अर्को पोडकास्ट लिएर आएको छु । प्रेम र भगवानका बिषयमा जति लेखिए, कोरिए या अभिव्यक्तिका अनेकौं माध्यमहरुबाट प्रस्तुत गरिए, बुझाउने कोसिस गरिए ती केवल सागरबाट एक अन्जुली पानी उबाए सरह मात्र हुन् । मलाइ थाहा छ , फेरी पनि जिद्दी मन, त्यसैको सेरोफेरोमा अल्झेर लेखेको छु ।
इश्वरको तस्वीर – कृष्णपक्ष
सृष्टिका समस्त अवयवहरु रहस्यमय लाग्दै जान थाले । आफ्नै देह, त्यसभित्र बाँचेको प्राण, आफु उभिएको जमिन, ढुंगा माटो र भित्ताहरु…. । तल्लो मुस्ताङको मुक्तिनाथ स्थित मेब्राक गुफा भित्र भेटिएका ३५०० बर्ष पुराना मानव अवशेषका बारेमा टेलिभिजनले समाचार देखाई रहेको थियो । यो जति रहस्य र अनुसन्धानको बिषय थियो त्यति नै रहस्यमय थिए गुफाभित्र कुँदिएका कलात्मक चित्रहरु ।
‘ठ्याक्कै त्यस्तै रैछ है, हामीले बनाउने भगवान जस्तै ?’ सुन्तलीले सँगै टिभी हेर्न बसेका सन्तोषका बालाई कोट्याउदै भनी ।
आमा र छोराको कंकाल – वृत्तचित्रमा यस्तो पनि देखाइयो । कंकालको प्रकृति हेर्दा प्रसव वेद्नामा आमाको निधन भएको देखिन्थ्यो, त्यो युगमा नवजात शिशु आमाविना एक्लै बाँच्न सक्ने प्रश्नै थिएन । उ पनि आमासँगै पुरियो। सबै भन्दा जीवन्त चित्र त त्यही थियो । जेठा जन्मदा भएको प्रसव पीडाको स्मरण गरी उसले र मातृत्वभावले द्रविभूत भई ।
तर क्यामाराले भित्तामा कोरिएका भगवानका चित्रहरु धेरैबेर देखाए । टिभीमा सधैंझैं हत्या आतंक र भोका नांगा मानिसका समाचार आउन थाले पछि उसले टिभी बन्द गरी । यस्ता कुरा देखाएर टिभी कहिले थाक्दैनथ्यो ।
सुन्तली तामाङ । धादिङबाट काठमान्डु आउँदा भर्खरकी तरुनी थिई । यिनै सन्तोषका बासँग भागेर पोइला आएकी, त्यो सोह्रबर्षे जवानीको प्रेमकथा त उहिल्यै मेटिईसक्यो । त्यसपछि राजधानीमा हात मुख जोर्ने संघर्षका दिनहरु शुरु भए । स्वयम्भुको भगवान पाउमा थियो डेरा, थाङकामा रंग भर्ने काम । विस्तारै सुन्तलीले पनि सिकी, उसको प्रयोग कोमल थियो – उजस्तै । क्यानभासमा अरुले स्केच कोरेर दिन्थे, उ शेडिंग गर्थी । उसका कुचीका घातहरु नरम हुन्थे। सबै कुरा साधना रहेछ, उसले थान्कामा ज्यान भर्ने कला सिक्दै गई । तर त्यो कला गुजारा गर्ने कर्ममात्र थियो ।
उनीहरुले कुँदेका थान्काहरु ठमेलका शोरुममा गएर टाँगिन्थे। ती कसले कति मुल्यमा किन्थे अनि कुन देशको, कुन शहरको आलिशान महल वा गुम्बाका भित्ताहरुमा गएर सजिन्थे, उनीहरुलाई थाहा हुदैनथ्यो ।
हरेक मानिसभित्र एउटा कलाकार हुन्छ, आदिमकाल देखि उभित्र कलाको अतृप्त प्यास लुकेको छ । रंगसँग खेल्दा कहिलेकाही सुन्तली पनि सोच्थी, शायद अलि सम्पन्न र पढेलेखेकी भए मपनि पेंटिंगको किनारमा आफ्नो नाम लेखेर देश विदेश प्रदर्शनी गर्थें होला । तिनको पत्याउनै नसक्ने मूल्य तोकी दिन्थें होला, अनि हेर्थें कसले किन्न सक्दो रहेछ मेरो कलालाइ ?
