बैजनी रङका ढकमक्क शिरीषका फूलहरू भुईँभरि पोखिएका छन् । व्यवस्थित घर अनि फराकिला भित्री सडकका ठाउँ ठाउँमा निर्माण गरिएका उद्यानहरूले यहाँको सुन्दरता मात्र बढाएको छैन, विदेशबाट आएका हामी जस्ता केयरगिभरहरुको दिनचर्या सरल र मधुर बनाइदिएको छ ।
भर्खर इजरायल आएको थिए, यहाँको रहन सहन केही थाहा थिएन । नेपाली साथीहरुको कुरा सुन्थेँ, सब्बातमा यस्तो गर्छन, उस्तो गर्छन, यो खान हुदैन, बत्ति बाल्न हुदैन । तर मेरो बुढो साथीलाइ के सब्बत के अरु दिन सबै उस्तै थियो । शनिबारको दिन त झन् हामी फिल्म हेर्थ्यों,रमाइलो गर्थ्यौं । उसलाई गीत गाउने शोख थियो, कहिलेकाही छिमेकीलाइ डिस्टर्ब हुनेगरी हल्ला गर्थ्यो । उसले कहिलेपनि किपा लगाएको वा सब्बात मनाएको मैले देखिन ।
अति धार्मिकहरु देख्दा मुख खुम्च्याउथ्यो र भन्थ्यो – अरबिकहरुले गर्दा होइन खरेदीहरुले गर्दा इजरायलको अस्तित्व खतरामा छ । खरिदीहरु अति धार्मिक रुढिवादी यहुदीहरु हुन् यिनीहरु तेल अभिभको बेनी बरक र जेरुसलेममा बसोबास गर्छन ।
होचा सिसौका पातहरू हल्लाउँदै शीतल हावा बहन थालेपछि प्रायः हरेक साँझ म मेरो बूढो साथीसँग घुम्न निस्कन्छु, अनि ऊ सधैँ मर्दै र बाँच्दै गरेको यो सहरको र उसको कथा हिब्रु मिश्रित अङ्ग्रेजीमा मलाई सुनाउन थाल्छ ।
धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो मानिस मेरो अगाडि आफैँमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले देखेको छ, भोगेको छ र कति–कति अविस्मरणीय पलहरूलाई छातीको भित्री तहमा शिलालेखजस्तै आरूढ गराएर राखेको छ ।
मायासँग भेट नभएको पनि बर्षौं भइसकेछ । नेपाली नाम जस्तै लागेर म प्रश्न गर्छु— माया को थिइन ?
माया उसकी बाल्यकाल देखिकी अभिन्न साथी थिइन्, अर्थात खबेरा… लामो सुस्केरा हाल्दै ऊ सम्झन्छ – ‘माई’ (मे) मा जन्मिएकीले माया नाम राखेको रे । यसपालिको जन्मदिनमा छोरीको घर विरशेवा जानु अघि नै धेरै पटक उसले मायासँग फोनमा कुरा गरेको थियो ।
कतै कुनै सिलसिला मिलाएर भेट्न पो सकिन्छ कि ! शायद यस्तै झिनो आशा उसको मनमा हुँदो हो । त्यो धोको फेरि पनि विविध कारणले अधुरै रह्यो, सबै कारणहरूको विश्लेषण गर्ने सामर्थ्य पनि उसको उमेरसँगै क्षीण हुँदै गइसकेको छ । माया पनि धेरै बुढी भइसकिन् अब त नभेटी मरिन्छ होला !
समयले ती दुईलाई परस्पर शत्रु राष्ट्रको नागरिक बनाए पछि सुरुका दिनमा पश्चिम किनारको सिमानामा काँडाको तार बाहिरबाटै भेटेर रुँदै फर्केको तितो अतीत सुनाउँदै गर्दा उसको गला अवरुद्ध हुन्छ । देश फाटिए पनि मन र माया त कहाँ फाटिंदो रहेछ र ?
