कृष्णपक्ष थापा
उसको दैनिकीको आरम्भ नै इन्टरनेटबाट हुन्थ्यो, न्युज साइट, फेसबुक र ट्विटर । कम्प्युटरको स्क्रिनमा बरालिई रहँदा पार्श्वमा एउटा नारी स्वर गुन्जिइरहेको सुनिन्थ्यो – आरती गाउँदै गरेको, त्यो सङ्गीत उसको वर्तमान थियो ।
‘यदि यस्तै हो भने हाम्रा छोरीहरू डाक्टर इन्जिनियर लेखक हैन, शरीरको व्यापार गर्न रुचाउनेछन् ।’
वयस्क चलचित्रकी नायिका सन्नी लियोनीका विरुद्ध उनले दिएको अभिव्यक्तिले उसलाई पुन एक पटक सम्झनाको घना जङ्गलमा हुत्ताइदियो ।
उ अति भावुक मान्छे, उसको जीवन आफैँमा एक सेन्टिमेन्टल धुन जस्तै थियो । नारायण गोपाल र अरुणा लामाका गीतहरू त प्राय उ गुनगुनाई रहन्थ्यो। उसको गुनगुनमा यी लाइनहरू बारम्बार दोहोरिन्थे ।
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ ।
यस बेला तिनै गीतकार जर्साबको उपन्यासले बजार तातेको थियो । उसले पनि किन्यो, पढ्न भने भ्याएको थिएन । “मलाइ लोग्ने हैन लोग्ने मानिस चाहिन्छ” भन्ने युवति उत्तेजक मुद्रामा कभरमा छाएकी थिइन् – स्मिता थापा, छेउमा लेखिएको थियो – खेलौना । यो उनैको जीवनमा आधारित छ, मिडियामा हल्ला थियो ।
संविधानका कुरा अब थोत्रा भैसकेका थिए । वधशाला प्रतिबन्धित भएको खबर भुसको आगो झैँ फैलिएको थियो । अनि ट्विटरमा बिआरबि लाल ध्वज नामधारी चिरबिराउँन थालेपछि यो विषय आफैँमा ‘हट’ बनेको थियो, कारण उनी देशका प्रधानमन्त्री थिए ।
अझ हट थियो तसलिमा नसरिनको ट्विट –
‘यदि यस्तै हो भने हाम्रा छोरीहरू डाक्टर इन्जिनियर लेखक हैन, शरीरको व्यापार गर्न रुचाउनेछन् ।’
वयस्क चलचित्रकी नायिका सन्नी लियोनीका विरुद्ध उनले दिएको अभिव्यक्तिले उसलाई पुन एक पटक सम्झनाको घना जङ्गलमा हुत्ताइदियो ।
——————————————————-
साँझ खस्न लागेको बेला, हिउँदको कुनै दिन थियो शायद ।
निधार, ओठ, गाला र शरीरका अन्य भागहरूमा लागेका लिपस्टिकका दागहरू त पुछिए तर घाँटी र गर्धननेरको दाग भने मेटिएन । नियालेर ऐना हेर्यो, त्यो कुनै रङ्ग थिएन, उसको आफ्नै त्वचा थियो पिल्सिएर रातो भएको । उ प्रेमातिर फर्कियो – यो के गरेकी ? भन त अब कसरी बाहिर निस्कनु ?
प्रेमाको हाँसो कोठाभरि पोखियो । ‘वाह क्या दामी देखिएका छौ ? मास्टर पिस । अहिले थाहा पायौ ? मेरो आर्टिस्टिक सेन्स कति डेभलप्ड रहेछ ? एक छिन यतिकै बस त म तिम्रो न्युड पोट्रेट खिच्छु ।’ कुनै कलाकारको मूर्तिझैँ उभिएको उसको नग्न देह नियालेर प्रेमा फेरि हाँसी ।
प्रेम, कला र सौन्दर्यचेत, प्रेमाले जस्तै गरी उसले बुझ्यो बुझेन थाहा छैन तर ती चञ्चल आँखाहरूमा आफू निकै सुन्दर देखिएको महसुस उसले गर्यो । उसलाई यो पनि लाग्यो कि प्रेमा बाहिर भन्दा भित्र त झन् राम्री रहिछ । उसलाई प्राकृतिक स्त्री देह असाध्य मन पर्यो, त्यो फक्रिएको गुलाफ जस्तै कोमल र सुन्दर थियो ।
प्रेमाले पुन एक पटक तानेर खेलौना जसरी आफूभित्र समाहित गरेपछि उसको प्रतिक्रिया थियो – ” किन यति जबरजस्त छौ प्रेमा तिमी ?” यद्यपि उसको मन भने पटक पटक मायाको तलाउमा डुबिरहन लालायित थियो ।
“दिस इज लभ माइ डियर” – उसले जवाफ फर्काइ । उसमा लज्जाका अंशहरू अलिकति पनि थिएनन् ।
