कृष्णपक्ष थापा
जेरुसलेम, इजरायल
मध्यरातको अध्यारो आकाशमा जब एउटा अदृश्य खतराले ध्वनिभन्दा तीव्र गतिमा आफ्नो बाटो कोर्छ, तब समय आफैं खुम्चिएझैं लाग्छ । हालै इरान र इजरायलबीचको तनावले यस ‘अदृश्य तीर’ अर्थात् ब्यालिस्टिक मिसाइललाई चर्चाको अग्रपंक्तिमा ल्याइदिएको छ । यी कुनै सामान्य अस्त्र होइनन् । आधुनिक प्रविधिको एक यस्तो कठोर विध्वंसकारी सत्य हुन् जसले मानव निर्मित संरचनाहरुमात्र होइन मानव सभ्यता र मानवीयता नै विनाश गर्ने सामर्थ्य राख्छन ।
आफ्ना परमाणु केन्द्रहरू र वरिष्ठ सैन्य नेतृत्वमाथिको इजरायलले गरेको आक्रमणको प्रतिउत्तरमा, इरानले जति सक्दो शक्ति प्रदर्शन गर्यो—सयौं ब्यालिस्टिक मिसाइलहरू आकाश चिरेर इजरायलतर्फ खनिए। केही मिसाइलहरू त यस्तो वेग र तीक्ष्णताका साथ आए कि इजरायलका सुरक्षा पर्खालहरू समेत तोडिए, र तिनले तेल अभिभको मुटुमा विनाशको आगो सल्काए।
यद्यपि यो धेरै महत्वपूर्ण कुरा हो , इजरायलले आफ्नो उच्च-प्रविधियुक्त रक्षा प्रणालीद्वारा धेरैजसो प्रहारलाई छेकिरहेको छ , तर केही मिसाइलहरू ती पर्खालहरू छिचोलेर सिधै बाक्लो सहरका मानव बस्तीहरूमा झरेका छन र संरचनाहरु ध्वस्त बनाएका छन केही मानवीय क्षति पनि भएका छन ।
मध्यपूर्वी आकाशमा कोरिएको विनाशको वक्ररेखा
इजरायलको आकाशमा मडारिएको युद्धको यो परिदृष्य विगतमा भएका युद्धहरुभन्दा निकै भिन्न छ । इजरायलमा रहेका सम्पूर्णलाई आ आफ्नो मोबाइलमा १०/१५ मिनेट अगाडी नै पूर्व सूचना दिइन्छ, त्यो इरानबाट क्षेप्याास्त्रको लहर प्रक्षेपण हुनेवितिकै दिइएको हुन्छ । त्यसपछि इजरायलको आकाशमा प्रवेश भएपछि रकेट खस्न सक्ने सम्भावित क्षेत्रमा साइरन बज्छ । त्यस बेलासम्म पनि सुरक्षित स्थानमा पुग्न भ्याउनु भएको छैन भने तपाईसँग ९० सेकेन्ड समय हुन्छ ।
१४ सय किलोमिटरको दूरी पार गरेर प्रहार गरिएका ती घातक क्षेप्यास्त्रहरू कस्ता प्रकृतिका हुन ? यिनले पुर्याएको क्षति हेर्दा इजरायलको क्षेप्यास्त्र प्रतिरोध सिस्टम र सुरक्षा क्षमतामै आशंका र प्रश्नहरु उठेका हुन सक्छन ।
गत बर्ष अप्रिलमा एकैपटक ३०० मिसाइल प्रहार हुदा सबै छेक्न सफल प्रणाली अहिले किन चुकिरहेको छ त ? प्रश्नहरु स्वाभाविक हुन तर वास्तवमा इजरायलले अधिकांश ब्यालिस्टिक रकेटहरु आकासमै नस्ट गर्छ तर अत्याधिक तीव्र गतिका कारण न्युन मात्रामा केही मिसाइलहरु रोक्न असफल हुन्छ । हामीले समाचारमा देखेको क्षति त्यसकै परिणाम हो । शतप्रतिशत सफलता कुनैपनि डिफेन्स सिस्टमको हुदैन ।
