प्रिय तिमी,
फेरि एकपटक मिठो सम्झना !
सम्बोधनमा तिमी भनेर लेखिसकेपछि पक्कै अनुमान लगाउनु भयो होला उनी पक्कै कुनै प्रेमिका या नारी पात्रा हुन,
गलत ।
त्यो निलोकालो भयंकर विम्बबाट हठात म तिमीलाई हटाउँछु । अहँ तिमी यस्तो कठोर कदापि हुन सक्दैनौ । यत्रो आघातको आँधि सहन सक्ने नीलकण्ठजस्तो सामर्थ्य तिमीमा कहाँ छ ? तिमी त एक साधारण प्राणी हौ, तिमीले यसरी विष च्यापेर आहत हुनु हुँदैन । यो दुर्घटनाको कल्पनाले म थर्थरी काँपिरहेछु ।
आजको ‘तिमी’ पात्र ‘म’ हुँ , म आफैँ हुँ । विभिन्न अवसरहरुमा मैले धेरै पटक आफैलाई सम्झाएको छु । त्यसकै निरन्तरता हो यो । 
कहिलेकाही मलाई डर लाग्छ कि तिमी कतै हराउँछौ कि ? यी शहरहरुमा , यहाँका अनगिन्ती भुल भुलैयाहरुमा .. तिमी कतै अलमलिन्छौ कि ।
मैले आजसम्म तिमीलाई तिम्रो पूर्ण स्वरुपमा अनुभूत गर्न पाएको छैन । सग्लो तिमीलाई छुन महसुस गर्न सकेको छैन । तिमी को हौ ? र किन छ तिम्रो अस्तित्व यस धर्तिमा ?? एकदिन फुर्सदमा तिमीसँग बस्न मन छ र बुझ्न मन छ तिमीलाई ।
तिमी सँधै हतारैहतारमा रह्यौ व्यस्त व्यस्त नै रह्यौ त्यसैले त मैले यत्रो संगतमा पनि अलिकति मात्र चिन्न सकेँ हुँला तिमीलाई या चिनेको भ्रम मात्र भयो । तिम्रो छेउछाउ मात्र पुग्न सकेँ हुँला ।
तिम्रा बारे ममा हजारौँ जिज्ञासाहरु छन, हजारौँ प्रश्नहरु छन । यो पत्र पाएपछि तिमी आउ मलाई पनि समय देउ । हामी सँगै बसौंला भलाकुसारी गरौँला र तिमीलाई म नजिकबाट बुझ्ने कोशिस गरौँला ।
एउटै कायामा वास भएपछि धेरैपटक हामी भेटियौँ र ठोक्कियौँ होला, आमने सामने भयौँ होला तर एक अर्कालाई नजिकबाट बुझ्ने गरी एकअर्का कै लागि नै समय दिन भने कहिल्यै भ्याएनौँ । तिमी गुज्रँदा गुलाफमा सुगन्धजस्तो मात्र भेटेको छु … प्रकाशमा छायाजस्तो र किताबमा अक्षरजस्तो तर सप्पै अलि अलि मात्र अधुरो अधुरो .. ।
कविताहरुमा भावजस्तो र गीतहरुमा लयजस्तो अर्थपूर्ण परीचय हाम्रो कहिले होला ? यद्यपि स्पष्ट र सग्लो तिमीलाई भेट्ने यत्न जारी छ र कहिलेसम्म कायम हुनेछ यो यत्न थाहा छैन ।
तिमी बारम्बार भन्छौ – सत्य अविचलित हुन्छ , अकाट्य र अन्तिम हुन्छ , झुठ त ढोंगीहरुको आवरण हो जो खुइलिन्छ । तर कहिलेकाही तिमी किन आफै झुठ बोलिरहेका हुन्छौ ?? भन्छौ म मस्त छु , विन्दास छु र गर्छौ रोमाञ्चक नायकको झुठो अभिनय । अहँ यो झुठ तिमीलाई पटक्कै सुहाउदैन । तिम्रा हाँसो, अट्टहासहरुमा मलाई बारम्बार शंका हुन्छ र प्रश्न गर्न मन लाग्छ ।
यी झुठहरुले तिमीलाई अझ जटिल, अमूर्त र अबोध्य बनाउदै लगेका छन ।
गीतहरु गुन्गुनाउन कविता सुनाउन र कथाहरु बाँड्नका लागि हुन । जसरी घाम प्रकाशको लागि हो भने बादल झरी बनेर बर्सन । यही हो प्रकृति …। तिमी यो नियमको वहाव विपरित कतिदिन तैरन सकौला ?