मन र भावनाको बहाव विपरीत बगेर पनि जिन्दगीले गति त लिँदो नै रहेछ । जीवनको धेरै लामो बाटो हिँडिसकेको छ उसले, यो यात्राका अन्तिम वर्षहरूलाई सजिलो बनाउन भगवानले मलाई पठाइदिएको हो भनेर ऊ मेरो मन पनि जित्छ । मेरो उत्सुक स्वभावको पनि ऊ अत्यन्तै प्रशंसा गर्छ । नेपाली चौतारीको मेरो लेख देखेर मलाई लाग्छ मभन्दा ज्यादा त ऊ नै हर्षित हुन्छ होला । शुरुदेखि अन्त्यसम्मका एक–एक हरफहरू उल्था गरी गरी सुनाउनु पर्छ ।
हामी धेरै अनुभवहरू साटासाट गर्छौँ, यिनै बुडाबुडीको मुहारमा देखिने खुसी र आँसुका रेखाहरू पढ्न हामीले अमूल्य समयसँग सम्झौता गरिसकेका छौँ– एउटा सुसारे भएर ।
उसको उच्च अध्ययन अमेरिकामा भएको थियो । त्यहाँ पनि माया उसकी सहपाठी थिइन् । क्यालिफोर्निया राज्यको लस एन्जल्समा रहँदाका ती स्वर्णिम दिनहरू ऊ सम्झन्छ । अमेरिकी समाजमा ती अनन्य जोडीले यौटै देशको प्रतिनिधित्वको रूपमा आफूलाई स्थापित गराएका थिए । इम्पेरियल राजमार्ग हुँदै साउथ वेस्ट कलेजसम्म आउँदा जाँदा प्रायः माया ऊसँगै हुन्थिन् । कति पटक त मायाले उसैको भान्सामा खाना पकाइदिएकी थिइन ।
त्यस बेला मायासँग जोडिएको इस्लाम धर्मले के फरक पारेको थियो ?
उमेरले माया ऊभन्दा अलि जेठी थिइन होला । उनीहरूको घर सँगै थियो, त्यस बेला । सँगै खेलेर हुर्किएर र अनुभवहरू बाँडेर यौवन र जीवनका असीमित आयामहरू मसँग उसले सिक्ने र बुझ्ने अवसर पाएको थियो । ऊ भन्छ, उसकी पत्नीसँग जति उसको खुसी गाँसिएको छ, त्यसभन्दा कयौंगुणा धेरै मायाका सम्झनाहरू उसभित्र आजसम्म बाँचिरहेको छ । किन, ऊ आफैँलाई थाहा छैन ।
के ऊ मायालाई मन पराउँथ्यो वा प्रेम गर्थ्यो ? मेरो जिज्ञासालाई पल्टाउँदै यसले यत्ति भन्यो, यदि प्रेमको परिभाषा बदल्न सकिन्छ भने,“उलाइ केन, उलाइ लो” ।
ऊ अरबी मूलको भएपनि यहुदी थियो र माया इस्लामिक परिवारमा जन्मिएकी थिइन्, उसलाई थाहा थियो उनीहरूको बिचमा सम्बन्ध स्थापना हुनु सामाजिक र धार्मिक अपराध थियो ।
विदा मनाउँदा प्रायः समुद्रको किनारमा जान्थे उनीहरू । पौडन पनि उनीहरूले लगभग सँगै सिकेका थिए । कति पटक उनीहरू साँझ घोडामा घर फर्किँदाका ती रमाइला दिनहरूको बयान सुनाउँदा सुनाउँदै ऊ भन्छ– म तन्नेरीमा तिमी जस्तै थिएँ ।
“क्रिस के तिमीले कहिल्यै ऊँटको दूध सुबत पिएका छौ?”
“अहँ छैन, किन र ?”