हामीले बुझेनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने हाइपर सोनिक ब्यालेस्टिक मिसाइल छेक्नको लागि इजरायलमा अहिले सक्रिय डिफेन्स सिस्टम भनेको “एरो ३ ” हो । यो अन्तरिक्षमा आधारित मल्टिलेयरड एअर डिफेन्स सिस्टम हो । मध्यम दुरीका लागि सक्रिय हुने “डेभिड स्लीङ” र छोटो दुरीका लागि प्रयोग गरिने “आइरन डोम” रकेट डिफेन्स सिस्टमभन्दा यो “एरो सिस्टम” प्राविधिक रुपमा आकाश जमिनको फरक छ ।
यो पनि पढ्नुहोस – त्यो कुरुक्षेत्र – जहाँ निस्तेज हुन्छन गगनभेदी क्षेप्यास्त्रहरु
इरान -इजरायल युद्धमा ब्यालिस्टिक मिसाइलको शक्ति र इरानको सशस्त्र तयारी पुनः विश्वको ध्यानको केन्द्रबिन्दु बनेको छ। यद्यपि इरानसँग कति संख्यामा यस्तो खालका मिसाइल छन् भन्ने विषय अझै रहस्यमय छ, तर जानकारहरू भन्छन्—मध्यपूर्वमा यस्तो ठूलो र सुसज्जित मिसाइल भण्डार सम्भवतः अरू कसैसँग पनि छैन। पेन्टागनको गरेको अनुमानमा इरानसँग ३ हजार यस्ता मिसाइलहरु हुन सक्छन ।
यो ब्यालिस्टिक मिसाइल आखिर के हो जसले १४ सय किलोमिटर टाढाबाट पनि लक्ष्यलाई तहसनहस पार्न सक्छ त ? प्राविधिक विश्लेषण अनुसार ब्यालिस्टिक मिसाइलहरू वास्तवमा लामो दूरीका हतियार हुन् जसले परम्परागत वा आणविक वारहेडहरूलाई ‘ब्यालिस्टिक’, अर्थात् वक्राकार, मार्गबाट पुर्याउँछन् ।
कल्पना गर्नुहोस्, एउटा विशाल रकेट जसले आफूलाई पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त गर्दै वायुमण्डलको उच्च तह वा अन्तरिक्षसम्म पुर्याउँछ । यो यात्रा अविश्वसनीय रूपमा उच्च गतिमा हुन्छ र एकपटक इन्जिन बन्द भएपछि, यो मिसाइलले पूर्वनिर्धारित बाटो फलो गर्दै पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा फर्केर निर्देशित लक्ष्यमा प्रहार गर्छ, मानौं यो आकाशबाट खसेको एउटा उल्कापिण्ड हो ।
यी ‘आकाशका शिकारीहरू’ को गति र दूरीको सामर्थ्य साँच्चै विस्मयकारी छ । केही सय किलोमिटरदेखि लिएर १०,००० किलोमिटरभन्दा बढी दूरीसम्म, महादेशहरू पार गरेर पनि यिनले लक्ष्य ध्वस्त पार्न सक्छन् । यस्ता प्रयोगहरु भइसकेका छन ।
इरानद्वारा प्रक्षेपित फत्तेह मिसाइलयिनको गति ‘म्याक’ मा मापन गरिन्छ – त्यो भनेको आवाजको गतिभन्दा पनि कति गुणा छिटो छिटो । म्याक ५ भनेको ध्वनिको गतिभन्दा पाँच गुणा छिटो हो ।
अलि छोटो दूरीका मिसाइलहरू सुपरसोनिक गति (म्याक १ भन्दा छिटो, लगभग १,२२५ किमी/घण्टा) मा उड्छन् भने, लामो दूरीका मिसाइलहरू हाइपरसोनिक गति (म्याक ५ भन्दा बढी, ६,१२५ किमी/घण्टा) मा यात्रा गर्छन् । यसको अर्थ इरानबाट प्रहार गरिएका ब्यालिस्टिक मिसाइलहरू इजरायलमा करिब १,३०० देखि १,५०० किलोमिटरको दूरी १२ मिनेटमै छिचोलेर पुग्न सक्छन् । यो समय मिसाइलको प्रकार र प्रक्षेपण स्थलमा निर्भर हुन्छ र यसले प्रतिक्रियाका लागि कति कम समय मिल्छ भन्ने स्पष्ट पार्छ ।
किन गाह्रो छ यिनलाई रोक्न ?
