ज्वोरो

‘तिम्रो धेरै याद आउछ यति धेरै की जति तिमी कल्पनासम्म गर्दैनौ । वा जति म तिमीबाट लुकाउने कोसिस गर्छु त्यसभन्दा पनि धेरै ।’

उसले सधैंझैं ईमेल लेखी – व्यस्त मान्छेलाई डिस्टर्ब गर्न मन लाग्छ, सोध्न मन लाग्छ – मेरा सपनाहरूले किन सधैं मलाई तिम्रैतिर डोर्याईरहन्छ? मेरा आँखाहरूले किन सधैं तिम्रै बाटो कुरिरहन्छन ?

———
एउटी केटी ज्वोरोले बर्बराइरहेकी थिई र उसका ओठबाट यस्तै शव्दहरु उच्चारित भैरहेका थिए ।
——–

‘तिमी झुठ बोल्छौ, एकदम झुठ …
थाहा छ तिमीलाई, सात सुर्यको ताप जस्तो जिउभरी ज्वोरो बढ्दै जाँदा मुटुभित्र बाहिर यो रातो रगत भरिएर नशा नशा सल्बलाउन थाल्छ । मलाइ आफ्नै अन्तरको रापले जलाई रहेको छ। मन मुटु र सारा शरीर ….। कुनैबेला स्कुलमा पढेको अर्थहीन वाक्यांशको याद गर्छु – हाम्रो शरीरका सप्पै नशाहरु जोडेर एकै रेखामा मिलाउदा त्यसले यो संसारलाइ नै दुइ फन्को मार्न सकिन्छ रे …, हरे कस्तो काल्पनिक कुरा! तिम्रो शहरसम्म पुगेर तिमीलाई एकै फन्को बेर्न पाए ।

यस्तै घाम चर्किएका दिनहरु हुन्थे र म नाङ्गो पैताला दौडिएर त्यहाँ त्यहाँ पुग्थें जहाँ जहाँ तिमी आउछौ भन्ने लाग्थ्यो । तर भ्रम , तिम्रो आगमनको त मात्र भ्रम हुन्थ्यो । यो मन जो पागल भएको थियो, कहिलेकाही छिटो छिटो धड्कदा पनि लाग्थ्यो कि यो तिम्रै पदचापको ध्वनी हो ।

सुटुक्क तिम्रो घरको झ्याल्संम पुगेर तिमी निदाई रहेको चियाउनु, चप्पल र पाउजु फुकालेर नाङ्गो पैताला चुपचाप … नत्र के थाहा वसन्तले भर्खर पलाएको पालुवा भित्र लुकेर बसेकी कोइलीले यो सब थाहा पाउछे अनि गाउभरी हल्ला गरिदिन्छे – कि म लुकी छिपी तिमीलाई भेट्न जानेगर्छु ।

तिमीलाई त के फरक पर्छ र ? हप्तै भरि बिरामी भएर थलिंदा पनि एकपटक भेट्न आउदैनौ । त्यही खलेगरामा डण्डी बियो खेल्दैमा कहाँ फुर्सद हुन्छ तिमीलाई ? हेरी राख न, खेत सबै मैदान बनायो भनेर तिमीहरुलाई कुन दिन ठुलाबाले पाता फर्काउनेछन, अनि थाहा पाउनेछौ ।
———————-

धेरै बर्ष भयो, यस्तरी ज्वोरो आएको । अहिले त त्यो केटाकेटीपना कहाँ रह्यो र?  हेर्दाहेर्दै बालापनले डाडा काटेर गयो । शाश्वत सत्य – समय अविरल बगी रह्यो, बगिरहन्छ ।

तर आजपनि जब परदेशबाट फोनमा कोही उसलाई सम्झाउने कोसिश गर्छ कि – ‘तिमीसंग मेरो कहिल्यै प्रेम भएकै थिएन’ । तब उभित्र भक्कानो बनेर जमेको मुटुको बाँध फेरी भत्कन्छ र एकाएक बेस्सरी ज्वोरो फुटेर आउछ ।

3 Comments

Leave a Comment