कम्प्युटर कल्चर र सब्बातको त्यो एउटा साँझ
आफनै घरको आँगन जस्तो सडकै छेकेर टन्न टेबलभरि प्यालाका प्याला मदिरा सजाएका रसियन र रोमानी रेस्टुराँहरूमा नबुझिने सङ्गित बज्न थालेका छन र त्यही ताल पछ्याउदै झुमिरहेछ्न खैरा कपाल भएका किशोर किशोरीहरू । सडकभरि पोखिएको मदिराको बास्ना र संगीतको नशाले लपक्कै भिज्नुको विकल्प छैन, यी बाटो र गल्ली भएर गुज्रने हामी नेपालीहरूलाई ।
सधैको जस्तो शुक्रबार … सेरुत र बसहरू यात्रु ओसार्न अलि बढी नै व्यस्त छन । आज कति धेरै हतार हुन्छ इजरायलमा, भोलि सब्बात- साप्ताहिक बिदाको दिन भएकोले । आजै राति देखि भोलि दिनभर सरकारी कार्यालय सवारी पसल तथा कलकारखाना सबै बन्द हुन्छ यहाँ र त्यसैले शायद धेरै जसो विदेशी कामदारलाई यही दिन छुट्टी दिइन्छ । सबै काम छिटो छिटो सकेर त्यसपछि चाहि सिन्को पनि नभाची इजरायलीहरू बिदा मनाउन बसेको बेला यता अब हाम्रो साँझ शुरु हुन्छ, खुसी बोकेर आएको कुनै उत्सव जस्तो, इजरायलमा कार्यरत विदेशी कामदारको ।
पुरानो बसपार्क देखि नया बसपार्कतिर पसारिएको चाइनिज बजार आज अलि धेरै घुइचो छ । छुट्टीमा आएकाहरूलाई रासन भर्ने ठेक्का जो छ यसको । तरकारी, पेय, माछा, मासु लगायतका खाद्य सामल मात्र हैन, पुरानो बसपार्कको कुनै कुनातिर डान्सबार या रातो प्रकाशकी किन्नरीहरू प्रेमकै विनिमय गर्न समेत उभिएका छन । लौ बिदा भएकोले होला, बाटो भरि पसल राख्न होस् या सडकको बिचमै पासा खेलाउनेलाई समेत आजको साँझ पुलिसले देखे नदेखेको झैं गर्छ ।
माया दिदी
शहरको मध्यभागमा राजदाइको पसल अघिदेखि नै नेपालीहरूको चहल पहलले रंगिन थालिसकेको छ । चिउरा तरकारी, मम: चाउचाउ, अहा! यहाँ त साच्चिकै नेपालै जस्तो “फील” हुने, ठमेलको कुनै व्यस्त रेस्टुराँ या साइबर छिरे जस्तो आभास । फोन गर्ने कार्ड, ड्रिंक्स, स्न्याक्स देखि सबै थोक उपलब्ध हुने उनको साइबरमा अघिदेखि नै बसेकी छिन माया दिदी । बाहिर पोखिएको उज्यालो र भद्दा रंगसँग विल्कुल बेखबर …. ।
माया दिदीको कम्प्युटरको झ्यालबाट चियाउँदै छन उनका श्रीमान र छोराछोरी पालैपालो । भर्खर हो च्याट गर्न सिकेको, राम्ररी अँझ आउदैन । जान्नेसँग सोधी सोधी बस्छु । जानी नजानी कहिले किबोर्डमा औंला थिचेर त कहिले बोलेर आवाजमार्फत सप्पै माया खन्याउछिन् उनी । सबैभन्दा धेरै माया त उनका रसिला आँखाले नै पोख्छन ।
कहिलेकाही वर्षा यामको तप्तपी चुहिने बलेसी जस्ता परेला भएको बेला छोराछोरी भन्छन -धत् ममी ठुलो मान्छे भएर पनि रुने हो ?