यही अकल्पनीय गति र वक्राकार मार्गले गर्दा ब्यालिस्टिक मिसाइलहरूलाई रोक्न अत्यन्तै गाह्रो हुन्छ । यिनको छिटो र उच्च उडान मार्गले रक्षा प्रणालीहरूलाई प्रतिक्रिया दिन कम समय दिन्छ । जब यिनिहरू वायुमण्डलमा फर्किन्छन्, यिनिहरू अझै छिटो तल झर्छन्, जसले यिनलाई अवरोध गर्न झनै चुनौतीमय बनाउँछ । अझ कतिपय मिसाइलहरूले त रडार र मिसाइल रक्षा प्रणालीलाई छल्नका लागि ‘डिकोय’ वा अन्य प्रतिरोधी उपायहरू पनि प्रयोग गर्छन्, जसले यिनलाई ‘अदृश्य प्रेत’ जस्तै बनाउँछ, जसलाई भेट्टाउन र रोक्न जटिल हुन्छ ।
यति हुदा हुदै पनि इजरायलको आकाशमा सक्रिय “एरो डिफेन्स सिस्टमले ९० देखि ९५ प्रतिशत मिसाइल रोकिरहेको छ । युएभी र क्रुज मिसाइलहरु त प्राय सबै निस्क्रिय गरिएका छन भने एकै पटक धेरैको संख्यामा प्रहार गरिएका ध्वनीभन्दा तीव्र गतिका ब्यालिस्टिक मिसाइलहरु समेत यसरी छेक्न सक्नु भनेको इजरायलको असाध्यै ठूलो प्राविधिक सफलता हो ।
ब्यालिस्टिक र क्रूज मिसाइल: के फरक छ ?
प्रायः ब्यालिस्टिक मिसाइलसँगै क्रूज मिसाइलको पनि चर्चा हुने गर्छ । इरानले इजरायलविरुद्ध क्रूज मिसाइलहरू पनि प्रयोग गरिरहेको छ । यी दुईबीचको भिन्नता बुझ्नुपर्छ ।
ब्यालिस्टिक मिसाइलहरू आकाशमा वक्राकार मार्ग पछ्याउँदै माथि उडेर लक्ष्यमा खस्छन् भने, क्रूज मिसाइलहरू पाइलटविहीन तर विमानजस्तै कम उचाइमा र स्थिर उडान भर्छन् । यसले यिनलाई हवाई रक्षा प्रणालीबाट बच्न मद्दत गर्छ । यद्यपि, क्रूज मिसाइलहरू ब्यालिस्टिक मिसाइलहरूभन्दा धेरै ढिलो यात्रा गर्छन् (इजरायल पुग्न करिब दुई घण्टा लाग्न सक्छ), जसले हवाई रक्षा प्रणालीहरूलाई अवरोध गर्न बढी समय दिन्छ ।
तर यिनको कम उडान मार्ग र चालबाजी गर्ने क्षमताले गर्दा यिनलाई पत्ता लगाउन गाह्रो हुन्छ र यिनले मार्ग परिवर्तन गर्न, अवरोधहरू वरिपरि उड्न र मिसाइल रक्षा प्रणालीहरूलाई छल्न सहज हुन्छ । पछिल्ला तीन दशकमा इरानले विभिन्न ब्यालिस्टिक र क्रूज मिसाइलहरूको विकास गरेको छ । इरानको ब्यालिस्टिक मिसाइल भण्डार मध्यपूर्वमै सबैभन्दा ठूलो र उन्नतमध्ये एक मानिन्छ ।
गगनभेदी तीर – फत्तेह
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले फत्ताह मिसाइलको प्रयोग गरेर इज़रायल इरान युद्धलाइ “एउटा निर्णायक मोड” पुर्याउने भनेका थिए । ‘फत्तेह’ भन्नाले अरबी भाषामा विजेता भन्ने अर्थ दिन्छ, यो हाइपरसोनिक मिसाइलले इरानलाई प्राविधिक उच्चताको नयाँ अध्यायमा पुर्याएको देखिन्छ। सामान्य मिसाइल भन्दा झन्डै पाँच गुणा तीव्र गतिको यो हतियारले युद्धको आँकलन र परिभाषा नै फेरिदिएको छ।

