मन थियो त

मौसमले शरदको उच्छ्वास फेरि बोकेर ल्याएको थियो । निधारमा सेप्टेम्बर लेखिएको अर्को पातो पल्टिईसकेको थियो र खुइलिन पनि थालिसकेको थियो । घुमेर कहिले नथाक्ने समय त्यहिँ थियो । तर पन्छिले छाडेपछि गुँड रित्तो भए झैं दशैं, तिहार, देउसी भैली र घरदेश सम्झनाका मिठा रहरहरुले छाडेको एउटा जीर्ण छातीमात्र मेरो दैनिकीमा मसंग बाँचिरहेको थियो ।

सम्झाउने र बुझाउने अनेकौं बहानाहरु थिए – व्यस्त थिएँ / समय थिएन । समय त त्यहिँ थियो उस्तै, घुमिरहेको सधैंझैं । समय हैन मैले आकाशझैं ठानेको मेरो छातीभित्र मनै पो थिएन । उ त्यो फुत्केर पर भागेको थियो, भागि रहन्थ्यो । कुनै कागजको चंगा, जो तन्कंदा तन्कंदै लट्टाईबाट धागो काटिएर उडिरहेको होस् आकाशमा वा त्यो कागजको डुंगा, जो खेल्दा खेल्दै बालकको हातबाट फुत्किएर बगिरहेको होस् किनार खोज्दै कुनै अथाह समुन्द्रमा ।

इजरायलको पूर्वी जेरुसेलम, जैतुनको पहाड – गत महिनाभर त्यहाँ रहंदा होस् या त्यसै गरि तेल अभिभको व्यस्त शहरमा हप्तौं भौतारिदा होस् यद्यपि कहिले प्रष्ट भईन किन मन म बाट फुत्किएर भागिरहेको थियो ? त्यो मन आफ्नो अधिकारको वस्तु झैं ठान्ने कृष्णपक्ष – त्यो हराएको आभाषले यतिखेर किन आफै बेचैन थियो ?

मन थियो त

मन थियो त
पक्कै हास्ने थियौ
एउटा कलिलो घाम
घुर्की लगाएर, कतै लुकेर रातभर
फेरी बिहान फर्किएझैं
एउटा उज्यालो मुस्कान ।

यो शरद,
यो उच्छ्वास, यो रहर
म तिम्रै बाटो हेरिरहेछु ।

सपना डढेर धुँवा भएझैँ
रंग खुइलिदै गएका समयका बादलहरु
मेरो प्रतिक्षाको आकाशमा
र पोखिईएका छन, झरी बनेर
मेरो आँखाको बलेसीमा

कुनै अनौठो रहरजस्तो त्यो धमिलो क्षितिज
म हेर्दाहेर्दै थाकिसकेको छु ।

मन थियो त,
पक्कै लेख्ने थियौ एउटा पत्र
वा एउटा मिठो कविता
हरफ हरफमा मायाको रंग भरेर
र राखिदिने थियौ आएर सुटुक्क
मेरो सिरानको छेवैमा

या चुपचाप टासिदिने थियौ
मेरो सम्झनाको फेसबुकमा ।

फुर्सद नभएको किन हुन्थ्यो ?
म ठोकुवा गरेर भन्छु
तिम्रो त मनै नभएको हो
खै त्यो छाती देखाउ त ?
त्यो कठोर, त्यो रित्तो, त्यो खालिखालि खण्डहरभित्र
भन कहाँनेर छ मन ?
भन कहाँनेर छ माया ??

6 Comments

  • कृष्ण जी मैले त …यत्रो लामो समय कता हराउनु भो भनेर सोध्न नी सकिन …यति मज्जाले खुलाउनु भएको रहेछ कारणहरु 'भूमिका'मा "सम्झाउने र बुझाउने अनेकौं बहानाहरु थिए – व्यस्त थिएँ / समय थिएन ।"
    उस्तै हो
    मन थियो त
    झुल्किदै गर्नु हुन्थो

    मन थियो त
    पक्कै लेख्नु हुन्थ्यो !
    उनलाई मात्र
    गुनासो नपोख्नुस !
    आफ्नो पनि पालो आउछ
    हैन र ?
    मन थियो त
    सबै थोक हुन्थ्यो !

  • फुर्सद नभएको किन हुन्थ्यो ?
    म ठोकुवा गरेर भन्छु
    तिम्रो त मनै नभएको हो
    खै त्यो छाती देखाउ त ?
    त्यो कठोर, त्यो रित्तो, त्यो खालि खालि खण्डहरभित्र
    भन कहाँनेर छ मन ?
    भन कहाँनेर छ माया ??

    क्या मज्जाले लेख्नु भएको !,प्रश्न र जवाफ पनि दुबै आफैँ दिएर । दमदार कविता !!

  • व्यस्तताले लिएर राखेको अनुपस्थिति माफ ! यति प्रेमिल कविताको गोदाममा फन्किन पाइयो ।

    यो समय यो प्रश्न सबैसँग पो सोध्नुपर्ने हो कि ? आफैँलाई पनि कतिले सोधिपठाएका होलान् ।
    माया र सम्झनाको विलय नै हो कि जस्तो लाग्छ कहिले त !
    मुटु छेडेर आयो कविता ।

  • गजबको भावाबेग ! कति कलात्मक कलम हो कृष्णजीको ! भो, अति भो | मन भए नभएको प्रश्न गर्ने बेचैन मनलाई छिट्टै 'छ' भन्ने उत्तर मिलोस |

Leave a Comment