बुबाको फोन

कृष्णपक्ष 
विनाशकारी भुकम्प गएको दोश्रो दिन 
बैशाख १४ गते, इजरायल 

मुटुको केन्द्रविन्दु भएर
अविरल अविरल थर्किरहेछ, त्रासको भुइचालो
पहिरो गैरहेछ छातीका गह्राहरूमा देशजस्तै
र ढलिरहेछ्न सपनाका धरहराहरू ।

बुबा फोनमा भन्दै हुनुहुन्छ –
छोरा !
तैले पहिलो पाइला टेकेको
खेलेको, उफ्रेको र तँ हुर्केको त्यो आँगनमा
आज थुप्रिएको छ, खण्डहर भएर हाम्रो सानो संसार
छानोको एउटा सिङ्गै पाखो,
जो तैँले पोहोर पठाएको पैसाले छाएको थिएँ
अनि बार्दली र त्यसका बुट्टे रेलिङ्गहरू
मैले कति दुख र रहरले बनाएको थिएँ
जहाँ बसेर तँ सधैं पूर्वमा हेर्थिस – घाम उदाएको,
उत्तरमा टल्किएको – गणेश हिमाल,
अनि कोर्थिस चित्रहरू कापीका सादा पानामा
र भन्थिस – ‘बुबा, हेर्नुहोस मैले धरहरा बनाएँ’ ।

कतिबेला भयो,
हेक्का छैन छोरा
केवल घाम उदाएको र डुबेको देख्छु,
र हेक्का छैन कतिपल्ट हान्यो पापी भूँइचालोले
थाहा छैन कतिखेर निदाएँ,
सिमसिम पानीले रुझेको बुढो शरीर बोकेर
त्रासदी र कोलाहलको ताण्डव नाचिरहेको यो खुल्ला चौरमा ।
कतिखेर तेरी आमा निदाइ होली
जो आकासको झरीजस्तै रोइरहेकी थिई,
तिमीहरूलाई सम्झेर – एकपल झिमिक्क नगरी ।

रुझेको छु र पनि तिर्खा लागेको छ छोरा
बेस्सरी तिर्खा लागेको छ र पिउन मन लागेको छ
आशा र राहतको एक घुट्की पानी
कि कसैले आएर सुटुक्क भनिदेओस
बा अब केही हुदैन ढुक्क हुनुस
– सुन्न मन लागेको छ यस्तो मिठो बोली ।

भयको कालो बादल छाएको छ छोरा आकाशमा
त्यस्तो भय, जुन कुनै बेला
यहुदीको छातीमा मडारिएको थियो,
जीवन र मृत्युको अनिश्चितताको भय ।
र त्यस्तो अभिलाषा जिन्दगीको, त्यस्तो जिजीविषा
जो लडाइको मैदानमा गोलीले घाइते भएको
निरिह सिपाहीको मनमा बाँचेको हुन्छ ।

जिउँदै पुरियो पल्ला घरे जेठो
र निदायो कहिल्यै नब्युझने गरी,
मलामी गएर आएको छु,
घाइते छन दर्जनौं मानिसहरू, आइमाई र केटाकेटीहरू
सकेको सघाएको छु अस्पताल पुर्याएको छु ।

यतिबेला सोधिरहेको छु छोरा यो देशसँग
हामीले किन बेच्नु परेको होला ?
युवाका हातहरू परदेशका मरुभूमिहरूसँग
भोक र अभावका रेमिट्यान्सहरूसँग
तेरा पसिना र पौरखहरू
कुन रहरले साट्नु परेको होला ?
बालुवाको घरजस्तै भत्केर जाने सपनाहरूसँग ।

अनिश्चित र अनुत्तरित छन यी प्रश्नहरू
यो विनाशकारी भुइचालो जस्तै ।

बुबाको फोन काटिन्छ …
पल पल उठ्छ र ढल्छ
सगरमाथाजस्तो भक्कानो छातीभित्र
जान्छ हिमपहिरो र छटपटीको ज्वालामुखी
र हुन्छ मन – पखेटा काटिएको चरा

यो विरानो भूगोलमा
लाग्छ अहिल्यै पखेटा पलाओस
उडुँ त्यहाँसम्म र बाडुँ हातहरू ।
हर्क्युलसले जस्तै थामुँ मेरो घर, माटो र जमीन
छेकुँ कुनै शक्तिले भूकम्पका धक्काहरू
पुछुँ रोगी आमाका आँसुहरू, उठाउँ भकारी र अन्नहरू,
दराज, लुगाफाटा र उहाँका दिनदिनै खाने औषधीहरू
र अँगालु जहान र सानो छोरालाई
जो पालबाट चुहिएको पानीले निथ्रुक्क भिजेर
रातभरि ‘बुबु खाने‘ भन्दै रोइरहेछ र बर्बराइरहेछ जोरोले
पापा भएको ठाउँमा जाम न मामु‘ ।

ए सम्बोधन !
कोसँग सोधुँ म यो प्रश्न,
कि किन हिडेर आएँ म यो लामो बाटो ?
कि किन लेखिस मेरो निधारमा परदेश ?
खेतका गह्रा र माटोसँग, हिलो र रोपाईंसँग असारसँग रमाउने मेरो श्रम
किन साट्दैछु म मरुभूमिका यी ताता बालुवा र नूनिला पसिनाहरूसँग ?

ए सम्बोधन !
कोसँग सोधुँ म यो प्रश्न ?

आवाजमा सुन्नुहोस ..

Leave a Comment