sainoराम्ले कारागार इजरायल 

प्रिय आविया,

हाम्रो भेट एउटा संयोग । कारण्ँवश प्रेमको विनिमय गरेका छौं हामीले यो मुलुकमा चाहेर वा नचाहेर । यद्यपि म यो भन्न विवश भएको छु आविया, हामी बीच भएका अन्तरंगका अनमोल पलहरू, तिम्रो स्पर्श र देहको न्यानोपन,मेरो अनुभूतिको घरमा काउकुती बनेर यसरी थुप्रिएको छ, जति पन्छाए पनि नपन्छने । तिमीसँगको औपचारिकता या केही भेटहरू मात्र पनि मेरो निमित्त प्रेमको अविस्मरणीय उदाहरण बनेका छन । हरेक पटक आउदा जादा मेरो अधरको क्यानभासमा तिम्रो ओठको स्पर्शले रंगाएर गएका कोमल चित्रहरू स्मृति भरि भरि कुँदिएर बसेका छन । औपचारिकता मै किन नहोस तिमीसंगका प्रत्येक संवादहरू संगीत भरिएर कतै गुञ्जिएको म सुनिरहन्छु । तिम्रै शव्दमा भनुं तिमीलाई असाध्य मिस गर्न थालेको छु म ।

तिमी भन्न सक्छौ -म प्रेमको नाटक गर्दैछु या तिमीलाई बहकाउने कोसिस। तर जे भन आविया, केही दिनयता मलाई यस्तै भएको छ, जुन हामी बीच हुनु हुदैन थियो । …

कतै प्रेम पलाउने कुरा त हैन? कुनै हलक्क बढ्ने बिरुवा जस्तो? त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनु पर्छ उसको मनको आँगनमा ।
पत्र लेखि नसक्दै एकपटक पढ्छ र फेरि च्यात्छ । उसलाई किन के भै रहेको छ ? के ऊ आवियालाई प्रेम गर्छ त ? होइन उसले त केवल सम्झौता मात्र गरेको हो उसको गैरकानूनी पेशा वा वसाइलाई बैध बनाउने जमर्कोमा ऊ भेटिई, बस त्यति हो । यो लिभ इन् केयर गिभरको झन्झटिलो पेशाबाट मुक्ति पाउन इजरायलमा त्यति सजिलो कहाँ थियो ?

दुई महिना अघिमात्र हो, आविया हामी दुवैलाई राम्रो हुन्छ भन्दै बिहेको प्रस्ताव लिएर आएकी थिई । बढ्तै घमण्डी भएर उसले सिधै इन्कार गरेको थियो- फेरि आज अचानक यो कस्तो अनुभूति ऊ भित्र बढिरहेको ? कतै प्रेम पलाउने कुरा त हैन? कुनै हलक्क बढ्ने बिरुवा जस्तो? त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनु पर्छ उसको मनको आँगनमा । आवियालाई यो सब बुझाउन समय लाग्नेछ उसले त जरुर यही सोच्नेछे – जेल परेपछि बचाउको उपायमात्र गरिरहेको छ ऊ । उसले सोच्यो -अहिले केही भन्दिन ।

