कृष्णपक्ष थापा
जुन २५ । जेरुसलेम, इजरायल ।
के युद्धले शान्ति ल्याउँछ ? अमेरिकाले इजरायल इरान युद्धमा आफ्नो साथ दिएपछि इजरायली प्रधानमन्त्रीले अमेरिकी राष्ट्रप्रमुखलाई बधाई दिदै भने – हामी पहिले शक्ति र शक्तिबाट शान्ति कायम गर्छौ ।
तर मानव इतिहासमा यस्तो कहिल्यै भएको छैन कि युद्धले अनन्त शान्तिको रेखा कोरोस, विश्वन्धुत्व सदभाव र भाइचाराको सन्देश देओस र भावी पुस्तालाई निर्धक्क भएर बाँच्ने आधार सिर्जना गरोस । बरु युद्धले मान्छेले निर्माण गरेका भौतिक संरचनाहरुको विनाश गर्ने मात्र होइन, रोग, भोग, गरिबीको दुश्चक्रमा फसाउदै गइरहेको हुन्छ र मनाव सभ्यताकै धज्जी उडाइरहेको हुन्छ ।
वास्तविकता यो हो कि अन्तत युद्धमा सबै पक्ष पराजित हुन्छन, यो नै युद्धको परिणति र नियति हो ।
मध्यपूर्व, जो कला साहित्य, संस्कृति र मानवीय सभ्यताको समृद्ध इतिहास बोकेको भूभाग हो, आज फेरि एकपटक यहाँ इतिहास बदल्ने गरी युद्धको ज्वाला दन्केको छ । यो कुनै अचानक आएको आँधी होइन, वर्षौंदेखि मडारिँदै आएका शक्ति, स्वार्थ र अहङ्कारका बादलहरूले अहिले आएर भीषण वर्षा गरिरहेका मात्र हुन् ।
इजरायलले इरानसँग एकतर्फी सुरु गरेको युद्धमा अमेरिका एकाएक सहभागी हुन पुगेको छ । युद्ध विरोधी र अमेरिका फस्टको नारा लगाउदै राष्ट्रपतिको चुनाव जितेका ट्रम्पले अमेरिकी कंग्रेससँग सल्लाहै नगरी संचार जगतलाई समेत झुक्याएर (३ हप्ता पछि निर्णय गर्ने भन्दै ) अचानक इरानमा बमबारी गर्न पुगेका छन । उनको यस कदमले अन्तर्राष्ट्रीय कानूनहरुको उल्लंघन भयो या भएन कसले समीक्षा गर्ने ?
अमेरिकाको यस कदमले मध्यपूर्वको युद्धलाई अझ गम्भीर र जटिल मोडमा पुर्याउदिएको छ । अमेरिकी बम र इरानी भूमि, यो केवल भौतिक आक्रमणको कथा होइन, यो अन्तर्राष्ट्रिय कानून, कूटनीति, र मानव विवेकमाथि प्रहारको एक दर्दनाक गाथा हो । अलिकति यो पाटोबाट पनि हेरौं ।
शक्ति प्रदर्शन र आआफ्ना दाबीहरु
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका तीन महत्त्वपूर्ण परमाणु केन्द्रहरू— फोर्डो, नतान्ज र इस्फहान— मा बम खसालेको घोषणा गर्दा, मध्यपूर्वको शक्ति इरानलाई क्रुध्ध बनाएको छ यसले संसारभरि एकपटक फेरि तरङ्ग फैलियो । अमेरिकी सरकारले यसलाई ‘अभूतपूर्व सैन्य सफलता’ भन्यो र दाबी गर्यो कि इरानको परमाणु संवर्धन क्षमता ‘पूर्ण रूपमा ध्वस्त’ भएको छ ।
इरानको सरकारी टेलिभिजनले भने आक्रमण हुनु केही महिना अघि नै ती केन्द्रहरू खाली गरिसकिएको र परमाणु विकिरणको कुनै खतरा नरहेको बताएको छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) ले समेत फोर्डोसहित कुनै पनि परमाणु केन्द्रमा विकिरणको स्तरमा कुनै परिवर्तन नआएको रिपोर्ट गरेको छ, जसले इजरायली / अमेरिकी दाबीमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।
के इजरायल र अमेरिकाले खाली परिसरमा बम खसालेर ‘महान सफलता’ को ढोल पिटेको हो त ?
