कृष्णपक्ष थापा
जेरुसलेम, इजरायल
इज़रायल इरान युद्धमा अमेरिकाको प्रवेश भएपछि मध्यपूर्वको शान्ति र स्थीरतामा थप आशंका र प्रश्नचिन्हहरु उठेका छन । मैले यहाँ इजरायल – इरान युद्धको छोटो टाइमलाइन तयार गरेको छु । यो रेखामा अमेरिका इजरायल इरान युद्धमा प्रत्यक्ष होमिनु अघिसम्मका प्रमुख घटनाक्रमहरु समावेश छन ।
धार्मिक अतिवाद, एन्टिसेमिटिज्म, इरानी स्वार्थ र प्रतिरोधका अक्षहरुमा केन्द्रित रहेर कोरिएको टाइमलाइन भएको तिनकै सेरोफेरोका थोरै घटनाहरु मात्र अटाएका छन ।
आजभन्दा ६० बर्ष अगाडी फर्किएर हेर्ने हो भने इरान इजरायलको असल मित्र मात्र थिएन, विकास आधुनिकता र समृद्धिको उचाइ त्यतिबेलै छोइसकेको देश थियो । धार्मिक स्वतन्त्रता र आर्थिक समृद्दिको यात्रामा आजभन्दा धेरै अगाडी रहेको इरानमा एकाएक धार्मिक कट्टरपन्थीहरुको आखा लाग्यो ।
कुनैबेला इजरायल र अमेरिकाको असल मित्रको रुपमा उभिएको इरानमा कसरी यति ठूलो यहुदी विरोधी घृणाको बीजारोपण भयो ? त्यसको उत्तर खोज्न टाढा जानु पर्दैन । यसको सुरुवात सो बखत इरानमा आँधिजसरी बढेको धार्मिक लहरसँग जोडिएको छ ।
यो शत्रुताको बीउ सन् १९७९ को इरानी क्रान्तिसँगै आरम्भ हुन्छ । क्रान्तिको केही दिनभित्रै तेहरानले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्यो। त्यसबेलादेखि, इरानले इजरायललाई “सानो शैतान” र अमेरिकालाई “ ठूलो शैतान” को संज्ञा दियो र इजरायलको विनाशका लागि खुलेर लाग्ने प्रतिबद्धता जनाउँदै आयो। यद्यपि, लामो समयसम्म यो द्वन्द्व बाहिरबाट लुकेको युद्ध (covert conflict) जस्तो देखिन्थ्यो।
इरानले हमास र हिजबुल्लाहजस्ता समूहहरूलाई हतियार र सैन्य तालिम दिएर इजरायलविरुद्ध परोक्ष प्रहार गर्न सुरु गर्यो । अर्कातर्फ, इजरायलमाथि पनि इरानको आणविक कार्यक्रमलाई सुस्त बनाउन लक्षित हत्या, विस्फोट र साइबर आक्रमणको आरोप लाग्ने गर्दथ्यो ।
केही इस्लामिक राष्ट्रहरुको अस्व्कृतिका वावजुद इजरायलले आफूलाई एक प्रजातान्त्रिक मुलुकको रुपमा स्थापित गर्न, छिमेकी र विश्वका अन्य देशहरुसँग दौत्य सम्बन्ध राख्न हरसम्भव कोसिस गरिरहेको छ । उसले एउटा राष्ट्रको रुपमा कृषि, विज्ञान, सुचना र प्रविधि लगायतका क्षेत्रमा गरेको उन्नति उदाहरणीय छ ।
हमासको नेतृत्वमा अक्टोबर ७, २०२३ मा इजरायलमाथि भएको आक्रमण र त्यसपछि इजरायलको गाजा युद्धले पर्दा पछाडिको नाटकलाई खुला मञ्चमा ल्याइदियो। यसले इरान र यसका क्षेत्रीय समर्थकहरू (इरानी छद्म सैन्य संरचना) लाई इजरायलविरुद्ध अझ खुला युद्धमा धकेल्यो।
मैले इरान इजरायलको पछिल्लो घटनाक्रमको (डेढ दशकको समयरेखा) टाइमलाइन बनाउने कोसिस गरेको छु । यो द्वन्द्वका केही महत्वपूर्ण मोडहरूलाई समयको धागोमा उनेर हेरौं न त:
२०१०: इरानी आणविक केन्द्रमा अनौठो हमला
