सुनसान छ चौतारो, पँधेरो र गाउँसम्म जाने गोरेटो । लाहुरे छोरा फर्कने प्रतिक्षामा छ त्यो झुपडी त्यो आँगन र बाआमाका रसिला आँखाहरु … तर छोराहरु कतै हराएका छन । किन हराएका छन ?

ती रुखा ताता बालुवामा उँट र भेडाका गोठाला भएका छन, ती रुखा मरुभूमि भएका छन। ती उदास मन भएका व्यस्त शहर भएका छन । ती बाँडिएका छन कतै जुलुस भएर कतै आन्दोलन भएर । ती कतै पसिना बनेर पोखिएका छन या कतै भएका छन राता बाकसका उपहारहरु …

यद्यपी प्रिय छोराहरु ! सधै-सधैं छ र रहिरहनेछ – तिम्रो प्रतीक्षा ।

——————————–

शहरमा छोराहरु हराउनुको कारण छ
नयाँ मान्छे देख्दा गाउँ, डराउनुको कारण छ

भो नसोध किन देशमा, घटदैछन युवाहरु ?
अरबमा उँट भेडा चराउनुको कारण छ

पक्कै केही कारण छ, हाम्रो देश नबन्नुमा
सधैँ बिरोध भाँडभैलो गराउनुको कारण छ

संविधान बनेकोमा खुसी छैन कोही कोही
देश भाँड्न मतियार अह्राउनुको कारण छ

फर्किएनन चुनावपछि सर्वाहारा भन्नेहरु
तिनले पनि दर्बारै मन पराउनुको कारण छ

शहरमा उसको महल त्यसै छैन उभिएको
भ्रष्ट तस्कर मिलि पैँचो भराउनुको कारण छ

भक्ते, माने, वीरबहादुर हरु ज्युँदै मरेका छन
गल्ली गल्ली बहुलाकाजी, कराउनुको कारण छ

कृष्णपक्ष
धादिङ, हाल इजरायल

Leave a Comment