कृष्णपक्ष थापा
जेरुसलेम इजरायल
अक्टोबर ७ शनिवार । बिहान सवा आठ बजेको हुँदो हो, अचानक जेरुसेलममा हवाई हमलाको खतराको साइरन बज्यो । हालसम्म इजरायलको उत्तरमा लेबनान र दक्षिणमा गाजातर्फका सिमाना वरपरका धेरै भागले रकेट आक्रमणहरू निरन्तर सामना गरेका थिए तर तेल अभिव र जेरुशलेम भाग्यमानी सहरहरू थिए जहाँ साइरन विरलै बज्थ्यो ।
लौन के भएछ ? मन भरी प्रश्नहरू उब्जिए । पहिले पहिले दुई पक्षबिच तनाव बढेको कुरा थाहा हुन्थ्यो वा युद्ध या आक्रमण हुदैछ भन्ने पहिल्यै आभाष हुन्थ्यो ।
एक छिन अलमल भएँ । घरमा सुरक्षित स्थान भनेको कुन हो र कता जाऊँ जस्तो भयो । पहिले त मेरो भवनको छिमेकीहरूले के यो साइरनलाई हवाई युद्धको खतरा नै भनेर बुझेका छन् कि के गर्दै रहेछन् भनेर ढोका खोलेर हेरेँ । बाहिर अरूहरू पनि सुरक्षित स्थानतर्फ गएको देखेपछि पक्का भएँ, यो खतराको जनाउ हो । भर्याङतिर भएको सुरक्षित स्थानमा जान पूरा एक मिनेट जस्तो लाग्यो। दोस्रो साइरन बजेपछि भने म पुरै स्पष्ट भएँ ।
हमासको आतङ्कवादी हमला
मैले बुझेँ, हमासले इजरायलमा आतङ्क मच्चाएको थियो। त्यो भन्दा ठुलो खतरा त अब इजरायलले प्रत्याक्रमण गर्दा हुनेछ । के हमासले आक्रमण गर्नु पूर्व सम्भावित तथ्यको अनुमान नगरेको होला ??
इन्टरनेट भरी इजरायलको दक्षिणका गाउँहरूमा बिहानैदेखि प्यालेस्टिनी अतिवादी समूह हमास प्रवेश गरेर उत्सव मनाइरहेका आम सर्वसाधारणमाथि हमला गरेको खबर भुसको आगो जस्तै गरी फैलिइसकेको रहेछ ।
गाजाबाट एकै पटक हजारौँ मिसाइल प्रहार गरिएको थियो । ती तेल अभिव र जेरुसेलम सम्म आइपुगेका थिए । दक्षिणमा इस्लामिक उग्रवादी समूह हमासले अन्धाधुन्ध आक्रमण गरेर ठुलो सङ्ख्यामा निहत्था नागरिकको हत्या र अपहरण गरेको, हालसम्मकै ठुलो क्षति पुर्याएको भन्ने समाचार देश विदेशका लाखौँ अनलाइनहरूमा छाएका थिए ।
यरुशलेममा रकेटहरू? डरभन्दा पनि अविश्वास र आश्चर्यका भावहरूले घेरिएँ । आँखा अगाडी एक भयावह वास्तविकता थियो ।
छिटपुट आत्मघाती हमलाबाहेक यति ठुलो सङ्ख्यामा लडाकुहरू सिमानाबाट इजरायल भित्रै प्रवेश गरेर आक्रमण गरेको घटना यो अनौठो र अप्रत्याशित थियो । केन्द्रीय सहरहरू र राजधानीसम्म रकेटहरू पहिला पनि छिटपुट नआएका होइनन् तर एकै पटक यति धेरै सङ्ख्यामा यति लामो दुरीका रकेटहरू इजरायल पहिलो पटक सामना गरिरहेको थियो ।
इजरायलको राजधानीका आम मानिसहरू आरामदायी निद्रा वा उत्सवमय सिम खात तोराह प्रार्थना गरिरहेको बेला साइरनसँगै झस्किए , सडकहरु अचम्मले शान्त भए ।
इम्पलोयरका आफन्तहरू एकपछि अर्को गर्दै फोन गरेर नआत्तिन र साइरन बज्ने बित्तिकै सुरक्षित स्थानतर्फ जान भनिरहेका थिए । तेल अभिवको साथी डेभिडले फोन गरे – कृष्ण समाचार पढ्यौ ? नेपाली विद्यार्थीहरू पनि आक्रमणमा फसेका छन् रे ।क्रमशः देश विदेशमा रहेका नेपाली साथीभाइहरूले अत्तालिँदै मेसेज गर्न थाले । सबैलाई म सुरक्षित स्थानमा छु भनिरहेँ ।