तेश्रो पटक हो ऊ यसरी पक्राउ परेको …… जेलमा छँदा कस्ता कस्ता भावनाहरूले खेद्दा रहेछन । सासै बन्द होला जस्तो उकुश मुकुश भएर आउछ । कति धेरै उमंग थियो त्यो बेला विकल्पहरू पनि अनेकौं थिए । त्यस्तै विकल्पहरू मध्ये फ्रेन्डशिप भिषाको भरपर्दो उपाय उसले प्रयोग गरेको थियो । यहाँ प्रेमीप्रेमिका विवाह पूर्व नै सँगै बस्ने चलन हुदो रहेछ । यदि कुनै इजरायलीको विदेशीसँग प्रेम सम्बन्ध रह्यो भने उसलाई आकस्मिक भिषा दिइने रहेछ र त्यसैलाई यहाँ फ्रेन्डशिप भिषा भनिदो रहेछ । धेरै झन्झट पनि गर्नु परेन एजेन्सीले नै सबै ठिकठाक मिलायो । महिनाको तीन,चार सय डलर बुझाउने शर्तमा आविया उसकी प्रेमिका भएर उसलाई भिषा दिन राजी भइ। उसको फ्रेन्डशिप भिषा लाग्यो स्वतन्त्र भएर जहाँ पनि काम गर्न पाउने भयो । कमाइ पनि राम्रै हुन् थाल्यो … साधारण केएरटेकरकोभन्दा तेब्बरसम्म हुन्थ्यो ।तर उनीहरू साच्चिकै सम्बन्धमा छैनन् र भिषाकै लागि यो प्रपन्च गरेका हुन् भन्ने थाहा पायो वा प्रहरीमा उजुरी पर्यो भने उसको भिषा बदर हुन सक्थ्यो । त्यही भयो … कसैले पोल लगायो । ढुक्क के थियो भने पटक पटक आवियाले उनीहरूको सम्बन्ध झुठो नभएको बयान गर्थी र उसको बचाउ ।

आज पनि आवियाले यसै गर्नु पर्नेछ ।

धेरै निम्ताहरू व्यस्तताको कारण देखाएर आफै बदर गरी दिन्थ्यो । अवशेष जस्तो समयको डायरीमा आवियासँगै बिताएका दिनहरू त कति नै थिए र उसका? यद्यपि आज यस्तरी पल्टिरहेछन ती पानाहरू, मानौं उसको छाती भित्र कुनै ठुलो आधिबेहरी मडारिइरहेको छ ।
फागु पूर्णिँमा । तर सबै रंग उडेर गएजस्तो उदास र आफै भित्र रित्तो महशुश गरिरहेछ उ। काठमान्डूका गल्ली, पानीका लोला, पिचकारी र रंगी बिरंगी अबिरहरूको स्मृतिभित्र केहीबेर ऊ हराउँछ । एकैछिन निस्कन पाए पनि हुने । नेपाली समाज इजरायलले तेलअभिभमा होली खेलौं मिलिजुलीको आयोजना गर्दैछ बिदाको दिन कति रमाइलो भयो होला ?

होलीकै बेला यहाँ पुरीम भन्ने चाड पर्दछ । यी दुवै रंगीन उत्सवहरू वसन्त ऋतु आगमनका संकेतहरू हुन् । होली रंग छयापाछयाप गरेर खेलिन्छ भने पुरीममा चाहि रंगीचंगी पोशाक लगाउने कपाल रंगाउने विभिन्न चरित्र तथा पात्रहरूको नक्कल गरेर शहर डुल्ने । विशेष गरी केटाकेटी असाधारण र अनौठो फेशन गर्छन । पोहोर साल आवियाको भाइलाई उसले ढाकाको दौरा सुरुवाल मगाइदिएको थियो नेपालबाट । आफूले कुनै अवसरमा नलगाए पनि अरुले यसरी आफ्नो पोशाक लगाएर शहर डुलेको देख्दा खुब रमाइलो लागेको थियो उसलाई । राजा, रानी, परी, बन्नीहिरो, बेहुला, बेहुली, सुपरम्यान, जोकर र अवतारहरूको इन्द्रेणी लश्कर उसको कल्पनाको बाटो भएर गुज्रन्छ ।

बाहिर घाम पोखिएको छ । यस्तो पारिलो घाममा समुद्रको छालमा तैरनु, बालुवामा उत्तानो पल्टनु वा जिउभरि डेढ सीको माटो दलेर ढाड सेकाउनु । आवियासँग डेढ सी घुम्न जाँदा सिकेको- त्वचा सुन्दर हुन्छ रे ।

किन यति साह्रो कडाइ गरिएको यहाँ? श्रम बेचेरै दुई चार पैसा कमाउन आएको विदेशी प्रति यो कस्तो अप्ठेरो कानून ? यस्तो लाग्छ ऊ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ति भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ ।

