कुहिरोले धुम्म भोट
सिरेटो र सिमसिम पानी
फुस फुस हिउँ बनेर खसिरहेछ
घरको सम्झना
आँखाको गहिरो गहिरो आकाशमा
र पग्लिरहेछ्न तप तप
यो झरी हो कि आँसु हो
बिरानो देशमा मदनहरू रुझिरहेछन ।

ल्हासाको सुन जस्तै
मुनाका उज्याला छायाहरू बोकेर
मायाका एक लहर श्वेत शिरिषहरू
छपक्कै फुलिदिन्छन
फिक्का फिक्का
लुक्याङ तलाउको रंग जस्तो
मनको आगनभरि ।

बाहिर तासिलिङ्गा उपवन
हावामा तैरिरहेछ ।

साग र सिस्नु कति खानु ?
लक्ष्मी! तिम्रो कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरू टाल्न
मदनहरू खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरू ।

ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लाला बालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरू?

पखेटा लागेका पंक्षीले
चटक्कै गुंड छाडेझैं
खरको छानो उस्तै चुहिदो छ ।

एकसरो राम्रो लगाउनु
एक मुठी मिठो खानु
ऋणको पोको तिरेर फुक्की हुनु
वा सके धारो र पाटी पनि बनाउनु
कुन ठुलो इरादा छ उसको ?

न पोतालाको सुनको छानो ताक्छ ऊ
न इन्द्रको आसन नै आँक्छ ऊ

आमाका आँखाहरूमा
वा मुनाका ओठहरूमा
झिना मुस्कानहरू किन्ने
यस्तै यस्तै सपनाहरूको निष्ठुरी बर्खा
तर उसको सिरानीमा
हरेक रात पोखिइरहेको हुन्छ ।

लक्ष्मी! तिम्रो सानो नेपालमा
हरेक दिन उर्लन्छन
जुलुसका बाढीहरू र बगाउछ्न
नयाँ नेपालको सप्पै खाका रचना

यो अराजक भीड
जहाँ शामिल हुन्छन
मुकुण्डो भिरेका आधुनिक बुद्धहरू
र नाघ्छ्न हिँसा र बर्बरताको पराकाष्टा
र ढाकिन्छ
अशान्ति र अव्यवस्थाको अँध्यारो
देशै भरि

कालो काग भएर
घरको नमिठो अखबार
आएर थपक्क बस्छ
अभागी चेतनाका हाँगाहरूमा
र ठुंग्न थाल्छ – मदनका मथिंगलहरू
जो मानेको चक्र जस्तै घुमिरहेछ ।

यो छुजिक्याङ बगैचा
युतोक स्याँपा र घाँसका सुन्दर गलैचा
अनि सुनको सुनौला सपनाहरू
सप्पै थाति राखेर
मदन, त्यो बासी घर
यतिखेर फर्कन्न भन्छ ।

जहाँ ओइलाएका छन
हासो र खुसीका फूलहरू
र ढुसी परेका छन
जीवनका संकेतहरू
ऊ किन यस्तो सोच्छ?
पलायनको एउटा बैरागी तगारो
उसको बाटो छेकिरहेछ ।

घरको मायापनि
के विहानको हुस्सु जस्तै हुन्छ?
घाम फैलिदै आएपछि
लुसुक्क अलप हुने
मनका पाखाहरूबाट

चुहिए पनि, फाटे पनि
अँध्यारैले ढाके पनि
घर त आफ्नै घर हो
ए कोही भनिदेऊ न उसलाई
आमा साह्रै बिरामी छिन ।

“भैसीहरू हिलो खेलिरहेथे –
रात रातभरि राजनीतिका,
यस्तो सपना कसरी शुभ हुन्छ?
कतै फैलिन्छ कि महामारी
लघार्छ कि जम्मै गाउँ
चाहिएन सुन बरु बुच्चै बसुँला”।

मुनाले नजाती सपना देखिन …
कति बस्छौ कुरेर मदन,
कुहिरोले धुम्म भोट?

यो कहाली लाग्दो बर्खा
आँधीबेहरी जस्ता दिनहरू
चुहिने छानो
भत्किएको पाखो
देउसी खेल्न यसपालिको तिहार,
के तिमी आउदैनौ मदन?

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.