कृष्णपक्ष थापा [KanxeY]
whatsapp
कृष्णपक्ष थापा [KanxeY]

दुइ थान गज़ल

फेसबुक
ट्वीटर
पिण्ट्रेस्ट
लिंक्डइन

व्यस्तताको सिलसिला र भौतिक परिवेशको निरन्तर उतार चढाव भैरहंदा अनौठो संग दैनिकीहरु बेफुर्सदिला बनेका छन,त्यसो त यो व्यस्तताले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटेको हुनसक्छ यद्यपि यस्तो अवस्थामा केहि कोर्ने अवसर जुटाउन नसक्नु,मित्ररु संग अपडेटेड हुन कठिन हुनु, भावना र अनुभूतिका झिल्काहरुले उज्यालोको कुनै मुर्त आकार लिन नसक्नु मेरो लागि दुखद पक्ष बनेका छन । अस्तव्यस्त दिनचर्या सहज नबनाई भएकै छैन । किस्ता किस्ता बाडिएका फुर्सद हरुलाई तानतुन गरेर एक ढिक्का बनाउने र स्थिति सहज बनाउने प्रयास भने जारी छ (पहिले जस्तै 🙂 धेरै पछि आज प्रेम र सौन्दर्यका दुइ थान गज़ल लिएर आएको छु – सुनाउन । लौ सुनेर जानुस!

पहिलो

बस्यौ बाटो हेरि, र त जुध्यो नज़र ।
फर्किएँ म फेरि, र त जुध्यो नज़र

ओठै नखोलेर, इशाराले बोल्ने
रैछौ माया मेरी, र त जुध्यो नज़र ।

नदेखेझैं गर्दै, मेरै बाटो तिर
चियाउदा खेरि, र त जुध्यो नज़र ।

मलाइ नै पर्ख्यौ बाटो घाटो मेला
कुवा र पधेरी, र त जुध्यो नजर ।

बसिरहुँ भन्छ हजुरकै सामु
आँखै यो अटेरी,र त जुध्यो नजर ।

दोश्रो

उपवन मनको मेरो डुल्न आउनु भयो
फूलजस्तै मुस्काउदै फुल्न आउनु भयो ।

शर्माएर पहिले पहिले, पर जानु हुन्थ्यो
अहिले पो यी यस्तरी, खुल्न आउनु भयो ।

कति कति हासो खुसि, सुख दुख कति
एकै छिन सारासंसार, भुल्न आउनु भयो ।

वादल पारि पिरतीको, घर देखाउदै
कल्पनाको रोटेपिंग, झुल्न आउनु भयो ।

वसन्त झैं रंगिन यो, मेरो यौवनमा
वहारको रंग लिई, घुल्न आउनु भयो ।

Leave A Reply

Share :

Twitter
Telegram
WhatsApp

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com