ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो

ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो
पराग बोकी उड्छ मन वसन्तको बतासजस्तो

हुनेछैनौँ यो शहरमा भोली हामी सधैँ सधैँ
अलिकति रहनेछौँ सम्झना र आभाषजस्तो

घरि घरि देश दुख्छ परदेशमा परदेशीलाई
गमलाको फूल कहाँ हुन्छ लेकको गुराँसजस्तो ??

घरजस्तो कहाँ हुन्छ? पराई आगन पराई माटो
एकैछिनमा खुसीजस्तो, एकैछिनमा उदासजस्तो

भएको छ देश मेरो मानौँ स्वर्ग डढेजस्तै
घाम डुब्नै लागेको त्यो रातो रातो आकाशजस्तो

चराजस्तै लहरजस्तै पुगिने हो भोली कहाँ ?
केहिबेर सँगै बाँचौँ पुतली र सुवासजस्तो

Leave a Comment