पर्खाल पारिको त्यो देश – इजरायल I


पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरुसँग एकदम असहमत छु … ।

विस्थापित् भएर आफैं सँग परिचय माग्नेहरुको कथा कहिलेदेखि लेखिन थाल्यो थाहा छैन । आफ्नै घरबाट खेदिएर आफ्नै आँगनमा भौतारिन विवश धेरै मानिसहरु छन यहाँ ।

देश भन्दा पहिले मान्छेले ओत खोज्छ, छानो खोज्छ, अधिकार भन्दा पहिले उसले गास वास र कपास खोज्छ । जिउधनको खतरा बढ्दै गएपछि इजिप्टको बोर्डर हुँदै लुकिछिपी इजरायल भित्रिएर शरणार्थीको लश्करमा उभिएका सुडानीका कथा व्यथाहरु इजरायलका गल्ली गल्लीमा छरिएका छन , सामाजिक संथाका दस्तावेज र अखवारका पानाहरुमा तिनका विवरणहरु लेखिएका छन । तर आफ्नो देश र भूमिको हक भन्दा पनि केवल रोजीरोटीको संघर्षमा भौतारिदै इजरायल प्रवेश गर्ने प्यालेस्टिनीका कथाहरु कतै लेखिएको छैन । तिनलाई राजनैतिक रंग दिएर इजरायल दिनदिनै मेटिरहेछ उनीहरुको अस्तित्व … ।

यसरी नै भौतारिदै इजरायल प्रवेश गर्ने एउटा प्यालेस्टिनी किशोरको कथा हो यो ।

———————————————————————————-

त्यो साझ उसले मसक्क आँट गर्येा। दिउसो परेको सिमिसम पानीले जमिन अँझै ओभानो भएको थिएन। मलिन हुदै घामले बिदा माग्दै गरेको बेलामा पश्चिम किनारको त्यो सानेा शहर पुरै रातेा रातेा रंगको देखिएको थियो। आज यो रंगको तुलना उसले कुनै अपीय वस्तुसग पटक्कै गर्न चाहेन। बादल खुलेर सफा भएको आकाश झै उसले मनभित्रका दोधारे विचारहरूको धमिलो बादल सबै पन्छाएको थियो । ऊ स्पष्ट थियो – सुटुक्क पर्खाल नाघ्ने।

समय स्थान र परिबेशको कत्रो सम्वन्ध मान्छेको जीवनमा? भर्खर १६ पुगेर १७ लागेको त्यो किशेार यति छिटै यस्तो परिपक्व हुनुमा उसको भुगेाल र राजनीति नै प्रमुख कारण थिए।


नाम शेरिफ
घर प्यालेस्टायनको पश्चिम किनार
विस्थापित हुदै जादा सुर्को जस्तेा साँधुरेा मानचित्रमा बाँचेको उसको देश।

धेरै भयो पश्चिम किनारमा इजरायलले गाजामा जस्तेा वमबारी गरेको छैन। यूध्दक विमान र ट्यांकका ताँतीहरू पनि त्यहाँ देखिदैनन यसर्थ यस भेगमा प्यालेस्टिनीले उस्तेा त्रासदी भेाग्नु परेको छैन्, तर त्यो मैानता भित्र राजनीतिक कुण्ठा र अप्रस्फुटित विद्रेाहको अधिबेहरी लुकेको छ, जसलाई लुकाएर नै बाँचेका छन निरीह प्यालेस्टिनीहरू।

शेरिफलाई राजनीतिमा विल्कुल रूची छैन। इजरायली सैनिकको गाडी वा टंयाक आएको बेला अरूजस्तेा हुरूरू ढुङा वर्षाउन ऊ कहिल्यै गएको पनि छैन। न त पर्खाल पारि देखिने त्यो देशलाई उसले शत्रुको देश भनेर नै मानेको छ। हो, अलि अलि दुख त उसलाई जरूर लाग्छ, जब उसको हजुरबा पर्खालपारि इशारा गर्दै सुनाउछन- ‘उ त्यो करेाडैको व्यापार हुने कारखाना छ नि, त्यो जग्गा पहिले हाम्रो खेत थियो ।’

