जोतारे धाइबा

जोतारे धाइबा

मरुभूमिमा एउटा प्यासी यात्रालाई अघिल्तिर पानीले भरिएको सडकले थप दौडको निम्तो मात्रै दिइरहन्छ । मृगतृष्णाको त्यही खिरिलो धागोमा असिनपसिन भएर जिन्दगीले सर्कस चलाउँछ । त्यस्तो सकसमय सर्कस चलाउन बाध्यमध्येकै हुन्, वैदेशिक रोजगारीमा जानेहरू । कृष्णपक्षको नवीनतम कथासंग्रह ‘तिर्खा’ मा त्यस्तै प्यासी आत्माहरूको काकाकुल जिन्दगीका नसा छाम्न पाइन्छ ।

 

‘तिर्खा’भित्रका कथाहरू बढ्ता व्यथा लाग्छन् । तिनमा रेगिस्तानको खिर्‍याउने हावासँगै पसिना र यौवन बगाइरहेका हजारौं श्रमिकका प्रतिनिधि अनुहार छन् । यौवन र तन्नेरी सपनालाई खुब स्वादले चपाइरहेको वैदेशिक रोजगारीको विवशता जति निष्ठुर छ, कठिन दिनचर्याबाट थाकेको मन-मगज टेको लगाउन प्रेम जस्तै कुनै साथको खोजीमा भौंतारिएका मनको दुर्दशा त्यति नै कारुणिक लाग्छ ।

कुनै पनि कथा समाज र त्यहाँ रहेका व्यक्तिका केही हाँसो पोतिएको व्यथा नै हो । यस मानेमा ‘तिर्खा’भित्रका कथाहरू बढ्ता व्यथा लाग्छन् । तिनमा रेगिस्तानको खिर्‍याउने हावासँगै पसिना र यौवन बगाइरहेका हजारौं श्रमिकका प्रतिनिधि अनुहार छन् । यौवन र तन्नेरी सपनालाई खुब स्वादले चपाइरहेको वैदेशिक रोजगारीको विवशता जति निष्ठुर छ, कठिन दिनचर्याबाट थाकेको मन-मगज टेको लगाउन प्रेम जस्तै कुनै साथको खोजीमा भौंतारिएका मनको दुर्दशा त्यति नै कारुणिक लाग्छ । भ्यागुता जस्तै उफ्रिएर खुसीको सिकार गर्न तम्सिने यात्रीहरू आफैं विभिन्न खाले सिकारमा परिणत भएको कहाली हुन् कृष्णपक्षका कथाहरू ।

उनले एउटा कथामा ‘पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरूसँग एकदम असहमति’ प्रकट गरे जस्तै श्रमशील, स्वप्निल र हारेको जिन्दगीलाई ऐना देखाउनु नै उनको कथाकोण देखिन्छ । खासमा सामाजिक न्याय पनि उत्पीडित, अपहेलित र शोषितहरूसम्म पुगेर उनीहरूको आवाज उत्खनन गर्नु नै हो । पात्रहरूका पराजित जिन्दगीसँग पाठकहरूले आफ्नै घाँटी जोडिएको पाउन सक्छन् ।

अधिकांश कथा भावनाप्रधान छन् । मन एकतमासको पार्दै लैजाने कोमल गद्य छ कथाकारसँग । इन्टरनेटको जालोभित्र ब्लगरका रूपमा लेखनमा रत्तिएका उनका कथामा पनि ब्लगमा जस्तै मनमौजीपन छ । त्यस्तो फुक्काफाल लेखनको शक्ति र सीमा दुवै हुन्छ । शक्ति : पात्र र परिवेशमा चाहेजसरी कल्पनाशीलता खेलाउन सकिने । सीमा : त्यही अधिक खुकुलो कथानकले घटना र चरित्र चित्रणको विश्वसनीयता बलियो नहुने । यही पछिल्लो विशेषताको सिकार भएका छन् अधिकांश कथा । कथाको अनपेक्षित अन्त्यमा हतारिने कथाकारले ‘फिल्मी क्लाइमेक्स’ को मोह राखे झैं देखिन्छ । कथामा प्रभाव पैदा गर्ने क्रममा झटपट एक सय ८० को कोणमा घटना देखा पर्छ ।