“फेरि अर्को दाग बनाऔला नि?” उसले सचेत गरायो । कलेजोको रङ्ग जस्तो गाढा भएर आए प्रेमाका ओठहरू ।”यो दाग होइन डियर, यो त मेरो निशानी हो, मेरो स्ट्याम्प हो, मेरो प्रेमको लोगो हो, कपिराइट हो, कि अरू कुनै पनि युवतीले तिमीलाई छुन नसकोस् । तिमी अब मेरो भयौ मात्र मेरो ।” प्रेमाको आवाज अब नागिनीको श्वास जस्तो सुनिन थाल्यो ।
कुनै युगको बर्बर शासकझैँ थिई प्रेमा र उ एउटा कैदी । हजारौँ वर्ष पहिले कैदीहरूलाई लाहाछाप लगाएझैँ फलामले डामिन्थ्यो रे । उसले कतै पढेको सम्झियो । त्यसै गरी उसको शरीरमा पनि अधरका छापहरू रङ्गिए, ती छापहरू उसलाई प्यारो लाग्दै गयो ।
उ आफैलाई विश्वास लागेन कि यो पहिलो पहिलो अनुभव हो । सामाजिक मर्यादा र बन्धनको बाँध आजै मात्र भत्किएको हो, तर मानौँ प्रेमको अथाह सागरमा पौडी खेल्न उनीहरू अभ्यस्त छन् वर्षौँ देखि।
प्रेमा भाइलेन्ट थिई, वर्षौँ दबिएर बसेको यही पुरुष प्रधान समाजकी पात्रा भन्न पटक्कै नसुहाउने ।
“यो मेरो जीवनको एउटा अविस्मरणीय पल हो जसलाई म सधैँ याद राखूँ, कहिल्यै नभुलूँ ।” आफ्ना देहका कोमल भागहरू सुमसुम्याउँदै र पुछ्दै प्रेमाले भनी, ‘इट वाज अमेजिङ डियर’ ।
घाटीमा मफलर बाँधिसकेपछि उसले पनि भन्यो – ‘यु आर सो स्वीट, तर अहिले नै हामी यति धेरै खुल्न नहुने थियो कि ? ‘
प्रेमा गम्भीर भई – के तिमीलाई लाग्दैन यो हाम्रै शरीरको आदेश थियो ?
शरीरको भोक एउटा रहस्य हो, यस्तो रहस्य जो कहिल्यै सुल्झाउन सकिन्न । यति धेरै रङ्गका धागाहरू जेलिएको, जति फुकायो उति गाँठो पर्दै जाने । प्रेमका विषयमा अनेकौँ ग्रन्थहरू लेखिएका छन्, चित्रहरू कोरिएका छन्, मूर्तिहरू कुँदिएका छन् । तर शरीरको ‘यो कालो जादु’ किताबका पानाहरूमा पढेर कहाँ बुझ्न सकिन्छ ? यो त भोग र अनुभूति मात्र हो ।
उसले सम्झाई – केवल शरीरको भोक मात्र यस्तो तृष्णा हो, जुन अर्को भोको शरीरले मात्र तृप्त गर्न सक्छ । यो अधर पान, आलिङ्गन, समर्पण र मिलन सबै सबै यही तृष्णाको आग्रह हो । हामीले पुरा गर्यौँ ।
——————–
किन सदियौँ देखि दर्बार र कोठीहरूमा … चोक र गल्लीहरूमा, सडकमा, घरमा, रेस्टुराँमा, सिनेमामा, मञ्चमा र मेहेफिलहरुमा केवल नारी सौन्दर्यको विनिमय गरिँदै आएको छ ? खै कहाँ छ पुरुष वेश्यालय ? किन किन्ने र बेच्नेहरू सधैँ पुरुष अनि बेचिनेहरू नारी मात्र हुँदै आएका छन् ?
बेहुलीले घुम्टोभित्र मुहार लुकाएझैँ रातको आँचलमा सूर्य अस्ताउँदै गयो । यति खुलेको सगर र यति उल्लासमय वातावरण उनीहरूले पहिले कहिल्यै महसुस गरेका थिएनन् ।
प्रकृतिले फूलमाथि रूप र सौन्दर्य मात्र हैन, वासना पनि दिएको छ । सृष्टिको निरन्तरताको लागि संसारका हरेक प्राणीलाई यौनको तिर्खा दिएको छ, प्यास दिएको छ । र यो शरीरको भोक नारी र पुरुष दुबैलाई बराबर दिएको छ ।
तर किन यसको भोग गर्नमा चाहिँ पुरुषहरू मात्र अगाडी छन् ? किन सदियौँ देखि दर्बार र कोठीहरूमा … चोक र गल्लीहरूमा, सडकमा, घरमा, रेस्टुराँमा, सिनेमामा, मञ्चमा र मेहेफिलहरुमा केवल नारी सौन्दर्यको विनिमय गरिँदै आएको छ ? खै कहाँ छ पुरुष वेश्यालय ? किन किन्ने र बेच्नेहरू सधैँ पुरुष अनि बेचिनेहरू नारी मात्र हुँदै आएका छन् ?
