माइ लाइफ इज अ मिराकल

मानवीयता नै काँप्ने यो कत्रो अन्याय ? के एउटा जातिले अर्को जातिका लाखौँ मानिसलाई यसरी जिउंदै आगोमा होमेर मार्न सक्छ ? तर यो सत्य थियो, लाखौँ यहुदीका देहहरु आफुलाई पवित्र र महान ठान्ने आर्यहरुको अग्निकुन्डमा भष्म भैरहेका थिए ।  
मौनताको नदी चुपचाप बगिरहेको थियो उसको र मेरो बीचमा …। फेरि सोच्छु, उसले र मैले बनाएको परिचयको, आत्मियता र अपनत्वको पुल अब भत्किएकै हो त ? जब उ संग बोल्थें, हास्थे खेल्थें वा उसलाई लिएर घुम्न निस्कन्थें, त्यो नदीमाथि यस्तो पुल बन्थ्यो जहाँ उभिएर हामी धेरै उदाउदा र अस्ताउंदा सूर्यहरु संगै हेर्ने गर्थ्यौं। म उसका अन्तिम पलहरु सहज बनाउने कोसिस गर्थें, जीवनका गीतहरु सुनाउथेँ ।

विलकुल पृथक परिवेशबाट आएको एउटा नोकर र मालिक बिचको सम्बन्धको पुल थियो त्यो। जहाँ टेकेर मैले उसका जीवनका असंख्य भोगाईहरु, घटना र कथाहहरु सुनिदिएको थिएँ, एउटा पाठक बनेर ।

एउटा कथा यस्तो थियो ।

1942 वार्शा, यहुदी वस्ती, पोल्याण्ड ।

हिटलरका सैनिकहरुले पुरै पोल्याण्ड कब्जामा लिइसकेका थिए । चोकचोकमा यहुदीहरूको डफ्फा जम्मा पारिएको थियो, तिनीहरुलाई बन्दी बनाएर जर्मनी लगिदैछ भन्ने हल्ला चलेको थियो ।चकमन्न अँध्यारोले ढाकेजस्तै त्रासको वातावरण चारैतिर फैलिएको थियो । 

त्यसपछि सैनिकको ट्रकमा ओसारिएर उ जर्मनीको बर्लिन पुग्यो । त्यहाँ पुग्दा उसले आफ्नो अस्तित्व मेटिई सकेको पायो, अब उसको नाम समेत कुनै अंकमा अनुवाद भैसकेको थियो । एक अर्कालाई बोलाउदा ‘कैदी नम्बर यति भन्नू’ उनीहरु प्रत्येकको शरीरमा नम्बरको ट्याग लगाइयो ।
यहुदीको भीडबाट सैनिकले भिन्न भिन्न समुहहरु बनाइरहेका थिए । एकातिर रोगी, आइमाई केटाकेटी, बुढाबुढी  र अर्कोतिर तन्नेरी युवायुवतीहरु । पहिलो समुहमा पर्नेहरुलाइ सिधै यज्ञमा बली दिइन्थ्यो र इहलिला स्वाहा पारिन्थ्यो । दोश्रो समुहमा पर्नेहरुलाइ भने दास बनाइन्थ्यो, आफैँ थाकेर वा कुनै रोगले थलिएर नमरुन्जेल सम्म तिनीहरु कुनै शिविरमा बन्दी भएर बस्थे । 

मानवीयता नै काँप्ने यो कत्रो अन्याय ? के एउटा जातिले अर्को जातिका लाखौँ मानिसलाई यसरी जिउंदै आगोमा होमेर मार्न सक्छ ? तर यो सत्य थियो, लाखौँ यहुदीका देहहरु आफुलाई पवित्र र महान ठान्ने आर्यहरुको अग्निकुन्डमा भष्म भैरहेका थिए ।  

त्यसबेला उसको उमेर 14 बर्षको थियो, आमा र भाइ बैनीहरु लगातार रोइरहेका थिए । बाँच्ने कुनै आधार थिएन, अघिल्लो हप्ता देखि नै पिताको अत्तो पत्तो थिएन । उसको मनमा भाइ बैनी र आमा संग छुट्टिन नपरोस भन्ने थियो तर दास भएरै पनि  कतै बांचिहाल्छ कि भन्ने झिनो आशामा आमाले उसलाई उमेर ढाट्न सिकाएकी थिईन, कसैले सोधे  20 बर्ष भन्नु है । 

“कति बर्ष भईस ? “
पोलीस भाषामा एउटा सैनिकले भन्यो ।
“20 बर्ष …”

