पलायन र अनुत्तरित प्रश्न

आकाश घुर्मैलो देखिएको थियो, भूमध्यसागर माथि माथि उडेका बादलका पातला धर्साहरु सागरका छालहरुमा एना हेरेर जिस्किरहेझैं लाग्थे । असारसाउन महिनाको चरम वैंशमा थियो याम, तर त्यो उर्लदो जवानीको एक अंश पनि कतै देखिएको थिएन यो मरुभूमिको देशमा …. ।

न बर्षा, न झरी, न हिलाम्य खेत न पर पर सम्म गुन्जने लैबरीका भाकाहरु । कृषि कामदारको रुपमा केही बर्ष अघि इजरायल भित्रिए पछि उसले खेत र खेतालाका बुझाइ र परिभाषामा व्यापक अन्तर पाएको थियो । नजर भरी फैलिएको जग्गा, फलफूलहरुको अपार जंगल र सयौं खेतालाहरु ।

उ एउटा खेताला, बेला बेला क्षितिजतिर बादलले कोरेका रंगी बिरंगी पछयौराका आकारहरु झुल्किदै ओझेल पर्दै गरेको देख्दा उ सोच्छ – यो असार साउनको बर्खामास, किन झरी पर्दैन यो देशमा ? एक झर निथ्रुक्क रुझ्ने गरी किन बर्षा हुदैन यहाँ ?

उ बसेको देशमा असार साउन र भदौका महिनाहरुमा कहिलै पानी परेन, बरु हिउँदका चिसा कठाङ्ग्रिँदा मौसमहरुमा कक्रिएको धरतीमाथि मुटु छेड्ने गरी असिना बर्षा र हिउँ खसाउथ्यो आकाश । उसलाई लाग्थ्यो यहाँको प्रकृति पनि निष्ठुरी छ ।

यस्तो बेला उस भित्र कतै घर भन्ने चिज दुख्थ्यो , घरमुनिको गैह्री खेत, रोपाइँ र खेताला भएर संगै हिड्ने दौतरीहरुको संझना हुन्थ्यो । कहिलेकाही सम्झनाको त्यो भक्कानो आसु बनेर पग्लिन्थ्यो ।

तर अरु झैं सम्झनाको त्यो लहरमा साइली माइलीका स्मृतिहरू मात्र ताजा भएर आउदैनथे, बरु यदाकदा उ अचम्मसँग आफैलाई देख्थ्यो। उ’ कतै हुन्थ्यो उसको सम्झनाको गाउँमा । आफ्नै छायाका हजारौं आकारहरु उसभित्र खेल्न थाल्थे, ति छायाहरू विदेशिनु अगाडिका उसैका तस्विरहरु हुन्थे । घुम ओढेर जोगिनु वा निथ्रुक्क भिजेर बाउसे गर्नु दुवै स्मृतिहरू सुखद लाग्थे । स्मृतिका ती तस्विरहरुमा उ अहिले जस्तो उदास कहाँ थियो र ?

“धडाम
sssssम्म ~~~ ”

ग्रीन हाउसको छानोमाथि एउटा बज्र खसेको अप्रत्याशित आवाजले उसका मनका तार र तर्कनाहरु सबै चुडिए । वरिपरी मृत्युको छाया घुमिरहे जस्तो महसुस भयो । छातीको ढोका छेडेर मुटु भागुंला झैं ढक ढकाउन थाल्यो ।

भर्खर प्यालेस्टाइनको आकाशबाट उडेर आएको क्षेप्यास्त्रको प्रहारले ग्रीन हाउस ध्वस्त भएको थियो । एकाएक चारैतिर चित्कारको ध्वनी गुन्जियो । ग्रीन हाउसको छानो र एकतिरको पाखो पुरै भत्किएको थियो । भग्न खण्डहर भित्र पुरिएझैँ केही आर्तनाद र चिच्याहटले वातावरण अझै भयावह र हृदयविदारक लागिरहेको थियो । अस्थिपन्जरजस्तो त्रासदी ओकलिरहेको अर्को भित्तामुनी उसले सामानहरु छरिएको स्पष्ट देखिन्थ्यो । बाहिर आँगनमा उछिट्टिएको थियो, उजस्तै एउटा खेतालाको शरीर ।

उसले नियालेर हेर्यो भर्खर ढलेको त्यो शरीर बुन्चुको हो, आँखा मुख नाक कान सबै सग्ला नै थिए । बुन्चु अर्थात उसको एकजना हसिलो रसिलो थाई सहकर्मी, जसको देह लम्पसार परेर भुइमा झरेको थियो, छेवैमा उसको काल बनेर आएको रकेट, दुम्सीले खोस्रेझैं माटोको थुप्रो निकालेर जमिन मुनि जोतिएको थियो ।

