मनोरम वस्ती

मनोरम वस्ती
-यो सुन्दर नाम कुनै स्थानको नभई एक जना मानिसको हो ।

पत्रिका प्रकाशनको संघारमै भए पनि हरेक अंकमा उसका केही न केही रचनाहरु आइ पुगेकै हुन्थे, खुब तारिफयोग्य, ओजपूर्ण र प्रभावशाली लेख्थ्यो उ । कति पाठकहरु के सम्म भन्थे भने, मनोरमले नलेख्ने हो भने तिमीहरुको पत्रिका नै चल्दैन ।

पत्रिकाका धेरै अंकहरु गैसकेका थिए । यो तेश्रो पटक हो उसको कुनै रचना आएको थिएन । आज अचानक मनोरम टुप्लुक्क झुल्किएपछी खुसि हुदै मैले सोधें
“के छ मनोरम ! लेउ के लेखेका छौ यसपाली ? ”

“के तिमीलाई भेट्न लेख नै लेख्न पर्ने हो र ? मैले केही लेखेर ल्याएको छैन कृष्ण …..!”
लामो सास तान्दै उसले भन्यो –
“एक हिसाबले भन्नु पर्दा मैले लेख्नै छाडी दिएँ भन्दा पनि हुन्छ ।”

म दुखि भएँ ।
“किन र मनोरम ?”
उ मेरो मात्र हैन धेरैको मनले खाएको लेखक । उसको लेखाइमा डुब्नुको आनन्द निकै पृथक र अर्थपूर्ण लाग्थ्यो । मेरो मौसमी लेखनको त उ प्रेरणा श्रोत जतिकै थियो ।सोही कुरा मैले उसलाई सुनाएँ ।

उ आलोचनासहित आएको थियो, एकै पटक आक्रामक प्रस्तुत भयो ।

” तिमी के लेख्छौ कृष्ण ? तिम्रो लेखन अमूर्ततातिर ढल्किदै गएको छ, जुन आख्यानमा पटक्कै सुहाउदैन जसलाई बोध गर्न पाठकले निधार खुम्च्याउनु परोस । काव्यले नै पहिरियोस – अमुर्त सौन्दर्यको गहना, आख्यानमा स्पष्ट बिषय विचार र धेय हुनुपर्छ ।प्रस्तुति जीवन्त हुनु पर्छ, कलात्मक हुनु पर्छ, बहाव हुनु पर्छ । कथा पढेर पाठक बगोस त्यो बहावमा ।”

मैले भने –
मनोरम,त्यो लेखाईको आ आफ्नो शैलीमात्र हो । फेरी म प्रयोगधर्मी पनि हुँ । प्रयोगले साहित्यलाई गति दिन्छ । प्रतिक्रियाको लागि धन्यवाद ।

उ थामिएन, उसले स्पष्टतामा अझ जोड दिदै भन्यो –
“मैले पछिल्लो कथा पढें तिम्रो ” पात्र भेटिएन ” भन्ने । यो कस्तो आख्यान हो ? तिमी कहिले पात्रै भेट्दैनौ , कहिले सबै पात्रको भूमिका आफै निभाउछौ ? पात्र चयन र चरीत्र निर्धारणमै अन्योल भएपछि आख्यानले कसरी गति लिन सक्छ ? भावना र बिचारको सम्प्रेषण कसरी हुन्छ ?

साहित्यप्रतिको प्रेमले यसो भनिरहेको छु कृष्ण! निश्चित भूमिकाका निश्चित पात्रहरु राख र कथा लेख । सिर्जनामा तिम्रो भावनाको बोधगम्य सम्प्रेषण हुनु पर्छ । पाठक केन्द्रित हुनुपर्छ। बजारमा नबिक्ने खालका छन तिम्रा रचनाहरु ।”

म भन्छु -मनोरम ! पात्रहरु आफै अनिश्चित छन यसबेला । बाहिर जे देखिन्छन, त्यो हुदैनन् । एउटाको नजरमा मुर्ख मानिस अर्कोको नजरमा देउता बराबर हुन्छ । पात्रका अनुहारहरु अनेकौं आवरणले ढाकिएका छन मनोरम । रुप र चरीत्र दुवै अस्पष्ट । मैले कसैलाई असल बनाएको पात्र नै पाठकको नजरमा खराब भैरहेको हुन्छ । यसर्थ मैले बिषय बदल्न खोजेको मात्र हो मनोरम, त्यस्ता बिषयहरु जसका बारेमा निर्धक्क आफ्नो बिचार बनाउन सकियोस ।

जस्तो कि म अहिले रातको कथा लेख्दैछु । शिर्षक नै “अँध्यारो” छ । जसका पात्रहरु भन्नु आकाश, चन्द्रमा, वादल र ताराहरु इत्यादि छन । यो प्रयोग हो, कसैले पढ्ला, नपढ़ला,नबुझला वा बुझ्ने चेष्टा र स्वीकार्ने हिम्मत नगर्ला तर त्यो भय ममा छैन मनोरम । के म त्यही भयलाइ अंगालेर एकादेशकै कथा लेखिरहूँ त ?