तिम्रो पुरुष प्रधान समाजले अनेक नीति नियम खडा गरेर हामीलाई र हाम्रो रहरलाई संस्कारको जाँतोमा पिँधेका छौ । हाम्रो यौवन र शरीरलाई थुनेका छौ, पिँजडामा कैद गरेका छौ । केवल उपभोग्य सामान जस्तै हाम्रा अनमोल यौवनहरू किनेका छौ, बेचेका छौ । तर यो सिलसिलाको अन्त्य अवश्यम्भावी छ, क्रमभङ्ग निश्चित छ, किनकि समय परिवर्तनशील छ ।
प्रेमा यस्ता प्रश्नहरू बारम्बार सोधिरहन्थी, उ भन्थ्यो – पहिले देखि यस्तै चल्दै आएको छ। के गर्छौ त, तिमीले भनेर हुन्छ ? ‘
प्रेमा सधैँ चञ्चल थिई, उसको मुहारमा कहिल्यै उदासी छाएन । उ भन्थी – मलाइ भोलीको चाहना छैन र विश्वास पनि छैन । भोलि त हामी सबै त्यो अन्धकारमा बिलाउनेछौ, जहाँबाट हामी आएका हौँ । जिन्दगी आज मात्र हो र म आज जिउन चाहन्छु । हरेक दिन उ यसै भन्थी ।
अन्तिम नोट प्रेमाले यस्तो लेखेर छाडेकी थिई –
प्रिय पुरुष,
आज एउटी नारी यो लेखिरहेकी छ , अचम्मित भयौ होला । नहुनु पनि किन ? पुरुष मानसिकताले जरो गाडेको समाजको मान्छे हौ तिमी, स्वाभाविक छ । सयौं वर्ष देखि नारीमाथि शोषण, अत्याचार भएका छन् ।
तिम्रो पुरुष प्रधान समाजले अनेक नीति नियम खडा गरेर हामीलाई र हाम्रो रहरलाई संस्कारको जाँतोमा पिँधेका छौ । हाम्रो यौवन र शरीरलाई थुनेका छौ, पिँजडामा कैद गरेका छौ । केवल उपभोग्य सामान जस्तै हाम्रा अनमोल यौवनहरू किनेका छौ, बेचेका छौ । तर यो सिलसिलाको अन्त्य अवश्यम्भावी छ, क्रमभङ्ग निश्चित छ, किनकि समय परिवर्तनशील छ ।
समयको कुनै मोडमा पुगेर कुनै युवतीको खेलौना भएछु भन्ने लाग्यो भने मलाइ माफ गर । म त्यसरी सोच्दिन, हाम्रो सम्बन्धलाई मैले अहिले पनि प्रेम नै मानेकी छु । तिमी मान या नमान आकर्षण र वासना प्रेमकै स्वरूपहरू हुन्, जसमा कुनै मिसावट थिएन, वाचा बन्धन र सम्झौता थिएन । कुनै गुनासो थिएन, भोलीको प्रतीक्षा पनि थिएन । त्यो शरीरको नितान्त प्राकृतिक तिर्खा थियो, मेटियो र सकियो । म यही सिद्धान्तमा हिँडिरहेकी छु ।
म शरीरलाई प्रेम गर्छु, मलाइ आत्माको बन्धनमा कुनै विश्वास पनि छैन ।आशा छ तिमी पनि म फर्केर आउने बाटो कुर्ने छैनौ ।
प्रेमा
त्यो फरवार्ड, क्लास टपर र सुन्दर युवति यति धोकेबाज होली भन्ने उसले कल्पना सम्म गरेको थिएन । प्रेमा कमन नाम हो, बिहेपछि थर पनि बदलियो होला । आफै हराउन थालेको सहरको भीडमा उसले प्रेमालाई कतै खोज्ने चेष्टा गरेन । गरोस् पनि किन ? उ आफैले छाडेर गएकी थिई । उ हराई, अतीत बनेर विस्मृतिको भीषण अन्धकारमा समाहित भई ।
उसले ऐना हेर्यो, घाँटीमा कुनै दाग थिएन तर उसलाई लाग्यो एउटा दाग छातीभित्र छापिएको छ, जो कहिल्यै मेटिने छैन ।