कहिलेकाहीँ अचानक यसरी प्रसङ्ग मोडेर कुरा गर्ने स्वभाव प्रायः यताका बुढाहरूको हुने गर्छ । यो बुढ्यौलीको दोष पनि हुनसक्छ । तर ऊ प्रसङ्गभित्रै रहेछ । एक दिन जेरुसलेम घुम्न निस्कँदा उनीहरूले बेस्करी ऊँटको दूध ‘सुबत’ पिए अरे । त्यो बेला माया पनि अलिकति बहकिएको कुरा उसले स्वीकार ग¥यो तर सँगसँगै जीवन बिताउने आँट गर्ने शक्ति उनीहरूलाई न त यो धर्मले दियो न त यो समाजले । एक पटक मुस्लिम युवकसँग प्रेम गरेको चलचित्र खेलेकै भरमा मनीषा कोइरालाको हत्या गर्ने प्रयास भएको कुरा म सम्झन्छु ।
मान्छेको समाज जहाँ पनि उस्तै त हुँदो रहेछ ।
माया स्पष्ट खुला बिचारकी युवती थिइन । मायामा त्यस्तो धार्मिक दृढता उसले कहिल्यै महसुस गरेन । मायाले इस्लाम परिवारमै विवाह गरिन्, उनीहरू इजरायलबाट विस्थापित भए । हुन त यहुदी समाज र सांस्कृतिक सामाजिक थिचोमिचोसँग सम्झौता गरेर अझ धेरै इस्लामिक समुदाय इजरायलमा मिलेरै बसेका छन् दुखेको कुरा माया त्यो भित्र पनि परिनन् ।
मौसम ऋतु र प्रकृतिका साजहरू बदलिँदै गए । कैयन अनिश्चित समयहरू स्वतः स्वीकारित भए र उनीहरू आ–आफ्नो संसारमा हराए ।
कसरी कुनै संयोगवश उसकी छोरी मानव अधिकारवादी सामाजिक संस्थाबाट स्थलगत रिपोर्टको लागि केही वर्ष पहिले पश्चिम किनार जाँदा बुबाको उही पुरानो साथी मायासँग परिचय भएको थियो । ऊ भन्छ, त्यस दिन उनीहरूले दिनभर जस्तो टेलिफोनमा कुरा गरे अरे ।
माया एक पटक जेरुसलेम आउन चाहन्छिन् । जेरुसलेमको पुरानो सहर धीत मर्ने गरी घुम्ने इच्छा भएको कुरा उनी बारम्बार व्यक्त गर्छिन् । जेरुसलेम उनीहरूलाई मुटुको स्पन्दन जत्तिकै प्यारो छ । सन् १९६७ को अरब –इजरायल बिचमा भएको घमासान युद्ध पश्चात् जब जेरुसलेम मुक्तिको घोषणा गरियो, त्यस बेला हजारौँ सर्वसाधारण र सैनिकहरूसँग हातेमालो गर्दै उनीहरू पनि जे रिचो हुँदै मृत सागरको सडकतर्फ फैलिएको विशाल विजयोत्सवमा सहभागी भएका थिए ।
आजसम्म जब जब कतै त्यही समयको हृदयस्पर्शी त्यो सङ्गीत गुन्जन्छ , ऊ भावविभोर भएर मायालाई सम्झन पुग्छ । माउन्ट मन्दिरको आकाशमा टल्किने सुनको गजुरको चमक जरुसलेमको दिव्य ज्योति हो , ऊ भन्दछ तर यो ज्योति, यहुदीहरूको मात्र होइन, १७ औँ शताब्दीतिरका इस्लामहरूले नै यहाँ सुन भरेका हुन् ।
यरुसलाइम सेल जहाव
वेसेल निखोसेत
वेसेल ओर…
हालो ले खाल शिराइख
आनि किनोर….।
ऊ भन्छ शायद हाम्रो लागि लेखिएको त्यही नै अन्तिम दिन रहेछ, त्यसपछि उनीहरूले कहिल्यै त्यसरी जेरुसलेम घुम्न पाएनन् र त्यो दुर्लभ समयको पुनरावृत्ति केवल मन र स्मृतिमा मात्रै रहिरह्यो त्यसैले पनि हुनसक्छ, त्यो गीत त्यति प्यारो भएको । स्वतन्त्रता दिवस तथा राष्ट्रिय सार्वजनिक समारोहहरूमा प्रायः सुनिने यो गीत इजरायलको राष्ट्रिय गान ‘हातिक्भा’ भन्दा पनि लोकप्रिय छ । इजरायलीको मनमा बसेकैले हुनुपर्छ यसले दोस्रो राष्ट्रिय गानको मान्यता पाएको छ ।
धेरै गायक गायिकाले यो गीत गाइसकेका छन् । मेरो आँखाको कौतुहलता पढ्दै ऊ मलाई पुरानो बाकसबाट एउटा क्यासेट झिकेर सुनाउँछ । सुली नतानको सुरिलो स्वरमा स्वरबद्ध त्यो गीत बज्न थाले पछि ऊ भन्छ– माया पनि उस्तै गरी गाउँथिन ।
मेरो भाषामा म यसरी बुझ्छु,
ए धिपधिप प्रकाशले
प्रद्धिप्त भएको
सुनै सुनको सुवर्ण जेरुसलेम
म तिम्रो सङ्गीतको सितार हुँ ।
सङ्गीतको लयसँगै म प्रसङ्ग जेरुसलेमतिर मात्र केन्द्रित गर्न चाहन्थेँ । अद्वितीय सहर जेरुसलेम प्रतिको मोह यहुदीहरूमा मात्र होइन, सबै धर्मावलम्वीहरुमा उत्तिकै छ । संसारका अन्य सहरहरू तिनको विशालता, भौगोलिक सुन्दरता, आर्थिक सम्पन्नता वा यस्तै अन्य कारणले प्रसिद्ध भएका हुन सक्छन् तर पवित्र आध्यात्मिक सहर जेरुसलेम किन अतुलनीय छ त ?