सन् २०१० मा, इरानको आणविक कार्यक्रममाथि एउटा निकै रहस्यमय विनाशकारी साइबर आक्रमण** भएको खबर संसारभर फैलियो। बाह्य विश्लेषकहरूले यसलाई ‘स्टक्सनेट’ नाम दिए। यस अदृश्य हतियारले इरानको नतान्ज आणविक स्थलमा युरेनियम प्रशोधनका लागि प्रयोग गरिने १० प्रतिशतभन्दा बढी सेन्ट्रीफ्यूजहरू नष्ट गरिदियो। यो अमेरिका र इजरायली विज्ञहरूको काम भएको पछि खुलासा भयो।
( विस्तृत लेख यहाँ पढ्नुहोस् – इरानको आणविक केन्द्रमा घुसेको एक रहस्यमय भाइरस)
सन् २०१५: इरानसँगको आणविक सम्झौता :
जुलाई २०१५
अमेरिका र प्रमुख विश्व शक्तिहरूले तेहरानसँग एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरे, जसले इरानको आणविक क्षमतालाई सीमित गर्दै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने निर्णय गर्यो । अमेरिकी सरकारद्वारा सार्वजनिक सम्झौताको विवरणअनुसार, इरानको युरेनियम भण्डारण १५ वर्षका लागि ९८% घटाएर ३०० केजी मात्र रहने, प्रशोधन स्तर अधिकतम ३.६७% मा सीमित हुने र इरानले आफ्ना २०,००० मध्ये अधिकतम ६,१०४ सेन्ट्रिफ्युज मात्र राख्न पाउने गरी आणविक सम्झौता भयो । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई “ऐतिहासिक भूल” भनेर टिप्पणी गरे।
तीन वर्षपछि, अप्रिल २०१८ मा नेतन्याहुले इरानले आणविक हतियार कार्यक्रमको इतिहासबारे झूट बोलेको प्रमाणित गर्ने हजारौँ दस्ताबेजहरू इजरायलले प्राप्त गरेको दाबी गरे । मे २०१८ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरे।
सन् २०१९-२०२२: इजरायलको निशानामा इरान समर्थित सैन्य संरचनाहरू
अगस्ट २०१९
लेबनान, सिरिया र इराकमा इरान-समर्थित सेनाहरूलाई लक्षित गरी युद्ध विमान वा ड्रोनद्वारा आक्रमणहरू भए । नोभेम्बर २०२० मा, इरानका प्रख्यात आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको तेहरानबाहिर भएको एक हमलामा हत्या भयो, जसको दोष इरानले इजरायलमाथि लगायो।
यसअघि पनि इरानले २०१० देखि २०१२ बिचमा मारिएका अन्य आणविक वैज्ञानिकहरूको मृत्युको दोष इजरायलमाथि लगाएको थियो। अप्रिल २०२१ मा, इरानको नतान्ज आणविक केन्द्रमा आक्रमणका कारण ब्ल्याक आउट भयो, जसले त्यहाँका सेन्ट्रीफ्यूजहरूलाई क्षति पुर्यायो। इरानी अधिकारीहरूले यसमा पनि इजरायल नै जिम्मेवार भएको बताए ।
मे २०२२ मा, इरानको रिभोलुसनरी गार्डका वरिष्ठ सदस्य कर्नेल हसन सायद खोडाएईको तेहरानमा गोली हानेर हत्या गरियो, जसको शैली इजरायलले गरेको भनिएका अघिल्ला आक्रमणहरूसँग ठ्याक्क मिल्दोजुल्दो थियो।
सन् २०२३ अक्टोबर: खुला युद्धको घोषणा