ट्रम्पको भाषणका शब्दहरू हतियारभन्दा कम थिएनन् । उनले इरानलाई ‘आतङ्कको समर्थन गर्ने संसारकै नम्बर एक देश’ र ‘मध्यपूर्वको दादा’ भने । उनले ‘सडक छाप बम’ को आरोप लगाए र चेतावनी दिए, ‘यदि इरान शान्त भएन भने, यसभन्दा ठूलो आक्रमण गरिनेछ’ । प्रतिउत्तरमा इरानले इजरायल र अमेरिकी बेसहरु अबको निशानामा पार्ने घोषणा गरेको छ । यसले स्पष्ट पार्छ कि यो युद्ध इजरायल र अमेरिकाले सोचे अनुसार यहाँ समाप्त हुने वाला छैन ।
‘अमेरिका फर्स्ट’ को मर्म
युद्धविरोधी नीति अंगिकार गर्ने र अमेरिकालाई प्राथमिकतामा राखेने भन्दै ट्रम्पले चुनावी अभियान नै चलाएका थिए । इरानसँग एकाएक युद्धमा होमिन पुगेपछि धेरैले उनको दोहोरो चरीत्र उजागर भएको बताएका छन ।
रोचक त के छ भने, ट्रम्पले बम खसाल्नुअघि अमेरिकी कांग्रेसको स्वीकृति लिनसमेत आवश्यक ठानेनन्, किनकि उनलाई स्वीकृति नपाइने डर थियो ।
यद्यपि विश्वका शीर्ष नेताहरुले इरानको आणविक कार्यक्रम साच्चिकै खतरा थियो भन्दै ट्रम्पकै ‘हो मा हो’ मिलाएर बधाई दिए । यसले विश्वसामु कानून भन्दा पनि शक्तिको महत्त्व बढ्दै गएको प्रष्ट सन्देश दिएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पको ‘साहसिक निर्णय’ को मुक्तकण्ठले प्रशंसा गर्दै यो ‘इतिहास बदल्ने’ कदम भएको बताए ।
तथापि अमेरिकाभित्रै पनि यो प्रश्न उठिरहेको छ कि ट्रम्प ‘अमेरिका फर्स्ट’ को नीतिलाई बिर्सिएर किन मध्यपूर्वतिर “नजाने गाउँको बाटो” हिडिरहेका छन ? उनको कदमले मध्यपूर्वलाई थप युद्ध र अस्थीरतामा धकेल्ने धेरैको विश्लेषण छ ।
इरानको प्रतिकार र मध्यपूर्वको भविष्य
अमेरिकी आक्रमणको जवाफमा इरानले के गर्ला भन्ने प्रश्न सर्वत्र थियो । तर, यसको जवाफ आउन धेरै समय लागेन । आक्रमणको भोलिपल्ट बिहानै इरानले इजरायलको राजधानी तेल अभिभमा ब्यालिस्टिक क्षेप्यास्त्रहरुको वर्षा गरिदियो ।
इरानसँग अब कुनै विकल्प छैन , निर्बिकल्प युद्धमा होमिएको घोषणा उसले गरिसकेको छ ।
यसले स्पष्ट पार्छ कि अमेरिकी बमबारीले ‘शक्तिबाट शान्ति’ ल्याउन सकेन, बरु इरान र इजरायलबीचको पुरानो युद्धलाई अझ तीतो बनाइदियो । इरानको सरकारी टेलिभिजनले घोषणा गरेको छ, ‘सुरुआत अमेरिकाले गर्यो, समाप्त अब हामी गर्नेछौं’ ।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डा र अमेरिकी नागरिकलाई निशाना बनाउने बताएको छ, र यसको नक्सा पनि सरकारी टेलिभिजनमा देखाइएको छ । चाहेर या नचाहेर पनि मध्यपूर्वमा तैनाथ ५०हजार अमेरिकी सैनिक र उसका सैन्य अड्डाहरु खतराको निशानामा परिसकेका छन ।
यसअघि अमेरिकाले इरानलाई कूटनीतिक वार्ताका लागि दिएको समय पनि केवल झुक्याउने चाल मात्र रहेछ भन्ने धेरैलाई लागेको छ, किनकि जतिसुकै प्रयास गर्दा पनि कूटनीतिको कुनै सम्भावना नै थिएन – इरानी विदेशमन्त्रीले अमेरिकालाई बिचमा नपर्न बारम्बार अनुरोध गरेका थिए ।
