मौसमले वसन्त बोलाइसकेको छ, धर्तीमा हरियो रङ्ग र सडक छेउका घाँसहरूमाथि गुलाबी रङ्गको सघनता बढ्न थालिसकेको छ । यस्तो बेला इजरायलमा पारिला घाम र पार्कका रमणहरू निकै मिठा हुन्छन् तर यसपालि यो पारिला घाम ताप्न कोही पनि वृद्ध वृद्धा या गृहिणीहरू निस्किएका छैनन् । न त सहरमा फेरिएको रङ्ग र उद्यानमा फक्रिएको प्रकृतिको यौवन नियाल्न मजस्ता प्रकृतिप्रेमीहरु नै बाहिर आएका छन । कारण एउटै छ कोरोनाको सन्त्रास ..।
सन २०२० को आगमनमा हामीले बाँचेको युगले एउटा अस्वाभाविक अनौठो त्रास र पीडा बोकेर आयो । कोरोना नाउँको यो महामारी क्रमशः चीनबाट सुरु भएर युरोप अमेरिका हुँदै पुरै विश्वभर व्याप्त भयो ।
मानव सभ्यतामाथि नै सङ्कट मडारिएको आभास हुन थाल्यो, मान्छेका मनहरू यसरी आक्रान्त बने मानौँ भर्खर टुसा पलाएको बिरुवामाथि तुसारापात भएको छ । उद्योग , प्रविधि र विज्ञानको चरम उच्चतामा चुलिएको मानव सभ्यता यतिखेर प्रकृतिको विनाशकारी भाइरससँग नतमस्तक र निरीह बन्न पुग्यो ।
बाहिर लकडाउन छ सहरमा पुरै सन्नाटा छाएको छ । बाक्लो जनघनत्व भएको यस सहरमा जब जब बिरामी बोकेर दौडने एम्बुलेन्सका चित्कार गुन्जिन्छन् लाग्छ अर्को कोरोनाको बिरामी थपियो तर रेडियो टेलिभिजन र अनलाइनहरुमा चिच्याइ चिच्याइ छाएका मिडियाका आर्तनाद जस्तो भयावह स्थिति भने यहाँ छैन । सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागे पनि मृत्युदर अत्यन्त न्यून रहेको तथ्याङ्कले केही राहत दिन्छ ।
यो घडीमा परदेशमा रहेका हामीजस्ता धेरैको मन अतालिनु अस्वाभाविक होइन यद्यपि लकडाउनको नियम पालना गरी बाह्य सम्पर्कलाई यथाशक्य न्यूनीकरण गर्दा यो व्याधि आफै तपाइको ढोका ढकढकाउन आइपुग्दैन । सुरक्षित रहन सकिने प्रशस्त आधारहरू भएकोले मन बुझाउन सकिएको छ । सोच्छु यस्तो बेला परिवारसँग स्वदेशमै रहन पाएको भए कति जाति हुन्थ्यो होला ।
जसरी समयसँगै घाउहरू पुरिँदै जान्छन त्यसरी नै यो महामारी एक दिन हराउने छ । यस बेला धैर्य गर्नु र सुरक्षित हुने उपाय अवलम्बन गर्नुको विकल्प छैन । नितान्त आवश्यक कार्यबाहेक अनावश्यक रूपमा बाहिर ननिस्कन भनिएको छ । मास्क, पन्जा र सामाजिक दूरी अनिवार्य छन । यो समय अन्य व्यस्तताले गर्दा गर्न नभ्याइएका अपुरा कामहरू गर्ने , साहित्य अध्ययन / लेखन तथा केही सृजनशीलतामा रमाउने यत्न गर्दै छु ।
आखिर समय भन्दा बलवान कोही पनि छैन, यो सङ्कटको सामना गर्ने अस्त्र नै आत्मसंयम, परहेज र धैर्यता हो । विश्वव्यापी रूपमा साहित्य अध्ययन र सृजनशीलता बढेको छ । स्रष्टाहरू अन्तरक्रियाका अनेक स्वरूपमा पाठकहरूसँग साक्षात्कार गरिरहनु भएको छ । भाग दौड र व्यस्तताले गाँज्दै लगेको समयमा यतिखेर अनायास निम्तिएको लकडाउनको यो परिस्थितिले पठन संस्कृतिमा सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
सङ्कटको यो घडी भोली आफैमा एउटा इतिहास बन्नेछ । हाम्रा सन्ततिहरू र आफ्नै मनलाई सुनाउने एउटा कटु स्मृति बन्नेछ । समाचारमा बारम्बार सुन्छु, लकडाउनले गर्दा जागिर गुमाएका र दैनिक ज्यालादारी गर्ने कति मजदुरहरूलाई गाँस वासको अभाव हुन थालेको छ । काठमान्डौँमै कतिपय विद्यार्थी तथा मजदुरहरू रोगले भन्दा भोकले पीडित छन ।
आफूलाई चिन्ने अवसर भनेकै सङ्कटका घडीहरू हुन , नत्र मान्छेले अरुबेला कहाँ फर्केर हेर्छ र आफ्नो मनलाई ? आत्मालाई ? यस्तै बेला हो उ आफूसँग नजिक हुने र आत्माका आवाजहरू सुन्ने ।
इजरायलबाट फर्केका सामाजिक अभियन्ता मित्र नवराज आचार्यले काठमाडौँका गरीब मजदुरहरूलाई राहत वितरणमा हात बाँडिरहनु भएको छ, केही सहायता गर्छु । भोली आफ्नै आत्माले प्रश्न गर्दा उत्तर दिन सकिने खुसी, सन्तुष्टि र आत्म गौरवको आधार भनेको यही नै त हो । अलिकति भए पनि कसैको आँसु पुछ्न सकियोस् कसैको चर्किएको घाउमा अलिकति मलहम लगाउन सकियोस् र मानव हुनुको कर्तव्य अलिकति भए पनि निभाउन सकियोस् ।
सर्वे भवन्तु सुखिन : ।