आर्टिस्ट हाउस तेल अभिवमा चित्रकला र मूर्तिकलाका गुरु छन् – गाद एपोटेकर । हामी ‘गाडी’ भनेर बोलाउँछौँ उनी रिसाउँदैनन बरु खुसी हुन्छन् किनकि हिब्रुमा नामको पछाडि ईकार लगाउँदा त्यसले अझ बढी नजिक , आत्मीय र प्रियताको भाव झल्काउँछ जस्तै नेपालीमा कालेलाई कालु, कान्छालाई कान्छु भनेजस्तै गादलाई गादी/गाडी ।
मलाई चित्रकला सानैदेखि मन पर्ने विषय । म जहाँ जान्छु यो रुचिलाई पनि मेरो साथमै लिएर जान्छु । परदेशको श्रम शिविरमा भर्ती भएपछि भने मैले धेरै रुचि र रहरहरु आफ्नै मनमा थाती राख्नुपर्यो यद्यपि हप्तामा एक पटक आर्टिस्ट हाउस जान्थेँ । गाडी मेरा गुरु – चित्रकला र मूर्तिकला दुवै विषयका प्रशिक्षक उनी हामीलाई आलङ्कारिक कला सिकाउँथे । मोडलमा टक्क आँखा रोकेर क्यानभासमा नहेरी चित्र कोर्न सक्ने उनको अचम्मको खुबी थियो । त्यस्तै खुबी स्वर्गीय स्रष्टा चित्रकार तथा मूर्तिकार अमर चित्रकारको सामीप्यमा रहँदा मैले महसुस गरेको थिएँ, उनी यति दुरुस्त चित्र बनाउँथे कि त्यो फोटो हो कि चित्र छुट्याउन गाह्रो हुन्थ्यो ।
मान्छेले जीवनभर केही न केही सिकिरहेकै हुन्छ । समय क्रममा मानिसले अनेकौँ गुरुहरूसँग साक्षात्कार गरेका हुन्छन्, जस्तो कि पहिलो पाठशाला घर अनि पहिलो गुरु – आमा । आज यो प्रविधिको युगमा त झन् यसको परिभाषा अझ व्यापक हुनसक्छ । युडेमी, कोर्सेरा, स्किलशेयर ,डाटाक्याम्प, आइभर्सिटी जस्ता स्वअध्ययन गर्ने दूर शिक्षा प्रणाली हुन या सामाजिक सञ्जालमै आध्यात्मिक ज्ञान बाँड्ने सदगुरु या विकासानन्दजस्ता व्यक्तित्वहरूलाई पनि गुरु मान्न सकिएला । गुरु त हामीलाई समयले अनेक स्वरूपमा पठाइरहन्छ, अझ जीवनमा आइपर्ने समस्या, दुख सुख, चोट र परिस्थितिहरू हाम्रा असली गुरु हुन ।
केही दिन अगाडी विकिपिडियामा यसो डाटाहरू सम्पादन गर्दै थिएँ, गुरु पूर्णिमाको दिन रहेछ । मैले हामीलाई विद्यालयमा नेपाली भाषा अध्यापन गराउने गुरु डिल्लीरमण शर्मा अर्याललाई सम्झिएँ । विकिपिडियामा गुरुको पेज बनाएँ यद्यपि उल्लेखनीय कडीहरू खासै भेटिएनन्, आफैले सुनेको भरमा यताउता जानकारी सङ्कलन गरेर जीवनीजस्तो लेखेँ र इन्टरनेटमै भेटिएको गुरुको तस्बिर टाँसेँ । सोचेँ गुरुप्रति मेरो सम्झना श्रद्धा यही भयो ।
म भित्र आउँ गुरु ?