राम्ररी चलाउन आउने भएपछि एउटा काखे “ल्यापटप” पनि किन्नु छ – उनले भनिन, हप्ता दिनसम्म पनि साह्रै न्यास्रो लाग्ने । यसरी हल्ली हल्ली कुरा गर्ने जिनिस आफैसँग भए’सी ढुक्क ।
त्यसो त उनलाई कम्प्युटरको झ्यालबाट राजु परियार वा सिन्धु मल्लका लोक तथा दोहोरी भाकाहरू धित मर्ने गरी सुन्ने, मेरोसन्देशमा कसले के के भनेछन हेर्ने अथवा आफूभन्दा आधा उमेरका केटाकेटीले झैं हाइ फाइभ या फेसबुकजस्ता सोसल नेटवर्किंग साइटमा प्रोफाइल बनाएर फोटो राख्ने, साथी बनाउने रहर पनि छ । सिक्दै गए कम्प्युटरबाट धेरै कुरा गर्न सकिने उनको मान्यता हो ।
माया दिदी एउटी प्रतिनीधि पात्रा थिइन ।
इजरायलमा काम गर्ने धेरै दिदीबहिनीको सप्ताहान्त यसरी नै बित्छ । हामीमा कम्प्युटर कल्चर विकसित हुदै जानुंको कारण विदेशी संस्कृतिको नक्कल मात्र हो त? होइन, सुबिधा भएर मात्र हुन्छ ? न आफन्त न छर छिमेक यो बिरानो परदेश, त्यसमाथि नियास्रो र पट्यारलाग्दो कामको प्रकृति । नजान्नेले समेत सिकेर च्याटिंग कै लागि ल्यापटप किनेका छन, करिब २ हजारभन्दा बढीको हातमा ल्यापटप छ यतिखेर, कम्प्युटर बनाउदै आएका भाइ ओम भन्छन । यसले एक्लोपन या विरानोपन घटाउन मद्दत गर्छ, शायद ।
पढ्ने लेख्ने वा सिक्ने भनेर कहाँ हो र ? खालि मन बुझाउने मेसो बनेको छ कम्प्युटर संस्कृति । साथी साथी कुरा गर्न पनि फोन महँगो पर्छ, फुर्सद मिलाएर च्याटमा आइज भन्यो कुरा गर्यो ।धेरै यसो भन्छन फामभिलमा नक्कली खेतबारी खनेर, हरियो परियो रोपेर, पाठापाठी हुर्काएरै भए’नि गाउँघरको तिर्सना मेट्नेहरू पनि धेरै छन । अथवा नचिनेकै मान्छेसँग रमाइला गफगाफ गर्यो, टाइम पास त हो, गज़बको बहाना बनेको छ ।
एक्लै रुने हजारौं चेलीहरू
साँझको अँध्यारो बढार्न ठड्याइएका विजुलीका खम्बाहरू टाउकाभरि बत्ती बालेर चम्किरहेका छन । जोसँग दोहोरी खेलिरहेछन पार्टीलाइट घुम्दा ढोकाको काप कापबाट फुत्त फुत्त बाहिर निस्कने चहकिला प्रकाशका रंगहरू । यो त सबैले देख्ने कुरा हो, तर मनको कुनामा छाएको अँध्यारो कसले देख्छ ?
झरी परेको होस् या चर्को घाम लागेको दिन या कुनै सुनशान र चकमन्न रात, घरको यादमा भक्कानिएर नरोएका कमै नेपाली चेलीहरू होलान यो बिरानो परदेशमा । घर फर्कदा सबै बन्दोबस्त मिल्ने गरी मनग्य पैसा कमाएर जाउँ भन्दै छुट्टीमा समेत नगई बसेका कति दिदी बहिनीहरू छन यहाँ, आँसु पिउँदै बसेका । क्षितिजतिर फर्किएर औंला भाँच्दै पर्खिएका लाला बाला र जहान सम्झिएर हरेक साँझ एक्लै रुने हजारौं चेलीहरूको पीडा इजरायलको प्रवासले लुकाएर बाँचेको छ ।
पराई मुलुक बिझ्नुको दुखद यथार्थलाई कुनै बहानामा भुलेर हासोको अभिनय गर्ने कसरत कहाँ सजिलो हुदो रहेछ र? बस स्टेशनको गेटैमा इमिग्रेसन पुलिस प्रवेशाज्ञा VISA जांच गरिरहेछ । काम छोडेकै दिनदेखि “पर्यटक” र त्यसको एकमहिना पुग्ने बित्तिकै “अवैध” भइने यो कष्टकर नियम बोकेको शहरमा भौतारिदै कति दिन देखि जागिर नपाएर एजेन्सी धाउदै फर्किएकी एउटी दिदी फोनमा भनिरहेको छिन – बाबा, मेरो कुनै चिन्ता नलिनु है, मलाई सबै राम्रो छ ।
चारित्रिक लाञ्छना