केही साथीहरु भागेर पर पुगे, उसले सोच्यो भागेर कहाँ, कति पर सम्म जाने ? आफू पुगेको ठाउमै निशाना गरेर अर्को क्षेप्यास्त्र बज्रियो भने ? उ चुपचाप ठिङ्ग उभियो मुर्तिवत । तर एक पटक छाती छामेर हेर्यो, उसलाई लाग्यो उसको मन भने दौडिरहेको थियो, इजरायलका गल्ली गल्ली यताउता भड्किरहेको थियो ।

आँखै अगाडी विदेशी कामदार मरेको एउटा अप्रत्याशित घटनाको साक्षी बनेको थियो उ यसबेला । यो घटना सत्य नभई दिए पनि त हुन्थ्यो, एउटा असम्भव कल्पनाले पनि घरी घरी विथोल्न आउथे उसलाई । आफ्नै आँखामाथि पनि विश्वास गर्न मन हुदैनथ्यो ।

——————————————–

इजरायलको सिमानामा रहेको प्यालेस्टाइन तर्फको तनावग्रस्त क्षेत्र गाजा नजिकैको नेटिभ हासरा भन्ने गाउँमा रहेको एउटा फार्ममा काम गर्ने विदेशी कामदार थियो उ ।

उकाली ओरालीहरु थिएनन्, न मलिलो रसिलो माटो, न सिंचाई गर्ने लामा लामा नहरहरू । कुनै उजाड मरुभूमिको मध्यभागमा बार लगाएर खेती गरेजस्तो थियो रोनेन अल्मर्टको त्यो कृषि फार्म । इजरायलको कृषि प्रविधि विश्वमै प्रख्यात थियो । उसले त्यहीँ हुने उब्जनीबाट बर्षेनी लाखौँ डलरको कारोबार गर्थ्यो । सुख्खा जमिनमाथि एउटा हरियो र अपत्यारिलो सत्य ।

पहिले त्यहाँका सबै खेतालाहरु प्यालेस्टिनी हुन्थे, इजरायलमा खतरा बढ्दै गए पश्चात प्यालिस्तिनी कामदार माथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । परिणाम स्वरूप बिभिन्न देशबाट विदेशी कामदार यहाँ झिकाइए । कृषिमा काम गर्न विशेष गरि थाइल्याण्ड र चीनबाट कामदार आयातित गरिए। बिचमा नेपाल लगायत देशबाट पनि झिकाइए तर ती बन्द भए । त्यही समयमा हो उ इजरायल छिरेको ।

रोनेनको फार्ममा थाई र चिनी पनि उत्तिकै थिए, सबैको आ आफ्नो जिम्मेवारी, कार्य विभाजन र समुह थियो । थाई साह्रै ‘मेहनेती’ हुन्थे, त्यो इजरायलमा उनीहरुले कमाएको इज्जत । कृषिमा काम गर्न सजिलो थिएन, जाडोमा अति नै जाडो हुने, र गर्मीमा अति नै गर्मि हुने भएकाले पनि आउटडोर काम गर्न परेको बेला दिक्क लाग्थ्यो, बिस्तारै त्यो दिक्दारी अब अभ्यस्ततामा रुपान्तरित हुदै थियो ।

बेला बेला भड्किने हिँसा र अशान्ति संग या इजरायल प्यालेस्टाइनको अन्तहीन दुश्मनीसंग उसको कुनै लेनदेन थिएन, उसलाई डलर कमाउनु थियो, घर फर्कनु थियो । यहाँको प्रविधि सिकेर बुझेर कृषिमै लगानी गर्ने अनेकन सुन्दर योजनाहरुले उसको दिमागमा डेरा जमाउन पनि थालेका थिए ।

अलि अगाडी इजरायलले गाजा पट्टिमा केही हप्ता गरेको लामो कार्यवाही पश्चात प्यालेस्तिनिका तर्फबाट रकेट आक्रमण धेरै नै पातलिएको थियो ।खतराको सुचना दिदै साइरन बजेको बेला दक्षिण इजरायलमा वसोवास गर्नेहरु छिटो भन्दा छिटो आफूलाई सुरक्षित स्थानमा लुकाउथे, उनीहरुलाई पनि यस्तै सिकाइएको थियो । तर अब यस्तो खतरा टरेको पनि धेरै नै भै सकेको थियो ।