किनकि जेरुसलेम देउताको सहर हो, उनीहरूमा विश्वास छ । जेरुसलेमको अर्थ शान्ति भूमि पनि हो, तर यसैका निमित्त अन्य सहरको तुलनामा सबैभन्दा धेरै वैमनस्य, धेरै सङ्घर्ष र धेरै रक्तपातहरू भएका छन् । धेरै आँसुहरू बगेका छन् । यहाँ बेवोलोनियन, ग्रीक, तुर्की तथा रोमनहरूले एकपछि अर्को गर्दै ३८ पटकसम्म आधिपत्य जमाएका थिए । यही क्रममा यसका संरचनाहरू कयौँ पटक खण्डहरमा परिणत भए, कति पटक त बस्ती शून्य उजाड भयो यो सहर । यद्यपि ईश्वरप्रतिको उच्चतम आस्था भने यो सहरमा सधैँ सधैँ बाँचिरहेको छ ।
यो धार्मिक क्षेत्र अन्य धेरै राष्ट्रहरूद्वारा पटक पटक अतिक्रमित भई राजनैतिक सार्वभौमिकता अन्तरित भए पनि यहुदी राज्यले मात्र राजधानीको रूपमा स्थापना गरेको हो, यहुदीहरू भन्छन् । यो हाम्रो पुर्ख्यौली सम्पदा हो, प्यालेस्टिनीको कदाचित होइन । सन १९४८ अघि जो यहाँ बसोबास गर्थे र आफूलाई प्यालेस्टिनी भन्थे, उनीहरू त कतैबाट आएका आगन्तुक मात्र थिए । तर प्यालेस्टिनीहरु भने यो सत्य नभएको दाबी गर्छन् । उनीहरूका पिता–पुर्खा र कयौँ पुस्ता यहाँ बस्तै आएका थिए। एकाएक सलहसरि आएका यहुदीको जमातले किंवदन्तीको आधारमा आफूहरूलाई जवर्जस्ती धपाएर अन्याय गरेको उनीहरूको भनाई छ ।
मेरो बुढो साथी भन्छ– युरोपमा यहुदीहरूमाथि भएको क्रूर अत्याचारको बदलामा विना कारण यहाँ प्यालेस्टिनीहरुले मूल्य चुकाउनु परेको मात्र हो ।
जेरुसलेम र मायासँग सम्बन्धित स्वर्णिम यादहरूलाई थाती राखेर ऊ मलाई अर्को कथा सुनाउँछ । यहुदी र अरबहरू को थिए के तिमीलाई थाहा छ ? डा. विष्णु चापागाईँले यही पत्रिकाको पहिलो अङ्कमा लेखेका थिए— “इस्लाम र यहुदीका पुर्खा अब्राहमले सृष्टिको सुरुवात यही स्थानबाट गरेको विश्वास गरिन्छ ।”
एकअर्कालार्इृ देखि नसहने यी दुई शत्रुका पुर्खा कसरी एउटै थिए?
