नूर एल आइन (कथा)


 बिगत लामो समयदेखि यो ब्लग अपडेट थिएन । कृष्णपक्षको ब्लगतिर कहिलेकाही चियाउने गर्नु भएको भए पक्कै याद गर्नु भएको होला । 

विदेशको ठाउँ बाध्यताहरू धेरै छन, यद्यपि आफ्नो रुची र रहर पुरा गर्न भने मानिसलाई कुनै पनि कुराले पनि छेक्दैन रहेछ । औपचारिक रुपमै कम्प्युटर सम्बन्धी अनलाइन अध्ययन गर्न थालेको छु । व्यस्तताका हजार बहाना थपिएका छन – क्लास, भिडियो लेक्चर, फोरममा चल्ने शैक्षिक बहसहरू, असाइन्मेन्ट … त्यसमाथि आफ्नो कामको जिम्मेवारी त छदै नै छ । यतिखेर घरमै बसी बसी सिक्न सकिने  केही छोटा कोर्षहरु गरिरहेको छु । 


रुची त लेखनमा पनि हो, यद्यपी चाहेर पनि यसलाई प्राथमिकतामा पार्न सकिएको छैन । लेख्नुपर्ने बिषयहरु धेरै छन, शब्द बनेर पोखिन आतुर कति भावनाहरु मनभरी उकुशमुकुश भरिएका छन । तर तिनलाई व्यक्त गर्न नजुरेको अवस्था लामो समयसम्म रहिरह्यो । यो कथा पनि धेरै महिना पहिलेको कथा हो । नेपाली तैप गर्न एकदम अल्छी लाग्छ । पहिले जस्तो उत्साह नभएर पनि होला, तर प्रयास सधैं रहनेछ । प्रतिक्रिया लेखेर हौसला दिनु नै हुनेछ भन्ने आशा छ  ।  

गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै अनुमान लगाउन सकिन्थ्यो नूर पुरै हिप्पी स्वभावकी थिई ।

समुन्द्र जस्तै गहिरा नीला तर चञ्चल थिए नूरका आँखाहरु । अरबी भाषामा नूर भनेको ज्योति हो, उसले पहिलो भेटमै बताएकी थिई । र मैले उसकै भाषामा यो गीत गाउन जानिसकेको थिएँ

खबिबी खबिबी या नूर एल आइन, या सकिन खयाली
(प्रिय ! तिमी मेरो आँखाको ज्योती हौ, जो कल्पनामा सधैं छाइरहन्छौ )

मैले यसो भन्दा नूर अलिअलि मुस्काउथी र अलिअलि लजाउथी । उसको  मुस्कान जोर्डनबाट बगेर इजरायलको गालील सागर भेट्न आइपुगेको यार्दन नदीजस्तै पवित्र र निस्छल थियो, कम्तिमा मलाइ यस्तै लाग्थ्यो । मलाइ यो पनि लाग्थ्यो कि यो सुन्दर भूमिको छातीभित्र लुकेको रणसंग्रामको कथा र रगतको इतिहाससँग उ बिल्कुल अनभिज्ञ छे, तर त्यो गलत थियो ।

साँझ बिहान वैरागी धून गाउदै बहने यी चिसा वतासहरु अब बिल्कुल बद्लिएका थिए, तिनको श्पर्श शितल र मिठो लाग्न थालेको थियो । हिजो पराइ र बिरानोजस्तो लाग्ने यो देशप्रति नजानिँदो आत्मियता बढ्न थाल्यो, हरेक स्थानहरु सुन्दर र रमणीय लाग्दै गए ।

हामी यतिखेर इजरायलको उत्तरी भूभागमा अवस्थित तिबेरिया जिल्लाको ‘एल हाम्मा’ मा छौँ । सिरिया , जोर्दान र इजरायल तीन राज्यहरुको मध्यभागमा थियो यो सानो गाउँ, उहिल्यै निर्जनीकृत भएको । यसलाई गाउँ पनि के भन्ने ? वस्ती भन्दा पनि यहाँ पार्क र उद्यान हरु थिए, पर्यटकीय रिसोर्ट थिए र थिए खण्डहर झैं देखिने केही भत्किएका घरहरु .. गैरर्फौजिकृत यो इलाका एल खाम्मामा आइपुगेपछि नूर एकाएक भावुक भई – कुनै कालखण्डमा युद्धको चोटले घाइते भएका निर्जन खण्डहर तिर इशारा गर्दै उसले भनी – यो मेरो पुर्ख्यौली गाउँ हो, यहाँ मेरो पुर्खाको रगत बगेको छ । आउ नियालेर हेर, इजरायली र सिरियाली सैनिकले कुल्चेका बुटका छापहरु ताजै छन ।

