मौसमले शरदको उच्छ्वास फेरि बोकेर ल्याएको थियो । निधारमा सेप्टेम्बर लेखिएको अर्को पातो पल्टिईसकेको थियो र खुइलिन पनि थालिसकेको थियो । घुमेर कहिले नथाक्ने समय त्यहिँ थियो । तर पन्छिले छाडेपछि गुँड रित्तो भए झैं दशैं, तिहार, देउसी भैली र घरदेश सम्झनाका मिठा रहरहरुले छाडेको एउटा जीर्ण छातीमात्र मेरो दैनिकीमा मसंग बाँचिरहेको थियो ।
सम्झाउने र बुझाउने अनेकौं बहानाहरु थिए – व्यस्त थिएँ / समय थिएन । समय त त्यहिँ थियो उस्तै, घुमिरहेको सधैंझैं । समय हैन मैले आकाशझैं ठानेको मेरो छातीभित्र मनै पो थिएन । उ त्यो फुत्केर पर भागेको थियो, भागि रहन्थ्यो । कुनै कागजको चंगा, जो तन्कंदा तन्कंदै लट्टाईबाट धागो काटिएर उडिरहेको होस् आकाशमा वा त्यो कागजको डुंगा, जो खेल्दा खेल्दै बालकको हातबाट फुत्किएर बगिरहेको होस् किनार खोज्दै कुनै अथाह समुन्द्रमा ।
इजरायलको पूर्वी जेरुसेलम, जैतुनको पहाड – गत महिनाभर त्यहाँ रहंदा होस् या त्यसै गरि तेल अभिभको व्यस्त शहरमा हप्तौं भौतारिदा होस् यद्यपि कहिले प्रष्ट भईन किन मन म बाट फुत्किएर भागिरहेको थियो ? त्यो मन आफ्नो अधिकारको वस्तु झैं ठान्ने कृष्णपक्ष – त्यो हराएको आभाषले यतिखेर किन आफै बेचैन थियो ?
मन थियो त
मन थियो त
पक्कै हास्ने थियौ
एउटा कलिलो घाम
घुर्की लगाएर, कतै लुकेर रातभर
फेरी बिहान फर्किएझैं
एउटा उज्यालो मुस्कान ।
यो शरद,
यो उच्छ्वास, यो रहर
म तिम्रै बाटो हेरिरहेछु ।
सपना डढेर धुँवा भएझैँ
रंग खुइलिदै गएका समयका बादलहरु
मेरो प्रतिक्षाको आकाशमा
र पोखिईएका छन, झरी बनेर
मेरो आँखाको बलेसीमा
कुनै अनौठो रहरजस्तो त्यो धमिलो क्षितिज
म हेर्दाहेर्दै थाकिसकेको छु ।
मन थियो त,
पक्कै लेख्ने थियौ एउटा पत्र
वा एउटा मिठो कविता
हरफ हरफमा मायाको रंग भरेर
र राखिदिने थियौ आएर सुटुक्क
मेरो सिरानको छेवैमा
या चुपचाप टासिदिने थियौ
मेरो सम्झनाको फेसबुकमा ।
फुर्सद नभएको किन हुन्थ्यो ?
म ठोकुवा गरेर भन्छु
तिम्रो त मनै नभएको हो
खै त्यो छाती देखाउ त ?
त्यो कठोर, त्यो रित्तो, त्यो खालिखालि खण्डहरभित्र
भन कहाँनेर छ मन ?
भन कहाँनेर छ माया ??