ऊ सुनाउँदै जान्छ — यु्गौं पहिले तिनै अब्राहमलाई ईश्वरको अनुकम्पाद्वारा इजिप्ट देखि समस्त कनान क्षेत्र ( जसभित्र जेरुसलेम पनि पर्छ) प्राप्त भयो । “तिमी र तिम्रा सन्तानहरूले यहाँ राज्य गर्नू” भन्ने उनको आज्ञामुताबिक उनका पुत्र ईज्याक स्वतः यसको उत्तराधिकारी भए उनैका सन्तति यहुदीहरू हुन् ।
अब्राहमको एउटी सुसारेसँग अवैध सम्बन्ध रहेछ । उनेले इस्मायल नाम गरेको पुत्रलाई जन्म दिइन । उनलाई गृह निकाला गरियो, उनी सम्पूर्ण आधिकारिकताबाट बहिस्कृत भइन । इस्मायल जवान भए पश्चात् पिताको वंशीय अधिकार प्राप्त गर्ने धोको उनमा सधैँ भइराख्यो । उनीहरूले विशाल मरुभूमि परान क्षेत्रमाथि आधिपत्य जमाए । उनैका सन्तति इस्लाम भनिए । इज्याकका सन्ततिहरू चाहिँ यहुदी भए।
त्यसैले जेरुसलेमका लागि भएको सङ्घर्ष दाजुभाइको झगडा बाहेक केही होइन, ऊ प्रस्ट्याउँछ ।
फेरि हाँसो उठ्ने गरी ऊ यो पनि भन्छ— ईश्वरले त हामीलाई बस्नका लागि मात्र ठाउँ दिएका हुन, कुनै ग्रहको एक टुक्रा जमिन पनि कसैको होइन । यदि जेरुसलेमका नाममा सधैँ युद्ध भइराख्यो भने उनले यसलाई विशाल पत्थरमा रूपान्तरित गरिदिनेछन् र, अनि जसले यसलाई छुन खोज्छ उसैलाई चोट लाग्नेछ ।
जेरुसलेमबाट पूर्वतर्फ जैतुनको पहाडमाथि हरेक प्रभात चियाउने सूर्यको किरणले सम्पूर्ण विश्वमा आस्थाको ज्योति टल्किरहेझैँ देखिन्छ । उत्तर दक्षिण फैलिएका पहाडहरूले घेरिएको यो उपत्यका भित्रको सुवर्ण सहर जेरुसलेमलाई इजरायलले अत्यन्त जतनले सुरक्षा र सम्मान गरेर राखेको छ । यहाँ करिब ३००० वर्ष पहिले राजा डेभिडले राज्य गरेका थिए । यहुदीहरू भन्छन्— “त्यही बेलादेखि नै हाम्रो राजधानी जेरुसलेम हो ।”
सहरको मध्य भागमा रहेको माउन्ट मन्दिरको रहस्यमय अलौकिकता अवर्णनीय छ । विभिन्न समयमा विभिन्न शासकहरुद्वारा पटक पटक विनाश र पुनर्निर्माण हुँदै आएको यो धार्मिक सम्पदा पुरातात्त्विक, सांस्कृतिक र राजनैतिक दृष्टिकोणले अत्यन्त संवेदनशील रहेकोले धेरै मुलढोकाहरु निषेधित छन् । यहीँ अवस्थित अल अकसा मस्जिद र इस्लामिक धार्मिक स्थलले गर्दा मुस्लिमहरूका निमित्त पनि माउन्ट मन्दिर उत्तिकै महत्त्वपूर्ण छ ।
ईशा पूर्व ९६७ मा सोलोमनिले बनाएको यो मन्दिर ईशा पूर्व ५८६ मा वेविलोनीयनहरुले नष्ट गरेका थिए । फेरि ईश पूर्व ५१६ मा पुनर्निमित्त दोस्रो मन्दिर पनि ईश पूर्व ७० मा रोमहरूद्वारा भत्काइए पछि तिनका बाँकी अवशेषहरूबाट निर्माण गरिएको लामो पश्चिमी पर्खाल (western wall)ले यहुदीहरूको पराजय, आँसु र शोकमय सम्झनालाई प्रतिविम्बित गर्छ ।