चित्र कुद्ने परम्परा उसको कल्पनाको क्षितिजभन्दा निकै पुरानो, युगौंयुग देखि चल्दै आएको थियो यो संसारमा । शव्दमा अभिव्यक्त हुन नसक्ने कैयौं मानवीय संवेदनाहरु, प्रेम, आस्था र विश्वासहरु चित्रका माध्यमबाट प्रस्तुत गरिन्थे । मानव हृदयका अमूर्त भावहरु पनि चित्रकै बाटो भएर बताउन सकिन्थ्यो । सृष्टि स्थिति, प्राकृतिक चक्र जीवन मृत्यु, भौतिक आध्यात्मिक चिन्तन , तिनीहरुको अस्तित्व.. यस्ता अनेकन रहस्यका बारेमा शताब्दियौं देखि खोज र अध्ययनहरु भैरहेका थिए । शिला र धातुका पत्रहरुमा, मन्दिर, गुम्बा र घरका भित्ताहरुमा, पातहरुमा, कागजका पानाहरुमा, मखमली क्यानभासहरुमा र कम्प्युटरका बिटहरुमा करोडौं चित्रहरु कोरिईसकेपछी, करोडौं ग्रन्थहरु लेखिई सकेपछि अझै पनि मान्छे त्यस्ता कैयन रहस्यको ज्ञानबाट वन्चित थियो, यसर्थ उसलाई लाग्थ्यो – यी सम्पूर्ण रहस्यको ज्ञाता अरु नै कोही छ । यो उसको विश्वास थियो, र यही विश्वास नै ‘इश्वर’ थियो ।
सुन्तली र उसका श्रीमान हरेक दिन थान्कामा इश्वरको चित्र बनाउथे ।
इश्वरका चित्रहरु अनेकौं मुद्रामा, अनेकौं भाव भंगीमा कोरिन्थे। जंगल , आकाश ,वादल वा मण्डलाहरु चित्रको पृष्ठभूमि हुन्थे । उसले बोक्ने वज्र, ध्वजा, माला, पुष्प, शुल, डमरु, मुरली … उसले चढ्ने वाहन …. चित्र बडो आकर्षक र लाइभ हुनु पर्थ्यो । जो मुर्त देखिन्थे र सजिव प्रतित हुन्थे। थान्कामा आँखा कोर्ने काम अन्त्यमा गरिन्थ्यो, यो प्राण प्रतिस्थापन गरेजस्तै हुन्थ्यो । त्यसपछि भगवानले जीवन पाउथ्यो ।
—————–
यो निष्ठुरी संसारमा एक्लै दुख गर्न लेखेको रैछ । सुन्तलीका श्रीमानलाइ दैवले यस्तरी चुडेर लग्यो, कि एकदिन खाना खाएर बाहिर निस्केको मान्छे फेरी फर्किएनन । शहरमा न्याय, समानता र अधिकारको नारा लाउनेले गराएको विष्फोटनले उनको प्राणहरेर लग्यो । सुन्तलीको जीवन र सारा संसार नै अँध्यारो भयो । भगवानको चित्र कोर्ने मान्छे मात्र हैन, अब सुन्तलीको भगवान पनि मर्यो ।
तीन सन्तानहरु थिए, शहरमै जन्मेका । गाउँ फर्केर दुख गर्न जाने हैनन्, तिनलाइ लाउनु खुवाउनु, काठमान्डूमा राखेर पढाउनु, डेरा भाडा तिर्नु … यी सबै जिम्मेवारी अब उसको काँधमा थुप्रिएको थियो ।
“पापी रैछौ नि भगवान ! सँगै दुख गरी खानपनि दिएनौ, उफ!!!…. ” यी सुन्तलीका रातका सुस्केराहरु हुन । थान्का कोरेरै पेट पाल्न सक्छेस केही चिन्ता लिनुपर्दैन सुन्तली ! – सम्झाउनेले भन्ने त यही हो । तर उसलाई लागेन, उ एक्लैले खर्च धान्न सक्छे । तैपनि विकल्प थिएन ।
भगवानको अनुहार पहिले जस्तो शान्त र सुन्दर हुन छाड्यो । कुची समाउदा उसलाई हातहरु काँपे जस्तै लाग्न थाले । उसले घरि घरि भगवानको तस्वीरमा सन्तोषका बाको निरिह अनुहार देख्न थाली । भगवान रोएको जस्तो पनि लाग्न थाल्यो, उसले मनमनै भनी- म अब यो काम गर्न सक्दिन । मैले कोरेको इश्वरको तस्वीर अब इश्वर जस्तो छैन ।
तर कसले देखेको छ इश्वरलाई ? उसको स्वरुपलाई ? के थाहा इश्वर मान्छे जस्तो नभएर ढुंगा जस्तो पो छ कि ?