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि अप्रत्याशित आक्रमण गर्यो, इरानले यो युद्धमा आफ्नो संलग्नता नभएको दाबी गरे पनि, पश्चिमा र मध्य पूर्वी गुप्तचर अधिकारीहरूले इरानले वर्षौँदेखि हमासलाई सैन्य तालिम, तार्किक सहयोग र आर्थिक सहायता प्रदान गरेको बताए। गाजा युद्धको प्रतिक्रियामा, लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोहीहरूले इजरायलविरुद्ध आक्रमण गर्ने घोषणा गरे। यसैबिच, इजरायलले पनि यस क्षेत्रभरि इरानी लक्ष्यहरू र समर्थकहरूमाथि आक्रमण बढाएको देखियो, जसमा डिसेम्बर २०२३ मा सिरियामा इरानको IRGC कुद्स फोर्सका वरिष्ठ कमान्डर मारिए।
इरानले सयौँ ड्रोन र मिसाइलहरू एकसाथ पठाएर इजरायलको हाइफामा रहेको (प्रतिदिन २ लाख ब्यारेल / करिब सवा करोड लिटर तेल उत्पादन क्षमताको) सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रलाई क्षति पुर्यायो । (३ दिनपछि पुन सञ्चालनमा ल्याइयो)
२०२४-२०२५: सीधा आक्रमण र प्रतिआक्रमणको शृङ्खला
अप्रिल २०२४ मा, सिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावास नजिकैको भवनमा भएको सन्दिग्ध इजरायली हवाई हमलामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका दुई वरिष्ठ सदस्य मारिए।
यसको करिब दुई हप्तापछि इरानले इजरायलतर्फ एकैसाथ पुग्ने गरी ३०० मिसाइल र ड्रोनको लहर प्रहार गरेर जवाफ दियो। इरानले प्रत्यक्ष इजरायलमा आक्रमण गरेको पहिले पटक थियो । यद्यपि उसका सम्पूर्ण मिसाइलहरू निस्तेज गरिए ।
इजरायलले पनि इरानभित्र आक्रमण गर्यो, जसले रुसी निर्मित हवाई प्रतिरक्षा प्रणालीको राडार प्रणालीमा प्रहार गरेको देखियो।
जुलाई ३१, २०२४
इजरायलले तेहरानमा हमास प्रमुख इस्माइल हानियालाई आक्रमण गरी मार्यो, यद्यपि इजरायलले यसमा आफ्नो भूमिका महिनौँपछि मात्र पुष्टि गर्यो।
सेप्टेम्बर २७, २०२४,
इजरायली आक्रमणमा लेबनानको हिजबुल्लाहका नेता हसन नसरल्लाह बेरूतमा मारिए, जो तेहरानको सबैभन्दा बलियो र भरपर्दो अरब सहयोगी थिए।
अक्टोबर १, २०२४
नसरल्लाह हिजबोल्लाहका निकै शक्तिशाली नेता मात्र थिएनन । इरानका सबैभन्दा बलिया दाहिने हात सरह थिए , उनको मृत्युको जवाफमा अक्टोबर १ मा, इरानले इजरायलमा करिब १८० घातक ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्यो।
अक्टोबर २६, २०२४
दुई देशहरूबिचको **प्रतिशोधको युद्ध** (tit-for-tat attacks) जारी राख्दै, इजरायलले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गर्यो।
अप्रिल १२, २०२५
ट्रम्पले इरानका सर्वोच्च नेता खोमेनीलाई एक पत्र लेखि आणविक कार्यक्रम रोक्न आग्रह गरे । उनले सो सम्बन्धमा सल्लाह र निर्णय गर्न २ महिनाको समय सीमा पनि दिए ।
अप्रिल /मे , २०२५
ट्रम्पले इरानसँग विभिन्न चरणमा आणविक वार्ताको घोषणा गरेर इजरायललाई बारम्बार बाइपास गरेको देखियो, र यमनका इरान-समर्थित हुथी विद्रोहीहरूसँग पनि अमेरिकाले वार्ता र युद्ध विराम समेत गर्यो ।
