मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । ‘कान्छे’ मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश ‘कान्छे’ लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु । थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा …
कान्छे
मभित्र बाँचेको –
सानो त्यो मान्छे …
बालापनमा हराइरहेको,
ससानो खुसीमा रमाइरहेको,
खेलिरहेको गुच्चा र चुङ्गी
रङ्ग र कुची सम्झाइरहेको …
गीत र कविता सुनाइरहेको
सपनाको चङ्गा उडाइरहेको
धुलै धुलो त्यो गोरेटोमा
रहरको पाङ्ग्रा गुडाइरहेको …
कान्छे
मबाट कसरी ? छुट्यो त्यो मान्छे ? ..
मबाट खै कहाँ ? छुट्यो त्यो मान्छे ? ..
दौडिरह्यो समयको घोडा, दिन महिना वर्ष र उमेर ..
थाहै भएन
मबाट खै कुन बेला
छुटिसकेछ त्यो मान्छे
फेरिएछ युग उमेर , फेरिएछ घामहरू
फेरिएछ ऋतु मौसम फेरिएछ यामहरू
२ बिसले छोए पनि .. कपालै फुले पनि
जिन्दगीको भाग दौडमा हासे पनि रोए पनि
उ त सधैँ खेलिराख्छ
हाँसिराख्छ, नाचिराख्छ
कान्छे …
हेर त आफैभित्र मन खोलेर तिमी पनि
हृदयको कुनामा लुकिरहेको कतै
छ कि त्यस्तो मान्छे ?
कान्छे …