धादिङ बेसीको नीलकण्ठमा माध्यमिक शिक्षा पढ्न आउने विद्यार्थीहरू धेरै हुन्थे । एउटै कक्षामा तीन सय भन्दा बढी सम्म विद्यार्थी भएको सम्झना छ । विभिन्न सेक्सन बनाएर पढाइन्थ्यो । वरिपरिका प्राथमिक र निम्न माध्यमिक विद्यालयबाट पास भएपछि यहीँ भर्ना हुन आउन हुनाले विशेष गरी कक्षा छ र नौ मा यो चाप धेरै हुन्थ्यो । माध्यमिक तहका सबै विद्यार्थीहरूलाई गुरुले अध्यापन गराउनु भएन । गोविन्द पण्डित सरदेखि वासुदेव लम्साल , बद्रीप्रसाद दाहाल ( भस्मासुर ) र डिल्लीरमण गुरुले पढाउनु हुन्थ्यो । बद्री सरको कक्षा अलि धेरै रसपूर्ण साहित्यिक हुन्थ्यो भने डिल्लीरमण गुरुको कक्षा अलि कडा । त्यसो त कहिलेकाहीँ गुरु ठट्टा रमाइलो पनि गर्नुहुन्थ्यो । गुरुको कक्षामा बोल्दा उच्चारणमा र व्याकरणमा ध्यान दिनुपर्थ्यो । ब र व को उच्चारण बिगार्दा हप्की खाइन्थ्यो ।
अहिले प्रविधिको विकासले युग कहीँबाट कहाँ पुगिसक्यो । एउटा भाषामा बोलेको आवाज संसारका जुनसुकै भाषामा तुरुन्तै अनुवाद सहित उल्था भएर सुनिने उपयोगी यन्त्र बनिसके । यद्यपि हामीले आफ्नो जरो गाडिएको नेपाली भाषाप्रति आकर्षण कायम राख्न नसक्दा हाम्रो भाषिक अभिव्यक्ति पनि फितलो र कमजोर हुँदै गइरहेको छ । गुरुले जहिले पनि शुद्ध उच्चारणमा जोड दिनुहुन्थ्यो । तर हामीलाई जे कुरा पनि पढेर सूत्र घोकेर कण्ठ गर्नुपर्छ भन्ने मात्र लागिरह्यो र नेपाली भाषामा जहिल्यै कमजोर भयौँ । हामीले अक्षर त चिन्यौँ तर उच्चारणबाटै छुट्याउन सकिने अक्षरको गुरुत्व र लघुत्वप्रति हामीले ध्यान दिन सकेनौँ । ध्वनि शास्त्र वा उच्चारण शास्त्र ( फनेटिक्स)को ज्ञानको अभावमा हामीलाई अक्षर लेख्दा ह्रस्व र दीर्घ बिग्रने समस्या भयो ।
गुरुको कक्षामा अङ्ग्रेजी बोल्न पाइँदैन थियो । सरकारी विद्यालय अङ्ग्रेजी बोल्ने कुरा पनि थिएन तर पनि सामान्य बोलीचालीको भाषामा धेरै अङ्ग्रेजी शब्दहरू मिसिएकै हुन्छन् । गुरुको कक्षामा त्यो वर्जित थियो । सामान्यतया कक्षा चलिरहँदा कोही ढिलो गरेर आयो भने मे आइ कम इन सर ? भन्ने चलन थियो । वा विशेष कारणले बाहिर निस्कनु पर्यो भने मे आइ गो आउट सर ? भनेर सोध्थ्यौँ । सानो कक्षादेखि सामान्य शिष्टाचार सिकाउने क्रममा यस्तो चलन बसाइएकोले त्यो हाम्रो मुखमै झुन्डिएको थियो । विद्यालयभरिका जुनसुकै विषयका शिक्षक कक्षामा भए पनि पनि हामी ढिला हुँदा मे आइ कम इन सर ? भन्थ्यौँ तर गुरु मात्र यस्तो शिक्षक हुनुहुन्थ्यो जसले “म भित्र आउँ गुरु ?” नभनेसम्म भित्र पस्न दिनुहुन्नथ्यो ।
थापाको उपनाम
म पाठ्यपुस्तकबाहेक अतिरिक्त क्रियाकलाप गर्न खुब रुचाउँथेँ । चित्र खुब कोर्थेँ । छ कक्षातिरको कुरा हो , मैले चित्र कोरेर एउटा पुरै कमिक्स किताब तयार गरेको थिएँ । कथामा गाउँका पात्रहरू थिए – कोही ठग, कोही इमानदार, कोही गरिब यस्तै । मेरो दाजुले त्यो उमेद प्रधान सरलाई दिएछ र उहाँले त्यो चित्र कथा जनता पुस्तकालयमा राखिदिनु भएछ । त्यसपछि म अहिलेको भाइरलजस्तो भएँ ठुला कक्षाका दाजुहरू पनि मलाई सोध्न आउँथे ।
अतिरिक्त क्रियाकलाप भन्नाले धेरैजसो खेलकुद , हाजिरी जवाफ, वादविवाद या वक्तृत्वकलाहरू हुन्थे । चित्रकलाचाहिँ जिल्ला शिक्षा कार्यालयले वा गैर सरकारी परियोजनाहरूले गरेको याद छ, त्यस्तो बेला भूपेन्द्र सरले म र राजुलाई पठाउनु हुन्थ्यो । उहाँलाई हामी राम्रा चित्र कोर्थ्यौँ भन्ने थाहा थियो । जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताहरूमा हुँदा प्रधानाध्यापक शम्भु सरले बोलाएर “नेभर बि सेकेन्ड , यु आर द वीनर .. भनेर हौसला दिएको याद छ ।