——————–

कुन संयोगमा कहाँ कसरी यो अरब युवतीसंग भेट भयो यकिनका साथ् भन्न सक्दिन तर यो सत्य थियो कि उसंग भेटेपछि यो परदेश वसाई या मेरा दिनहरु धेरै सहज बनेका थिए ।

पटक पटक रक्तपातपूर्ण संघर्ष र युद्धको रणभूमि बनेको अल- खाम्माका बासिन्दाहरु कसरी विस्थापित भए ? उसले किम्वदन्तीजस्ता लाग्ने इतिहास सुनाइ । कुनै समय अल खाम्मा प्यालेस्टाइन राज्य अन्तर्गत पर्ने अरबी गाउँ थियो । यहुदी र क्रिश्चियन नगन्य थिए । इजरायल सिरियाको संघर्ष चर्कदै जाँदा सिमानाको यो वस्ती पटक पटक किचियो ।  १९४९ पछिको युद्धविराम र सन्धी पश्चात यो इजरायलमै गाभिएपनि सिरियाले पुन कब्जा जमायो र इजरायली घुसपैठ प्रतिबन्ध गरयो । १९६७ मा इजरायलले फेरी यस क्षेत्र अतिक्रमण गर्यो र आफ्नो बनायो ।

विदेशमा पट्यारलाग्दा कुराहरु धेरै थिए, जहाँ पनि एक्लै भएजस्तो । ठुला शपिंग मल, भिडभाडयुक्त बसपार्क र ट्रेन स्टेशन या हजारतिर पुगिने चौबाटोहरु नै किन नहोउन त्यहाँ ओइरिने मानिसको भीड र ठोक्किन आउने पत्येक आँखाहरु बिराना लाग्थे, चिसा लाग्थे ।

इजरायल सिरियाबीच अनेक  संघर्षहरु भए, सन्धीहरु पनि भए । पटक पटक दुवै तर्फका सैनिकहरुले युद्ध विरामका सन्धीहरु भंग गरे घुसपैठ गरे र आआफ्नो स्वामित्वको दावी गरे । अल खाममाको देश कहिले प्यालेस्टाइन लेखियो, कहिले सिरिया त कहिले इजरायल  । यही प्रक्रिया दुखेपछि सैयौं घरपरिवार विस्थापित भए र अरबवस्ती निर्जन भयो ।

——————

आज संयुक्त राष्ट्र संघद्वारा गैरफौजिकरण गरिएका क्षेत्र अन्तर्गत पर्थ्यो यो भुमि ।जहाँ न इजरायल न सिरिया कसैका तर्फबाट पनि हतियारसहित सैनिक या गैरसैनिक घुसपैठ प्रतिबन्धित थियो । संयुक्त राष्ट्र संघीय संघर्ष विराम पर्यक्षवेक्षण संगठन (UNTSO ) को जागिरेका रुपमा बिभिन्न देशका शान्ति सेना र कर्मचारीहरु थिए । दुइ बर्ष देखि निशस्त्र कार्यरत हुँदा म आफू पनि नेपालको सैनिक अधिकृत हुँ भन्ने बिर्सिन थालिसकेको थिएँ । यस क्षेत्रको सुरक्षा र सम्पदाको संरक्षणार्थ यी दुइ देशबीच भएको सन्धीका प्रत्येक बुँदा र अनुच्छेद हामी निशर्त पालना गरिरहेका थियौं ।

विदेशमा पट्यारलाग्दा कुराहरु धेरै थिए, जहाँ पनि एक्लै भएजस्तो । ठुला शपिंग मल, भिडभाडयुक्त बसपार्क र ट्रेन स्टेशन या हजारतिर पुगिने चौबाटोहरु नै किन नहोउन त्यहाँ ओइरिने मानिसको भीड र ठोक्किन आउने पत्येक आँखाहरु बिराना लाग्थे, चिसा लाग्थे ।

‘नूर’ भेटिए पछि अलिकति रंग थपियो, खुशी थपियो । गुम्सिएर बसेका मनका भावनाहरु निर्धक्क पोख्न र विश्वास गर्न सक्ने साथी भेटिएजस्तो लाग्न थालेको थियो । मेजरको बारम्बारको चेतावनी बाबजुद पनि म धेरै पटक व्यस्त समय चोरेर निस्कन थालेँ ।