अरुका कथाहरु लेख्दै र आफ्ना कथाहरु मेट्दै कहिल्यै नगर्नु तिमी । तिमीले पनि निर्धक्क रुन मिल्छ .. जसरी हाँस्न मिल्छ । दुख र वर्जनाहरु तिमीले पनि त्यसरी नै भोग्नु हुन्छ जसरी कथाका पात्रहरुको नियतिमा लेखिएको हुन्छ । मैले सुनेको छु विषम परिस्थिति सिर्जित हुँदा जब मान्छे आफ्ना पीडाहरु कतै नपोखी लुकाएर गुम्स्याएर आफ्नै छातिभित्र आरुढ गराएर राख्छ तब उ विक्षिप्त हुन्छ । कति पात्रहरु हृदयाघात भएर ढलेका छन, कति पात्रहरु मानसिक विमारको शिकार भएका छन र कति पात्रहरुले आत्महत्याको बाटो रोजेका छन । अहो ! मलाई यो दुर्दशा सोँच्दा पनि कहाली लागेर आउँछ अनि म घरिघरि अत्तालिन्छु ।
सदियौँदेखि भनेको छ समाजले – तिमी नरुनु । दुख नदेखाउनु सहनु र लुकाउनु । तर आज म तिमीलाई भनिरहेछु – होइन तिमी नढाँट्नु , नछल्नु र नलुकाउनु । सबैसँग नसही, कम्तिमा तिमी मसँग खुल्नु , खुलेर मनका कुराहरु बाँड्नु मसँग … ।
पीडा लुकाएर हाँस्नु पनि कुनै कला होला जिन्दगीको तर यतिखेर त्यो कलाप्रति मेरो सघन असहमति छ त्यसैले तिमीलाई यो पत्र लेखिरहेको छु । कुनैबेला मैले नै भनेँ हुँला – तिम्रो ओँठमा मुस्कानको गहनामात्र सुहाउँछ, खुसि सिउरेर मुस्काउ । तर छातिभित्र अँध्यारो बादल लुकाएर होइन । सुहाउन त आँखामा आसुहरु पनि त्यसरी नै सुहाउँछन र त्वचामा पसिनाहरु … झन ती मोतीजस्तै चम्किला देखिन्छन ।
तिमीलाई थाहा छ म चित्र कोर्न मन पराउँछु । चित्रमा रंग र प्रकाशको परिकल्पना हुन्छ । सिमाना, धर्का या घात र आकारहरुको परिकल्पना हुन्छ । चर्मचक्षुले स्पष्ट देख्न नसकिने या श्पर्शले महसुस गर्न नसकिने भावहरुको पनि कल्पना गरिन्छ र आकार कोरिन्छ । कहिलेकाही म यस्तै दुखहरुको आकारको कल्पना गर्छु त्यो आकार ठ्याक्कै तिम्रो अनुहारसँग मेल खान्छ । दुखहरुको अग्लो पहाड छातिमा बोकेर उभिएको नीलकण्ठजस्तो हुन्छ त्यो मूर्ति …जसको घाँटिमा कालकुटको पोको अल्झिएको छ ।
त्यो निलोकालो भयंकर विम्बबाट हठात म तिमीलाई हटाउँछु । अहँ तिमी यस्तो कठोर कदापि हुन सक्दैनौ । यत्रो आघातको आँधि सहन सक्ने नीलकण्ठजस्तो सामर्थ्य तिमीमा कहाँ छ ? तिमी त एक साधारण प्राणी हौ, तिमीले यसरी विष च्यापेर आहत हुनु हुँदैन । यो दुर्घटनाको कल्पनाले म थर्थरी काँपिरहेछु ।
प्रिय ! परिभाषा फरक होलान तर दुखका पलहरु हरेकका समयसँग कुनै न कुनै रुपमा गाँसिएका हुन्छन । तर समय बग्दो छ । पीडाका पोकाहरु बाँधेर छातिभित्र थुपार्दै गयौ भने ती कुनैदिन विष बन्नेछन र हत्या गर्नेछन आत्माको । तिमी छातिलाई फराकिलो नदी बनाऊ र फुकाइदेउ । बगाइदेउ पीडा र व्यथाका पोकाहरु ..।
म तिमीलाई यही सम्झाउन खोजिरहेछु , दुखहरु त हरेकका जीवनमा आउने सामान्य घटनाहरु हुन । तर तिनको व्यवस्थापनको अभावमा ती जटिल र असाधारण हुँदै जाने हुन, त्यसो हुन नदेउ ।
भलै दुनियाँसँग दुख बाँड्न असहज होला / नमिल्ला तर तिमी तिम्रा केही आत्मीय मनहरुको सानो सर्कल बनाउनु र आफ्ना कथाहरु शेयर गर्नु । उनीहरुसँग निर्धक्क पोखिनु … जसरी पोखिन्छन काला बादलहरु आकाश खुल्ने गरी त्यसरी नै बाड्नु तिमीले आफ्ना मनभित्रका पीडाहरु ..।
प्रिय तिमी यसरी रुनु
जसरी बर्षन्छ झरी … ।