विभिन्न देशबाट इजरायल पुगेका श्रमिक युवायुवतीका दुःखान्तका साथै इजरायल – प्यालेस्टाइनबीचको वर्षौंदेखिको संघर्ष र त्यसले उब्जाएका सामाजिक जटिलतामा केन्द्रित छन् कथाहरू । वृद्धवृद्धाको सुसार गर्ने केयरगिभरको काममा खटिने क्रममा आफैं एकुन्टा कथा बाँचिरहेका युवायुवती दयनीय लाग्छन् । रोजगारीका लागि प्यालेस्टाइनबाट अवैध रूपमा इजरायल छिर्न असफल प्रयास गर्ने युवक शेरिफ होस् या वर्षौंदेखि प्यालेस्टाइनी भूमिमा रहेकी आफ्नी वृद्धा प्रेमिकासँग भेट्ने लालसामा जीवनको आखिरी सास गनिरहेको अरबी मूलको वृद्ध होस्, हतभागी पात्रहरूको ताँती छ । ‘माइ लाइफ इज अ मिराकल’, ‘बूढो मान्छेको मन’, ‘जेरुसलायम सेल जहाव’ र ‘बा’ जस्ता कथामा आएका वृद्ध पात्र त उस्तै लाग्छन् । कताकता पुनरावृत्ति भएका छन् पात्र र परिवेश ।

ती वृद्धहरू कतै सन्तानबाट परित्यक्त ज्येष्ठ नागरिकका रूपमा नयाँ पुस्तामा मौलाएको व्यक्तिवादी सोचको प्रमाण बनेर आएका छन् त कतै देशको इतिहासकै सग्लो धरोहर भएर पोखिएका छन् । इजरायल र प्यालेस्टाइनको विवादको चुरो र युद्धले निम्त्याएका दूरगामी असर बुझ्न त्यस्ता पात्रलाई प्रवक्ता नै मान्दा हुन्छ कथामा । प्यालेस्टाइन भूमि हडपिएको सम्बन्धमा एक ठाउँमा वृद्ध पात्रको विश्लेषण छ : युरोपमा यहुदीहरूमाथि भएको क्रूर अत्याचारको बदलामा विनाकारण यहाँ प्यालिस्टिनीहरूले मूल्य चुकाउनुपरेको मात्र हो ।’ भूगोलमाथि आ-आफ्नो हकदाबी गर्दै चलेको संघर्षका बीच कतिपय किंवदन्ती जस्ता लाग्ने द्विदेशीय प्रसंग थुप्रै छन् । वृत्तान्त पढ्दै जाँदा कथाकारले कथा कम र बढी चाहिं संस्मरण र टिपोट लेखे जस्तो पनि लाग्छ । धेरै कथामा रिपोर्ताज शैली देखिन्छ ।

कथाकार कृष्णपक्ष केही कथामा उही परिवेशमा ‘क्रिश’ बनेर देखिनुले पनि कथानक-घेरो माछाको अक्वारियम जस्तो बन्न पुगेको झल्को मिल्छ । तर, क्रिश अरबी बालुवामा पसिना फिटेर जीवन चिल्याउन अन्त्यहीन प्रयास गर्ने ती तमाम श्रमिकको प्रतिनिधि बनेर देखिएका छन् । ‘अनुहार’, ‘अपरिभाषित प्रेम’, ‘डायरीका पानाहरू’ लगायतका केही कथाले त पुस्तकलाई अनावश्यक मोटो मात्रै बनाएका छन् । कला कलाका लागि भने झैं कथा कथाका लागि बनेका छन् ती ।

परदेशमा दुःखको असिनापानीले चुटेको सपनाको बिस्कुनदेखि स्वदेशको सशस्त्र युद्धको छिपछिपे प्रसंगसम्मको आयाम छ कथामा । शीर्ष कथा ‘तिर्खा’ मा यौनलाई भोक र प्यास जस्तै शारीरिक आवश्यकताका रूपमा अर्थ्याउने प्रेमा जस्ता खुला सोचका पात्र एकातर्फ छन् । अर्कातिर, मुस्लिम संस्कारमा निकै सङ्कुचित घेरामा बाँचेका इसरत जस्ता नारी पात्र सम्बन्धको मोडमा काँचो धागो जस्तै फुस्किएर हराउने सामान्य जस्तो लाग्ने तर नमीठो सामाजिक रीत छ । अहिले हामीले बाँचिरहेकै समाजका फरक अभ्यास र गतिका सजीव चरित्र हुन् दुवै ।

समग्रमा भर्भराउँदो यौवनको क्षय गरेर भए पनि सुरक्षित जीवनको खोजीमा फन्को मारिरहेको आम जिन्दगीको कथा हो यो संग्रह । तर, बुढ्यौलीसम्म यात्राको दूरी नाप्दा पनि कुनै कथाले पूर्णता पाउँदैन । कृष्णपक्षले पहिलो कथाकृतिमार्फत मध्यपूर्व र अरबको तापमान बुझ्न सघाउँदै पाठकसामु आशलाग्दो कथाकार हुर्काएका छन् । आफू बाँचिरहेको समाजको एक्स-रे गर्दै उनको कथायात्राले उँचाइतिर निशाना ताकेको छ, भलै इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समयमा दीर्घकालीन युद्धविराम भएको होस् ।

Leave a Comment