इजरायल अरब संघर्षको इतिहास निकै पुरानो र अनन्त थियो, नूरसँग संगत गरेपछि मेरो यी बिषयहरुमा दिलचस्पी बढ्न थाल्यो । एउटा सैनिक डिमिलिट्राइज जोनमा के गरेर बस्छ ? टहल्नु, संगीत सुन्नु या किताब पढ्नु … विकल्पहरु यस्तै थिए । बाहिर निस्कदा कहिलेकाहीं नूर भेटिन्थी, तर अधिकांश समय आफ्नो पथप्रदर्शक म आफै भएर हिड़थें ।  इतिहासका बिभिन्न कालखण्डमा इजरायलले आफ्नो स्वाधीनताका लागि रचेका युद्धका अवशेषहरु मैले हिड्ने बाटोमा अझैसम्म ताजा भेटिन्थे । लामो गृहयुद्धको चपेटामा पिल्सिएको मेरो देश नेपालबाट आएको म, अनुभूतिहरु समान थिए तर प्रकृति र परिवेशमा व्यापक  पृथकता थियो ।

उत्तरमा गोलान हाइट्स देखि इलात सम्म भ्रमणका अवसरहरु कति निस्किए कति, नूरसंग नजिकिएपछि..। कहिले हामी संसारकै होचो स्थान मृत्सागरमा पौडी खेल्न पुग्थ्यौं त कहिले तेल अभिभका पार्कहरुमा बार्बिक्यु पोलेर खान्थ्यौं । उ हामी संग घुलमिल भैसकेकी थिई, बिस्तारै नेपालीहरुको जमघटमा पनि उपस्थित हुन थालेकी थिई ।

इजरायलमा अरब जनसंख्या निकै कम छ र ती शिक्षा, प्रशासन, राजनीति लगायत हरेक क्षेत्रमा पछि परेका छन । यदाकदा तिनको बिरोधमा आवाज उठ्छन र सेलाउछ्न । आफूहरुमाथि विभेदकारी नीति र व्यवहार भएको तिक्त अनुभव थिए नूरसंग, तर मलाइ यस्ता बिषयमा कुनै सरोकार थिएन । उसलाई भेट्दा त म यो पनि बिर्संथें कि यो देशमा तनाव छ, संघर्ष छ र अन्त्यहीन युद्धको शृंखला निरन्तर चलिरहेको छ । साच्चै एउटा मान्छेको मायाले कति फरक पर्दोरहेछ ? नूरको साथ् मेरा लागि त्यस्तै भएको थियो ।

साँझ बिहान वैरागी धून गाउदै बहने यी चिसा वतासहरु अब बिल्कुल बद्लिएका थिए, तिनको श्पर्श शितल र मिठो लाग्न थालेको थियो । हिजो पराइ र बिरानोजस्तो लाग्ने यो देशप्रति नजानिँदो आत्मियता बढ्न थाल्यो, हरेक स्थानहरु सुन्दर र रमणीय लाग्दै गए । हामी कहिले रमणीय हिमाल हार्मोनमाथि केबलकार चढेर लेबनान र सिरियालाइ चियायौं त कहिले इलात समुन्द्र भित्र भित्र सबमराइनबाट जोर्दानको इलाका नजिक पुग्यौं । किन्नेरेत तलाउ, याफो किनार, तेल अभिभ शहर या  पवित्र जेरुसेलम आदि अनेक स्थानहरु र त्यहाँ बिताएका क्षणहरु हाम्रो समयको क्यालेन्डर र स्मृतिका पानाहरुमा थपिदै गए । युद्धका संकेतहरु, पदचाप या आवाजहरु अहँ कहिकतै सुनिएन या तिनको आभास सम्म भएन ।

——————

तर बर्षको अन्त्यतिर अरब इजरायल संघर्ष पुन एकपटक चर्कियो । इजरायली सैनिक कारवाहीमा हमास लडाकु कमान्डर महम्मद अल जब्बारी मारिएपछि दिनदिनै सैयौंको संख्यामा रकेटहरु प्रहार हुन थाले । ठुलै युद्धको संकेत देखा पर्यो, इतिहासमै पहिलोपटक प्यालेस्टाइनबाट निशाना लगाइएका लांग रेञ्ज क्षेप्यास्त्र इजरायलको केन्द्रभाग तेल अभिभ र जेरुसेलम सम्म आइपुगेका थिए ।  यी दिनहरु मैले दश बर्षे गृहयुद्धको चपेटामा पिल्सिएको आफ्नै देश नेपाल सम्झिएँ, मुठभेड र भिडन्तका समाचारहरु ताजा भएर आए ।   विष्फोटनको आवाज होस् या बारुदको पिरो गन्ध ह्वास्स ठोकिँदा मलाइ कालिकोटको सम्झना हुन्थ्यो । रोल्पा र रुकुम जस्तै एउटा नमिठो घाउ छातीभित्र बल्झिएर आउथ्यो ।

