मित्रताको आयु र गौरीपुर हाउस

नोवल्टी सिनेमा घरमा ‘ LOC कार्गील’ लागेको थियो । कार्गीलमा पाकिस्तानी सैनिकहरूसँग भएको सीमा संघर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरू र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरू पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले खुब चर्चा पाएको थियो, यद्यपि ती सबै भारतीय स्वाभिमानसँग जोडिएर प्रस्तुत गरिएका थिए । हाम्रा जातीय स्वाभिमानका प्रश्नहरू त केवल मेचीपारिका नेपाली छातीभित्र र तिनले कोर्ने साहित्यमा मात्र सीमित थियो ।

घाम धेरै माथि आइसकेको थियो, सबेरै कालिम्पोंगका साँघुरा बजारमा उभिएका सटरहरूले आँखा खोलिसकेका थिए । बिहानै चिन्मयको पसलमा एउटा गीत सुनियो –

बस इतना याद रहे एक साथी और भी था ~~~

———————-
हिजो साँझ अबेरसम्म खुब रमाइलो गरियो, रेली खोलाको किनारमा । केही समयदेखि दिनदिनै पिकनिक चल्न थालेको थियो हाम्रो । ७/८ जना भेला भयो, गाडी रिजर्भ गर्यो एकतिर कुद्यो । बिहानसम्म ह्याङगओभरले छाडेको थिएन, आज अर्को दिन शुरु भैसकेको थियो, कहाँ जाने र के गर्ने? प्लान तय भएको थिएन ।

यस्तो प्रतित हुन्थ्यो, यो वस्ति मेरो गाउँ हो, यतिखेर म मेरो आफ्नै नेपालको कुनै सुन्दर पहाडमा छु, डाडापाखामा छु र आफ्नै घरमा छु ।

प्रमुख योजनाकार बिहानदेखि देखिएन, मैले सोधें, आज ‘कविन’ खै त? आज भने ऊ एउटा काममा व्यस्त हुने भयो । हाम्रो योजनाहरूको सुत्रधार हुन्थ्यो कविन । ल यसो गरुँ भनेपछि तुरुन्त चाजोपाजो मिलाई हाल्थ्यो । आधा कालेम्पोंग बस्थ्यो आधा काठमान्डू । “बोर” लागेको भए सिनेमा हेर्न जाम न त ?सँगै उभिएको समीरले भन्यो ।

delo durpin dada

बोर त एक महिना अघि काठमान्डू छँदा लागेको थियो मलाई । त्यो भीडभाड र उच्चाटलाग्दो दैनिकीबाट फुर्सद निकालेर कतै पर जाउँ, लामो समय बिदा मनाउन निस्कुँ ।

जब हृदयका स्पन्दनहरूमा नेपाल र नेपालीपन बोकेर बाँचिरहेका साथीहरू भेटिन्छन, असमान सुगौली सन्धि र नेपालको इतिहास फेरि एकपटक बेस्सरी दुखे जस्तो लाग्छ ।

भारतको पश्चिम बंगालस्थित दार्जीलिंग जिल्लाको कालिम्पोंगमा थिएँ म, नेपाल बाहिरको नेपाल । जीवन यात्राको सिलसिलामा कहीं कतै भेटिएर घनिष्ट हुन पुगेका यी तिनै साथीहरू थिए, जसलाई काठमान्डूका गल्ली गल्ली घुमाएको थिएँ मैले । स्वयम्भुमाथि चढेर उपत्यका नियाल्दा होस् या साँझ परेपछि ठमेलका गल्लीहरू चक्कर लगाउदा, हामी त्यसताका सधैसँगै डुल्ने साथीहरू थियौं । नगरकोट देखि थानकोट वा दामन्सम्म धेरै घुमघाम, भेटघाट र पिकनिकको आयोजना गरेको थिएँ मैले त्यो ग्याङसँग । आज पैचो फर्काउदै त्यही ग्याङ मसँग कालिम्पोंग घुमिरहेको थियो ।

पहाडमा उभिएको, फुलैफूलले सजिएझैँ यो बस्ती, बजार र सबै आफ्नै जस्ता लाग्ने नेपालीभाषी नेपाली अनुहारहरू । यस्तो प्रतित हुन्थ्यो, यो वस्ति मेरो गाउँ हो, यतिखेर म मेरो आफ्नै नेपालको कुनै सुन्दर पहाडमा छु, डाडापाखामा छु र आफ्नै घरमा छु ।

‘प्रेम, मनमा हुन्छ कि मन्दिरमा हुन्छ ?’