गल्ली गल्लीमा यहुदीहरूको रगतको धारा बगुन्जेलसम्म टाइटसका निर्दयी सैनिकहरूले आक्रमण गरिराखे । संसारभरिका यहुदीहरू यही दिशातर्फ फर्किएर प्रार्थना गर्छन् ऊ भन्दै थियो —प्रत्येक दिनको हाम्रो प्रार्थना तेस्रो काल्पनिक मन्दिरसँग सम्बन्धित छ, जुन यही स्थानमा निर्माण हुनेछ, जब यहुदी देवदूत यस धर्तीमा प्रकट हुनेछन् ।
जेरुसलेमको बयानभन्दा फेरि उसलाई मायाकै सम्झना गाढा भएर आउँछ । हाइफा, गोलान क्षेत्र तथा पवित्र सहर जेरुसलेमका पर्खाल, चर्च, मन्दिर र मस्जिदहरूमा शायद उनीहरूको पनि कथा लुकेको छ । उनीहरू घुमेका पाइलाका डोबहरू त्यही बेला मेटिएर गए पनि कहिलेकाहीँ एकान्तमा त्यही पदचापको आवाजले ऊ झस्कन्छ ।
मायाविनाको उसको हरेक स्मृति अधुरो–अधुरो छ । डेभिड टावरबाट उनीहरू घण्टौँ जेरुसलेमको पुरानो सहर नियाल्थे रे कहिलेकाहीँ त जाफा गेटबाट उँटमा चढेर भित्र पसेपछि साँझ परेको पनि हेक्का रहँदैनथ्यो रे । त्यो निकै पुरानो समयको कुरा थियो । मुस्लिम, यहुदी वा क्रिश्चियनहरुका आ–आफ्ना चोक, क्षेत्र तथा गेटहरू छन् यहाँ । “भाया दोलोरोसा” अर्थात् जिसस क्रुसमा टाँगिएर दुख्दै हिँडेको त्यो वेदनाको बाटो पछ्याउँदै कति क्रिश्चियन तीर्थयात्री हरेक वर्ष यहाँ आएर उनको दुःखद सम्झना गर्छन् ।
जिसस क्राइस्टको जन्म र मृत्यु यहीँ भएकोले क्रिश्चियनका लागि पनि यो क्षेत्र उस्तै धार्मिक महत्वको छ । त्यसै देउताका सहर कहाँ भनिएको हो र ?
नयाँ वर्ष “रोश हा सना” मा हामी धेरै खशी भयौँ । हरेक नयाँ वर्ष जस्तै यसपालि पनि शोफारबाट निस्किएको पवित्र ध्वनि धर्म र यसका कथाहरू कुँदिएका यी पहाडका पर्खालहरूमा प्रति ध्वनित हुँदै जेरुसलेम र सम्पूर्ण इजरायलभरि गुन्जियो । हिन्दु धर्ममा शङ्ख जस्तै महत्त्व रहेको यो शोफार एक प्रकारको बिगुल हो जुन भेडाको सिङबाट बनाइन्छ । यससँग यिनीहरूको धार्मिक र पारम्परिक महत्त्व गाँसिएको छ ।
योम किपुरको अन्तिम दिन , शोफार बज्ने बित्तिकै कुन्नि कुन सम्झनाले डोराएर हो मेरो बुढो साथी चुपचाप पियानो बजाउँदै थियो । म देख्छु, पुरानो सहर बाहिर हवाई मील अगाडि खिचिएको मायाको तस्बिर सामुन्ने मानौँ ऊ कुरा गरिरहेको छ । मुस्काइरहेको उनको तस्बिरको पृष्ठभूमिमा मोन्टोफोरको हवाई पङ्खा टक्क अडिएको थियो यस्तो प्रतीत हुन्थ्यो कि उसको स्मृतिमा त्यो समय पनि त्यसरी नै टक्क रोकिएको छ ।
म सुन्दै जान्छु,
बिस्तारै ऊ त्यही गीत गुनगुनाउँछ,
जेरुसलायम सेल जहाव…………..।
(“नेपाल चौतारी”मा प्रकाशित निकै पुरानो लेख ।)