सिरियामा मुख्य सहयोगी बशर अल-असदको पतन भएको थियो । लेबनानमा प्रत्यक्ष इजरायली आक्रमण र आफ्ना धेरै नेताहरूको गुमाएका कारण इजरायलको सिमाना लेबनानमा रहेको इरानको सबैभन्दा शक्तिशाली प्रोक्सी सैन्य सङ्गठन हिजबुल्लाह निकै कमजोर भइसकेको थियो ।
१३ मे, २०२५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको भ्रमणमा निस्किए । साउदी अरब, कतार र युएईमा उनको ठुलो खातिर दारी भयो । साउदीले अमेरिकासँग १४२ अर्ब अमेरिकी डलरको “रणनीतिक आर्थिक साझेदारी” सम्झौता गर्यो भने कतारसँग २४३ अर्ब अमेरिकी डलर भन्दा बढीका सम्झौताहरू घोषणा गर्यो। क़तार एयरवेजले बोइङसँग २१० वटा विमान खरिद गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर गर्यो यता अबू धाबीमा अमेरिकाबाहिरकै सबैभन्दा ठुलो एआई डाटा केन्द्र स्थापना गरिने भयो ।
ट्रम्पले मध्यपूर्वमा अमेरिका र इजरायल विरोधी हमलाहरूका लागि इरानलाई दोष दिएको र इजरायली अभियानमा सामेल हुने विचार गरेको पनि देखियो। यो वृद्धि इरानका लागि एक वर्षको ठुलो झट्का पछि आएको थियो ।
१२–१३ जुन , २०२५
इजरायली सेनाले ८ बजे राति इरानको आणविक कार्यक्रम र नेतृत्वमाथि लक्षित हवाई आक्रमणको पहिलो चरण सुरु गर्यो।
इरानका २० भन्दा धेरै सिनियर कमान्डरहरू मारिए । इरानी आर्मी चिफ मोहम्मद बघेरी, इरानी रिभोसुलनरी गार्डका चिफ हुसेन सलामी, वायुसेना प्रमुख अमिर अलि हाजिजादेह लगायत सम्पूर्ण सैन्य संरचनाका प्रमुखहरू इजरायलले आक्रमण थालेको एक घण्टाको अवधिमा मारिए ।
यसै अवधिमा इरानका आणविक कार्यक्रममा आबद्ध सम्पूर्ण शीर्ष परमाणु वैज्ञानिकहरू पनि मारिए ।
प्रमुख निशाना बनाइएका स्थलहरूमा नताञ्जको युरेनियम प्रशोधन केन्द्र र इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको मूल संरचनाहरू थिए।
यी आकस्मिक आक्रमणमा इरानको शीर्ष सैन्य नेतृत्व प्रायः सम्पूर्ण रूपमा मारिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका अनुसार “आम नरसंहारकारी (Mass destruction) हतियारको निर्माणमा खटिएका इरानका प्रमुख आणविक वैज्ञानिकहरू” सबै निशानामा परे ।
इरानले पनि प्रत्याक्रमण स्वरूप ३ चरणमा मिसाइल आक्रमणहरूसहित जवाफ दियो, त्यसपछि दुई देशहरूले एक-अर्कामाथि हमला जारी राखे, जहाँ इजरायलले आफ्नो निशाना इरानका ऊर्जा सुविधाहरू र उत्पादन प्लान्टहरूमा पनि विस्तार गर्यो।
१४ जुन , २०२५
इजरायली सेनाले पश्चिम इरानमा रहेको अज्ञात भूमिगत हतियार भण्डारण केन्द्रमा आक्रमण गर्यो। इरानी सञ्चार माध्यमका अनुसार इजरायले दक्षिण इरानका ऊर्जा केन्द्रहरू पनि नष्ट गर्यो। दुनियाँकै ठुलो ग्यास क्षेत्र South Pars field र Fajr Jam ग्यास प्लान्ट आक्रमणको चपेटामा परे। इरानको पेट्रोलियम मन्त्रालयले Shahran depot पनि इजरायली बमबारीमा परेको पुष्टि गर्यो।
१५ जुन, २०२५