नारीलाई संधै चुल्हो चौकाकै देवी मानेर पूजा गर्ने तर घरको संघार नाघेर बाहिर पाइला राख्ने बित्तिकै असुरक्षित ठानेर शंकालु नजरले हेर्न पल्किएको यो समाज र यसका ठेकेदारहरूसँग धेरै गुनासो छ वैदेशिक रोजगारमा रहेका चेलीहरूको ।
यहानेर यो गुनासो वा तितो पोख्नुको कारण या सन्दर्भ नया पत्रिकामा छापिएको “यौन समस्याका साक्षी बस्दा” शिर्षकको लेखको हो । आफूलाई नारी पुरुष समान हौँ भनेर कहिल्यै नथाक्ने र ठुला ठुला रेडियो टिभी च्यानलहरूमा कार्यक्रम समेत चलाउने शिक्षित भनाउदाहरू समेत यस्तो संकुचित मानसिकताले ग्रसित छन भने गाउँका कुना कन्दरामा बस्ने अशिक्षितहरूको अवस्था कस्तो होला? लेखमा इजरायलमा कार्यरत नेपाली महिलाहरूको इज्जतमाथि प्रश्न चिन्ह लगाउन खोजिएको रहेछ ।
पहिलो कुरा मानव अधिकार र सामाजिक सुरक्षामा अत्यन्त संवेदनशील राष्ट्र हो इजरायल । यहाँ आफ्नो इच्छा बिरुद्ध कसैले छुन पनि पाउदैन । अधिकांश युरोपियन मुलुकभन्दा उच्चस्तरको हकहित सेवा सुबिधा तथा सामाजिक स्थिति भएको सभ्य देशमा काम गर्ने दिदीबहिनीलाई “यौनदासी” जस्तो घृणित शब्द ओकलेर त्यस लेखका लेखकले हदैसम्मको वौद्धिक दरिद्रता वा लठैतपन प्रस्तुत गरेका छन ।
बिरोध
सामाजिक जीवन र पारिवारिक सम्बन्धमा समेत प्रभाव पार्ने यस्तो लेखले इजरायलमा काम गर्ने धेरै नेपालीको मन कुंडिएको मात्र छैन उनीहरू आक्रोशित पनि बनेका छन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले त यसको बिरोध र घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
प्रसंग उठ्ने बित्तिकै माया दिदीको आक्रोश बढ्छ – नर्सिंग या केयरगिभिंग भनेको के हो, त्यसलाई कति थाहा छ ? कसैले गलत काम गरेको थाहा पाए त्यसलाई कारवाही गरोस न सबैलाई मुछ्न पाइन्छ ?? नसोचि नबुझि मनगढ़न्ते कुरा लेख्न पाइन्छ ? यस्तो निम्न स्तरको दृष्टिकोणले वैदेशिक रोजगारीमा हुनु भएका सबै महिलाहरूले अपमानित महशुश गरेका छन ।
अरु पनि थपिन्छन। म भन्छु – सम्बन्धित ठाउँमा प्रतिक्रिया र पत्रहरू पठाएका पनि छौं । यो विषयमा तपाईं सबैको भनाइ राखेर म एउटा लेख लेखुँला, कसरी हुन्छ सम्बन्धित पक्षले सुन्ने गरि बिरोध गरौँ । अहिलेलाई यत्ति नै है त ?
कारण, यो एउटा साँझ धेरै थोक गर्नु छ । भोलि त फर्कनु छदैछ काममा, प्रवासबाट तपाईंंको आवाज सुनाउन लागिपरेका भीडियो म्यागजिनका कार्यक्रम प्रस्तोताहरू भोलिको कार्यक्रमको तयारी गर्दै छन, उनीहरूलाई वेव साइटमा देखिने बनाउनु छ । दराजभरि प्रवासमा बस्नेहरूका भावना गुटुमुटु पारेर अनेसास इजरायलको पत्रिका “मेरोनेपाल” प्रकाशनको अन्तिम तयारी कुरेर बसेको छ, डिजाइनिंग / सेटिंग अझै सकिएको छैन ।
बाहिर सडकको हल्ला र संगीतको झंकार अनि रंगिला प्रकाशहरू रातको अँध्यारो धोइरहेछ्न सुस्तरी । टेबलमा अघिदेखि मुस्काइरहेको एस्ट्रे चुरोटको ठुटाले भरिइसकेको छ । ल अब यो अन्तिम खिल्ली, आफैलाई सम्झाउछु र लामो सर्को तान्छु ।
ल्यापटपमा फेरि कुनै दुखी परदेशीको कथा सुनाउन बसेका छन, अविनाश घिसिंग र रामचन्द्र काफ्ले । परदेशीको मनै छुने भाका हालेर उनीहरू गाइरहेछन …
सुनको बाला लाउने धोको
फुकाउनु छ ऋणको पोको ~~
इति ।
यो पनि पढ्नुहोस
लोरिया
सुनको बाला र आँसु