इसरत

धेरै दिनपछि कथावाचनको अडियो सहित ब्लगमा उपस्थित भाको छु । मेरो अर्को कथा ‘इसरत’लाई रेडियो राजधानीको साहित्यिक कार्यक्रम स्पन्दनमा संचालिका इक्षाजीले मिठा मिठा हिन्दी गीतहरु सहित सुमधुर स्वरमा प्रस्तुत गर्नु भएको छ । तपाईं पनि सुन्नुहोस ।

इसरत र अरु केटीहरुमा खासै फरक थिएन । किशोरावस्थामा हुने सबैखाले स्वाभाविक अनुराग, चंचलता या नारीसुलभ लज्जा, उसमा पनि उस्तै विद्यमान थिए, जसरी अरु युवतीहरुमा हुने गर्छन, तर जातले उ इस्लाम परिवारकी सदस्य थिई ।

त्यसबेला भर्खर राजधानी प्रवेश गरेको थिएँ, अलि अलि काठमान्डूको हावाले छुन थालेको थियो र त्यो स्वाभाविक थियो । क्रमश: अनेक बहानामा क्याम्पसका कक्षाहरु ‘मिस’ हुन् थाले , त्यहाँ हुने बन्द, राजनीति या यस्तै अन्य कारणहरुले पढाइ नै हुदैन भन्ने मानसिकता हामीमा विकसित हुदै गयो । त्यसैले प्राक्टिकल सकिने बित्तिकै सुइकुच्चा ठोकिन्थ्यो, हाम्रो पर्खाइमा बागबजार तिर छपक्कै ट्युसन सेन्टर खुलेका हुन्थे ।

साँझपख फिजिक्स, केमेस्ट्री लगायत सबै मुख्य बिषयहरुमा ट्युसन पढ्न थालेको थिएँ, त्यही बेला धारामा पानी आउथ्यो र डेरामा बस्नेहरु पालैपालो पानी भर्थे । कहिले त कोठामा फर्कंदा पानी बन्द भै सकेको हुन्थ्यो र भाँडाहरु रित्तै हुन्थे ।

मेरो डेराको सामुन्नेमा इसरत र उसको परिवार बस्थे । उ नेपाली राम्रो संग बोल्थी, उसका बा-आमाको नेपालीमा चाहिँ हिन्दी मिसिएको हुन्थ्यो । बर्षौं अगाडी कुनै भारतीय व्यापारीको उद्योगमा कामदारको रुपमा आएको हुनुपर्थ्यो उसको परिवार । उनीहरुसँग परिचय बढेपछि भने मलाइ पानी भर्ने देखि अन्य धेरै कुरामा सहयोग हुन थालेको थियो ।

इसरतलाइ मेहन्दीको खुब शौख थियो, सधैंजसो उसका औंला र हातहरुमा हेर्थें, जहाँ अनेक आकृतिका लता र पुष्पहरु कुँदिएका हुन्थे जुन कुनै कलाकारको सुन्दर चित्रकारिता भन्दा कम हुदैनथ्यो । बिदामा उ घाम तापेर आमा संगै मिथिला चित्र पनि बनाउथी ।

एकदिन उ दौडेर मेरो कोठामा आई – ‘तिमीलाई आज ममीले हाम्रोमा खान बोलाउनु भएको छ, आउ रे … ।’ भर्खर उनीहरुको एक महिना लामो रमजानको व्रत सकिएको थियो । उनीहरुले ‘ईद’ मनाउन डेरामा बस्ने अरुलाई पनि निम्ता गरेका थिए ।

चाडपर्व र खुसि बाड्ने अवसरहरुमा आफन्तहरुबाट टाढा भएको बेला यस्तै यस्तै चिनजान र परिचयहरुबाट मन बुझाउछ मान्छे । यही सोचेर मन नहुदानहुदै पनि उनीहरुको ‘इद’को खुसिमा सरिक भएँ म । त्यसपछि त म एउटै परिवारको सदस्य जस्तो भएँ ।

म साँझ घर फर्किंदा उ ढोकाको सिढीमै बसिरहेकी हुन्थी र आखा जुधेपछि स्वाभाविक मुस्कुराउथी । निकै सुन्दर लाग्थ्यो उसको मुस्कान । हरेक पटक आँखा जुध्दा उसको ओठमा पोखिने आधा मुस्कानको म ‘फ्यान’ हुन थालेको थिएँ।

गणितका समस्याहरु लिएर होस् या मिठो मसिनो खानेकुरा बाड्न .. इसरतलाई मेरोमा आउन जान कुनै रोकतोक थिएन ।

एकदिन मैले यतिकै सोधें – ‘तिमीहरु किन यति कट्टर हुन्छौ इसरत ?’
उसले भनी ‘त्यो हामीलाई हेर्ने आँखा मात्र हो । हाम्रो धर्मलाई कसैले छुँदा धार्मिक अतिवादीहरुले गर्ने प्रतिक्रियालाइ आधार मानेर आम इस्लाममाथि गरिने भ्रामक विश्लेषण हो यो । यस्तो कर्मले सिंगो इस्लाम जातिको प्रतिनिधित्व पटक्कै गर्दैन ।’ हिन्दु र मुस्लिम युवायुवतीबीच भएको प्रेमलाई लिएर समुदाय नै झडपमा उत्रिएका समाचारहरु धेरै थिए,