इजरायल र इरानबिच हवाई आक्रमणको शृङ्खला जारी रह्यो। इजरायली सेनाले तेहरानस्थित इरानी परराष्ट्र मन्त्रालय र गुप्तचर मन्त्रालयलाई लक्षित आक्रमण गरेर ध्वस्त बनायो ।
इरानले सयौँ ड्रोन र मिसाइलहरू एकसाथ पठाएर इजरायलको हाइफामा रहेको (प्रतिदिन २ लाख ब्यारेल / करिब सवा करोड लिटर तेल उत्पादन क्षमताको) सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रलाई क्षति पुर्यायो । (३ दिनपछि पुन सञ्चालनमा ल्याइयो)
इरानी मिसाइलहरूले इजरायलको सुरक्षा प्रणाली छल्न सफल भए र तेल अभिव लगायत प्रमुख इजरायली सहरहरूमा अकल्पनीय क्षति गराए ।
यसै क्रममा इजरायलको प्रतिष्ठित अनुसन्धान संस्था Weizmann Institute of Science पनि क्षतिग्रस्त भयो। वैज्ञानिकहरूले ३० बर्ष देखिका रिसर्च पेपरहरू नष्ट भएको बताए ।
१६ जुन, २०२५
इजरायली आक्रमणमा इरानको राष्ट्रिय टेलिभिजन केन्द्र र एक विशिष्ट सैन्य इकाइको कमान्ड पोस्टमाथि हवाई आक्रमण गरी क्षतिग्रस्त बनायो ।
तेहरान विमानस्थलमा रहेका इरानी F-14 युद्धक विमानहरू पनि इजरायली आक्रमणमा ध्वस्त पारिए।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का अनुसार, नताञ्जमा रहेको करिब १५ हजार सेन्ट्रिफ्युजहरू विद्युत् अवरुद्धताका कारण गम्भीर रूपमा क्षतिग्रस्त वा नष्ट भएको सम्भावना छ ।
अमेरिकाले अमेरिकी सेनाको केन्द्रीय कमान्ड क्षेत्रमा थप सैन्य क्षमताको परिचालन भएको घोषणा गरयो ।
साथै, अमेरिकाले युरोपतर्फ दुई दर्जनभन्दा बढी ट्याङ्कर विमानहरू पठाइएको जानकारी दियो ।
अमेरिकी विमानवाहक युद्ध पोत USS Nimitz पनि दक्षिण चीन सागरबाट पश्चिमतर्फ प्रस्थान गर्यो।
अमेरिकी अधिकारीहरूका अनुसार, इजरायल–इरान सङ्घर्ष गम्भीर रूप लिँदै जाँदा अमेरिका पक्षले मुख्यतः रक्षा उद्देश्यले मात्र आफ्ना युद्ध साधन तैनाथ गरिरहेको जनायो ।
उता, राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल पोस्ट “IRAN CAN NOT HAVE A NUCLEAR WEAPON…” पछि तेहरानमा अमेरिकी आक्रमण हुनसक्ने भय फैलियो । सहर छोड्नेहरूको अत्यधिक ट्राफिक जाम देखियो ।
१७ जुन, २०२५
इजरायली सेनाले इरानका विभिन्न सहरहरूमा भीषण आक्रमण गर्यो।
इरानले पनि इजरायलमा मिसाइल प्रत्याक्रमण गर्यो , इजरायली आक्रमणबाट इरानका थुप्रै सैन्य पूर्वाधारहरूमा ठुलो क्षति भएको देखियो ।
Tabriz क्षेप्यास्त्र केन्द्रमा भवनहरू, सुरुङहरू र सवारी मार्गहरू नष्ट भए ।
Mashhad विमानस्थलमा इरानको ट्याङ्कर विमान समेत इजरायलले नष्ट पारिदियो ।
१८ जुन, २०२५
इजरायल–इरानबिचको हवाई युद्ध छैटौँ दिनमा प्रवेश गर्यो। इजरायलले तेहरानमा रहेका २० भन्दा बढी सैन्य ठेगानामा आक्रमण गरी इरानको मिसाइल उत्पादन क्षमता नष्ट गर्यो । इजरायली सैन्य अधिकारीहरूले यस कारबाहीले इरानबाट एकै पटक धेरै सङ्ख्यामा मिसाइल प्रहार गर्ने क्षमतामा ठुलो कमी ल्याएको बताए ।
१९ जुन, २०२५