ठोस इन्धन (solid-fuel) मा आधारित यो मिसाइलले इजरायली सुरक्षा प्रणाली छिचोलेर देशको केन्द्र भागमा आगलागी र संरचनात्मक क्षति पुर्याएका छन्। इरान–इजरायल तनावको इतिहासमा फत्ताहको प्रयोग सम्भवतः एउटा मोड हुनसक्ने विश्लेषणहरू भइरहेका छन्। फत्तेहको विशेषता के भने, यसले १३ म्याकसम्मको गति (ध्वनिभन्दा १३ गुणा तीव्र) समात्न सक्छ, जुन प्रायः कुनै पनि आधुनिक रक्षा प्रणालीलाई छल्न सक्षम छ।
उचाइमा चढेर आकस्मिक दिशा फेर्ने यसको क्षमता यस्तो भयावह छ कि हवाई सुरक्षाका प्रविधि नै अलमलमा पर्छन । इरानले इजरायलमाथि प्रहार गरिरहेका मिसाइलहरूमा क्लस्टर म्युनिसन मिसाइल ( बमहरू भरिएको) पनि प्रयोग गरिरहेको पनि आरोप छ । क्लस्टर म्युनिसन भनेको यस्तो खालको विस्फोटक हतियार हो, जसको वारहेड (माथिल्लो भाग) विस्फोट भएर सयौं साना बमहरू (बमलेट्स) चारैतिर छरिन्छन्। यी अस्त्रहरूले भारी क्षति पुर्याउने खतरा हुन्छ। यो १०० भन्दा धेरै राष्ट्रहरुमा प्रतिबन्धित हतियार हो ।
इरानी मिसाइलहरूमा ‘कियाम’ जुन पुरानो सोभियत युगको स्कड मिसाइलको संस्करण हो र ‘खोर्रमशहर’ नामक ठूलो र शक्तिशाली मिसाइलले त करिब ८० वटा उप-बमहरू बोक्न सक्ने क्षमता राख्दछ। यिनै घातक मिसाइलहरूमार्फत इरानले आक्रोशको वर्षा गरिरहेको युद्ध विश्लेषकहरुको दावी छ।
इजरायलको प्रतिरक्षा प्रणाली
यस्तो भयावह मिसाइल आक्रमणको सामना गर्न, इजरायलसँग पनि दशकौंको अनुसन्धान र प्रयोगहरुबाट विकसित उन्नत मिसाइल भण्डार र हवाई रक्षा क्षमता छ । इजरायली हवाई रक्षा प्रणाली मुख्यतया आइरन डोम प्रणालीको खुबै चर्चा छ । रडारले सुसज्जित आइरन डोमले आगमन प्रोजेक्टाइल, यसको गति र दिशा पत्ता लगाउँछ । यसका अतिरिक्त, अन्य प्रणालीहरूले मध्यम र लामो दूरीका मिसाइलहरूलाई अवरोध गर्छन् ।
डेभिड्स स्लिङले ४० किमीदेखि ३०० किमीसम्मका मिसाइलहरूलाई रोक्न सक्छ भने, एरो प्रणालीले २,४०० किमीसम्मको दूरी भएका मिसाइलहरूलाई पनि रोक्ने र निस्क्रिय पार्ने सामर्थ्य राख्छ ।
इजरायलले धेरैजसो मिसाइलहरूलाई रोक्न सफल भए पनि, केही मिसाइलहरूले उसको रक्षा प्रणालीलाई छल्दै तेल अभिभ र अन्य क्षेत्रहरूमा केही क्षति पुर्याएका छन् । कल्पना गरौं त इजरायलमा यस्ता प्रतिऱक्षा प्रणाली थिएनन भने नरसंहारकारी यस्ता व्यालेस्टिक मिसाइलबाट हुने क्षतिका विवरणहरु कति भयावह र दुर्भाग्यपूर्ण हुने थिए होलान ??
व्यालिस्टिक मिसाइलहरू केवल फलाम र प्रविधिको ढिस्को मात्र होइनन् । यिनिहरू आधुनिक युद्धको कठोर यथार्थ, भूराजनीतिक शक्ति संघर्षका प्रतीक र मानव निर्मित विनाशका डरलाग्दा तस्वीरहरु हुन् ।