त्यसो गर्नु त महापाप होला हैन ?’ मैले हास्दै सोधें । “हामीलाई छुन त कसैको आँट पनि हुनु पर्यो नि! ” उसले आँखा झिम्क्याई र अलप भई ।

जाडो यामको कुनै एक दिन । बाहिर साँझ ढल्न लागेको हुँदो हो , जाडो बढेकोले कोठामै सिरकभित्र आफुलाई लुकाएर म संगीत सुनिरहेको थिएँ । इसरत कुनबेला भित्र आई मैले पत्तै पाइन ।

उसको हातमा एउटा डायरी थियो, मलाइ थमाउदै उसले भनी, गज़ल लेख्न सिक्दैछु, पुरा गरिदिने हो ? यति भनेर उ फेरी त्यसरी नै आधा मुस्काई, उसको मुस्कान कुनै शृङ्गारिक गज़लको एक लहर शेरझैँ सुन्दर देखिएका थिए ।

“ए तिमी गज़ल पनि लेख्छौ ?” मैले डायरी पल्टाएँ, एउटा गज़लको मत्लामात्र थियो त्यहाँ,

छाती भित्र कहाँ हुन्छ, कस्ले देख्न सक्छ माया
परम्परा जात धर्म, के ले छेक्न सक्छ माया ?

म पाना पल्टाउदै गएँ, कविता र मुक्तकजस्ता अरु केही टुक्राहरू पनि थिए । साथै प्रत्येक पानाको शिरानमा बायापट्टि उसले मेरो नाम लेखेकी थिई । त्यसको अगाडी लेखिएको थियो – मेरो प्यारो ………….. ।

मैले सोधें – इसरत यो सब के हो ? उसले कुनै संकोच नमानी उत्तर दिई – ‘त्यही, जे तिमी देख्दैछौ ।’

के गरेको इसरत तिमीले यो, तिम्रा बा आमा र अरुले थाहा पाए भने ? त्यसभन्दा पनि म त अध्ययनका लागि आएको यो शहरमा । परिक्षामा राम्रो अंक ल्याएर एम बीबीएस भिड्नु थियो मैले । मेरो सपनाको पहिलो तगारो उभिएझैं देखें इसरतलाई । अनेक भावहरुले एकैपटक घेर्न थालेपछि मैले उसलाई हकारेँ – यो पढ्ने समय हो मेरो र तिम्रोपनि, जाउ ।

उसले बचाउ गरी – “कृष्ण त मेरो भगवानको नाम हो, कुनै जाति र धर्म भन्दा पनि मैले प्रेमको भगवानको रुपमा स्वीकार गरेकी छु उनलाई । उनको नाम म दिनरात जपुँ या कापीभरि लेखुँ, तिमीलाई कुनै टेन्सन ? ”

“अनि मलाइ देखाउनुको मतलब ? ”
“यति हेर्दैमा तिम्रो के बिग्रियो त ? केही दिन अघि देखि यो गज़ल तिमीलाई देखाउन चाहेको थिएँ, मन भए पुरा गर्नु.. नभए पर्दैन ।” यति भनेर उ बाहिरिई ।

त्यसपछिका दिनहरु सामान्य भए । न त उसले कुनै आग्रह्भावको गज़ल लेखी न डिस्टर्ब नै गर्न आई । न मैले उसको गज़ल नै पुरा गरिदिएँ ? आउँदा जाँदा भने सधै उसले मलाइ उस्तै सुन्दर आधा मुस्कानले स्वागत गरिरहन्थी । उसलाई नदेखेको दिन म आफूलाइ पनि अधुरो अधुरो महसुस हुन थालेको थियो ।

अन्तिम पटक छुट्टीमा गाउँबाट काठमाडौँ फर्कदा उनीहरु त्यहाँ थिएनन, कुनै कारणले अन्तै डेरा सरेका थिए । त्यसपछि इसरतलाई कतै भेटिएन, भेट्नु पर्ने कुनै कारण पनि थिएन ।

थाहा थिएन किन, तैपनि मलाइ मनमा भने लागिरहन्थ्यो – हिड्दा हिड्दै शहरको कुनै भीडमा या जीवनको कुनै मोडमा पुगेपछि म उसलाई भेट्छु होला – एकै छिनको लागि सही, तर पक्कै भेट्नेछु ।

अहँ, त्यो दिन कहिले आएन ।

यद्यपि जब जब म कुनै गज़लका शेरहरु बुन्न थाल्छु, इसरतको आधा मुस्कान सधै मेरो आँखा अगाडी हासिरहेको हुन्छ ।

1 Comment

  • कृष्ण जी हजुरको कथा खुब मन पर्छ तेस्मा पनि संगीत सगको कथा सुन्नने अवसर दिनु भएको मा धन्यबाद अतिनै मन छोयो संगीतले त कथामा सुनमा सुगन्ध थापियाको छ प्रयास जारि राख्नु होला .

Leave a Comment