पराधिनता स्वीकार्न नसकेर विस्थापित हुनु पुगेका त्यस्ता अरू धेरै प्यालेस्टिनीका सन्तति झैँ देश फर्काउने लहैलहैमा लागेर ऊ कुनै मुक्तिमेार्चामा शामिल कुन पनि गएन । नेताहरूले बेला बेला भाषण गरेको सुन्थ्यो ‘जवसम्म एउटै मात्र प्यलिस्टिनि यो धर्तीमा बाँकीरहन्छ इजरायलका विरूध्द लडेरै मर्छ तर कदापि हार मान्ने छैन।’

उसलाइ लाग्थ्येा जसले जित्छ उसैको हुन्छ देश, इतिहासमा उसले त्यस्तै पढेको थियो। हारजितको खेल खेलेरै विभिन्न शासकहरूले यो धर्तिको माटो आ आफ्नो नाउमा कोर्न भ्याएका न हुन । नत्र यो धर्ति कस्को? यो श्रृस्टि कसैको पनि हैन। न इजरायलीको न प्यालेस्टिनिको। यो जमिन कस्को ? यदि हो भने सवैको साझा हुनुपर्छ।

शेरिफ जस्तै किशेारका रगत उमाल्ने यास्ता भाषणहरू, राष्र्ट्रीय गानहरू वा अभिव्याक्तिहरू, सबै राजनीति गर्नेका चालहरू मात्र हुन। जसले हामीलाई युद्धमा होम्छन र ज्यानको बाजी थाप्न लागाउछन। उसले बुझेको राष्ट्रियता सारै फितलो थियो ।

निसिम उसको मिल्ने साथी । २ साल भयो निसिमको दाजु त्यो पर्खाल पारीको देशमा काम गर्न थालेको । अहिले उनीहरूको शान बेग्लै छ। नयाँ घर बनाएका छन, ट्याक्टर किनेका छन। ऊ कहिलेकाही सोच्थ्यो त्यहाँका मान्छेहरू किन धनी छन, हामी किन गरिब ? उनीहरू यस विषयमा गफ गर्थे । ‘बुझिस त्यहाँ त सबै युरेाप र अमेरिकाबाट भागेर अाएका व्यापारीहरू छन धनी त हने नै भयो नि। अनि तिनीहरूलाई किन भाग्न परेछ त? यिनीहरू साह्रै धूर्त, बाठा र ओभर इन्टेलिजेन्ट भएकाले त्यहाँका मानिसले लखेटेका रे ।

अर्को भन्थ्येा यिनीहरू ‘सियो बनेर पस्ने र मुशल भएर निस्कने जात हुन’ जहाँ गयो त्यहाँको कारोबार सबै आफ्नै पार्ने भएकाले यिनीहरूलाई खेदेर पठाएको रे।

सुलेमानलाई यो विषयमा अलि बढी ज्ञान थियो, ऊ भन्थ्येा त्यसो हैन तिनीहरू यहुदी हुन, जसका पितापुर्खा यतैका रैथाने थिए, बिस्तारै युरोपतिर लाखापाखा लागेर बिभिन्न ठाउँ पुगेका बेला तिनीहरूमाथि दोस्रो विश्वयुद्धताका अत्याचार बढेकाले फेरि पुख्यैाली थातथलो फर्किएका हुन। यिनीहरूको सम्वन्ध व्यापार अहिले पनि युरोप अमेरिका लगायत विकसित देशहरूसँगै भएकाले यिनीहरू धनी छन् ।

शेरिफ पटक पटक पर्खालपारिको स्वर्णिम देश धुस्ने इच्छा जाहेर गर्थ्येा। उसको काँधमा परिवारको जिम्मेवारि पनि त थियो।

उसका साथीहरू सुनाउथे, हाम्रो जग्गा हडपेर खानेहरूकोमा फेरि लुकिछिपि बस्न जानु ? मेरो त स्वभिमानले दिँदैन बरू यिनीहरूलाई जहाँबाट आएको हो, उतै खेदनुपो पर्छ। तलाई थाहा छ ? कतिजना ठुला मान्छेले यो इजरायल भन्ने देशै छैन भनेका छन। यो त हाम्रो हो, प्यालेस्टिनीको।

इस हाम्रो ? बरू हामीलाई चै लाखापाखा लगाइसके, सम्पन्न र शक्तिशाली भएपछि कसको के लाग्छ ?

