… र सिंगो देश, असंख्य भुन्टीहरुको प्रतिक्षाको कथा

पोर्तुगलको व्यस्त शहर लिस्वोनका सडकहरुमा घाम झरिसकेको छ । मानिसहरुको चहलपहल बढेको बढ्यै छ । आप्रवासीहरुका लागि कानून केही हल्का भएकाले शायद संसारका हरेक कुनाबाट आएका मानिसहरु भेटिन्छन् । नेपालीहरुको उपस्थिति पनि बाक्लै छ , यद्धपी यो परदेश, अपरिचित अनुहारहरु संग घेरिन्छ मान्छे ।

यही भीडमा कतै उभिएकी छिन सीता बराल, एउटा कथा संग्रह लिएर । विरानो देशमा सम्झनाहरु दुख्छन्, आफ्नोपनका यादहरु विझाउँछन र आँसुमा अनुवाद हुन्छन अनि त्यसै त्यसै लामा भइदिन्छन दिन र रातहरु ।

उनका कथाहरुमा यस्तै भोगाइहरु छन्, सपनाहरु छन्, रहरहरु छन् । परदेशसंग जोडिएका साइनोहरु छन् संघर्षहरु छन् र असिमित तिर्सनाहरु छन् ।
इजरायलको जेरुसेलमदेखि पोर्तुगलको लिस्वोन सम्मका फराकिला बाटोघाटो, चोकहरु होइनन, अग्ला र चम्किला महलहरु पनि होइनन यी कथाहरुमा त पीडा छ, विवशता छ, गाँउघर, उकाली र ओरालीको सम्झना छ । माटोको गन्ध मिसिएको छ ।

प्रत्येक कथाकारले कल्पनाको रंगसंगै आफ्नै भोगाइहरु पनि मिसाएको हुन्छ कथामा । छातिभित्र उर्लने भावनाहरु आँधिवेहरीहरु, दुःखहरु, खुशीहरु र संवेगहरु सवै कथाका पात्रहरुलाई सुम्पिदिएर कल्पनाको खुल्ला संसारमा विचरण गर्न पठाएको हुन्छ उसले ।

इजरायलमा रहदा नेपालीपनको एकता र अपनत्वका लागि हामीले गरेका हरेक सामाजिक क्रियाकलापमा होस या साहित्यिक तिर्सना मेटन गरिएका प्रकाशनहरु, सबैमा सधै सक्रिय नाम थियो सीता बराल ।

यहाँका सडकहरुमा देखिने धेरै परदेशीहरुको हुलमा नितान्त भिन्न साहित्यिक तृष्णा र कलम प्रतिको मोह मैले त्यसबेला देखि नै देखेको थिए उनका आँखाहरुमा । कहिले आमा बनेर, कहिले छोरी त कहिले दिदीवहिनी । इजरायल बाट निस्कने पत्रिकामा वारम्वार छाइरहने यी चेलीसंग मेरो साहित्यिक सामिप्यता यति घनिष्ट रह्यो की आज उनको यो संग्रह मेरा लागि कुनै चेलीले माइतीलाई पठाएको कोशेली भन्दा कम छैन ।

आज फुकाइरहेछु यो कोसेली, जसको शिर्षक राखिएको छ भुन्टी । मनभित्र असिमित ज्वारभाटाहरु बोकेर हिडने धेरै पात्रहरु छन् यस संग्रह भित्र । ती कतै आगोले डढेर राख जस्ता देखिन्छन त कुनै वसन्तको पालुवा झै चन्चल । हरेक पात्रहरुमा कल्पनाशील आँखाहरु छन ति कहिले खुशीका त कहिले दुःखका आँसुहरू वनेर पोखिन्छन् ।

विविध धरातलका सस्कृतिका र पृथक प्रकृतिका कथाहरु संग्रहित छन्, भुन्टी कथासंग्रह भित्र । यी कथाहरु म आजमात्र होइन बर्षौदेखि निरन्तर पढ्दै आइरहेको छु ।

इजरायल पोर्तुगलको वैदेशिक रोजगारको यात्रा । यो त भूगोलको विशाल नक्शामा केवल सानो पाइलामात्र हो तर आफ्नो सुन्दर भविष्यको कल्पनामा घर छाडेकी आमाहरुले देख्ने असंख्य सपनाहरुको संकलन हो यो संग्रह । आज कैयौ भुन्टीहरु भविष्य खोज्न विदेशिएका तिनै आमाहरुको प्रतिक्षामा वसेका छन् र सिंगो देश तिनै भुन्टीहरुको प्रतिक्षाको कथा भएको छ ।

अनुभूति भोगाई र स्मृतिहरुलाई अक्षरमा कुँदेर जीवन दिने यि कलाकारको म हार्दिक सम्मान गर्छु र उनले अझै धेरै हिड्नु छ अक्षरका पाईलाहरु, साहित्यका बाटोहरु र पहिल्याउनु छ हामी बाँचेको धरातलमा कोरिएका मानचित्रहरु र उघार्नु छ सम्भावनाको क्षितिज । साहित्यको यात्रामा लम्कीएको यो साहिसिक नारी कलमलाई मेरो हृदय देखि नै शुभकामना ।

 
कृष्णपक्ष
hi@kirshnathapa.com

1 Comment

Leave a Comment