कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरू
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरिरहन्छु ।
तेल अभिभ केन्द्र नजिकैको यो सानो शहर, सानो वस्ति डीजिन्गोफ़, हरेक विहान जसले पश्चिमतर्फको भू मध्यसागरको सामुद्रिक आद्रता र पूर्वको न्यानो घाम एकैसाथ महशुश गर्छ। प्रभातसँगै उदाउँछ मेरो झ्याल पनि, जहा निलो आकाश र कंक्रीटको अपार जंगलले भरिएको अजब दृश्य नचाहेरै पोखिइसकेको हुन्छ । सुन्दर डिजाइन र वास्तुले सजिएका यी आलिशान महलहरू गगन चुम्न उद्यत भएझै क्षितिजपरसम्म यस्तै एकोहोरो फैलिएका छन ।
झ्यालमा टांगिएको एकतामासको दृश्य पर क्षितिजतिर हेर्छु अनि घर सम्झन्छु हिमाल पहाड र खोलानालाहरू…..। प्रकृतिको त्यो तरंगमा क्षणभर हराउदा जून अतुलनीय सुखद अनुभव हुन्छ,त्यो अन्य सबै आयातित खुसी र भौतिक सुबिधाभन्दा मिठो चोखो र आत्मीय हुन्छ, लाग्छ कल्पनाका तिनै डुबुल्किहरू मेरा जिउने आधार हुन।
सागर किनारका वगरहरू, सर्लक्क उठेर घरहरूको घना जंगलमा अनुवाद भएका मात्र छैनन, मान्छेका विचार र भावना पोखने मंचहरू, मनको कुरा बाडने मेला र चौतारीहरू कम्प्यूटर भित्र सांघुरिएदै गएका छन, यद्यपि सल्लेरी पाखा कै तृष्णा मेटिने गरी ठाउँ ठाउँ मनोरम उद्यान, पार्कहरू पनि बनेका छन र सागरका छालहरू पाइपको अन्तरकुन्तर बाटो भएरै पनि शहरको भित्री उपवनमा संगीतमय झरना र फोहोरा बन्न आइपुगेका छन। यो शहर जहाँ मान्छेले प्रकृति र प्राविधिको संयोजन गरेर यसरी सजाएका छन मानु कुनै शिल्प कुचिकारका रेखा र रंगहरूले क्यानभास् सजिएको हुन्छ प्रत्यक शहर बाटो घाटों पार्क र घर अनि कोठाका भित्री तह सबै सबै योजित कलात्मक र सुन्दर ……।
सबेरै कसैले फोन गर्छ “ओ राजनीतिक कवि के छ हालखबर?”
उसले भर्खरै मेरो एउटा गजल पढेको छ फेसबुकमा ।
विगतमा मैले मेरा धेरै रचनाहरूमा शृंगार र प्रेमभन्दा क्रान्ति वा राजनीतिलाई अली बढ़ी नै उठान गरेको थिए, त्यसो त मध्यपूर्वको यो रणभूमिमा बसेर लेखिएका मेरा प्राय सबै लेख रचनाहरू युद्धकै सरोफेरोमा केन्द्रित छन । त्यसैले ऊ शतप्रतिशत गलत चाहि थिएन। देशको स्थितिले भित्र वा बहिर प्रत्यक्ष/परोक्ष प्रभाव पारेकै हुन्छ र मेरो साहित्य यसबाट अछुतो कसरीरहन सक्छ, भनेर उसलाई सम्झाउने कोसिस गर्छु। हैन गजलमा सौंदर्य र प्रेम मात्र सुहाउछ, कोमलता मात्र सुहाउँछ उसको ठम्याइ छ ।
अब मैले देखाउन भए पनि अराजनीतिक विरूद्ध केही लेख्नै पर्छ।
तैपनि भन्छु -नेपालको अविरल गाईजात्रा र वितंडाको त कुरै नगरु! देखेका छैनौ टुडिखेलमा घोडेजात्रा देखाए झै यहाँ कसरी बेला बेला आकाशको विशाल रंगशालाबाट क्षेप्यात्र र युद्धक विमानको संहारकारी जात्रा देखाउछन? र शत्रुको नाश गर्यौ भन्छन ?
को हो मान्छेको शत्रु ?