इरानले गरेको व्यालेस्टिक मिसाइल आक्रमणबाट इजरायलको दक्षिणी सहर वीरशेवामा रहेको सोरोका अस्पताल क्षतिग्रस्त भयो । अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चार माध्यमलाई इजरायल-इरान युद्धमा अमेरिकाको भूमिका के रहने सम्बन्धमा २ हप्ता पछि मात्र निर्णय गर्ने बताए ।
२० जुन, २०२५
इजरायल र इरानबिचमा आक्रमणको सिलसिला जारी रह्यो । इरानका विदेश मन्त्रीले कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरे । इरानले वार्ताको ढोका खुला गरेको जनाउँदै अमेरिकाले इजरायललाई रोकेमा आफूहरूले पनि आक्रमण रोक्ने बताए । इरानबाट प्रहार गरिएका हाइपर सोनिक व्यालिस्ट्क मिसाइलहरुमा क्लस्टर बम भरिएको केही फुटेजहरू मार्फत पुष्टि भए । इरानी मिसाइल इन्टरसेप्सन गर्दा झरेका छर्राहरूबाट तेल अभिवको एक सहर खुलनमा आगलागी समेत भयो ।
२१ जुन , २०२५,
संयुक्त राज्य अमेरिकाले इरानका तीन आणविक सुविधाहरू फ़ोर्डो, नताञ्ज र इस्फाहानमा पूर्ण बम बारी गरिएको घोषणा गर्यो, जसलाई राष्ट्रपति ट्रम्पले “एक शानदार सैन्य सफलता” भन्दै प्रशंसा गरे। उनको पोस्टमा लेखिएको थियो:
“We have completed our very successful attack… A full payload of BOMBS was dropped on Fordow… NOW IS THE TIME FOR PEACE!”
———— —— —— —— ——
यसरी इजरायल – इरान युद्धमा अमेरिका प्रत्यक्ष सहभागी हुन पुगेको छ ।
यो द्वन्द्वले मानवीय मूल्य चुकाएको छ। इरानले इजरायली आक्रमणमा अधिकांश सैन्य प्रमुख र आणविक वैज्ञानिकहरू गुमाएको छ भने ठुलो जनधनको क्षति भएको बताइएको छ ।असङ्ख्य सैन्य संरचनाहरू, रकेट लन्चर तथा मिसाइल भन्डारहरू, युद्धक विमानहरू , विज्ञान केन्द्रहरू ध्वस्त पारिएका छन् । यता इजरायलमा पनि इरानी क्षेप्यास्त्रहरुले ठुलो जनधनको क्षति गरेको छ भने मानसिक त्रास र भयको वातावरण सिर्जना गरेको छ । यसको असरको कुनै मापन नै छैन ।
इतिहासका यी पानाहरू पल्टाउँदा, युद्धको क्रूरता र मानवीय पीडाको गहिराई स्पष्ट हुन्छ । युद्धले निम्त्याउने पीडा कुनै पनि शब्दमा वर्णन गरेर सकिँदैन । हामीले जबसम्म युद्धको रगतमा लेखिएको इतिहासमा गर्व गर्न छोडदैनौं, तबसम्म मानव सभ्यतामा युद्धका पानाहरू कोरिई रहनेछन्, लेखिई रहनेछन् ।
मान्छेको आआफ्ना बुझाई, आस्था र विश्वासमा बढ्दै गएको कटुता र घृणाको यो चक्रले मान्छेलाई एक अर्काको कट्टर विरोधी र शत्रु बनाइरहेको छ । हाम्रो यो मानव सभ्यतामा मान्छेले मान्छेको अस्तित्वलाई नै यति बिघ्न घृणा गर्ने गरी कस्तो धर्म, आस्था र मान्यताहरूको विकास गर्यौँ ?
युद्धले कैयौँ जीवनका दीपहरू निभाइसकेको छ। यो कथा केवल एक राजनीतिक वा सैन्य घटनाक्रम मात्र होइन, बरु यो विश्वास, अविश्वास, बदला र अस्तित्वको लामो सङ्घर्षको काव्य हो, जसको अन्त्य अझै अस्पष्ट र धमिलो छ । अनिश्चित छ ।