यस्ता सम्वादहरू शेरिफका दिनचर्याका अभिन्न क्षण बन्दै आएका थिए।

त्यो पर्खाल नाघ्न सजिलो थिएन, इजरायल प्यालेस्टाइन संधर्ष लम्बिदै गएपछि बारम्बार प्यालेस्टिनी आत्मघाती आक्रमण हुन थालेपछि सन् २००७ देखि इजरायली सरकारले प्यालेस्टिनी कामदारमाथि नियन्त्रण र प्रतिबन्ध लागायो । आवश्यक जनशक्तिको आपुर्ति रसिया, चिन, थाइल्यान्ड, फिलिपिन्स, नेपाल, भारत लगायतका अन्य देशबाट हुन थाले। यी मध्येपनि अहिले धेरै राष्ट्रमाथि बन्देज लगाइएको छ।

जहीँतहीँ सादा पोशाकका इमिग्रेसन प्रहरीहरू छन । अफ्रिकन तथा रशियन मूलका भिजिलान्तेहरू समेत विदेशी कामदारको हरक्षण निगरानी गरिबस्छन् । सीमा तथा प्रबेषाज्ञा जाँच यस्तेा कडा गरिएको भएपनि धेरै प्यालेस्टिनी तन्नेरीहरू रातारात पहाड, जंगल र भरूभूमिको अनेकैँ चेारबाटो हुदै पर्खाल नाघ्छन र इजरायलमा लुकिछिपी काम गर्छन्।

धरै किशेारहरू प्यालेस्टाइनको राजनीतिक अस्थिरता, अर्थिक गिरावट र अभावको सम्पूर्ण दोष इजरायललाई दिएर घरघरबाटै रकेट बनाउदै पर्खालपारिको देशमा हिर्काउने एकातिर छन भने अर्कातिर शेरिफ जस्ता धेरैलाई थाहा छ कालो अरिँगालको गोलामा ढुङ्गा वर्षाउनु, आफै खतरा निम्ताउनु हो। बरू त्यसको विपरित सुटुक्क इजरायल छिर्नु, लुकिछिपि बस्नु, टन्न पैसा कमाउनु र टाप कस्नु अर्को विकल्प। ‘कि खान्छ आँटले, कि खान्छ ढाँटले’ – शेरिफलाई यो उक्ति निकै सही लागेको छ। अब उसले यी २वटा कुरा गर्नुपर्नेछ। भेाक र गरिबीबाट सताइएका धेरै प्यालेस्टिनी मध्ये ऊ पनि एक हो । भाइ बहिनीलाई स्कुल पठाउने र परिवार पाल्ने जिम्मेवारी छ उसको।

उसले एकपटक आबुसँग कुरा गर्ने सोचेको थियो, आबु अेमार जेा प्यालेस्टिनी किशोरलाई अवैध कामदारको रूपमा इजरायल भित्रयाउने दलाल हो। अनेकौँ ट्याक्टिस र नाका प्रयोग गर्दै प्यालेस्टिनी कामदारलाई इजरायल प्रबेश गराउने मानव तस्कर दलालहरू छन, नक्कली पर्यटन कम्पनीहरू छन। तिनीहरूलाई तिर्ने पैसा उसँग छैन । तर कुन बाटोबाट कसरी पारि पठाइन्छ, शेरिफलाई स्पष्ट थाहा छ।

हिडनु अघि एकपटक उसले फेरि दाह्रा किट्यो “कि खान्छ आँटले ………………………..”

हजारौँ प्यालेस्टिनी कामदार छन इजरायलमा, अधिकांश अवैध तरिकाले प्रवेश गर्ने नै छन र जोसँग काम गर्ने अनुमति छैन ।त्यसमा म एक जना थपिन्छु त के भयो ?