अत्यन्त विकसित प्रतिरक्षा संयन्त्रका कारण त्यसले इजरायलमा खासै क्षति भने गर्न सकेको थिएन । पहिलो कुरा रकेट प्रहार हुने बितिकै सम्भावित खतरायुक्त इलाकामा साइरन बज्थ्यो र त्यहाँका मानिसहरु आफुलाई सुरक्षित स्थानमा लुकाउथे । घर घर र सार्वजनिक स्थानमा समेत बंकर निर्माण गरिएका थिए । अर्कोतिर सैयौंको संख्यामा रकेट प्रहार भएपनि स्वाचालित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ती भुइमा खस्न नपाउदै आकाशमै ध्वस्त पारिरहेका हुन्थे ।

यसर्थ अबको निशाना इजरायल भित्रै रहेका अरब समर्थकहरुबाट आत्मघाती आक्रमण हुन सक्छ भनेर मिडियाले त्रास छर्न थालेका थिए ।  सार्वजनिक यातायात र ठाउँ ठाउँमा बम राखिएको हल्ला फैलियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा, यु एन महासचिव बान की मुन स्थलगत भ्रमणमा आए, यद्यपि युद्धविराम हुन भने सकेन । छिन छिनमा बज्ने साइरन संगै आइमाई केटाकेटीको चित्कार सुनिन्न्थ्यो । जीवनप्रति कत्रो मोह ? गुड्दै गरेको गाडी सडकमै रोकेर मानिसहरु भागिरहेका हुन्थे । मृत्युको भय  चौतर्फी फैलिएको थियो । शहरमा सम्भावित दुर्घटनाको भयावह चित्र कोरिएको थियो ।

————————-

पारिलो घाम लागेको दिन, सडकको छातीमा सवारी र मानिसको घुइचो बढ्दै थियो । इजरायलको मुख्य शहर तेल अभिभ व्यस्त थियो ।

अचानक विष्फोटको आवाज र कोलाहल गुञ्जियो । क्षणभरमै प्रहरी, पत्रकार र सर्वसाधारणको भीडले सडक भरियो । रक्तमुछेल घाइतेहरु बोकेर एम्बुलेन्स कुद्न थाले । सार्वजनिक बसमा बम पड्काइएको थियो । विष्फोट गराउने आतंककारीको व्यापक खोजी भयो ।  उता प्यालेस्टाइनका अरब टेलिभिजन च्यानलका  समाचारहरुमा बिजयोत्सव मनाएझैँ खुशी प्रकट गरेको  देखियो । आतंककारीहरुले अब यसरी नै इजरायलको चोक चोक बम पड्काइन्छ भन्दै आक्रोश ओकल्न भ्याए ।

भोली बिहानै आतंककारी पक्राउ परेको खबर आयो । म छाँगाबाट खसेजस्तो भएँ, उक्त बम विष्फोट गराउने आततायी अरु कोही नभएर नूर’ थिई  । त्यही नूर जो संग मैले यो देशमा अविश्मरणीय र अमुल्य समयहरु संगालेको थिएँ । समुद्रको किनारमा प्रेमका अनेक संकेतहरु कोर्ने नूरका ती कोमल हातहरुले कसरी बम बोकेर हिड्न सके ? शहरमा उभिएका यी बालुवाका घरहरूजस्तै भएँ म – निष्प्राण ।

दोहोर्याई दोहोर्याई अखबारमा आँखाहरु पोखिए – हो उ नूर नै थिई, छातीभित्र विद्रोहको कत्रो राँको बोकेर हिडेकी रहिछ उसले ?  तर यति लामो संगतमा पनि किन मैले उसभित्र त्यो बिद्रोह पहिल्याउन सकिन, अनुमान सम्म गर्न सकिन ? किन मैले उसमा केवल प्रेम मात्र देखिरहें ?

यही प्रश्नले म धेरैबेर चिमोटिएँ ।

कृष्णपक्ष,
इजरायल

4 Comments

Leave a Comment