बजारको टाउको जस्तो बनेर बसेको दुर्पिनडाडा माथि उक्लनु, टिष्टा रंजित फाँटहरू नियाल्नु वा उत्तर पश्चिम क्षितिजतिर फैलिएको मनोरम कन्चंजन्घाको लहर हेरेर घन्टौं रोमान्चित हुनु र कुनै कविता कोर्नु, कालेम्पोंग सम्झनाका झल्याक झुलुकहरू हुन् यी । स्मृतिको त्यस खण्डमा विशेष गरी धर्म र शान्तिका मन्त्रहरू गुन्जिरहने पुराना बौद्ध गुम्बाहरूको संगीत पनि मिसिन आइपुग्छन ।

…..
मुभी हेर्न जाने मुड भएन, त्यसै पनि अरुको स्वाधिनतामा हस्तक्षेप गर्ने देशको राष्ट्रवादी फिल्म । जब ठाउँ ठाउँ देशका सीमाहरू मिचिएको खबर फैलन्छ /नेपाली भूभाग खोसिएका, ताछिएका समाचारहरू बारम्बार सुनिन्छ,अँझ वितृष्णा बढेर आउछ यो देश प्रति । अनि जब हृदयका स्पन्दनहरूमा नेपाल र नेपालीपन बोकेर बाँचिरहेका साथीहरू भेटिन्छन, असमान सुगौली सन्धि र नेपालको इतिहास फेरि एकपटक बेस्सरी दुखे जस्तो लाग्छ ।

……

जोस्फिन राइ, पश्चिमाजस्तो लाग्ने नाम । उसंगको मेरो एउटा रमाइलो घटना म विशेषगरी सम्झन्छु ।
“कृष्ण तिमी कसैलाई प्रेम गर्छौ ?’
एकदिन धोबिघाटको एजम्पसन चर्च बाहिर उनले प्रश्न गरिन् ।
मैले भने, ‘पहिले आफूलाई र त्यसपछि भगवानलाई ‘ – त्यसबाहेक कुनै आइमाई मानिस नि ?’ उनले भनिन् ।
‘अहँ ‘ मैले जवाफ फर्काएँ । फेरि सोधिन – ‘कल्पना त गरेका होलाउ नि ? ‘
मैले भनेको थिएँ, ‘कल्पनामा त कोही मान्छे थियो, तर उनको विवाह अन्तै भैसकेको छ ।’
त्यसपछि एउटा प्रश्न गरेर उनले लामो प्रवचन दिइन, त्यो म सधैं सम्झन्छु – प्रश्न चाहि यस्तो थियो

‘प्रेम, मनमा हुन्छ कि मन्दिरमा हुन्छ ?’
………………..

यतिखेर ऋषि रोडको पिज्जा हटमा उनै जोश्फिन हामीसँग थिइन। हाम्रो कुराकानी हुदै गर्दा ललिता, पुष्पा र बुद्ध पनि आए ।
‘यो जनवरी भरि तिमी यतै बस्छौ नि ?’ जोश्फिनले मलाई प्रश्न गरिन ।
‘जनवरी मात्र हैन, फेब्रुअरीको दोष्रो हप्ता पनि ऊ कतै जादैन, के छ तेरो विचार ? ‘ मैले बोल्नुपूर्व समिर आफैले थपिदियो ।
”म पनि त छु, के तिमीले मलाई चाहि मान्छे नदेखेको ? ‘ पुष्पा जिस्किई ।

दुर्पिन डाडा जाने बाटोमा थियो पुष्पाको घर, ‘आज सबै उतै जाने’, प्रस्ताव पारित र निर्णय एकैसाथ भयो ।

अलिकति उकालो लागेपछि गौरीपुर हाउस आउथ्यो । प्रसिद्ध नोबेल पुरस्कार विजेता, भारतीय विख्यात साहित्यकार रविन्द्रनाथ ठाकुरको कालिम्पोंगस्थित घर। शायद उनी यस शान्त भेगमा भ्रमण गर्न, यहाँको मनोरम प्राकृतिक सौन्दर्य नियाल्न धेरै पटक पहिलेदेखि नै आएका थिए र बुढेसकाल व्यतित गर्न यो घर बनाएका थिए । उनले यहाँको शितल हावाले स्फूर्ति भरेर कति मिठा कविताहरू पनि कोरे होलान । ७७ औं जन्मदिवसमा उनले यसै घरबाट ‘जन्मदिन’ शिर्षकको कविता अल इन्डिया रेडियोमा प्रत्यक्ष प्रसारण गरेर मनाएका पनि थिए ।