पानीले ओस्सिएको धुलो जबर्जस्ती उडाउँदै ऊ बसेको गाडी गुडयो। आधा धन्टा नबित्दै बेत-इक्षा आइपुग्यो ।

बेत-इक्षा सानो अरब गाउँ, जहाँबाट अब इजरायलको जेरूसेलम शहर पुग्न ३ किलोमीटर मात्र बाकी छ। बेतइक्सा पुगेपछि उसले पैदल हिडनुपर्ने छ । अबको बाटो ढुङ्गा र पहाडको ।

पश्चिम किनार, इजरायल प्रवेश गर्न सजिलो ठाउँ हो,त्यसो त प्रत्येक कुना कुनाबाट हरेक दिन सयौँको संख्यामा प्यालेस्टिनी कामदार सीमा नाघ्ने ठाउँ हेरेर बसेका हुन्छन्। ती मध्ये ५० प्रतिशत पुलिस देखेर मरूभूमिको धुलै धुलो जसरी आएका थिए उसरी नै फर्किन्छन्। अहिले त बेत इक्षामा पनि ठाउँ ठाउँमा चेक प्वाइन्ट राखिएका छन्। वरिपरि यहुदी वस्ती पनि छ,त्यसैले पर्खाल भने लगाइएको छैन्। तर अर्ध सैनिक प्रहरीको गस्ती दिनभरजस्तो भइरहन्छ। आठ नौ किलोमीटरको यो बाटो यति जेाखिमपूर्ण छ कि रिसाहा सु्रक्षाकर्मी पर्यो भने टाढैबाट नै गोली हान्न के बेर? ऊ चुपचाप पाइला अघि बढाउँछ, सैनिकका बुटका पदचापहरू सुन्न कान तिखो बनाउदै, अप्ठ्यारा ढुङ्गाहरूमा ठेसलाग्दा उसलाई लाग्छ ..शायद यो अन्तिम परिक्षा हो र यो परिक्षा मैले पास गर्नैपर्छ।

बाटो छिचेालिँदै गयो। अब टाढाबाट साँझको झिलिमिली बत्तीले सजिएको सुनको सहर जेरूसेलम देखिन थाल्येा । त्यसै कहाँ गाइएको रहेछ र यसको महिमा .. जेरूसेलायम शेल जहाव( jerusalem of gold) सुवर्ण जेरूसेलम। उसको खुसीको सीमा फैलँदै गयो।

हो परिक्षा अँझै सकिएको थिएन सायद। एउटा अस्पष्ट आवाज बेाकेर ल्याएको एक झेाक्का चिसो बतास उसको कानैमा ठोकियो । कोही कराए जस्तेा, केही भनेजस्तो । नबुझिने तर चर्को, केही सुनियो। कसैले देख्यो जस्तेा छ, अघिदेखि नियालिरहेको खम्बामाथि टाँगिएको पिलपिल बत्तीले उसलाई कतै लुक्न पनि दिएन । अब के गर्नेहोला? हात उठाउने त उसमा झन होश नै भएन । अकस्मात कत्तिखेर खुट्टाले दच्किएको हरिणको गति लियो उसले पत्तै पाएन । एकैछिनपछि बन्दुक पड्केको चर्को आवाज सुनियो ।

………………………………………………….

भोलि पल्ट समाचारमा उसको फोटो छापियो।
हेडलाइनमा नै लेखिएको थियो……………
वेष्टबैंकबाट इजरायल प्रबेश गर्ने प्येलिस्टिनी आतंककारीसँगको मुठभेडमा एकको मृत्यु ।

नाम-शेरिफ
उमेर- १७
घर-पश्चिम किनार

शुरुमै भने नि – पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरूसँग एकदम असहमत छु ।
समाप्त…………………………………………..।

4 Comments

  • कथा प्येलिस्टिनी युवाको भय पनि यो अबस्था बाट गुज्रने हाम्रा वरपर धेरै छन नेपालमा पनि ………..धेरै राम्रो कथा

  • म एडम्स केभिन, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर प्रयास गर्न व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल (adams.credi@gmail.com) अब हस्तांतरण ठीक जारी युद्धमा ऋण कागजातहरू गरेर हामीलाई सम्पर्क। के तपाईं पनि aiico बीमा plc.you बहुत स्वागत छ इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं (aiicco_insuranceplc@yahoo.com) एक व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता छ।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

Leave a Comment