एक दिन विद्यालय स्तरीय कविता प्रतियोगिता भयो । निर्णायकमा ध्रुव सिम्खडा, बद्री सर र गुरु हुनुहुन्थ्यो । “देशको क्षितिज” भन्ने शीर्षकमा मैले गद्य कविता सुनाएँ । कविता भनेकै गीतजस्तो गाउन मिल्ने वा पद्यमा हुन्छ भन्ने लाग्ने समयमा, गद्यमा लेखिएको त्यो कविता म आफैलाई खुब क्रान्तिकारी लागेको थियो । कक्षा सातको शरद चिराग प्रथम, कक्षा नौका दीपक कोइराला द्वितीय र कक्षा सातकै कृष्ण थापा तृतीय .. ध्रुव सरले उद्घोष गर्नुभयो । अहा! त्यो दिनदेखि मैले आफूलाई कवि ठान्न थालेँ र नामको पछाडि “अभिलाषी” लेख्न थालेँ । कापी किताबका बाहिरी खोलहरू जताततै नामका पछाडि अभिलाषी झुन्डिए ।
एक दिन व्याकरणको कक्षामा गुरुले जाती थरको पछाडि आउने इकार दीर्घ हुन्छ भनेर पढाइरहनु भएको थियो । हरेक विद्यार्थीले पालैपालो अन्त्यमा इकार आउने एउटा नयाँ थर भन्नुपर्ने थियो । जस्तै – अधिकारी, कार्की, भण्डारी, तिवारी, सुवेदी, गिरी, जोशी, रेग्मी … सुरु सुरुकाले त खुरुखुरु भने । पछि जाने बुझेको थर नै सकियो । यसै क्रममा रमेश मगरको पालो आयो , उ नयाँ विद्यार्थी थियो । उसले निकै फुर्तिका साथ भन्यो – अभिलाषी ।
गुरुले सोध्नुभयो – यस्तो थर तैँले कहाँ देखिस् ? उसले निसङ्कोच मेरो किताबको खोलमा लेखिएको ‘कृष्ण थापा अभिलाषी’ देखायो । त्यसपछि सबै गलल हाँसे । गुरु पनि हाँस्दै भन्नु भो – बस मोरा ! यो त थापाले उपनाम पो राखेको हो ।
तीजको गीत गाउँदै व्याकरण
नीलकण्ठ जरेवरमा गुरुको घर थियो । साथीहरू मिलेर एक अर्काको घरमा गएर सामूहिक रूपमा पढ्ने पनि गर्थ्यौँ । बिहान देखि राति अबेर सम्म नै साथीहरू जम्मा हुने एक अर्कालाई प्रश्न सोध्दै पढ्थ्यौँ । अरू विषयलाई जति मेहनत गरिन्थ्यो तर त्यसको तुलनामा नेपाली विषय खासै पढिँदैनथ्यो । परीक्षाको समय अलि अगाडी देखि भने हरतरहका तयारी हुन्थ्यो । जरेवरबाट माथि लागेपछि दिमागमा व्याकरण कै गीत गुन्जिन थाल्थ्यो ।
सर्वनाम विशेषण पेसा जाती थर
दर्जा क्रिया दीर्घ हुन्छन् दीर्घै लेख्ने गर ।
गुरु आवश्यक बाहेक अरू धेरै बोल्दैन थिए, उनको व्यक्तित्व सदा निर्भय र शान्त थियो । ढाका टोपी र दौरा सुरुवालमाथि कोट गुरुको सदाबहार पोसाक थियो , त्यो बाहेक अरू कुनै पोसाकमा उनलाई देख्न मुस्किल हुन्थ्यो । कहिलेकाहीँ पढ्न भनेर हामी गुरुको घरमा भेला हुन्थ्यौ । साथीहरू नवराज घिमिरे र रामकृष्ण रिजाल उतै बस्थे ।
डिल्लीरमण गुरुले लेख्नुभएको एउटा सानो पुस्तक थियो – धातु परिचय । त्यो हाम्रो पाठ्यक्रममा त समावेश थिएन तर हामी सबैले अनिवार्य किनेर पढ्थ्यौँ । यस पुस्तकमा रहेको उपसर्ग पढ्ने क्रममा प्र परा अप सम अनु अव निस् निर .. इत्यादि २२ उपसर्गहरू कण्ठस्थ त पारेका थियौँ । तर परीक्षामा शब्द निर्माण प्रक्रिया उदाहरणसहित लेख्नुपर्ने हुन सक्थ्यो । सोको तयारीका लागि प्रत्येक उपसर्गबाट एक एक शब्द बनाई तिनलाई सम्झन सजिलोका लागि साथी नवराज घिमिरेले पुरै तीजको गीत बनाएका थिए । अरू याद भएन सुरुको लाइन यस्तो थियो ।
प्रहार गरेर पराजित बनाई
अपराधी मान्छेले संहार गरेछ ..
नेपाली विषयको परीक्षा अगाडी ठुलो ठुलो स्वरमा हामी हाँस्दै हल्ला गर्दै अर्थ न बर्थका शब्दहरू जोडेर बनाइएका गीतहरू गायौँ । ‘स्वाँठहरूले के गाएको यस्तो ?’ गुरुले सुनेर हकार्नु भयो । सबै जना रातोपिरो भयौँ तैपनि व्याकरणका सूत्र कण्ठस्थ गर्न पाएकोमा हामी मनमनै खुसी पनि थियौँ ।
साथीहरूलाई कतिको सम्झना छ थाहा छैन तर म ती दिनहरू, इजाराको सडक, गुरुको घर , आँगन छेउमै रहेको बायो ग्यास प्लान्ट र तीजको भाकामा गाइने व्याकरणका गीतहरू सबै सबै सम्झन्छु ।