 उ अग्लो र खाइलाग्दो थियो, सबैले पत्याए  । त्यसपछि उ तन्नेरीहरुको  समुहमा मिसियो त्यहीबेला उसले अन्तिम पटक आफ्नी आमाको अनुहार देख्यो, त्यसपछि उनीहरुसंग यो जुनीमा कहिल्यै भेट भएन  । मृत्युको भय भन्दा पनि त्यस घडी उसभित्र बिछोडका पीडाहरु मडारिएका थिए ।

मृत्युले सहजै तान्न नसकेको मेरो जीवन आफैंमा एउटा चमत्कार हो । यु नो क्रिश, माइ लाइफ इज अ मिराकल

त्यसपछि सैनिकको ट्रकमा ओसारिएर उ जर्मनीको बर्लिन पुग्यो । त्यहाँ पुग्दा उसले आफ्नो अस्तित्व मेटिई सकेको पायो, अब उसको नाम समेत कुनै अंकमा अनुवाद भैसकेको थियो । एक अर्कालाई बोलाउदा ‘कैदी नम्बर यति भन्नू’ उनीहरु प्रत्येकको शरीरमा नम्बरको ट्याग लगाइयो ।
हजारौं यहुदीहरू दिनदिनै मारिइरहेका थिए । शिविर भित्रै विशाल चिहान बनाइएको थियो, उसले त्यहीं काम पायो ठेलागाडीमा शव ओसार्ने, उ हरदिन आफ्नै शरीर पनि एकदिन यसरी नै गाडीमा राखिएको र आम चिहानमा पुरिएको कल्पना गर्दथ्यो । तर उ त्यसबेला सम्म मृत्युसँग खेल्दै बाचिरहेको थियो । 


एक बर्ष पछि उसलाई चेकोस्लोभाकिया लगियो,  त्यस शिविरमा आएका अधिकांश बन्दीहरुको पालै पालो निर्मम हत्या भैसकेको थियो । हरेक हप्ता रोग र आत्महत्याका कारण सैयौं यहुदीहरू ढलिरहेका थिए । एकदिन उसको पनि पालो आयो, ग्यास च्याम्बरमा राखेर मारिने मितिको घोषणा भयो । उ रातभरी सुत्न सकेन, बिहानको सुर्योदय नहुँदै उसले आफुलाई तयार गरायो । क्रमश उसले भाइ बैनी र आमाको अनुहार सम्झियो । 

तर मृत्युले यसपटक पनि उसलाई अंगाल्न सकेन । शिविर वरिपरी कोलाहल मच्चिएको सुनिन्थ्यो, कैदीहरु भागाभाग गर्दै थिए, उसले पनि त्यसै गर्यो । भाग्नेहरुको हलमा मिसिएर बाहिर पुग्दा, शिबिरका गेटहरु रातिनै  भत्किसकेका थिए । निकै पर सम्म उसले रसियन सैनिकका गाडीको  लश्कर देख्यो । यति बेला सम्म रसियन फौजले बन्दी शिविरका कैदीहरुलाई मुक्त गरिसकेका थिए । 

आफुले भोगेका जीवनका कथाहरु सुनाउदै गर्दा उ बारम्बार भन्थ्यो – “मृत्युले सहजै तान्न नसकेको मेरो जीवन आफैंमा एउटा चमत्कार हो । यु नो क्रिश, माइ लाइफ इज अ मिराकल । “

2012 इखिलोभ हस्पिटल, इजरायल

यसबेला उ अस्पतालमा आखिरी सासहरु गनिरहेको थियो । आखिरी पनि के भनौं ? जीवन र मृत्युको दोसाँधमा उ महिनौं अल्झिरहेको थियो । उसको अनुहारमा अब कुनै भाव थिएन, तन मात्र हैन, आँखापनि संज्ञा शुन्य हुँदै गैरहेका थिए । लाग्थ्यो अब उ बिमारीको त्यो अवस्थामा पुगेको छ, जहाँबाट फर्केर आउने कुनै पनि बाटो छैन । प्रतीक्षा केवल मृत्यको छ, त्यो आवोस र पीडासंग गाँसिएको उसको साइनो तोडिदेओस । दुखको यो सिलसिला सदाको लागि समाप्त होस् ।

मर्फिन .. होशमा आउँदा उसले बोल्ने शव्द यही थियो – जीवनदेखि यति धेरै पीडा भएको छ कि, पेनकिलरको अर्को डोज लिन चाहन्छु र पुन निदाउन चाहन्छु । अर्को संसारमा हराउन चाहन्छु, मेरो स्वप्नदेवसंग।