जेरुसेलमा विशेष गरी इस्लामिक उग्रवादीहरुले गाडीले कुल्चिने र छुरा प्रहार गर्नेजस्ता घटनाहरू ज्यादा भइरहन्थे । हमासले उसका समर्थकहरूलाई ज्यानको परवाह नगरी धेरै भन्दा धेरै यस्ता आक्रमणहरू गराउन उर्दी गरेको थियो ।
यो अभूतपूर्व आक्रमण पछि अब कस्तो रूप लिनेछ भन्ने ठ्याक्कै अनुमान गर्न सक्ने स्थिति थिएन । आवश्यक काम बाहेक सहरका अधिकांश बासिन्दाहरू प्राय: घरभित्रै बसेका थिए – आफ्नो टिभी सेटमा टाँसिएर, सामाजिक सञ्जालहरू निरन्तर अपडेट हरू हेर्दै, प्रार्थना गर्दै, घरबाट काम गर्दै, र भेला हुने ठाउँहरूबाट टाढा बसेर, कोरोनाका वर्षहरूको अप्रिय सम्झना दोहोरिएजस्तै लकडाउनको सन्नाटा अचानक सडकमा व्याप्त भयो ।
नेपाली विद्यार्थीहरुको दुखद निधन
सुरुमा इजरायलको दक्षिणमा रहेको सेदोत नेगेभको किबुच आलुमिममा लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत कृषि विषयको प्राक्टिकलका लागि आएका १७ जना नेपाली विद्यार्थी हराइरहेको भन्ने खबर पाएँ । उनीहरू सुदूर पश्चिम विश्वविद्यालयबाट वि एस्सी (एग्रिकल्चर) सकेर इन्टर्नसिप गर्नका लागि इजरायलमा रहेछन् ।
मलाई त यसरी विद्यार्थीहरू इजरायल आउँदा रहेछन् भन्ने पनि थाहा थिएन । कृषि तालिमका लागि प्रशिक्षार्थी कामदार त धेरै आउँथे तर यसरी एग्रिकल्चर साइन्स पढेका विद्यार्थीलाई “लर्न एन्ड अर्न” को नाममा इन्टर्नशीपका लागि भनेर ल्याइँदो रहेछ भनेर पहिलो पटक अवगत भयो ।
हमासको आक्रमणमा नेपाली विद्यार्थीले ज्यानै गुमाएको र केही घाइते भएको आङै सिरिङ बनाउने हृदय विदारक समाचारले इजरायलमा कार्यरत नेपालीमा खैलाबैला मच्चियो । १० जना नेपालीलाई गोली हानेर हत्या गरेको छ रे । खबर तीरजस्तै कानबाट पसेर छातीभित्र रोपिएजस्तै भयो ।
इजरायल आएको एक महिना पनि भएको रहेनछ , कठै ती कलिला भाइहरूले भोग्नुपरेको नियतिको एउटा काल्पनिक र भयावह तस्बिरले मथिङ्गल रन्थनियो ।
नेपालमा जे जस्तो भए पनि परदेशमा यसरी ज्यान गुमाउनु पर्दाको पीडा सम्झँदा पनि धेरै दुखी भएँ । कहिले रोजगारीको सिलसिलामा काम गर्दा गर्दै ढलेका , कहिले आतङ्कको नाउँमा कहिले कुन स्वरूपमा .. धेरै नेपालीका निष्प्राण शरीरहरू काठको बाकसमा बन्द भएर उडेका छन् ।
हात उठाउँदा उठाउँदै गोली दागियो
(नेपालीहरुको बयान)
किबुच आलुमिममा भएको विनाशको कथा
(इजरायलीहरुको बयान)
बङ्कर भित्र लुकेर बस्दा पनि आक्रमणमा परेर मारिए रे भन्ने यो नमिठो खबर सत्य नभइदिए पनि हुन्थ्यो भन्ने मात्रै भयो । अझ ठुलो पीडा त तिनले पहिलो आक्रमण हुँदा नै रुँदै छटपटिदै आफूलाई बचाइदिन आग्रह गरेका भिडियोहरू देख्दा भयो । कति ठुलो सपना र परिवारको जिम्मेवारी बोकेर परदेश हिँडेका थिए होलान् । मैले पहिलो पटक इजरायल प्रवेश गर्दा सुरुको बेलाको आफ्नै प्रतिबिम्ब ती भाइहरूमा देखेँ । मन धेरै बेर रोइरह्यो ।