तर आज अचानक अप्रत्याशित रुपमा आएको क्षेप्यास्त्रले ढलेको बुन्चुको अनुहारले उसलाई विचलित बनाइ रहेको थियो ।

“बुन्चु, याला लकुम !” (बुन्चु, ल उठ अब ! )
उसको मनले पटक पटक यस्तो भने जस्तो लाग्यो तर अोठबाट केही आवाज निस्किएन ।

घरी घरी बुन्चुको हँसिलो अनुहार सम्झंदै उसको मनमा यस्ता असम्भव आग्रह्भाव र कल्पनाहरु पलाए, बुन्चु जुरुक्क उठे पनि हुन्थ्यो । तर निर्मोही बज्रपातले विदेशमा काम गर्न आएको बुन्चुलाइ यस्तरी ढालिसकेको थियो, त्यसपछि उ कहिल्यै उठेन ।

परदेशी भूमिमा देहावसान हुनु, कति दुखद हुदो रहेछ यस्तो घटना ! एकै ठाउमा खाने, खेल्ने र काम गर्ने भएर बसी सकेपछी को स्वदेशी को विदेशी आत्मीयताको डोरीले त्यसै त्यसै बाँधेर राख्दो रहेछ । सबै खेताला साथीहरु बुन्चुको शोकमा डुबे । भोलिपल्ट इजरायलले गाजामा प्रत्याक्रमण गर्यो, संचारकर्मीले विदेशी कामदार मारिएको घटनाको नमिठो कथा लेख्न भ्याए । ग्रीन हाउसको पुनर्निर्माण भयो, फेरी नर्सरीहरुमा कलिला हरित मुस्कानहरु खुल्न थाले अनि विदेशी कामदारहरु उसको कृषि फार्ममा यताउता गर्न थाले ।

तर कामदारको त्यो लहरमा ‘उ’ पात्र देखिएन, उ कतै अलप भयो । बुन्चुसंग बिताएका क्षणहरु र उसको भूतकाल संग तर्सेर उ भाग्यो, तर कहाँ ? उ यसरी बेपत्ता भयो, सागरमा गन्तव्यहीन बगिरहेको कागजको जहाजजस्तो , जो केही पर पुगेर कता अलप हुन्छ थाहा हुन्न । त्यसपछि उसंग सम्पर्क हुने सकेन । सेन्गेन भिषा लगाएर उ युरोप भास्सियो कि शरणार्थी बनेर हात उठाई यतै बसेको छ वा लुकेर अबैध भइ गल्ली गल्ली रुमल्लिई रहेछ । तर एउटा कुरा पक्का थियो न त उ नेपाल नै फर्कियो, न उसका खेतहरूमा आधुनिक कृषि प्रणालीका हरिया नर्सरीहरु उम्रिए ।

घर फर्कने, विदेशमा सिकेका सीप र प्रविधि आफ्नै माटोमा पोख्ने ती उत्साह्हरुलाई किन र कसले बाटो छेक्यो ? पलायनको कुन रकेटले ध्वस्त बनायो ?

अनुत्तरित प्रश्न बोकेरै मैले कथा टुङ्ग्याएँ – आज विदेशी मुलुकका अज्ञात शहरहरुमा यसरी बेखबर भौतारिई रहने ‘उ’ पात्रहरुको संख्या कति छ ? कति नामहरु दिनहु यसरी गुमनाम हुदै छन ? अहँ कुनै नियोगमा, कहिँ कतै, केही गणना छैन, यस्ता प्रश्नहरुको असंख्य घाउ बाँचेको उसको देश नेपाल पनि यो कथाकार जस्तै जस्तै अनुत्तरित छ ।

5 Comments

  • यो कथाकार जस्तै म पनि अनुतरित नै छु ……… यो अविगत भोग्नेहरुको संख्या कति छन् कति तर समाधान त्यो होइन ?
    मान्छेले मान्छे मारेर सिध्याउने खेति हो यो – कृष्ण दाइ !

  • मृत्‍युको कालो बादल मुनी जीवन घिसार्न अभिसप्त "ऊ" र "ऊहरु" पलायनको बाटो रोज्ने होइन घर फर्केर देशकै माटोमा भबिश्यको चित्र कोरे हुने थियो।
    कृष्णजी कथा मार्मिक र सन्देश मुलक छ।

  • सम्बेदनशील कथाकारको अर्को एउटा मार्मिक कथा जो यथार्थको अति नजिकैबाट कुँदिएको छ !

Leave a Comment