Gauripur house

गौरी हाउसनेर पुगेपछि हाम्रो बहसले शिर्षक पायो – प्रेम र मित्रता ।
जोस्फिनले यसै विषयमा एउटा सानो र रमाइलो दृष्टान्त पनि सुनाइन,

‘आफूसँगै आइरहेको मित्रतालाई देखेर प्रेमले सोधेछ – मेरो पछि पछि तिमी किन आइरहेका छौ ? मित्रताले भन्यो- प्रेम, तिम्रो भर छैन, तिमीले त धोका दिन सक्छौ, आसु र घात पनि दिन सक्छौ, हो त्यो बेला तिमीले छाडेर गएका आसुहरू पुछ्न म त्यहाँ हुनेछु ।’

तर हामी मध्ये कसैलाई थाहा थिएन, प्रेमले छाडेका आसुहरू पुछ्ने मित्रताका ती हातहरू कतिञ्जेलसम्म हामीसँग रहन्छन । मित्रताको साथ रहने अवधि, हद या सीमाना कतिसम्म हो ? यो प्रश्नको उत्तर कसैसँग थिएन – “मित्रताको आयु कति हुन्छ ? ”

म साहित्यमा रुची राख्छु उनीहरूलाई थाहा छ, भारतीय नेपालीको नाताले नेपाली साहित्यमा उनीहरूको पनि झुकाव छ । गोर्खाल्यान्डको परिकल्पनामा यहाँको राजनीतिवृत्त आजपर्यन्त संघर्षरत छ । पश्चिम बङ्गाल राज्यको यो दार्जिलिंग कालिम्पोंग क्षेत्र उन्नाइसौं शताव्दीपूर्व क्रमश भुटान र नेपालको अधिनमा रहँदै आएको थियो । यसर्थ पनि उनीहरूको साहित्यमा प्रवासी पीडाहरू प्रशस्त लेखिएका छन ।

“धेरै दिन भो, खै त यार, तिमीले केही लेखेका छैनौ आजकल ? कथा कविता लेखी बस्थ्यौ त ?”
“अहँ मैले प्रेम दिवसलाई साँचेको.. त्यही दिन सुनाउँला ।” अब ठट्टा गर्ने पालो मेरो थियो ।

हो, मैले केही लेखेको थिइनँ, त्यतिकै मन चंचल भैरहेको हुन्थ्यो । लेखनीका ड्राफ्टहरू या मनमा सलबलाएका भावनाहरू साँझको मादकतासँगै घुलेर जान्थे । त्यस दिन भने फर्केपछि मैले डायरीमा एउटा कविता लेख्न बसें – ‘मित्रताको आयु’ । तर त्यो कविता पुरा भने भएन ।

त्यसको केही दिन पछि कविन र म सिक्किमतिर लाग्यौं ।

आज मुश्किलले एक दशक पनि भएको छैन, जिन्दगी बगेर धेरै पर आइपुगी सक्यो जस्तो लाग्छ । समयक्रमसँगै हामीले थाहा पायौं, नदीको बहावजस्तै यो एउटा स्वाभाव रहेछ जीवन यात्राको। असंख्य नयाँ परिचय थपिदै गयो ।साथीहरू कति भेटिए, कति छुटिए …… तर मित्रताको त्यो आयु?

मित्रताको आयु कति लामो हुन्छ ? यसको उत्तर त मसँग आज पनि छैन । तर सम्झनाको उमेर भने जुनी जुनीसम्म हुँदो रहेछ, समयले मलाई यस्तै सिकाएको छ।

मनको किताब फिजाएर आज विगतका पानाहरू पल्टाउन बसेको छु म ..यतिबेला भन्न मन लागेको छ – ए सम्झना ! मेरो उमेर लिएर तिमी हजार वर्ष बाँच ।

कृष्णपक्ष, इजरायल

3 Comments

  • कृष्णजी स्मरण पढेर धेरै भावुक भएँ । सत्य हो मित्रताको आयु जति सुकै लामो भए पनि सम्झना त जुनीजुनी सम्म रहन्छ ।

  • दशक अघी आफुले हिंडेको गोरेटोमा आफ्नै निजी शैलीमा हामीलाई पनि फर्काउनु भयो , साह्रै मज्जा लाग्यो!
    मित्रताको आयु भौतिक दुरीमा सायद छोटै हुन्छ क्यारे तर सम्झनामा भने यसरी नै रहिरहन्छ कृष्णपक्ष जी ।

  • मेरो ब्लग पढ्न आउनु हुने र प्रतिक्रिया समेत दिनु हुने सबै मित्र हरुलाई हार्दिक धन्यवाद छ ।

Leave a Comment