——-
होचो कदकी ३५ बर्षिय सुन्तली तामाङसंग जीवनका धेरै रंगहरु, आयामहरू बाँकी नै थिए । धेरै चाहनाहरु शेष थिए, अब उसको सबै भन्दा ठुलो चाहना आमा भएर बाँच्नु थियो । अब उसले आफ्नो अगाडी दुइटा बाटाहरु देखी, देश छोड्ने या लालाबाला लिएर गाउँ फर्कने । धन कमाउने भन्दा पनि सन्तानलाई कर्म दिने, न्यानो छहारी दिने, तिनका रहरहरु पुरा गरिदिने,आफुले जति दुख पाए पनि सन्तानलाई सुख दिने चाहना थियो उसको ।
चाहनाको यो रंग यति गाढा थियो कि यसले अरु सबै इच्छाहरुलाई छोपी दिएको थियो । जसरी सिन्दुर र चुरापोते असमयमै दैवले उसबाट खोसेर लागेको थियो । मिल्ने भए त उ निथ्रिई सकेको यो यौवन पनि कतै थन्क्याएर निस्फिक्री हिडथी होली, तर प्रकृति हो, त्यसो गर्नु सम्भव थिएन ।
—–
सरकारले राहत दिने भनेको त धेरै भयो, तर कसैले खबर गरेका छैनन् । उसले समाचार हेर्न टिभी खोली, विदेशबाट फर्किएकी भुन्टीमाया मगरको दुखद मृत्युको खबर चिच्याई चिच्याई सुनाइ रहेको थियो त्यो । उ झसंग भई – हिजै मात्र एकजनाले थान्का सान्का छोडेर उसलाई कुवेत जाने सल्लाह दिएको उसले सम्झी ।
समाचार भन्दै थियो – विरामी अवस्थामा कुवेतबाट फर्के लगत्तै गेस्ट हाउसबाट अस्पताल लगिएकी भुन्टीमायाको निधन भएको छ । न्यूमोनिया र कमजोरीका कारण निधन भएकी भुन्टीको गर्भमा आठ महिनाको शिशु समेत रहेको शिक्षण अस्पतालका डाक्टरद्वय अनामिका झा र निता कटुवालले जानकारी दिएका छन । केही समय अघि नै उनको श्रीमानको पनि मृत्यु भएकोले अब उनका चारजना बालबच्चाको रेखदेख कसले गर्ने भन्ने चिन्ता रहेको छ ।”
पछिल्लो खबरले त सुन्तलीको मुटु चिरिएझैँ भयो । उसले एकपटक भुन्टीको ठाउमा आफुलाई राखेर हेरी । उसलाई इश्वरको अस्तित्वप्रति ठूलो शंका भयो ।
झ्यालबाट छिरेको एक झोक्का बतासले छेउमा क्यानभास बाँधिएको काठको फ्रेम भुइमा ढल्यो । सधै जस्तो इश्वर विल्कुल चुपचाप थिए, मौनताको घना जंगलमा हराइरहेका । यो पहिलो पटक हो, उसलाई आफुलाई भन्दा इश्वरप्रति दया जागेर आयो । ओठ बाट केही शव्द बाहिर निस्किए – कठै भगवान कति निरिह तिमी !
उसले नियालेर हेरी ।
आज इश्वरको तस्वीर उसलाई भुन्टीको अभागी अनुहार जस्तै लाग्यो ….. ।