धेरै निम्ताहरू व्यस्तताको कारण देखाएर आफै बदर गरी दिन्थ्यो । अवशेष जस्तो समयको डायरीमा आवियासँगै बिताएका दिनहरू त कति नै थिए र उसका? यद्यपि आज यस्तरी पल्टिरहेछन ती पानाहरू, मानौं उसको छाती भित्र कुनै ठुलो आधिबेहरी मडारिइरहेको छ ।

सम्झौता बमोजिम महिनावारी बुझाउने बेलाबाहेक अरुबेला आवियासँग खासै उस्तो निकटता रहेन । फ्रेन्डशिप भिषा लगाएपछि शुरुको एउटा काम खोज्न चाहि उसले सघाएकी थिई। त्यो रिशोनको सुपर बाउलमा थियो – मार्करको । अलि टाढा र कम घण्टाको भएकोलेपछि उसैले छोडीदियो । जुनसुकै क्षेत्रमा गर्न मिल्ने भएपछि कामको त केही दुख थिएन । पछि सुपरमार्केटमा काम गर्न थालेपछि भने उसको इर्ष्या गर्नेहरू पनि धेरै भएका थिए ।

बेला बेला आविया निम्तो गर्थी । यस्तो बेला कुनै विशेष चाडपर्व वा उत्सव छ भन्ने बुझ्नु पर्थ्यो। आफ्नो बसाइलाई वैध बनाउने बहानामा उसले यो एक वर्षमात्रै हजारौं डलर बुझाइसकेको छ । पक्राउ परेपछिको वकील खर्च यसरी समातिदा काम नभएको अवस्था । यी सबै झमेलामा फस्दा उसलाई यो फ्रेन्डशिप भिषा जतिको झन्झटिलो केही लाग्दैन थियो। सोच्थ्यो बरु लिभ इन् केयरगिभर मै गएको भए हुने न कसैलाई पैसा बुझाउनु पर्ने, न त भिसाको समस्या । जेल बाहिर निस्केपछि भने भोलि पल्टै यो सबै बिसंर्थ्यो ऊ । अरु त सबै आनन्दले बसेकै छन दिनभरि तेल अभिभ डुल्ने खाने खेल्ने पैसा कमाउने कुनै व्यवधान छैन । अभागी खप्पर जहाँ गए पनि ठक्कर भनेझैं उसैलाई मात्र कसले पोल लगाउँछ कुनी ? या उसको काम सेन्टरमा भएर हो या आवियाको घर टाढा भएर पो होकि या ऊ आफै अलि जोगिने कोसिस नगरेर हो॥ कारण जान्ने असफल प्रयास गर्छ ।

किन यति साह्रो कडाइ गरिएको यहाँ? श्रम बेचेरै दुई चार पैसा कमाउन आएको विदेशी प्रति यो कस्तो अप्ठेरो कानून ? यस्तो लाग्छ ऊ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ति भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ ।

मुद्दा चल्यो, वकील लगाइए, मानव अधिकारवादी, हटलाइन र अन्य गैर सरकारी संघ संस्था सबैले आ आफ्नो स्थानबाट सक्दो प्रयास गरेका छौं भने । अन्ततः आज एक महिना दुई हप्तापछि उसले आफूलाई जेलमुक्त पायो । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अनिच्छित यात्राको लागि पखिर्रहेको । उसको हातमा टिकट थमाइएको थियो घर फर्कने । उभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसी नभएको यो कस्तो निरीह स्वाभिमान उसको ? आफूखुसी काम गर्न र स्वतन्त्र भएर हिड्न उसले रचेको यो सानो उपक्रम बारुदको खेती गर्ने देशमा किन मान्य हुन्थ्यो ?

फर्कने बेला कसैलाई भेट्न पनि पाएन । अपार्ट कै एकजनाले एअरपोर्टसम्म सामान ल्याइदियो । निराशाको अँध्यारोले ढाकेजस्तो शुन्य थियो मन, जहाँ ऊसँग एउटा अर्थहीन गुनासो शेष रहिरह्यो आविया प्रति । त्यतिका पैसा लिएर पनि यसपाली प्रहरीसमक्ष र कोर्टमा उसले किन भनिन – हामी प्रेमीप्रेमिका थियौं ।

Share.

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com