यो बुढो मान्छेको सुसारे भएर इजरायलमा धेरै समय बितिसकेको छ । म उसको हात सुम्सुम्याउछु र सबै ठिक हुन्छ भन्छु तर मलाइ थाहा छ अब केही  ठिक हुदैन, उसको यात्रा एकतर्फी भैसकेको छ, जहाँ बाट फर्केर आउन मिल्दैन ।

दिन महिना र हप्ता उफ ! हरेक दिन र हरेक पल ..  यो समयको मोल कति हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि यहि बुढो मान्छेको एकनासे यात्रामा मैले मेरा अमुल्य समयहरु यसरी नै बर्बाद गरिरहेको थिएँ । लामो समयसम्म उसले आँखाबाट आँसु बगाइरहने फुर्सद र मलाइ त्यो पुछिरहने धैर्य कहिले सम्म हुने हो ? म अतालिदै गैरहेको छु ।

कहिले त मनमा यस्तो बिचार पनि आउथ्यो – हे भगवान यो बुढो मान्छेको पीडासँग गाँसिएको अटुट सम्बन्ध छिटै फुकाइदेउ र लैजाउ । फेरी हठात् आफैलाई प्रश्न गर्छु – म किन यति कठोर भएँ हुँला ?अनायास उसको टीठलाग्दो मुहार हेर्थें – जहाँ जीवन र प्रेमको सग्लो आकार अझै बाँचिरहेको थियो ।

शुरुमा केही दिन त उसका आफन्तहरु सधैं आए तर अहिले उसलाई भेट्न कोही आएका छैनन । मलाइ आश्चर्य लाग्छ कि संसारमा यति धेरै एक्लो मानिस पनि हुँदोरहेछ ? आफन्त भएरै पनि जिन्दगीभरी उ एक्लो थियो र जीवन र मरणको यो अन्तिम लडाईमा पनि एक्लै छ । उसको देह मुढोमा परिणत भैसकेको छ, स्नायुले शरीरका कुनै पनि भाग संग समन्वय गर्न सक्ने अवस्था छैन । आँखा र ओठ बाहेक अन्त कतै प्राण बाँकी नभएजस्तो सम्पूर्ण शरीर स्थिर छ । कहिले फेरि मनमा यस्तो पनि विचार आउथ्यो, कि उ जुरुक्क उठ्न सक्छ,बोल्न, हिड्न डुल्न सबै गर्न सक्छ – तर आफै निदाउन चाहन्छ ।

उसको र मेरो बिचमा अब मौनताको नदी झन् झन् बढिरहेको थियो, पटक पटक कुनै दुस्वप्न बाट झस्किए झैं केही आवाज निकालेर पुन उ स्वप्नदेव मर्फिनको नशामा हराउथ्यो ।

‘क्रिश !’
उ केही बोल्न खोज्छ, विल यू प्लिज होल्ड माइ ह्याण्ड ? ‘
मलाइ थाहा थियो उसको हातले कुनै स्पर्शको महसुस गर्न सक्दैन तर मलाइ लाग्यो  कि स्पर्श त्वचाले नभई मनले महसुस गर्छ शायद ।

मेरो अन्तिम सास सम्म तिमी मेरै समिप बस ल ?
उसको अनुरोधले म फेरि स्तब्ध हुन्छु। अहोरात्र घर अस्पताल धाउँदा धाउँदै म आफै बिमारी हुनमात्र बाँकी छ, यद्यपि सान्त्वनाको मुन्टो हलाउछु र भन्छु –  म यही छु तिम्रै छेउमा, तिमीलाई छोडेर कतै जाँदिन, ढुक्क होउ ।

थाहा छैन उसको यो यात्रा र मेरो प्रतीक्षा अझै कति लामो हुनेछ तर मेरो कानमा अझै उसका शव्दहरु गुन्जिरहन्छ – “यु नो क्रिश, माइ लाइफ इज अ मिराकल ।”


यो पनि पढ्नुहोस
बुढो मान्छेको मन

4 Comments

  • खोजभित्र निफनेका शब्दका साथ पृथक भावको ति क्यास्पियनभित्र भेटिने मेरा पुराना एबं अग्रज लेखक कृष्णपक्ष दा, समयको बहावसँगै मरुभुमीको तट देखी मरुभुमीको छेउछाउनै पुग्दासम्मको यो भेट आज पुन; कथा पढेर झनै आलो बनाउँदैछु। म त्यो समयसँग फेरी ति पुराना रमाईला दिनहरु, बहस, सल्लाह र हौसलाहरु माँग्दैछु। बधाई कृष्ण दा।

Leave a Comment