यो युद्धले विश्वलाई ठूलो सङ्कटमा धकेल्ने निश्चित छ। अब सबैको नजर ‘स्ट्रेट अफ होर्मुज’ मा छ , यदि इरानले यो जलमार्ग बन्द गरिदियो भने, धेरै देशमा आर्थिक संकट आउन सक्छ ।
इरानको सम्भावित प्रतिकार:
१. क्षेत्रीय सञ्जाल सक्रियता
इरानले आफ्नो क्षेत्रीय सहयोगीहरू, विशेष गरी हरमोज़ गुटहरू (जस्तै हिज़्बुल्लाह, हुत्ती, इराकका शीया मिलिसहरू) लाई युद्धको मोर्चामा अझ सक्रिय बनाउन सक्छ। ती समूहहरूले इजरायल, खाडी राष्ट्रहरू, र अमेरिकाका अन्य साझेदारहरूलाई निशाना बनाउने सम्भावना छ।
यो प्रतिकार एक जटिल बाघराज जालझैं छ जहाँ हिंसा साना तिरबाट सुरु भएर एक भयानक युद्धको स्वरुप लिन सक्छ।२. सैनिक र साइबर हमला
इरानले अमेरिकी र इजरायली सैन्य संरचनामा प्रत्यक्ष वा अप्रत्यक्ष हमला गर्ने प्रयास गर्न सक्छ, चाहे त्यो साइबर युद्ध होस् वा ड्रोन र मिसाइल आक्रमणहरू। यो प्रतिकार गुप्तचर र उच्च प्रविधिको मैदानमा हुन सक्ने छ, जसले सम्पूर्ण युद्धको स्वरूपलाई डिजिटल र वास्तविक दुनियाँको सँगममा बदल्न सक्छ।३. समुद्री मार्ग अवरुद्ध गर्ने खतरा
इरानले फारस खाडीमा महत्वपूर्ण समुद्री मार्गहरू, विशेष गरी होर्मुज स्ट्रेटलाई अवरुद्ध गर्न सक्नेछ, जसले विश्वव्यापी तेल आपूर्तिमा ठूलो संकट निम्त्याउने छ। तेलको मोलमोलाई पार गर्दा यो कदमले अन्तर्राष्ट्रिय बजारमा ठूलो असर पार्नेछ।४. परमाणु कार्यक्रमको तीव्रता
इरानले आफ्नो परमाणु कार्यक्रमलाई तिब्रता दिन सक्छ, जसले संयुक्त राष्ट्रसंघ र विश्व समुदायबीच थप तनाव निम्त्याउने छ। यसले आणविक शस्त्रको सम्भावना नजिक ल्याउने डर पनि जगाउन सक्छ।५. कूटनीतिक र प्रचार युद्ध
इरानले विश्व समुदायमा आफ्नो पक्षलाई बलियो बनाउन सक्रिय प्रचार र कूटनीतिक प्रयास गर्न सक्छ। पश्चिमी देशहरूका विरोधी राष्ट्रसँग गठबन्धनलाई मजबुत पार्न यसले योगदान दिन सक्छ।
अन्त्यहीन युद्धको छाया
अत्यन्त जटिल मोडमा पुगेको छ स्थिति । दुवै पक्षले आआफ्ना प्रहार र विजयका गाथा गाउछन । आम सर्वसाधारणको रुपमा गरिएका आँकलन र युद्धका बारेमा गरिएका धेरै दाबीहरू समयसँगै गलत साबित हुन्छन् । भनिन्छ युद्ध सुरु गर्न त सजिलो छ, तर यसलाई समाप्त गर्न अत्यन्तै कठिन छ । मध्यपूर्वको वर्तमान नै द्वन्द्वग्रस्त छ, र यो भूमि शक्ति राष्ट्रहरूको अखाडा बनेको छ । गाजामा भइरहेको नरसंहार पनि यसैको एउटा कडी हो, जहाँ हरेक दिन मानिसहरू मारिन्छन् ।
यो युद्ध कहाँ पुगेर रोकिनेछ, यसको परिणाम के हुनेछ, कसैलाई थाहा छैन । तर, एउटा कुरा स्पष्ट छ: युद्धको डमरु बजिसकेको छ । शक्ति र अहमको ताण्डव जारी छ, यो छिटै रोकिनेवाला छैन । यसको मूल्य सम्पूर्ण विश्व र मानव सभ्यताले चुकाउनु पर्नेछ । मध्यपूर्वमा शान्ति र स्थिरताको सपना अझै पनि क्षितिजमा धमिलो बिम्बजस्तो मात्रै देखिन्छ ।


