अली अगाडि मैले धाइबाको ढकमक्क काठमांडू शीर्षकको संप्रेषण पढेको थिए एउटै कुराको वाक्क दिक्क लाग्दो विषयलाई पनि अली पृथक दृष्टिकोणबाट चियाउदा यदाकदा त्यो सुन्दर पनि हुन्छ म अलीकति प्रभावित भएँ ।
त्यसो त म नियमित ब्लग लेख्दिन, कार्यव्यस्तताका धारिला समयहरूबाट आफूलाई जोगाएर फाटफुट कविता गजल कोर्छु .त्यसमा पनि कहिलेकाही वरिपरि शास्त्रीय फ्रेम र मीटर लिएर घुमिरहने केही साथीहरूदेखि डर लाग्छ । युद्धभूमिमा बसेर घुमिफेरी त्यही युद्धकै कुरा, संघर्ष, वेमेल र विसंगतिका कुरा कति लेख्छस? कति धुवाउछस आगोको गन्थन, कहिलेकाही फुलको कुरा गर, प्रकृतिको कुरा गर –मलाई धेरैले सुझ्याएका छन ।
आज त्यस्तै केही कोर्न चाहे तर सकिन, पुरानै धंगधंगीले पराजीत गर्यो, र फेरि हारयो मेरो सिर्जना !
धमिला राता दागहरू
आशाको किरणहरू छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरूलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारीसम्म …
सगरमाथाको उचाइमाथि पुगेर म टक्क रोकिन्छु,
र नियाल्छु- नदी नाला हिमाल पहाड र हरिया जंगलहरू,
लेक, बेसी, मैदान, वगर, किनार र सागरको गहिराई,
र अनुभूत गर्छु धरती, नभ, ब्रम्हाण्ड र प्रकृति।
सधैं झै यसपाली नि मौसमले बाह्रमासे थुंगाहरू लिएर आएका थिए
मेरो दृश्यको आँगन भरी भरी
प्रकृति फक्रिएको थियो ।
खेत बारी, मान्छेले कोरेको माटो अनि बाटो
र उसले गाएको गीत, अहा! कति धेरै सुहाएको
प्रकृतिसँगको उसको आत्मीयता र उसलाई प्राप्त
यी अनमोल खजाना र उपहार
शायद ईर्ष्यालु भएर मनमनै मैले भने
मान्छे तं कति भाग्यमानी ?
हो यहीबेला आज
मात्र यो पल, धर्तीको छाती माथि
रगतको सांध कोर्न हिडेका
अन्त्यहीन जुलुशको कुरा गर्न मन भएन
विद्रोह र समर्थनका रयाली,
सैनिकका जत्थाहरू, विध्वंसकारी ट्यान्कका लाम
वा गंतव्यहीन दिग्भ्रमित संवत्सरका लश्करसँग
केही गुनासो गर्न मन भएन
हो आज म वहारमा रम्न चाहन्छु ।
रगतको प्यास बोकेको
तिम्रो राजनीतिक रणभूमि र
रुखो माटोसँग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरूसँग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरूको पृष्ठभूमि
निलो आकाश पारी
फेरि आशा र उमंगका क्षितिजहरू उघारिरहे
उब्जिरहे अन्नहरू, भरिइरहे किसानका भकारीहरू,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरू ।
हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।
सागरको लहरसँग खेलिसकेर
समथर तराईबाट उक्लँदै पहाडका थुम्काहरू
र ठोक्किदै हिमालको चिसोपनासँग
निरन्तर बगिरहने यी चंचल हावाका झोंकाहरूको कुरा गर्छु
जो कहिल्यै भन्दैनन
म दुखेँ –बारूदको पिरो गन्धसँग मिसिएर .
वा म घाइते भएँ –राँको र टायरका धुंवाले ।
ए मान्छे,
म आज रक्ताम्य गह्रारुको कथा बिर्सिन्छु,
र लेख्छु भन्छु -जस्माथि क्रान्ति जस्तै एक एक गर्दै
छपक्कै उम्रिएका सुन्दर फुलहरूका कुरा,
पहेला टुसाहरूका कुरा र हरिया मुनाहरूका कुरा,
अनि सधैं उत्साह बोकेर उदाउने प्रभातका कुरा,
जसले मेरो आँखाको गुलुबभरी स्वर्णिम रंग पोतेका छन ।
कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरू
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरिरहन्छु ।
धेरै पछि पृथक मुडमा
फूलको सौंदर्यको बयान गर्न खोज्छु
ती नदी पहाड र हिमालका चित्र कोर्न थाल्छु
मनको आँखा भरीभरी
रंगाउन चाहन्छु प्रकृतिको रंग मेरो कवितामा ।
हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँबाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरू बेढंगले लत्पतिन्छन ।