त्यसपछि भने एकछिन मौनता छायो । तर मेरो स्पष्टोक्तिले उसको चित्त भने अझै बुझेन ।
” किन भेटिदैन स्पष्ट चरित्रका पात्रहरु, ल मलाइ पात्र बनाउ र मेरो कथा लेख । म तिम्रो अगाडी उभिएको छु सग्लो, लेख मलाइ । ” उ आवेशमा आए जस्तो दाया हातको चोर औलाले आफ्नै छातितिर इशारा गरिरहेको थियो ।

“हैन मनोरम ! यसरी लेख्दा त कथा झनै मर्छ । त्यो अस्वाभाविक र कृतिम हुन्छ । कथा कसैले थाहै नपाइ लेखिनु पर्छ, कम्तिमा कथाको पात्रले । उसले थाहा पाउने बित्तिकै कथा बनावटी हुन्छ” । ठिकै छ कुनै समय त्यो पनि लेखुँला ।
अरु सुनाउ के के चल्दैछ ? भेटघाट नभएको धेरै भयो । किन लेखन छाड्यौ ?” मैले सोधें ।

मैले कहाँ लेख्न छाडेँ र कृष्ण ? म अझै लेख्छु तर पत्रिकामा हैन । कतिले पढ्छन तिम्रो पत्रिका ? एउटा सिमित पाठक, कतिले पढ्छन ब्लग ? कतिले चलाउछन फेसबुक ? त्यसबाहिरको संसारको बारेमा कल्पना गरेका छौ ? त्यो विशाल छ अपार छ । हो म त्यहीं लेख्छु ती मान्छेहरुलाई सुनाउछु ।

मनोरमको कुरा एकदम अस्वाभाविक लागिरहेको थियो । उ भन्दै गयो –

मैले मान्छे हिड्ने बाटोमा लेख्न थालेको छु । नदी नाला, खोलाका ढुंगाहरु र बगरमा लेख्छु म । हरियो चौरमा लेख्छु, मन्दीर पाटी पौवा, धारो पधेरोमा लेख्छु । जीवनको गीत सुनाउछु, मेरा भावनाहरु अभिव्यक्त गर्न मलाइ कापी र कलम पनि चाहिदैन , शव्दहरु बाटै अभिव्यक्त हुनु पर्छ पनि भन्दिन म । म सूर्यको जिउबाट उज्यालो पोखिए जस्तै अनुभव गर्न थालेको छु, म आँखा बाट पोखिन्छु, हाँसो वा अनुहारका भाव /भंगीमाबाट पोखिन्छु । कतिपटक मैले मेरा आवाजहरुलाई अग्ला पहाड र समथर तराइहरुमा सुनाएको छु, हरिया जंगल होस् या मरुभूमिको उष्णता …. ! कुनै विधा बिषय र सिमा चाहिदैन म लेखिन, म आफै अभिव्यक्ति भएको छु – अभिव्यक्त हुन्छु, बस !

लेखन शैलीको बिषयमा भर्खर उसले म संग राखेको तर्कसंग आफै विरोधाभास हुने गरी उ अमुर्त बोलिरहेको थियो । मनोरमको कुरा र अभिव्यक्तिको उन्मुक्त स्वरुपले मलाइ डर लाग्न थाल्यो, कस्तो अनौठो र अस्वाभाविक कुरा गर्दैछ उ ? यस्तो त पहिले कहिले पनि थिएन ।

कि उसको बिचार मेरो चेतनाको स्तर भन्दा नै माथि उचालिएर कतै उ दार्शनिक्ताको बाटो त हिडिरहेको छैन ? या त उसप्रतिको मेरो सम्मान र दृष्टिकोण केवल भ्रम साबित गर्दै अचानक उ कुनै कारणले विक्षिप्त भयो ?

उ गए पछि मनमा एकपछि अनेक सवालहरु खेलिरहे । उसले के भन्न खोजेको थियो ? उसको ज्ञान र चेतनाको फैलावट मैले महसुस गर्न नसकेको कि उसले मलाइ बुझाउन नसकेको ? पहिले त यस्तो रहस्यमय कहिले थिएन मनोरम एकदम सामान्य थियो । विल्कुल अरु लेखक जस्तै ।

अचानक टिभीमा प्रसारित एउटा सुचनाले मेरो सोचाईको आकाश भरि मडारिएका वादलहरु सबै एकैसाथ भुइमा झरे ।

मानिस हराएको सुचना
नाम -मनोरम वस्ती
हुलिया -….. अरु अगाडी एक शव्द पनि सुन्नु परेन, तस्विर उसैको थियो हाँसिरहेको ।

त्यसपछि म दुखि हुदै एउटा कथा लेख्न बसेँ, जसको शिर्षक राखें – “मनोरम वस्ती” ।

5 Comments

  • Yes of course, Deepak jee, Anyone from any field and professions can write and be an author. But Im not with the profession that you mentioned above. Thank you for your comment.

  • शब्दहरु सँग खेल्न त कृष्ण जी माहिर नै हो !दोहोरो अर्थ लाग्ने कथाको शिर्षक झनै राम्रो लाग्यो । धन्यवाद "कृष्णपक्ष" !!

  • शब्दसगँको खेलाई त गजबकै छ। म तिम्रो अगाडी उभिएको छु सग्लो लेख मलाई.. जस्ता शब्द संजालले नौलो संसारको अनुभुती दियो। म नियमित पढिरहेको छु कृष्णजीका लेख कथाहरु। तर आज केही नलेखिकन मनले नै मानेन है…

Leave a Comment