अन्नपूर्ण हिमाल क्षेत्रको पदयात्रामा सहभागी हुने क्रम बढ्दै गएको छ।

यो चुनौतीपूर्ण पदयात्रा केवल शारीरिक प्रयासको प्रतीक मात्र होइन, यो त युद्धमा बाँचेर फर्किएर शारीरिक रूपमा पुनः स्थापित भएपछि मानसिक रूपमा भएको युद्धको घाउ र गहिरो पीडा निको पार्ने यात्रा पनि हो। धेरै सहभागीहरूले खुक्र्यौच, ह्वीलचेयर, र अन्य सहायताका साधनहरू प्रयोग गर्नुपर्छ, साथै अन्य स्वास्थ्य सेवा आवश्यकताहरू पनि। युद्धको दौरान, परिएन्तेले अस्पतालहरू, जस्तै शेबा मेडिकल सेन्टर, भ्रमण गरेका थिए, जहाँ उनले यो वर्षको यात्रामा सहभागी हुन चाहने साहसी पूर्वसैनिकहरूलाई भेटेर नाम टिपाए ।

“यस वर्ष, हामीले विगतमा भन्दा धेरै ठुलो स्तरमा पोस्ट-ट्राउमेटिक स्ट्रेस देखिरहेका छौँ,” परिएन्तेले भने। “हामी आशा गर्छौँ कि यो पदयात्रा सहभागीहरूका लागि शारीरिक र मानसिक रूपमा उपचारात्मक हुनेछ।”

“युद्धमा गोली बारुदले क्षति भएको घाउ निको भएपछि धेरै जना पुनः स्थापनामा थिए । उनीहरूको भौतिक शरीर त उपचारले केही हदसम्म ठिक भएको हुन सक्छ, तर उनीहरूको आत्मा अझै युद्ध मैदानको हिंसा वरिपरि हुनसक्छ, त्यसलाई पनि केही मद्दत चाहिन्छ।”

घाइते सैनिकहरू ले गरेको यो साहसिक पदयात्राले समावेशिता, दृढता, र सहकार्यको सन्देश फैलाउने लक्ष्य राखेको छ। विभिन्न कारणले अपाङ्ग भएका वा फरक क्षमताका व्यक्तिहरूले पनि अपार सम्भावना बोकेका हुन्छन् भन्ने कुरा देखाउँदै, एक अर्कालाई सहयोग गर्दा उत्पन्न हुने अद्भुत अवसरहरूको बारेमा जनचेतना बढाउन यो यात्रा महत्त्वपूर्ण रहेको दूतावासले जनाएको छ।

Share.

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com